साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता प्लाजा

यो देश अहिले ’नेताप्लाजा’मा अनुवाद भएको छ । यो ’नेताप्लाजा’मा एकेक जना नेताहरूका थरी-थरीका मोडल हेर्दै हामी मक्ख र पक्क परिरहेका छौं ।

Nepal Telecom ad

उबेलाका राजाहरू भगवानै बराबर थिए । प्रजाहरूको कति ध्यान राख्थे । राजाहरूले एकजना अभिभावककै भूमिका वहन गरेर आफ्ना प्रजाहरूलाई निजी सन्तानजस्तै नै काखी च्याप्थे । कसैलाई काखा कसैलाई पाखा गर्न जान्दैनन् थिए । उबेलाका समय नै अर्कै थियो । कुनै गञ्जागोल थिएऩ । झैं झमेला थिएन । कतै अपहरणको डर थिएऩ । कुनै अपराध थिएन । गोला-बारुद, हात-हतियार ता के कारागारको समेन नामोनिशान थिएन । कुनै अपराध थिएन । काट्मार थिएन । हानाथाप थिएऩ । यसैले कुनै प्रजाको नाउँमा कुनै पुलिस केश थिएन । एफआईआर-को नाम ता झनै कुनै प्रजाले पनि सुनेका थिएनन् । राज्यमा शान्ति थियो । प्रजाहरू शान्त, निष्फिक्री थिए । भुकभुके उज्यालोमै शय्यात्याग, सूर्यस्नान अनि गाउँकै खोलामा बुलुबुलु । बुलुबुलुपछि घोक्रो फुल्याउँदै मन्त्रोच्चारण । त्यसपछि गोदहन पर्व चल्थ्यो गोठ-गोठमा । चियाको साटो भर्खरै दुहेको खाँटी दूध स्वाट्टै पारेपछि दिनभरि डम्मै ।

भगवान् स्वयम् श्रीकृष्णको रुप धारण गरी वृन्दावनमा गोचारण गर्थे । कदम्ब रुखको हाँगामुन्तिर बसी हल्लिँदै बाँसुरी फुक्थे, भगवानको बाँसुरीको धुन सुनेर ओल्लो गाउँ-पल्लो गाउँका कुनाकाप्चाबाट गोपिनीहरू सात काम छोड़ी हत्त न पत्त मक्ख पर्दै हस्याङ्-पस्याङ् गर्दै कदम्ब रुखका वरिपरि धुइरो लाग्थे । गोपिनीहरूको धुइरो लागेको देखेर भगवान् श्रीकृष्ण पनि अझ मच्चीमच्ची बाँसुरी फुक्थे । बाँसुरी धुन सुनेर सुन्दरी बालाहरू मक्ख र पक्क परेको देखेर उनीहरू कहिल्यै फुर्केनन्, सर्केनन् । श्रीकृष्णले बाँसुरी फुक्न बन्द गरेपछि पो ती सुन्दरी बालाहरू आ-आफ्ना घर फर्कन्थे ।

कंश तर डरलाग्दा थिए । श्रीकृष्णका साक्खै मामा । कंशका अधिनमा डरलाग्दा-डरलाग्दा स्वाँठ्-स्वाँठ् परेका असुरहरू थिए । सबै खतरनाक । कंशको एउटै इशारामै यिनीहरू जहाँ पनि जतै पनि हुल्दङ्गा मच्चाउन उस्ताद थिए । राक्षस-राक्षिसनीहरू बऱ्याम थिए । श्रीकृष्णलाई निमिट्यान्नै पार्ने, उठीवास लाउने तालमा पुतनाले सुन्दरी रमणीको रुप धारण गरेकी थिई । अचेलको सीसीटिभी क्यामेराजस्तो श्रीकृष्णको अन्तर-कुन्तरमा सीसीटिभी क्यामेरा (अपार दृष्टिशक्ति) थियो । पुतनाको चालामाला बुझेर भगवान श्रीकृष्णले पुतनाको दूधको लाम्टा चुसेरै उसलालाई ठहरै पार्छन् । श्रीकृष्णकै आफ्नै मामा कंश उनको कट्टर शत्रु । तर अन्त्यमा आफ्नै भानिजसित मामा कंश धराशायी हुनै परेको थियो ।

