साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली हास्यव्यङ्ग्यको पुनर्जागरण दशक

फित्कौली द्वैमासिकलाई पनि अनलाइनलाई जतिकै माया, सद्भाव, साथ र सहयोग प्रदान गर्न हास्यव्यङ्ग्य स्रष्टा, हास्यव्यङ्ग्यप्रेमी शुभेच्छुक र हितचिन्तकहरूमा हामी हार्दिक आग्रह गर्दछौँ ।

Nepal Telecom ad

नरनाथ लुइँटेल :

हास्यव्यङ्ग्य साहित्यको प्रवर्द्धन र जगेर्ना गर्ने उद्येश्यले मासिक रूपमा दर्ता भएर वि.सं. २०६२ भदौदेखि प्रकाशन आरम्भ भएको फित्कौलीका उत्प्रेरक व्यक्तित्व स्व. वासुदेव शर्मा (भूतकाे भिनाजु) हुन् । नेपाली हास्यव्यङ्ग्यका पितामह मानिने वासुदेव माड्सावको देहान्तपछि फित्कौलीले  पूर्णाङ्क ८ लाई ‘हास्यदेव वासुदेव स्मृति विशेष’का रूपमा विशेषाङ्क समेत प्रकाशित गरेको थियो । येनकेन गर्दै २०७० सम्ममा यसका ४० अङ्क प्रकाशित भएपछि यसलाई स्थगन गरियो ।

२०७१ असोजदेखि फित्कौलीलाई पछिल्लो प्रविधिअनुरूप वेभसाइटमा लगिएको हो । साढे ५ हजार सामग्रीको सङ्ग्रह बनिसकेको यही साइटलाई हास्यव्यङ्ग्यको अनलाइन पत्रिकामा रूपान्तरण गरि २०७८ माघदेखि पाठकसामु फित्कौली डटकम प्रस्तुत भइरहेको छ । पछिल्ला तीन वर्षमा मात्रै थप १० हजार हास्यव्यङ्ग्य सामग्री प्रविष्ट भई नेपाली हास्यव्यङ्ग्यको एउटा विराट र बृहत् सङ्ग्रह बनिसकेको छ फित्कौली डटकम ।

यस सङ्ग्रहभित्र हास्यव्यङ्ग्य सिर्जना मात्र हाेइन, हास्यव्यङ्ग्य सम्बन्धी सैद्धान्तिक लेखरचना, नेपाली हास्यव्यङ्ग्यकाे इतिहास, प्राप्ति र उपलब्धीहरूकाे विवेचना, दर्जनाैँ हास्यव्यङ्ग्य कृतिहरूका समीक्षा समालाेचनाहरू र हिन्दी साहित्यका विख्यात व्यङ्ग्यकारहरूका व्यङ्ग्य रचनाहरूका दर्जनाैँ नेपाली अनुवाद प्रविष्ट गरिएका छन् । याे प्रक्रिया दैनिक रूपमा जारी छ र हरेक दिन एक दजर्नकाे हाराहारीमा रचना पाेष्ट भइरहेका छन् ।

फित्कौलीले नेपाली हास्यव्यङ्ग्य लेखन र प्रकाशनमा देखा परेको सुस्तता र गतिरोधलाई चिरेर पुनर्जागरण सिर्जना गर्ने प्रयत्न गरिरहेको छ । अनलाइनका यी तीन वर्षमै पनि केही उल्लेखनीय उपलब्धीहरू आर्जन भएका छन् । यस क्षेत्रमा विशिष्ट याेगदान दिएर कीर्तिशेष भएका स्रष्टाहरू केशवराज पिँडाली, भैरव अर्याल, श्याम गाेतामे, बालमुकुन्ददेव पाण्डे,  विष्णु नवीन, सूर्यबहादुर पिवाहरूका रचना-सिर्जना पुनरावृत गरि अहिलेकाे र यसपछिकाे पुस्तासम्म उनीहरूलाइ जीवन्त राख्ने प्रयत्न पनि फित्काैलीले गरिरहेकाे छ । हास्यव्यङ्ग्य रचना प्रकाशनको अवसर नै नपाएर निस्क्रिय जस्तै रहेका धेरै स्रष्टाहरूलाई यसले झकझक्याइिदएकाे छ र उनीहरू पुनः लेखनमा सक्रिय पनि हुँदैछन् ।

