सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सुखको एकछिन्

बरू उसैले गल्ती भयो भनेको मात्रै के थियो हात समातेर मुस्कुराउँदै सान्त्वना दियो “हेर्नूस्, मानिस घडीको सुई त होइन नि । कहिले जाममा परिन्छ । कहिले प्रयास गर्दा गर्दै पनि ढिला हुन्छ । ”

Nepal Telecom ad

योगीश कृष्ण :

बिहान उठदा सार्वजनिक धारोबाट सधैँ सुनिने हल्लीखल्ली नसुन्दा आज पानी आएन कि भन्ने चिन्ता लाग्यो । पानी नआएको भए घरमा कचिङ्गल सुन्नुपर्ने, त्यो पनि चालचुल छैन । आफ्नो तिनकोठे घरको शान्ति उसलाई प्राकृतिक लागेन । उसले केही बुझेन । पानीको जोहो गर्नु जानुपर्‍यो क्यार । उठेर ऊ भान्सा तर बच्चाहरूको साझा कोठातिर लाग्यो । बच्चाहरू होमवर्क गर्दै थिए । पेन्सिल र कलमका लागि झैझगडा आज भइरहेको थिएन । ऊ आफ्ना छोराहरूलाई कौरव र पाण्डव भन्ने गर्दथ्यो । उसलाई देख्नासाथ सधैँ मागपत्र प्रस्तुत हुने गरेकोले सकभर अघिल्तिर पर्न डराउँथ्यो । माग राख्ने काम भने नियमित भइरहन्थ्यो । मानौ ऊ सरकार हो र उनीहरू विपक्षी दल ।

चुल्होतिर कुनै आवाज नआएको सुनेर ऊ छक्क पर्‍यो- खोइ, कता गइछ बुढी उसकी बुढी पकाउने तयारी गर्दै थिई । उसलाई देखेर चिया ल्याइदिई । आज ऊ सदा झैँ फतफताइरहेकी थिइन -कस्ता कस्ता घरबाट माग्न आका थिए । बाउआमाको बुद्धि बिग्रेकाले यस्तो घरमा फ्यालिदिए । त्यसपछि शुरु हुन्थ्यो उसका नातागोताको सुखसयलको वृत्तान्त । आज केही भएन । उसलाई चिन्ता लाग्यो-कतै विरामी पो भई कि । बिहानबेलुकी घरको काम । दिनभर सानोतिनो जागिरको झन्झट । उसले डराइ डराइ सोध्यो “तिमीलाई सन्चो भएन हो ?”

आफ्नी बुढीको दुर्लभ हुँदै गएको हाँसो अनुहारमा देखेपछि विस्मात त लाग्यो नै, बिसन्चो नभएको बुझेर खुसी पनि भयो । चिया खाइसकेर ऊ बाबुआमाको कोठातिर लाग्यो । चकमन्न थियो । ऊ अताल्लिएर करायो “बुबा, ए बुबा, आमा”, “के भयो बाबु ? किन कराको यसरी ?” आमाको आवाज सुनेपछि उसको मन शान्त भयो ।

बाबु शब्द उसले बिर्सिसकेको थियो । उसलाई बाबुआमाले यसरी सम्बोधन गर्न छाडेको बर्सौँ भइसकको थियो । उसलाई थाहा थियो, उसको पछिल्तिर उसको बारेमा कुरा गर्दा एकआपसमा कपूत भन्ने गर्दथे । ऊ थाहा पाए पनि नपाए झैँ गर्दथ्यो । बिहे भएको वर्षदिन पुग्दा नपुग्दै आमाले जोइटिङ्ग्रे भन्न सुरु गरिसकेकी थिइन् । सुन्दा नरमाइलो लागेर लुकेर रोएको पनि थियो । पछि बानी पर्दै गयो । बिहानको कपूत पुराण निसङ्ग, नियमित श्रवण गर्न थालेको थियो । तर आज कपूत पुराण चलिरहेको थिएन-फलानोको छोराले बाबुआमालाई कस्तो सानले पालेको छ । दुई दुईओटा त बडेमानको घर बनाइसके । बाबुआमाको मुखबाट झर्न पाएको हुन्न जे भन्यो त्यही पुर्‍याइदिन्छ ।

आफ्नो भाग्यमा कपूत भएपछि कसको के लाग्छ ? त्यत्रो पढाइयो, लेखाइयो । सब खेर गयो, बालुवामा पानी हाले जस्तो । आखिर आमाबुबा हुन् । छोराले यसो गर्ला उसो गर्ला भन्ने चिताएका थिए होलान् । उनीहरूका सबै इच्छा पूरा गर्न नसकिए पनि केही त पूरा गरिदिनु पर्ने नै हो । बरु रिनपान लिएर भएर पनि गरौँला । उसले चिया पिउँदै बुढीलाई यो कुरा सुनाउने हिम्मत गर्‍यो । बुढीले मानिन “किन ऋणपान गर्ने नि । मसँग भएको गहना बेचबाच गरे पनि त हुन्छ नि । नभए सञ्चयकोषमा मेरो थोरथार पैसा पनि बाँकी होला ।”उसको दिमाग खलबलियो “हैन, आज के भइरहेको छ यो ।”

बच्चाहरू अघि नै स्कूलतिर लागिसकेका थिए । आमाबुबालाई खाजाको जोहो गरिदिएर उसकी बुढी अफिस जाने तयारी गर्दै थिइन् र भनी “आज समय मिल्यो भने सञ्चयकोष गएर आउँछु है ।”

उसको मुटु नै बन्द होला जस्तो भयो । ऊ अफिसतिर लाग्यो । बस चढ्न खोज्दा बसको सहचालकले उसलाई जथाभावी भनेन । खाली सिट खोजिदिएर बस्न आग्रह गर्‍यो । अफिस पुग्दा केही मिनेट ढिलो भइसकेको थियो । हाकिम समयको एकदम पालना गर्ने । पाँच मिनेट ढिलो हुँदा समयको महत्वबारे कमसेकम आधा घण्टा प्रवचन दिन्थ्यो जुन उसलाई कण्ठस्त छ “जो मानिस समयको पालना गर्न जान्दै उसको जीवनको २० प्रतिशत मरेसरह हुन्छ । आदि ।

तर आज हाकिमले त्यस्तो केही भनेन । बरू उसैले गल्ती भयो भनेको मात्रै के थियो हात समातेर मुस्कुराउँदै सान्त्वना दियो “हेर्नूस्, मानिस घडीको सुई त होइन नि । कहिले जाममा परिन्छ । कहिले प्रयास गर्दा गर्दै पनि ढिला हुन्छ । ”

आज बिहानैदेखि उसको दिमाग खलबलिएको थियो । हाकिमको कुरा सुनेपछि त ऊ मुर्च्छा पर्‍यो । अनुहारमा पानीको छिटा परेपछि मात्र उसको होस खुल्यो । हातमा पानीको जग लिएर छोरा मुसुमुसु हाँसिरहेको थियो । छोराले भन्यो “बुबा, अफिस जाने होइन उठनूस् रे अब ।”

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा
जिउँदो समय

जिउँदो समय

नन्दलाल आचार्य
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
सतीको सराप

सतीको सराप

ह्यारी- ८०