पिँडालु पण्डितगाउँ गाउँमा सिंहदरबार
यो मोरो सिंहदरबार दिनभर गफ गरेर बस्छ । रात परेपछि घार्र घुर्र के के गर्छ गर्छ । रातभरि जनता सुत्छ, अनि ऊचाहिँ उठेर त्यही जनतालाई कसरी झुक्याउने भनेर अनेक तानाबाना बुन्छ ।

उनका मनमा योभन्दा खुसीको क्षण अरू केही’नि छैन झै गरी सहरको एउटा कुनामा एक हुल युवा कुर्लँदै थिए । जुँगा नउम्रेका यी युवाको भिड साँच्चै नै हेर्नलायक थियो । जुँगा नउम्रेका भन्नेबित्तिकै तपाईं अन्तिम कक्षा समाप्तिको घण्टी लाग्नेबित्तिकै कन्याबाहुल्य क्याम्पसका गेटमा थुप्रिएका केटीहरूको भिड सम्झनु होला र यसले त्यही भिड देखेर हेर्न लायक भनेर प्रशंसा गर्यो भन्ठान्नु होला तर कुरो त्यसो होइन, मित्र । यो भिड थियो स्थानीय तह निर्वाचनमा मतदान गरेर मतदानको पहिलो अनुभव बटुल्न कम्मर कसेर लागेका केटाकेटीको । केटाकेटीको भन्दा तपाईं फेरि अर्थको अनर्थ गरेर मसिना बच्चा सम्झेर केटाकेटीले पनि निर्वाचनमा मतदान गर्न पाउँछन् र ? मतदान गर्न त अठार वर्ष पुग्नुपर्छ भनेर मलाई सम्झाउन खोज्नु होला । कुरा त्यसो पनि होइन मित्र, मेरो भनाइको अर्थ हो, केटा र केटी । हो, म यिनै केटाकेटी अर्थात् जुँगा नउमे्रका युवाको कुरा गर्दै छु । जीवनमा पहिलो पटक मतदानको अनुभव गर्न तम्सिइरहेका यी सबैका मुखबाट एउटै स्वर बाहिरिइरहेको थियो – अब गाउँ गाउँमा सिंहदरबार जाने भो ।
निकै बेरदेखि यी युवाको यस्तो भनाइ सुनिरहेका शतक हाराहारी उमेरका एक वृद्धले यी सब युवालाई एउटा एउटा मात्र भए पनि चकलेट बाँड्ने मनसुबा लिए । पर्सबाट केही रकम निकाले र खल्तीभरि अट्ने चकलेट किनेर बूढा यिनै युवाको भिड अगाडि गएर बुढ्यौली स्वर निकालेर कुर्लिन थाले- “चकलेट काःवा मस्ट ।” अघिपछि सधैँ उनले नेपाली भाषामा कुराकानी गर्ने भए पनि यतिखेरचाहिँ उनलाई कता कताबाट स्वतःस्फूर्त रूपमा आफ्नै प्यारो मातृभाषामा बोल्न आएछ । लवज पनि नेवारकै । ‘चकलेट काःवा मस्ट’ को नेपाली अर्थ हुन्थ्यो – ‘चकलेट लिन आओ बच्चा हो ।’ उनले आफ्नो एउटा जोसमा त्यसरी नेवार भाषा बोल्दै गरेको कुरा उनैलाई याद भएनछ । फेरि पनि उसै गरी दोहोर्याए – “चकलेट काःवा मस्ट । न्हाय्पँ मताःला (कान सुन्दैनौ) ?”
