साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता प्लाजा

यो देश अहिले ’नेताप्लाजा’मा अनुवाद भएको छ । यो ’नेताप्लाजा’मा एकेक जना नेताहरूका थरी-थरीका मोडल हेर्दै हामी मक्ख र पक्क परिरहेका छौं ।

Nepal Telecom ad

उबेलाका राजाहरू भगवानै बराबर थिए । प्रजाहरूको कति ध्यान राख्थे । राजाहरूले एकजना अभिभावककै भूमिका वहन गरेर आफ्ना प्रजाहरूलाई निजी सन्तानजस्तै नै काखी च्याप्थे । कसैलाई काखा कसैलाई पाखा गर्न जान्दैनन् थिए । उबेलाका समय नै अर्कै थियो । कुनै गञ्जागोल थिएऩ । झैं झमेला थिएन । कतै अपहरणको डर थिएऩ । कुनै अपराध थिएन । गोला-बारुद, हात-हतियार ता के कारागारको समेन नामोनिशान थिएन । कुनै अपराध थिएन । काट्मार थिएन । हानाथाप थिएऩ । यसैले कुनै प्रजाको नाउँमा कुनै पुलिस केश थिएन । एफआईआर-को नाम ता झनै कुनै प्रजाले पनि सुनेका थिएनन् । राज्यमा शान्ति थियो । प्रजाहरू शान्त, निष्फिक्री थिए । भुकभुके उज्यालोमै शय्यात्याग, सूर्यस्नान अनि गाउँकै खोलामा बुलुबुलु । बुलुबुलुपछि घोक्रो फुल्याउँदै मन्त्रोच्चारण । त्यसपछि गोदहन पर्व चल्थ्यो गोठ-गोठमा । चियाको साटो भर्खरै दुहेको खाँटी दूध स्वाट्टै पारेपछि दिनभरि डम्मै ।

भगवान् स्वयम् श्रीकृष्णको रुप धारण गरी वृन्दावनमा गोचारण गर्थे । कदम्ब रुखको हाँगामुन्तिर बसी हल्लिँदै बाँसुरी फुक्थे, भगवानको बाँसुरीको धुन सुनेर ओल्लो गाउँ-पल्लो गाउँका कुनाकाप्चाबाट गोपिनीहरू सात काम छोड़ी हत्त न पत्त मक्ख पर्दै हस्याङ्-पस्याङ् गर्दै कदम्ब रुखका वरिपरि धुइरो लाग्थे । गोपिनीहरूको धुइरो लागेको देखेर भगवान् श्रीकृष्ण पनि अझ मच्चीमच्ची बाँसुरी फुक्थे । बाँसुरी धुन सुनेर सुन्दरी बालाहरू मक्ख र पक्क परेको देखेर उनीहरू कहिल्यै फुर्केनन्, सर्केनन् । श्रीकृष्णले बाँसुरी फुक्न बन्द गरेपछि पो ती सुन्दरी बालाहरू आ-आफ्ना घर फर्कन्थे ।

कंश तर डरलाग्दा थिए । श्रीकृष्णका साक्खै मामा । कंशका अधिनमा डरलाग्दा-डरलाग्दा स्वाँठ्-स्वाँठ् परेका असुरहरू थिए । सबै खतरनाक । कंशको एउटै इशारामै यिनीहरू जहाँ पनि जतै पनि हुल्दङ्गा मच्चाउन उस्ताद थिए । राक्षस-राक्षिसनीहरू बऱ्याम थिए । श्रीकृष्णलाई निमिट्यान्नै पार्ने, उठीवास लाउने तालमा पुतनाले सुन्दरी रमणीको रुप धारण गरेकी थिई । अचेलको सीसीटिभी क्यामेराजस्तो श्रीकृष्णको अन्तर-कुन्तरमा सीसीटिभी क्यामेरा (अपार दृष्टिशक्ति) थियो । पुतनाको चालामाला बुझेर भगवान श्रीकृष्णले पुतनाको दूधको लाम्टा चुसेरै उसलालाई ठहरै पार्छन् । श्रीकृष्णकै आफ्नै मामा कंश उनको कट्टर शत्रु । तर अन्त्यमा आफ्नै भानिजसित मामा कंश धराशायी हुनै परेको थियो ।

