सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पुलिस मामा

अब भन्नुस् त त्यो मान्छे पुलिस मामाको फन्दामा पर्‍यो कि परेन होला ? फन्दामा पर्‍यो भने उसलाई हेरेर हामी हाँस्न मिल्छ कि मिल्दैन ? मिल्छ होला नि ? मखुला पासा ?

Nepal Telecom ad

“हा हा बिहान बिहानै मामाको फेला परेछ ।”
मनमनै हाँसेँ । अँ त, गजबको जन्तु हो मान्छे ! अरुको अप्ठेरोमा यत्तिकै हाँसो उठ्छ मान्छेलाई । कोही चिप्लेर बाटोमा लड्यो, पछि उठाउन जान परे पनि पहिला हाँस्छ मान्छे । आजकल त उठाउन पनि जाँदैन, फोनबाट भिडियो खिचेर बस्छ । म पनि खासै फरक छैन, ममात्र कुन देवलोकबाट झरेको हुँ र ? खासमा म सडकपारि एकजना चालकलाई पुलिसले गाडी रोकेर जरिवाना तिराउँदै गरेको दृश्य देखेर दंग परेको हुँ । त्यही दृश्यको मजा लिँदै सडक पार गर्दैथिएँ, पुलिस मामाले केही इशारा गरेको, केही भनेको जस्तो लाग्यो ।
“यता आउनुस् ।”
यसो हेरेको मामा मतिरै हेरेर मलाई बोलाउँदै रहेछन् । एकछिन त हैन होला जस्तो लाग्यो । यत्तिकै बाटोमा हिँड्दै गरेकालाई किन बोलाउँछ जस्तो लाग्यो । त्यसैले आफ्नै सुरमा बाटो काटिरहेँ ।
“सर, तपाईंलाई नै बोलाएको हो ।”

यसो दायाँबायाँ हेरेँ कोही छैन, अब भने मलाई नै बोलाएको हो भन्ने पक्का भयो । मलाई पुलिसले फन्दामा पारेको देखेर कोही त हाँसिरहेको छैन भनेर फेरि एक पटक दायाँबायाँ हेरेँ । कोही पनि छैन रहेछ, अलिकति भए पनि सान्त्वना मिल्यो ।
“मैले किन बोलाएको तपाईंलाई थाहा छ ?”
“किन होला ? म त खुरुखुरु बाटो काट्दै थिएँ ?”
उल्टै उनलाई प्रश्न तेस्र्याएँ ।

पुलिस भनेपछि मलाई जहिल्यै डर लाग्ने । बच्चा बेलामा आफूभन्दा ठूलाले भनेको मानेन भने ’पुलिस आउँछ, पकडेर लग्छ’ भनेर तर्साई राखियो त्यसैले पनि होला । अलि ठूलो भएपछि पुलिससँग मामा जोडिदियो अनि त्यो मामा भनेको कंस मामा वा शकुनि मामा जस्तो लाग्ने । त्यसपछि फेरि पुलिसको फेला पर्‍यो भने पैसा झार्छ भन्ने जस्तो लाग्ने । ऊबेला लोकसेवा पास गरेपछि पुलिस रिपोर्ट चाहिन्थ्यो स्थायी जागिर खान । पुलिस रिपोर्ट लिन गयो चियाखर्च माग्ने, दिनैपर्‍यो । यता पनि पुलिसले भेट्यो कि टिकट (चलान) काट्ने, पैसा खर्च गराई दिने । त्यसैले आज पनि पचास-सय डलर चुना लाग्ने भयो भन्ने मनमनै गुन्दै, डराई डराई मामाको अगाडि हाजिर भएँ ।

“तपाईंले जेब्रा क्रसिङबाट बाटो नकाटेर जथाभावी बीच सडकबाट हिँडेकोले बोलाएको ।”
“क्या फसाद ! बाटो काटेको पनि जरिवाना तिराउने भए यी मामाले ।”
“बेनियम गाडी चलाएर जरिवाना तिर्नु त तैबिसेक ठीकै हो ।”
आफू परियो गोर्खाली, दायाँबायाँ हेरेर जता पनि बाटो काट्दिने । नानीदेखिको बानी यस्तै छ ! के गर्नु ? किन रोइस् मङ्गले आफ्नै ढङ्गले । यस्तै कुरा मनमा खेलाउन थालेँ ।