अर्कोतिर फित्कौलीको प्रोत्साहन र प्रभावका कारण दुई दर्जनभन्दा बढी हास्यव्यङ्ग्यका  नव स्रष्टाहरू फित्काैलीकाे प्लेटफर्म मार्फत हास्यव्यङ्ग्य सिर्जनामा उतारू भएर आइरहेका छन् । तिनीहरूमध्ये केहीले त फित्कौलीमा प्रविष्ट भएका सिर्जनाहरू सङ्कलित गरी सङ्ग्रह नै प्रकाशित गरिसकेका छन् भने केही स्रष्टाहरू सङ्ग्रहको तयारीमा जुटेका छन् । फित्कौलीमा हरेक हप्ता कुनै न कुनै नयाँ नाम हास्यव्यङ्ग्य रचनासहित प्रस्तुत भइरहेको अवस्था छ ।

प्रतिष्ठित सरकारी वा निजीस्तरका ठूला प्रकाशनगृहहरूले समेत हास्यव्यङ्ग्य कृतिहरूकाे प्रकाशनतर्फ चासाे र रूचि नलिइरहेकाे अवस्थामा फित्काैलीले यस अवधिमै आधा दर्जन हास्यव्यङ्ग्य कृतिहरूकाे प्रकाशन गरेकाे छ । हास्यव्यङ्ग्य लेखन-प्रकाशनलाई सम्मानित, प्राेत्साहित र प्रेरित गर्न फित्काैली मार्फत हास्यव्यङ्ग्य राष्ट्रिय पुरस्कार प्रदान गर्ने उद्धेश्यले फित्काैली सम्मान एवम् पुरस्कार अक्षकाेषकाे स्थापना गरेकाे छ । र, पहिलाे पटक गत वर्ष भदाैमा हास्यव्यङ्ग्यकार चाेलेश्वर शर्मालगायत चार जना स्रष्टाहरूलाई सम्मानित/पुरस्कृत गरिएकाे छ ।

यसरी हास्यव्यङ्ग्य लेखनकर्मलाई प्रोत्साहित र अभिप्रेरित गरिरहेको फित्कौलीले यो असीको दशकलाई नेपाली हास्यव्यङ्ग्यको पुनर्जागरण दशक बनाउने अभिप्रायसहित याे अग्रसरता लिएको हाे । हास्यव्यङ्ग्यको अभ्युत्थान र प्रवर्द्धनमा सततः समर्पित फित्कौलीको यही अभियान अन्तर्गत हामी फेरि विगतमा ४० अङ्क निस्केर स्थगित रहेको फित्कौली पत्रिकालाई पुनः प्रकाशित गर्ने मुड र मोडमा आइपुगेका छौँ । अब यो द्वैमासिक रूपमा नियमित प्रकाशित हुनेछ । हरेक वर्ष यसका कम्तिमा २ वटा अङ्कलाई हास्यव्यङ्ग्यका  विधागत विशेषाङ्कका रूपमा प्रकाशित गरिने छ ।

नववर्ष २०८१ आरम्भसँगै पुनर्प्रकाशन हुन थालेको फित्कौली द्वैमासिकलाई पनि अनलाइनलाई जतिकै माया, सद्भाव, साथ र सहयोग प्रदान गर्न हास्यव्यङ्ग्य स्रष्टा, हास्यव्यङ्ग्यप्रेमी शुभेच्छुक र हितचिन्तकहरूमा हामी हार्दिक आग्रह गर्दछौँ । फित्कौली विश्वस्त छ- यहाँहरूको साथ र सहयोगले २०८० को दशक नेपाली हास्यव्यङ्ग्यको पुनर्जागरण दशक सावित हुने छ । यहाँहरू सबैमा नववर्ष २०८१ को मङ्गलमय शुभकामना ।

००
नेपाली हास्यव्यङ्ग्यको अभ्युत्थान र संवर्द्धनको उद्देश्यमा समर्पित फित्कौली द्वैमासिकको संरक्षक सदस्यता, विशिष्ट सदस्यता तथा आजीवन सदस्यता ग्रहण गरि फित्कौलीको याे हास्यव्यङ्ग्य अभियानमा जोडिन
हामी हार्दिक अनुरोध गर्दछौँ ।

संरक्षक सदस्यताका लागि रू. २५,०००।
विशिष्ट सदस्यताका लागि रू. १०,०००।
आजीवन सदस्यताका लागि रू. ५,०००।

०००

२०८१ वैशाख

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x