सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जनताको कविता

कैयौँ एनजिओ आइएनजिओहरू ब्रिफकेश भरिभरि नगद र कार्यक्रमका साथ मलाई खुवाउन, पियाउन, चुठाउन सुताउन, निदाउन र उठाउन जुटेका छन् ।

Nepal Telecom ad

जति पाए पनि कहिल्यै पाए जस्तो नहुने
जति खाए पनि कहिल्यै अघाए जस्तो नहुने
जति ओखती गरे पनि कहिल्यै सञ्चो नहुने
जति लाए पनि सधैं नाङ्गै रहने
छाम्दा जताततै छोइने
अस्तित्व खोज्दा कतै नहोइने
उदेकलाग्दा विशेषता बोकेर यो धर्तीमा घिस्रिरहेको
पृथिवीको म भार
अगस्तीको म अवतार ।

मेरै रक्षाका लागि यो विश्वमा डरलाग्दा युद्धहरू भए
मेरै मुक्तिका लागि संसारमा रहरलाग्दा क्रान्तिहरू भए
मेरो जात जोगाउन
मेरो धर्मको रक्षा गर्न
मेरो सम्प्रदायको हितमा
कति विष्फोट, कति आगजनी र कति काटमारहरू भए
मेरै खातिर
कत्ति गाउ“हरू, कत्ति शहरहरू र कत्ति देशहरू डढे
मेरै लागि हजारौँ हजार योद्धाहरू सूलीमा चढे ।

मलाई आतङ्कवादबाट बचाउन
महान् अमेरिकाहरूले अनेकौँ राष्ट्रहरूमा बम हान्नुपर्‍यो
मलाई शक्ति राष्ट्रको दादागिरीबाट जोगाउन
बिचरा बिन लादेनहरूले
त्यति राम्रा राम्रा ट्वीन टावरहरू लडाउनुपर्‍यो
मलाई आपत पर्नासाथ संसारको कुनै पनि कुनामा
वख्तरबन्द गाडीहरू गोलाबारुद बोकेर हाजिर भएकै छन्
मलाई बचाउन, स्याहार गर्न
राष्ट्र संघका शान्ति सेनाहरू
मेरो आँगन आँगनमा आएकै छन्
घनघोर प्रेम र श्रद्धा छाएको छ मेरो वरिपरि
अपार सुरक्षा र सहयोग आएको छ मलाई घरिघरि ।

धनी राष्ट्रहरू मेरै नाममा अनुदान दिएका दिएकै छन्
गरीव राष्ट्रहरू मलाई नै बचाउन दान लिएका लिएकै छन्
संसारभरि लाखौँ लाख संघसंस्थाहरू
मेरो जीवनस्तर उठाउन मरिमेटेर खटेका छन्
कैयौँ एनजिओ आइएनजिओहरू
ब्रिफकेश भरिभरि नगद र कार्यक्रमका साथ
मलाई खुवाउन, पियाउन, चुठाउन
सुताउन, निदाउन र उठाउन जुटेका छन् ।

मेरै अधिकार रक्षाका लागि सम्विधान र कानूनहरू बनेका छन्
मेरै लागि सांसद, मन्त्री र बढे बढे नेताहरू जन्मेका छन्
पुलिस छ, सेना छ, छापामार गुरिल्लाहरू छन्
मेरै लागि सबै अहोरात्र जागेका छन्
मेरो दुःख निवारणमा सबै लागेका छन्
करोडौँ मास्टरहरू, लाखौँ कर्मचारीहरू
सयौँ वर्षदेखि मेरै काम गरेर पेन्सन पकाइरहेका छन्
कत्रा कत्रा राजा, महाराजा र बादशाहहरू
मलाई मुसारी, मुसारी बाँचिरहन फकाइरहेका छन् ।

यता बम, रकेट, अस्त्र र शस्त्रहरू
उता बाइबल, कुरान, पुराण र शास्त्रहरू
यता खमेरुज्, हिटलर, सद्धाम र इदी अमिनहरू
उता जेसस्, अल्लाह, बुद्ध र साइबाबाहरू
सबै सधैँ मेरो पूजा गर्न खटेकै हुन्
सबै मेरै कल्याणका लागि डटेकै हुन्
सबै महामानवहरू मेरै उन्नतिको एउटै लक्षमा छन्
समस्त भगवान र देवी देवताहरू मेरै मुक्तिको पक्षमा छन् ।

म शहीदहरूका सपनामा छु, नेताहरूका विपनामा छु
राजपत्रमा छु, घोषणपत्रमा छु
जुलुसमा, नारामा, सम्विधानका धारामा छु
राष्ट्रिय योजनाको पहिलो प्राथमिकतामा छु
कविका कवितामा, लेखकका उपन्यासमा छु
म सर्वत्र छु, सर्वव्यापी छु ।