उनका मुखबाट यसरी नेवार भाषाको लवज निस्किनु स्वाभाविक पनि थियो । नेवारी परम्परामा केही दशक अघिसम्म पनि घरमा जो कोहीको जन्मदिनका अवसरमा दही च्युरा मुछेर टोलका बच्चाहरूलाई बाँड्ने चलन थियो । घरका ढोका अगाडि पूजा गरेर थालमा दही च्युरा मुछेर घरका मुलीहरू हार्दिकताका साथ ‘धौ बजि काःवा मस्ट’ (दही च्युरा लिन आओ बच्चा हो) भनेर घरका मूल ढोकामा उभिएर कराउँथे । अहिले जस्तो पार्टी प्यालेसलाई दुःख दिइहाल्ने आँट त्यतिखेर जो कोहीले गरिहाल्न सत्तैmनथ्यो । यसरी कराएको सुन्ने जति टोलका सप्पै बच्चा मुख मिठ्याउँदै हातहातमै दही च्युरा थाप्न आउँथे । खान्थे । रमाउँथे । दिने र खाने दुवैको मन सन्तुष्ट । यतिखेर पनि यही बानीले उनलाई च्याप्पै अँगाल्यो र कराइहाले – “चकलेट काःवा मस्ट । ह्नाप न्हाय्पँ मताःला ?”
युवाहरूका भिडमा नेवार भाषा बुझ्ने एक दुई जना केटाकेटी पनि रहेछन् । तिनका इसारा बुझ्नेबित्तिकै युवाहरूको सबै भिड बूढातिर तानियो । बूढाले सबलाई एउटा एउटा चकलेट बाँडे । केटाहरू रमाए र बूढालाई सोधे – “बाजे, आज तपाईंको ह्याप्पी बर्थ डे हो ?” बूढाले फटाफट जवाफ दिइहाले – “होइन बा, होइन ।”
“अनि किन चकलेट बाँड्नु भ’को त ? बाजेले ढाँट्नु भो, पक्कै पनि आज बाजेको बर्थ डे हो । ह्याप्पी बर्थ डे बाजे ।” युवाहरू फेरि पनि एउटै स्वरमा कराइरहे – “ह्याप्पी बर्थ डे बाजे ।” “ह्याप्पी बर्थ डे बाजे ।”
युवाहरूका कुराले बूढा मुस्कुराइरहे । तिनको स्वर केही शान्त भएपछि उनले भने – “बाबू हो, मैले मेरो बर्थ डे भएर चकलेट बाँडेको होइन । सिंहदरबार गाउँ जाने भो भनेर बाबूहरूका मुखबाट सुनेँ । अनि त्यसैको खुसियालीमा चकलेट बाँडेको हुँ । ल ! राम्रो कुरा सुनायौ बाबू हो, तिमीहरू सबैलाई धन्यबाद ।”
बूढाका कुराले युवाहरूको मनमा कौतूहल जाग्यो । प्रश्न गरे – “किन र बाजे ?”
युवाहरूबाट यस्तो प्रश्न आउँछ कि आउँदैन भन्ने बूढालाई लागिरहेथ्यो । उनले खोजेजस्तै प्रश्न आयो । परीक्षामा आपूmले घोकेकै पाठको प्रश्न आउँदा विद्यार्थीहरू जति खुसी हुन्छन्, त्योभन्दा धेरै खुसी भए बूढा । र, एकोहोरो भट्ट्याउन थाले- “कम दुःख द्या’थ्यो यो सिंहदरबारले सहरमा बसेर ? बल्ल गाउँ जाने भएछ । ठिक्क भो अब । गाउँ गएपछि यसलाई फेरि ह्याँ फर्केर आउनै दिनुहुन्न । बरू बाबूहरूलाई केही मद्दत गर्नुपर्छ भने म पनि गर्छु । गाउँ गए जाओस्, यसलाई अब सहरमा फर्केर आउनचाहिँ दिनै
हुन्न । कम दुःख द्या’छ यसले ह्याँ । बाबूहरूलाई थाहै छैन ।”
बूढाका कुराले युवाहरूको मनमा झनै कौतूहल थप्यो । हामीले बुझेको सिंहदरबार र यी बूढाले बुझेको सिंहदरबार नै फरक पर्यो कि क्या हो ! युवाहरू आ-आफैंगुनगुनाए र फेरि पनि प्रश्न गरे – “किन र बाजे ! गाउँ गएपछि फेरि सहर पस्नै नदिने गरी सिंहदरबारले के गर्या’थ्यो र ! त्यस्तो नराम्रो ?”
