साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वाहा !

आखिरमा काम जस्तो गरे पनि नाम चाहिँ कमाउनु पर्छ क्या हाम्रो नेपालमा स्वाहा । हामीले पनि राम्रा काम गरेर नाम कमाउनेहरूलाई भन्दा नराम्रा काम गरेर नाम कमाउनेहरूलाई नै बढी मान, सम्मान, गर्ने गरेका छौँ स्वाहा ।

Nepal Telecom ad

गायत्री  परिराेशनी :

साइत जुरे पनि नजुरे पनि सबैका घरघरमा स्वस्तिशान्ति गर्ने काम चलेकै छ स्वाहा । सबैका घरमा, सबैका मनमा आर्थिक वर्षको प्रगति झ्याप्पै असारको मसान्तभन्दा केही दिन अगाडि भयो स्वाहा । वर्षभरिमा धेरैको मन दुखाइयो, तन दुखाइयो सबैको दुखाइ कम गर्ने औषधी भनौँ कि बुटी जसलाई महादेवको तीन आँखा पनि भनिन्छ त्यही चिज असार महिनामा बाँडेर खुशी बनाउन सफल भइयो भन्दैछन् भैरवहरूले स्वाहा । आफ्नो-आफ्नो क्षमता अनुसार सबैलाई भाग, बिलो लगाएकै हो, आसेपासे अलिअलि देख्नेहरूलाई समेत केही दिएर भगाएकै हो भन्छन् स्वाहा । यस्तो हरियाली र भरियाली असार महिना त वर्षको एकपाली मात्र नभई अझ अरु तीन पाली आउने गराउन पाए हुने स्वाहा ।

रात रहे त अग्राख पलाउँछ भन्छन् अझ एक आर्थिक वर्ष नै बितेपछि त अग्राख मात्र होइन, यसका पुस्तौँपुस्ता अगाडिका बाजे-बराजु पलाउँछन् स्वाहा । बर्षभरिमा भएका अलिअलि राम्रा कामहरू, जस्तै शरणार्थी प्रकरण, ललिता निवास प्रकरणको छानबिन गर्ने जस्तो नराम्रो कामको अन्त्य छिट्टै होस् स्वाहा । सबैले मनलागेको गर्न पाउनुपर्छ भन्ने हरेक असार महिनाको अभीष्ट हो । त्यसैले शरणार्थी हुन खोज्नेले शरणार्थी हुन पाउनुपर्छ, नेपाली नागरिकता फाल्नेलाई शरणार्थीको नागरिकता दिन सक्ने सरकारलाई निकै पावरफूल सरकारको रुपमा पूजा गर्ने/गराउने वातावरणको निर्माण गर्नुपर्दछ स्वाहा ।

गरिबलाई, केही नहुनेहरूलाई उसको बस्तीबाट, उसको टहराबाट निकाल्नुलाई नराम्रो काम भन्न हुँदैहुँदैन स्वाहा । ठूला मान्छेले, जति सम्पत्तिलाई पनि सेतो बनाउन जानेकाहरूलाई ललिता निवास मात्र होइन अन्य बाँकी रहेका निवासहरू पनि दिँदा हुन्छ, विरोध गरेर काम छैन स्वाहा । यो देश नेपाल मात्र होइन, एकै दिनमा सिँगापुर हो, स्वीजरल्याण्ड हो, रुस, अमेरिका, क्यानाडा, चीन, भारत मात्र होइन अन्य बाँकी रहेका देशहरू समेत सबै हो स्वाहा ।

काम गर्नेलाई, इमान्दारहरूलाई सबैले हेला गर्नुपर्दछ, बेइमान, चोर फटाहा, डाँकाहरूलाई मान, सम्मान र इज्जतको पगरी गुताउने हाम्रो परम्परालाई थाँती राख्नुपर्दछ स्वाहा । देश लुट्ने लुटेराहरूलाई कर छुट मात्र होइन, सबै काम कुरा गर्न र गराउनलाई छुट दिनुपर्छ स्वाहा । रातदिन दश नङ्ग्रा खियाउनेहरूलाई आय कर मात्र होइन हजुर खाए कर, परिश्रम गरेको हुनाले पारिश्रमिक कर, मेहनेती भएको हुनाले करको क्षेत्र विस्तार गरेर मेहनेती कर समेत लिनुपर्दछ स्वाहा । देशमै बसेर विदेशी मुद्रा आर्जन गर्ने युवाहरूले कमाएको आयलाई प्रतिशतको हिसाब गरेर कर लिने मात्र होइन, कमाए जति सबै राज्यलाई दिनुपर्ने भन्ने नियम ल्याउनुपर्दछ स्वाहा । यसो गर्नाले उच्च बौद्धिक क्षमता भएका युवाहरूको निर्यातमा शत प्रतिशत वृद्धि भई आयात प्रतिस्थापन गर्नलाई सहयोग पुग्नेछ स्वाहा । यसले व्यापार घाटा सन्तुलन, वैदेशिक मुद्राको वृद्धि मात्र नभई जनसंख्या र बसाइसराईँ व्यवस्थापनमा समेत निकै राम्रो सहयोग हुनेछ स्वाहा ।