उबेलाका मानिसहरूको जीवन विछट्टै रमाइलो र मिठाइलो थियो । बालाहरू तोलाका तोला सुनका गहना पहिरिएर झमझम पर्दै ठमठम निष्फ्रिक्री हिँड़्थे । न ता कसैले बाटो नै छेक्थ्यो, न ता कसैले घिच्राबाट कसैको सुनको हार चुँड़ालेर सुइँकुच्चा ठोक्थे । न ता कुनै बालालाई बाटो छेकेर दिक्क पार्थे । चोरी, लुटपाट, डाकू वा ठगीहरूको रगरगी थिएऩ । किनभने कसैलाई अपुग भन्ने केही थिएन । सबैलाई पुगिसरी थियो, कसैलाई अपुग भन्ने थिएन । तर अचेल ता बिग्रेका श्रीकृष्णहरूलाई पानीखेदो गर्न छाड़ी टोटोमा चढ़ेका महिला यात्रुहरूको ब्यागबाट पैसा, मोबाइल इत्यादि मूल्यवान चिजबरू एक मिलिकमै गायब गर्ने आधुनिक पुतानाहरू जताततै देखिँदा छन् ।

उबेला साँचो-ताला भन्ने कुनै वस्तु नै थिएऩ । साँचो-ताला भन्ने कुराहरू आविष्कार भएकै थिएऩ । भनौं नै भने, उबेला साँचो-चाबीको आवश्यकता पनि ता थिएऩ । साँचो-ताला भनेको शङ्काको खानी हो । आफ्नो मनलाई झन् अपराधी बनाउनु हो । कसैको ज्यान लिउँ कि नलिउँ, त्यस्ता नराम्रो विचार मनमा लियो कि ज्यानमारा भइहालिन्छ भन्ने उबेलाकाहरू ठान्थे । कसैको मनमा एक रति कपट थिएन, सबै निष्कपट । छलकपटविहीन सद्दै जनावर ।

सबैभन्दा अचम्मको कुरा ता के थियो भने, साधु-सन्तहरूलाई ता झन् कठोर निर्देश थियो । सुन्दरी बालाहरूको नक्सा ता के उनीहरूको छायासम्म हेर्न सख्त मनाही थियो । मनमा नानाभाँतीका इच्छाहरू तैँछाड़्-मैँछाड़ गरिरहन्छन् । त्यस्ता कुराहरू सोच्न पनि अपराध हो भनी साधु-सन्तहरूलाई लाखेस गरिएको हुन्थ्यो । उबेलाका अग्रज एवम् वरिष्ठ ऋृषिमुनिहरू एकदमै ’स्ट्रेट-कट्’ स्वाभावका हुन्थे । उनीहरूको सख्त आदेश थियो- ‘सर्वत्यागी होऊ । सबैप्रकारका भोगबाट मन फर्काऊ । सन्यासी भएपछि सन्यासीजस्तै होऊ । चिचीको पनि लोभ पापाको पनि लोभ नगर । दुइवटा नौकामा खुट्टा हाल्ने दुःस्साहस नगर । योग गर; भोग नगर । संयमको अभ्यास गर । माछा-मासु-अण्डा, प्याज-लसुन, मुसुरी दाल पटक्कै नछुनु; मुखमा हाल्ने ता कुरै आएन । यी सबै थोक इन्द्रिय उत्तेजित पार्ने कुराहरू हुन् ।’

महाभारतमा भनिएको छ- “बिहान तीन बजे आफैले पकाएका एक मुठी भात र रायोको साग खाऊ । दिनभरि केही नखाऊ, दिनमा एकछाक मात्रै । धेरै खाए दानवजस्तै जीउ हुन्छ, दानवीय प्रवृत्ति हुन्छ, किसिम उपद्रो गर्न मन लाग्छ । नून एकदमै बन्द ।”

हो, कुरा साह्रै आना ठिकै हो । भनिएकै पनि ता छ, थोरै खाए बल; धेरै खाए मल । नून नखाने कुरा पनि ठिकै लाग्छ । नूनले प्रेशर बढ़ाउँछ । धेरै खाए पेट लाग्छ, पेट लागे जीउभित्रका कलपूर्जाहरूको सेट बिग्रिन्छ । र ता बेला-बखत भविष्यको निम्ति सुरक्षित राखेको मोटो रकम टुथपेष्टबाट पेष्ट निकालेजस्तो निकालेर यो शरीरभित्रका कलपूर्जाहरू वेल्डिङ गर्न घरि चेन्नाई ता घरि भेलोर धाउनुपर्छ । जङ्गली जनावरहरू नून खाँदैनन् । प्याज, लसुन तथा हाबीजाबी मात्र होइन पगितो पनि खाँदैनन् । र ता परैहरूको भुँड़ी लागेको देखिँदैन । बाघ, चितुवा, मृग तथा बाँदरहरूको भुँड़ी लागेको कहिल्यै देख्नुभएको छ ? जङ्गली जनावरहरू नून खाँदैनन् र उनीहरूको रगतमा ईष्र्या, ईख, इबीको भावना देखिँदैन । उनीहरूका रगतमा मान्छेकोजस्तो खुसामदी रगत पाइँदैन । बाघले जङ्गलमा हाकाहाकी मृगलाई खेदी-खेदी मार्छ र आफ्नो दैनिक भोजन टार्छ । बाघले कहिल्यै लुकीछिपी अन्य जनावरमाथि आक्रमण गर्दैन । बाघजस्तो हिंस्रक जनावरको पगरी गुँथ्यो भन्दैमा जङ्गलका कुनै बाघले मौकाको फाइदा उठाएको देखिएको छैन । बाघ भएर बाघकै मान, सम्मान र इज्जतमा बसेको देखिन्छ जङ्गलका तमाम् बाघलाई ।