उबेलाका मानिसहरूको जीवन विछट्टै रमाइलो र मिठाइलो थियो । बालाहरू तोलाका तोला सुनका गहना पहिरिएर झमझम पर्दै ठमठम निष्फ्रिक्री हिँड़्थे । न ता कसैले बाटो नै छेक्थ्यो, न ता कसैले घिच्राबाट कसैको सुनको हार चुँड़ालेर सुइँकुच्चा ठोक्थे । न ता कुनै बालालाई बाटो छेकेर दिक्क पार्थे । चोरी, लुटपाट, डाकू वा ठगीहरूको रगरगी थिएऩ । किनभने कसैलाई अपुग भन्ने केही थिएन । सबैलाई पुगिसरी थियो, कसैलाई अपुग भन्ने थिएन । तर अचेल ता बिग्रेका श्रीकृष्णहरूलाई पानीखेदो गर्न छाड़ी टोटोमा चढ़ेका महिला यात्रुहरूको ब्यागबाट पैसा, मोबाइल इत्यादि मूल्यवान चिजबरू एक मिलिकमै गायब गर्ने आधुनिक पुतानाहरू जताततै देखिँदा छन् ।

उबेला साँचो-ताला भन्ने कुनै वस्तु नै थिएऩ । साँचो-ताला भन्ने कुराहरू आविष्कार भएकै थिएऩ । भनौं नै भने, उबेला साँचो-चाबीको आवश्यकता पनि ता थिएऩ । साँचो-ताला भनेको शङ्काको खानी हो । आफ्नो मनलाई झन् अपराधी बनाउनु हो । कसैको ज्यान लिउँ कि नलिउँ, त्यस्ता नराम्रो विचार मनमा लियो कि ज्यानमारा भइहालिन्छ भन्ने उबेलाकाहरू ठान्थे । कसैको मनमा एक रति कपट थिएन, सबै निष्कपट । छलकपटविहीन सद्दै जनावर ।

सबैभन्दा अचम्मको कुरा ता के थियो भने, साधु-सन्तहरूलाई ता झन् कठोर निर्देश थियो । सुन्दरी बालाहरूको नक्सा ता के उनीहरूको छायासम्म हेर्न सख्त मनाही थियो । मनमा नानाभाँतीका इच्छाहरू तैँछाड़्-मैँछाड़ गरिरहन्छन् । त्यस्ता कुराहरू सोच्न पनि अपराध हो भनी साधु-सन्तहरूलाई लाखेस गरिएको हुन्थ्यो । उबेलाका अग्रज एवम् वरिष्ठ ऋृषिमुनिहरू एकदमै ’स्ट्रेट-कट्’ स्वाभावका हुन्थे । उनीहरूको सख्त आदेश थियो- ‘सर्वत्यागी होऊ । सबैप्रकारका भोगबाट मन फर्काऊ । सन्यासी भएपछि सन्यासीजस्तै होऊ । चिचीको पनि लोभ पापाको पनि लोभ नगर । दुइवटा नौकामा खुट्टा हाल्ने दुःस्साहस नगर । योग गर; भोग नगर । संयमको अभ्यास गर । माछा-मासु-अण्डा, प्याज-लसुन, मुसुरी दाल पटक्कै नछुनु; मुखमा हाल्ने ता कुरै आएन । यी सबै थोक इन्द्रिय उत्तेजित पार्ने कुराहरू हुन् ।’

महाभारतमा भनिएको छ- “बिहान तीन बजे आफैले पकाएका एक मुठी भात र रायोको साग खाऊ । दिनभरि केही नखाऊ, दिनमा एकछाक मात्रै । धेरै खाए दानवजस्तै जीउ हुन्छ, दानवीय प्रवृत्ति हुन्छ, किसिम उपद्रो गर्न मन लाग्छ । नून एकदमै बन्द ।”

हो, कुरा साह्रै आना ठिकै हो । भनिएकै पनि ता छ, थोरै खाए बल; धेरै खाए मल । नून नखाने कुरा पनि ठिकै लाग्छ । नूनले प्रेशर बढ़ाउँछ । धेरै खाए पेट लाग्छ, पेट लागे जीउभित्रका कलपूर्जाहरूको सेट बिग्रिन्छ । र ता बेला-बखत भविष्यको निम्ति सुरक्षित राखेको मोटो रकम टुथपेष्टबाट पेष्ट निकालेजस्तो निकालेर यो शरीरभित्रका कलपूर्जाहरू वेल्डिङ गर्न घरि चेन्नाई ता घरि भेलोर धाउनुपर्छ । जङ्गली जनावरहरू नून खाँदैनन् । प्याज, लसुन तथा हाबीजाबी मात्र होइन पगितो पनि खाँदैनन् । र ता परैहरूको भुँड़ी लागेको देखिँदैन । बाघ, चितुवा, मृग तथा बाँदरहरूको भुँड़ी लागेको कहिल्यै देख्नुभएको छ ? जङ्गली जनावरहरू नून खाँदैनन् र उनीहरूको रगतमा ईष्र्या, ईख, इबीको भावना देखिँदैन । उनीहरूका रगतमा मान्छेकोजस्तो खुसामदी रगत पाइँदैन । बाघले जङ्गलमा हाकाहाकी मृगलाई खेदी-खेदी मार्छ र आफ्नो दैनिक भोजन टार्छ । बाघले कहिल्यै लुकीछिपी अन्य जनावरमाथि आक्रमण गर्दैन । बाघजस्तो हिंस्रक जनावरको पगरी गुँथ्यो भन्दैमा जङ्गलका कुनै बाघले मौकाको फाइदा उठाएको देखिएको छैन । बाघ भएर बाघकै मान, सम्मान र इज्जतमा बसेको देखिन्छ जङ्गलका तमाम् बाघलाई ।