“तपाईंको सवारी चालक परिचय-पत्र दिनोस् ।” मामाले फर्मान जारी गरे । परिचयपत्र भित्र यसो दस पाँच डलर राखेर दिन पनि मिलेन यता । अरूले यो छोटो बाटोबाट सडक पार गरे, म उनीहरूकै पछि लागेँ भनेर पार पाइने जस्तो पनि लागेन । जेब्रा क्रसिङ पर छ, टाढा छ अनि सडक बत्ति कुर्ने समय भएन भन्न पनि भएन । “अफिस जान हतार भएर” भनेर पनि के मान्थे मामा ? जेब्रा क्रसिङ यता सार्न पाए काइदा हुन्थ्यो भन्यो भने त अझ भड्किने हुन् कि मामा भन्ने भयो । केही नलागेपछि खुरुक्क चालक परिचयपत्र दिएँ ।

यता पुलिसलाई पुलिस भन्न मिल्दैन, मामा भन्यो भने त मामिला अझ बिग्रला । पुलिसलाई अफिसर भन्नुपर्छ । हुन पनि हो गाडीमा हिँड्ने मान्छे कसरी मात्र पुलिस हुन्छ । हातमा काम न काजको छोटो डण्ठा लिएर लखर लखर हिँड्ने पो पुलिस हुन्छ । त्यस्ता पुलिस देखेकै छैन यता मैले । त्यसैले हरेक पुलिस अफिसर हो । यी अफिसरले मेरो परिचयपत्र गाडीमा रहेको उसको ल्यापटपको मेसिनमा घोटेर स्क्रिनमा केही हेर्‍यो ।

“पुलिस विवरण ठीक रहेछ, पहिलो पटकललाई भैगो, माफ भयो । अर्को पटक यस्तो भेटियो भने ७५ डलर जरिवाना लाग्छ । साथै छ महिनासम्म कुनै प्रकारको ट्राफिक जरिवाना पाउनु भयो भने त्यसमा अहिले माफी भएको जरिवाना पनि थपिनेछ । अलि होस् गर्नुहोला, सावधान रहनु होला ।”
“हस् सर” भन्दै आफ्नो बाटो लागेँ, अफिस समयमा पुग्न पनि थियो । अबदेखि त्यो छोटो बाटोबाट सडक नकाट्ने कसम नै खाएँ ।

भोलिपल्ट फेरि त्यही बाटो जाँदा हेरेको त त्यो चार लेनको बाटोमा अग्लो कंक्रिटका ब्लकहरू तेर्साएर सडक पार गर्न नमिल्ने बनाई सकेको रहेछ । एकजना सुटेड बुटेड गोरा हातमा ब्रिफकेश लिएर सकी नसकी त्यो ब्लक नाघ्ने कोशिस गर्दैथिए । गोर्खालीमात्र हैन, मौका पाए यी गोराले पनि चौका हान्न नछाड्ने रहेछन् ।

अब भन्नुस् त त्यो मान्छे पुलिस मामाको फन्दामा पर्‍यो कि परेन होला ? फन्दामा पर्‍यो भने उसलाई हेरेर हामी हाँस्न मिल्छ कि मिल्दैन ? मिल्छ होला नि ? मखुला पासा ?

यु.एस्.ए.

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तीन ठाेकान

तीन ठाेकान

प्रमोद अमात्य
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
गजबकै हुन्छ

गजबकै हुन्छ

प्रमोद अमात्य
रयाङठ्याङ नमिलेर

रयाङठ्याङ नमिलेर

प्रमोद अमात्य
अब त सर्दिन…

अब त सर्दिन…

प्रमोद अमात्य
तीन दिन बाहिर खान जाने

तीन दिन बाहिर खान...

प्रमोद अमात्य