तै पनि म एक्लो छु, असहाय छु
तै पनि म जहिल्यै असुरक्षित छु भयभित छु,
तै पनि म सधैँ नाङ्गै छु, भोकै छु,
तै पनि म सधैँ अशान्त छु, क्लान्त छु,
तै पनि म जहिल्यै पिलन्धरे रोगीको रोगी छु
तै पनि म सदाबहार मगन्ते जोगीको जोगी छु
सधै“ सधैँको म सुकुम्वासी, शरणार्थी र पीडित छु
म हरिकङ्काल, बेघर, आतङ्कित सधैँको प्रताडित छु ।

मलाई कार्ल माक्र्सको पूँजी पढाउँदा पनि भएन
मलाई गान्धीको त्याग तपस्याले पनि छोएन
मेरो दुखः हटाउन बल गर्दागर्दै पुष्पलाल मरे
मेरो उद्धारमा लाग्दालाग्दै विपि कालको मुखमा परे
मेरै नाम जप्ताजप्तै मनमोहन मुर्च्छा परे
मेरै चिन्तामा डुब्दाडुब्दै माधव नेपालका तालुका रौँ झरे
मेरा दुखहरू झन् झन् मौलाए
खप्न नसकेर होला कृष्णप्रसाद झन्नै बौलाए
गिरिजाबाबुको पनि सास यसै जाला जस्तो छ
प्रचण्डपथले पनि सिल्टिम्मुरै खाला जस्तो छ ।

थुक्क म ,
महात्मा परमात्मा सबै खनिएर खन्याउ“दा पनि
कहिल्यै- कहिल्यै- कहिल्यै नभरिने
बालुवै बालुवाको खाडल पो रहेछु
संसारैभरिका सबै ओखती खुवाउ“दा पनि
कहिल्यै-कहिल्यै-कहिल्यै बिसेक नहुने
रोगै रोगको पिण्ड पो रहेछु
जत्ति मल हाले पनि हरियो नहुने
म त ठुटामा उम्रिएको च्याउ रहेछु्
जति जल चढाए पनि बढ्दै नबढ्ने
म त ढुङ्गामा टाँस्सिएको झ्याउ रहेछु
शल्यकृया गरेर जति काटे पनि, जति ताछे पनि
युगयुगान्तर घाँटीमा गाँड र कापमा हाइड्रोसिल बोकेर हिँड्ने
कस्तो घाँडो मधौरु रहेछु म ।

म कल्पन्छु,
म नभएको, भए यो संसार कत्ति सुखी हुन्थ्यो होला
जति हुन्थे यो पृथ्वीमा कति खुशी हुन्थे होला ।

म मरिदिन्थेँ-
म उहिल्यै आत्महत्या गरेर मरिदिन्थेँ
यदि यो संसारमा प्रजातन्त्र हुँदैनथ्यो भने
प्रजातन्त्रमा चुनाव आइरहँदैनथ्यो भने
चुनावमा मैले भोट हाल्नुपर्दैनथ्यो भने
म बेगर पनि कोही सम्राट, राष्ट्रपति वा मन्त्री हुन्थे भने
मेरो उपस्थिति बिना पनि सरकारहरू चल्थे भने
अड्डा अदालतहरू खुल्थे भने
एनजिओ आइएनजिओवालाहरू बाँच्थे भने
म नभए पनि
कुनै दलको समर्थनमा गगनभेदी नाराहरू लाग्थे भने
कुनै तानाशाहको विरोधमा राँके जुलुसहरू निस्कन्थे भने

म मरिदिन्थेँ-
म उहिल्यै आत्महत्या गरेर मरिदिन्थेँ
यदि म नहुँदा पनि
विशाल आमसभाहरू सम्पन्न हुन्थे भने
अतिथिहरूको आगमनमा थप्पडीहरू बज्ने भए
नेताहरू मर्दा मलामीको खाँचो हुँदैनथ्यो भने
म बिना नै यो संसार चल्थ्यो भने
धरोधर्म, तिनीहरूलाई मैले बचाउनु पर्दैनथ्यो भने
म उहिल्यै-उहिल्यै-उहिल्यै
आत्महत्या गरेर मरिदिन्थेँ ।

सिनामङ्गल, काठमाडाैँ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे
देश बनाउनेहरू

देश बनाउनेहरू

लक्ष्मण गाम्नागे
दाजुभाउजूको देशमा

दाजुभाउजूको देशमा

लक्ष्मण गाम्नागे
कीराका कुरा

कीराका कुरा

लक्ष्मण गाम्नागे
मेरा बा

मेरा बा

लक्ष्मण गाम्नागे