उबेलाको भारतवर्ष साँच्चै अपूर्व थियो । एकैजना राजाको नाउँ अद्यावधि उच्चारण गरेको सुनिन्छ- जनक राजा । मिथिलाका अधिपति । आज पनि ‘स्वणर् युग’-को कुरा गरिन्छ । एकातिर राम, अर्कातिर रावण । राक्षसराजा रावणले सीतामाताको अपहरण गरे पनि उनको एउटा राजकीय संस्कार थियो । लङ्कामा सीतामातामाथि कुनै त्यस्तो अपराधमूलक काम गरेको कतै लेखिएको पाइँदैन । राजकीय सम्मानका साथ सीतामातालाई लङ्काको पुष्पवाटिकामा सुरक्षित राखिएको थियो । अचेल ता आधुनिक सीतामाताहरू अपहरण भएपछि भोलिपल्ट वा पर्सिपल्ट कुनै जङ्गल बीचमा वा नदी किनारमा उनको क्षत्-विक्षत् लाश लडि़रहेको पाइनन्छ । रावणको राजधानी लङ्का स्वणर्पुरी थियो । उनका इष्टदेव कालीमाता थिइऩ् । तीव्र साधनाको परिणामस्वरुप रावणले अपार शक्ति प्राप्त गरे पनि उनको अहङ्कारले नै उनले मृत्युवरण गर्नुपर्‍यो ।

भारतवर्षमा म्लेच्छ सभ्यताले जरा गाड़ेपछि त्यो ‘स्वणर् युगे भारतवर्ष’ ’चटकराजे भारतवर्ष’ मा अनुवाद भएको छ अचेल । संवेदनशील राजाहरू छैनन् अचेल, प्रजाहरू पनि रानुबिनाका मौरीहरूजस्तै अलपत्र परिसकेका छन् । ऋृषिहरूको तपोवनमा सन्त्रासवादीहरूले ‘माइन’ ओछ्याई राखेका हुन्छन् । रिमोटले थिच्ने बित्तिक्कै ड्याङ्ङै । स-साना दानवहरू शहर-बजार, रेल स्टेशन, मन्दिर-मस्जिद-गिर्जा-गुम्बा-गुरुद्वारातिर छप्छप्ती छन् । तिनीहरू कोही होइनन् फगत ‘मानव बम’ हुन् । ’मानवबम’ भएर पड़्किदिनु उनीहरू आफूलाई गौरवान्वित ठान्छन् ।

उबेला यो रामराज्यको स्वणर् युगे भारतवर्षमा बाघ र मृग एउटै खोल्सामा पानी खान्थे । हिजोआज चटकराजाको चटकराज्यमा बाघ बाघसित डराइ-डराइ हिँड़्नुपर्छ । एकैसाथ एउटै खोल्सामा पानी खानु ता कोशिष नगरे पनि हुन्छ । एक धुनमा एउटा बाघले पानी खाँदै गर्दा पछिल्तिरबाट अर्को बाघ चाल मारेर आई झम्टिनु बेर लाउँदैन । अझ बघिनीहरू ता एक्लै यताउति नहिँड़े पनि हुन्छ । एक मिलिकमै पल्लो झाड़ीको युवा बाघले अचेल, मान्छेको ता के कुरा गर्नु ?

अचेल यो भारतवर्षमा नेताहरूको जगजगी र ढलिमलि छ । जनक राजा होइनन् यिनीहरू तर चटकराजा पक्कै हुन् । किसिम किसिमका चटक देखाई छलकपटविहीन जनतालाई पटक-पटक लट्याउँछन् । हेनतेन नभनी लाजै पचाएर भन्नु हो भने, यो देश अहिले ’नेताप्लाजा’मा अनुवाद भएको छ । यो ’नेताप्लाजा’मा एकेक जना नेताहरूका थरी-थरीका मोडल हेर्दै हामी मक्ख र पक्क परिरहेका छौं ।

सिलिगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
पेसा

पेसा

रमेश समर्थन
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x