बाबू हो, कुरा साँच्चै नबुझेकै हौ त तिमीहरूले ? हुन त बुझ्छौ पनि कसरी ? तिमीहरू त हिजोका फुल आजका चल्ला न हौ । हामी बूढाको जति घाम पानी तिमीहरूले व्यहोरेकै छैनौ । उरन्ठेउला छौ । गुदी कुरो के हो बुझ्दैनौ । कसैले केही भन्यो कि त्यसैका पछिपछि लाग्छौ । हुन त तिमीहरूका उमेरमा हामी पनि त्यस्तै थियौँ । मैले जति अरू कसले बुझेको छ र ? भनेजस्तो लाग्थ्यो । पछि पो कुरा बुझ्दै जाँदा सिंहदरबारका विषयमा अलिभाँती थाहा हुन थाल्यो । तिमीहरूले त के बुझेका छौ र ? हामीले त चन्द्र समशेरका पालादेखि भोग्दै आ’छौँ यो सिंहदरबारलाई । यो मोरो सिंहदरबार दिनभर गफ गरेर बस्छ । रात परेपछि घार्र घुर्र के के गर्छ गर्छ । रातभरि जनता सुत्छ, अनि ऊचाहिँ उठेर त्यही जनतालाई कसरी झुक्याउने भनेर अनेक तानाबाना बुन्छ । जसले योसँग काम लिन ग’को छ त्यल्ले मात्र था’पाउँछ यो कस्तो छ भनेर । कम चलाख छ यो सिंहदरबार ?
यही सिंहदरबारले गर्दा हाम्रो सप्पै बकुल्ला बारी नास भो । कत्रा कत्रा काउली फल्ने खेत नास भो । त्यति मिठो च्युरा बनाउने ताइचिन धान फलाउने ठाउँ नास भो । यस्सो अलिकति ढुक्कसँग घाम ताप्ने ठाउँ छैन । थुक्ने ठाउँ छैन । अहिले त के के हो के के ? यता पनि घडेरी भन्छ, उता पनि घडेरी भन्छ ! जो आउँछ, हाम्रै बकुल्ला बारी बेचाएर घर बनाउँछ । सिंहदरबार नभइद्या’भे त्यत्रा मान्छे ह्याँ कसरी आउँछ ? किन आउँछ ? फटाहाहरू । अब सिंहदरबार गाउँ गएपछि त काठमाडौँको यो भिड पनि पछिपछि गैहाल्छ नि । कम स्वार्थी छ मान्छे । चाहिँदो नचाहिँदो काम गर्छ, अनि सिंहदरबारलाई भनेर जोगिन्छ । पहिला पहिला हाम्रा पालामा त्यस्तो दलाल सलाल भन्ने केही छैन । अहिले त जे काम पनि दलालले गरेर ल्याउँछ । सरकारै दलालहरूको छ जस्तो गरेर ल्याउँछ । कसरी काम पट्याउँछ पट्याउँछ थाहै छैन । सप्पै तिनीहरूकै मान्छे छ जस्तो छ सिंहदरबारभित्र । अनि किन डराउँछ ? सिंहदरबारले रातभरि काम गर्ने पनि त्यसै भएर जस्तो लाग्छ । दिउसो गर्यो भने जनताले थाहा पाउँछ भनेर राति राति काम गर्छ । यस्तो सिंहदरबार गाउँ जान्छ भने जाओस् हामीलाई मतलब छैन । ढुक्कसँग बस्न त पाउँछ । जाओस्, गाउँ जाओस् सिंहदरबार ? कम फटाहा बना’को छ यहाँका मान्छेलाई सिंहदरबारले ? जे पनि हुन्छ हुन्छ भन्छ । चाहिँदो काम केही गर्दैन । पाँच वटा राम्रो हो कि जस्तो काम गर्यो भने दुईसय पाँच वटा नहुने काम गरेर ल्याउँछ । अनि सोझासिधा जनताले के सिक्छ यस्तो दरबारसँग । यस्तो सिंहदरबार ह्याँ राखेर के काम ? जाओस्, गाँवै जाओस् यो सिंहदरबार । गाउँ गएपछि थाहा पाउँछ यो सिंहदरबारले । सिंहदरबारको मार हामी सहरका मान्छेले मात्र किन खाने ? गाउँको मान्छेले पनि चाखोस्न ।