विकास निर्माणका काम यति धेरै द्रुत गतिमा गर्न जरुरी छ कि अहिले जस्तो चैत्र महिनामा थालेर असारमा सक्ने नगरी असारको सक्रान्तिमा थालेर असार पन्ध्र सम्ममा सबै काम सक्नुपर्छ स्वाहा । यसो गर्नाले राज्यको लगानि कम र नाफा बढी भएर निर्माण व्यवसायी लगायत त्यसमा सँलग्न कर्मचारी र अन्य आसेपासे टाठाबाठा नागरिकहरूको समेत गरिबी निवारण मात्र होइन, दुई-चार पुस्ता सम्मलाई काम नगरी खान पुग्ने आमुल प्रगति हुनेछ स्वाहा । प्राइभेट सेक्टर भनेको नाफाको प्रयायवाची हो, यसलाई जे गर्न पनि छुट छ स्वाहा । नाफा गर्नलाई खान हुने खाद्य पदार्थ मात्र होइन, खानै नहुने अखाद्य पदार्थ समेत खुलेयाम बिक्ने/बिकाउने, सजिलै बेच्ने वातावरण निर्माणमा सरकारले सहयोग गर्नुलाई राम्रो मान्नुपर्दछ स्वाहा । यसो गर्नाले निजी क्षेत्रको नाफा दुई गुणाबाट बढेर चार गुणा हुनुको साथै सरकारी लाइसेन्स लिएका असली निजी क्षेत्रको नाफा पनि अतुलनीय रुपमा बढेर जानेछ स्वाहा ।

यो देशको प्रगति निकै भएको क्षेत्र भनेको दलीय भागबन्डा नै हो स्वाहा । जसमा अदालत भागबण्डा, सबै आयोग भागबण्डा, सरकार भागबण्डा, प्रतिपक्ष भागबण्डा, नीति-नियम भागबण्डा, सिद्धान्त भागबण्डा, न्याय भागबण्डा, घरपरिवार भागबण्डा, समाज भागबण्डा हुँदै समग्र मुलुकसमेत भागबण्डामा पर्नुलाई सबैले सकारात्मक रुपमा लिनुपर्दछ स्वाहा । सबै कामकुराको भागबण्डा मिलाउँदा- मिलाउँदै आजित भैसकेको हाम्रो गणित थाक्दैछ, अबका दिनमा हुने भागबण्डाका हिसाब मात्र होइन, बेहिसाब मिलाउन छिमेकी देशको गणितलाई प्रमुख अतिथिको रुपमा बोलाइदैछ स्वाहा । वृद्ध भत्ताको उमेर घटाउँदै जानु र रकमको दर बढाउँदै जानु जुनसुकै सरकारको प्रमुख दायित्व हो स्वाहा । यसो गर्नाले सरकारको आयु लम्बिँदै जान्छ एकातिर भने अर्कोतिर नागरिकहरूको आयु क्रमश घट्दै जानेछ स्वाहा ।

हाम्रो देश विश्वकै सबैभन्दा महत्वपूर्ण देश हो । जहाँ हरेक असार महिना सकिएर साउन लागेपछि अगाडिका सबै कुराहरू क्रमश हराउँदै जान्छन् स्वाहा । राम्रा कामहरू पनि बिर्सन्छन् जसले गर्दा हरेक वर्ष असारमा भएका राम्रा काम पुनः अर्को वर्षको असारमा गरिन्छ स्वाहा । उदाहरणको लागि अघिल्लो असारमा राम्रोसँग पिच गरेको मोटरबाटो अर्को असारमा झन् राम्रोसँग पिच गरिन्छ स्वाहा । राम्रा काम बिर्से जस्तै नराम्रा काम पनि सबै बिर्सन्छन् । जसले नराम्रा काम गरेर जेल चलान भएका हुन्छन्, तिनै व्यक्तिले विभिन्न तरिकाले सफाइ पाउँछन् र अर्को असारसम्म पुन नराम्रा काम गरेर नाम कमाउन तल्लिन हुन्छन् स्वाहा !

आखिरमा काम जस्तो गरे पनि नाम चाहिँ कमाउनु पर्छ क्या हाम्रो नेपालमा स्वाहा । हामीले पनि राम्रा काम गरेर नाम कमाउनेहरूलाई भन्दा नराम्रा काम गरेर नाम कमाउनेहरूलाई नै बढी मान, सम्मान, गर्ने गरेका छौँ स्वाहा । असललाई खराब र खराबलाई असल नभनेसम्म त हामीलाई खाएको खाना पनि पच्दैन स्वाहा । बाँकी भूलचुक लिनेदिने अर्को असारमा स्वाहा !

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बोक्सीका ताजा बात– (६)

बोक्सीका ताजा बात– (६)

गायत्री परिरोशनी
घण्टी बजेपछि !

घण्टी बजेपछि !

गायत्री परिरोशनी
बोरिङका टी-चर

बोरिङका टी-चर

गायत्री परिरोशनी
गुट उद्योग

गुट उद्योग

गायत्री परिरोशनी
लभराजको प्रेम !

लभराजको प्रेम !

गायत्री परिरोशनी
लौन लायो !

लौन लायो !

गायत्री परिरोशनी
रुद्रघण्टी हरायो !

रुद्रघण्टी हरायो !

गायत्री परिरोशनी
0
Would love your thoughts, please comment.x
()
x