उबेलाको भारतवर्ष साँच्चै अपूर्व थियो । एकैजना राजाको नाउँ अद्यावधि उच्चारण गरेको सुनिन्छ- जनक राजा । मिथिलाका अधिपति । आज पनि ‘स्वणर् युग’-को कुरा गरिन्छ । एकातिर राम, अर्कातिर रावण । राक्षसराजा रावणले सीतामाताको अपहरण गरे पनि उनको एउटा राजकीय संस्कार थियो । लङ्कामा सीतामातामाथि कुनै त्यस्तो अपराधमूलक काम गरेको कतै लेखिएको पाइँदैन । राजकीय सम्मानका साथ सीतामातालाई लङ्काको पुष्पवाटिकामा सुरक्षित राखिएको थियो । अचेल ता आधुनिक सीतामाताहरू अपहरण भएपछि भोलिपल्ट वा पर्सिपल्ट कुनै जङ्गल बीचमा वा नदी किनारमा उनको क्षत्-विक्षत् लाश लडि़रहेको पाइनन्छ । रावणको राजधानी लङ्का स्वणर्पुरी थियो । उनका इष्टदेव कालीमाता थिइऩ् । तीव्र साधनाको परिणामस्वरुप रावणले अपार शक्ति प्राप्त गरे पनि उनको अहङ्कारले नै उनले मृत्युवरण गर्नुपर्‍यो ।

भारतवर्षमा म्लेच्छ सभ्यताले जरा गाड़ेपछि त्यो ‘स्वणर् युगे भारतवर्ष’ ’चटकराजे भारतवर्ष’ मा अनुवाद भएको छ अचेल । संवेदनशील राजाहरू छैनन् अचेल, प्रजाहरू पनि रानुबिनाका मौरीहरूजस्तै अलपत्र परिसकेका छन् । ऋृषिहरूको तपोवनमा सन्त्रासवादीहरूले ‘माइन’ ओछ्याई राखेका हुन्छन् । रिमोटले थिच्ने बित्तिक्कै ड्याङ्ङै । स-साना दानवहरू शहर-बजार, रेल स्टेशन, मन्दिर-मस्जिद-गिर्जा-गुम्बा-गुरुद्वारातिर छप्छप्ती छन् । तिनीहरू कोही होइनन् फगत ‘मानव बम’ हुन् । ’मानवबम’ भएर पड़्किदिनु उनीहरू आफूलाई गौरवान्वित ठान्छन् ।

उबेला यो रामराज्यको स्वणर् युगे भारतवर्षमा बाघ र मृग एउटै खोल्सामा पानी खान्थे । हिजोआज चटकराजाको चटकराज्यमा बाघ बाघसित डराइ-डराइ हिँड़्नुपर्छ । एकैसाथ एउटै खोल्सामा पानी खानु ता कोशिष नगरे पनि हुन्छ । एक धुनमा एउटा बाघले पानी खाँदै गर्दा पछिल्तिरबाट अर्को बाघ चाल मारेर आई झम्टिनु बेर लाउँदैन । अझ बघिनीहरू ता एक्लै यताउति नहिँड़े पनि हुन्छ । एक मिलिकमै पल्लो झाड़ीको युवा बाघले अचेल, मान्छेको ता के कुरा गर्नु ?

अचेल यो भारतवर्षमा नेताहरूको जगजगी र ढलिमलि छ । जनक राजा होइनन् यिनीहरू तर चटकराजा पक्कै हुन् । किसिम किसिमका चटक देखाई छलकपटविहीन जनतालाई पटक-पटक लट्याउँछन् । हेनतेन नभनी लाजै पचाएर भन्नु हो भने, यो देश अहिले ’नेताप्लाजा’मा अनुवाद भएको छ । यो ’नेताप्लाजा’मा एकेक जना नेताहरूका थरी-थरीका मोडल हेर्दै हामी मक्ख र पक्क परिरहेका छौं ।

सिलिगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
नयाँ फास्ट फुड

नयाँ फास्ट फुड

कृष्ण प्रधान
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x