कुर्सीको लागि रातदिन झगडा गरेर ल्याउँछ । काम पर्यो भने जोसँग पनि मिल्छ, काम छैन भने आफ्नैलाई पनि लात हान्छ । अर्काका घरको कुरा खुब गरेर ल्याउँछ, आफ्नो घरमा आगो लागेको थाहा पाउँदैन । जनतालाई यो दिन्छु र उः दिन्छु भन्छ, दिनचाहिँ केही दिँदैन । अझ उल्टै हामीसँग भोट माग्न आउँछ । तिमीहरूले बुझेको छ ? हाम्लाई सोध्न, कस्तो छ सिंहदरबार ? हामी भन्दिन्छ । त्यसै चकलेट बाँडेको छ मैले तिमीहरूलाई ? मलाई त कस्तो खुसी लागे’छ सिंहदरबार गाउँ जाने कुराले । राम्रो कुरा सुनायौ तिमीहरूले । सिंहदरबार गाउँ ग’को दिन त म ह्याँ भोज गरेर ल्याउँछ । थाहा छ ?
युवाहरूले बूढासँग जिस्किन खोजे र एउटा जिज्ञासा राखे- “सिंहदरबार यहाँ भएको बेला त यहाँको सप्पै फोहोर गाउँ लगेर फ्याँक्छ । अब सिंहदरबार गाउँ गयो भने गाउँको फोहोर फेरि सहरमा ल्याएर फाल्यो भने के गर्छ ? सिंहदरबार अगाडिका यत्रा सडक भत्क्यो भने के गर्छ ? खालि सिंहदरबारले यस्तो गर्यो उस्तो गर्यो भनेर कुरा काटेर मात्र हुन्छ ?”
बूढा पनि कमका कहाँ थिए र ? युवाहरूलाई जवाफ लगाउन थालिहाले- “फोहोर ल्याएर फाल्यो भने हामी त्यसको बिजुली बना’र ल्याउँछ । कम्पोस्ट मल बना’र ल्याउँछ । अनि त्यही गाउँको मान्छेलाई बेच्छ । सडककै कुरा गर्ने हो भने पनि सडक अहिले पनि त कहाँ भत्केको छैन र ? बना’को छ सिंहदरबारले ? सडक अझै भत्केर भताभुङ्ग भएछ भने हामी त्यसमा धान रोपिदिन्छ । तरकारी लगाइदिन्छ । धनियाँ, प्याज, लसुन, आलु, सलगम, ग्याँठ, बन्दा, काउली सप्पै फलाइदिन्छ । डर छैन हाम्लाई सिंहदरबार गाउँ ग’र । गाउँ जान्छ भने जाओस्, हामी त्यसलाई माला लगाएर पठाइदिन्छ । माग्छ भने अलिकति बाटो खर्च पनि दिन्छ ।”
बूढाका कुरा युवाका कानमा घुस्दै घुसेन । नेताहरूले गाउँ गाउँमा सिंहदरबार लैजाने भनेका कुराले उनमा छुट्टै किसिमको उन्माद दिइरहेको थियो । त्यसैले त अरू कुरा सोच्तै नसोची गाउँ गाउँमा सिंहदरबार जाने कुराले उनीहरू औधी खुसी देखिन्थे । बूढासँगको वार्तापछि युवाहरूअगाडि बढी झनै जोसिएर कराउन थाले –
‘भोट कसलाई ?’ ‘युवालाई ।’
‘गाउँ गाउँमा सिंहदरबार ।’ ‘सिंहदरबार, सिंहदरबार ।’
‘भोट कसलाई ?’ ‘युवालाई ।’
‘गाउँ गाउँमा सिंहदरबार ।’ ‘सिंहदरबार, सिंहदरबार ।’
‘युवामञ्च’, २०७४ साउन’
Subscribe
Login
0 Comments
Oldest






































