डा. मुकेशकुमार चालिसेहामीलाई फुर्सद छैन, के गर्नु ?(३)
कस्तो बिव्ल्याँटो समय आयो ? के सबै यसैगरी सोच्दा हुन् कि मति बिग्रेका केही मात्र हँ ? हत्, कस्तो चिन्ता र बितृष्णाले मन निचोरिएर आयो ।
केहि काम अघिबढोस् भन्ने चाहानामा फुर्सद निकाल्नै गार्हो पर्यो । कस्तो बेला पनि आउँदो रहेछ, हेर्नोस् त ! अब साँझ पर्न आँट्यो, सबै आआफ्नै काममा लाग्लान्, म आफ्नो सुरमा काम गर्नु पर्यो । घाम जान लागेपछि चिसो बतास् चल्न सक्छ, पहिला त झ्याल ठिकसँग लागे नलागेको हेर्नुपर्यो । सिरेटो पसिसकेपछि त् रातभरी कोठा सर्पको ढाडजस्तो चिसो भइहाल्छ नि । बेलैमा जोहो गर्नुपर्छ, आफूले नगरे कस्ले गर्ने ? रातीलाई चाहिने लुगाफाटो, पानी, तातोराख्ने भाँडो, कचौरा आदि ठिक ठाउँमा छ कि छैनन्, बेलैमा तहकिकात गर्नुपर्यो । भन्याबेला हाजिर हुने ठाउँ एकिन गर्नु पर्यो, फेरि राती छाम्छुम्छुम कस्ले गरोस् ! खन्द्र्याङ्खुन्द्रुङ हुँदा फेरि कोठेसाथीको हकार खाने डर ।
कम्तिमा आज मगजमा सगसगाएका कुरा टिपिराखौँ, नत्र के के झोजले हराएभने कस्लाई सोध्नु ? आफूजस्तै अरु छैनन्, हित्तचित्त मिल्ने अलि टाढै छन्, भन्याबेला कहाँ भेट हुन्छन् र ? पिर पनि कति कति भन्या ! मलाईमात्र हो कि अरुलाई पनि यस्तै पिर हुन्छ, कसरी थाहपाउनु ! हुन त, पिर त आफ्नै जिम्मा भनेर अस्तिन स्विकार गरेकै हो । अरुले त आफ्नो र आफ्नाको जिम्मा लेलान्, के थाह ? सोच्दासोच्दै गाहारो भएर आयो । जे पनि आफैँलाई हुने कस्तो उमेर आउँदो रहेछ, हेर्नोस् त ! अरुलाई पनि होला कि मलाई मात्र हो, कसरी थाह पाउने त्यो पनि ? गाहारो भयो भन्दाभन्दै निकै पो भयो । लौ, बरु उत्तानो परेर एकछिन लामो स्वास तानेर लड्छु । जीउ तन्काएर हातहरू सोझो पारेर नौकासन भएँ । पेट बस्याजस्तो र ढाड अलि सञ्चो भएजस्तो लाग्यो । अब एकछिन घोप्टो परेर अस्तिन केके हुण्डरी आउँदा डाक्टरहरूले प्राणवायु धेरै तान्ने सिकाएका थिए नि, हो त्यसैगरी । घोप्टेर लामोलामो स्वास फेर्दै साइकलको पाइडल मारे झैँ गर्या त्, क्या मज्जा आको, जीउनै हलुको भयो, ढाड कट्याककुटुक्क गरेझैँ गर्यो, गोडा अझै सबै रगत पोको परेझैँ भारी भएकै थियो । लौ, उसोभए हात र घुँडाले टेकेर टेबुलजस्तो गरे राम्रो होला कि भनि आसन बनाएँ । त्यहीबेला दुई पिउसा बाबुआमाको चङ्गुलबाट छारतोस कस्दै आए र ‘लौ है, हामी घोडा चढौँ’ भनि उठाको कम्मरमा चढिहाले । उनीहरूले मेरो काँध र जाँगेको कटि समातेर पुरा ढाडमा काठीकसेर चढेझैँ हट्हट सुरुगरी हाले । बुझ्नेलाई त् केहिभन्न नसक्ने यो पाको ज्यानले अबोध मनुवाहरूको रमाइलो कसरी रोक्नु ? अँ, एक छिनमा त् जिउनै सञ्चो भएझैँ, पिँडुला हलुका भएझैँ, ढाड पनि दुख्न छोड्यो । आहा ! कुन शुभेच्छुकले पठायो होला यस्ता जादुगरी दूतलाई ? म त धन्यभएर सोच्दै थिएँ, ‘आज अरुको जे डे भएपनि मेरो चैँ भाण्टङ्भुण्टुङ डे रहेछ ।’ अझै एकैछिन् गरिदिएहुन्थ्यो भन्ने लाग्याथ्यो, बिचराहरू थाकेछन् क्यार ? ‘अब आँगनमा पुतली समात्न जाम’ भनि खितिखिती हाँस्दै ओर्लेर हिँडिहाले । साँच्ची, यस्तै मनमा पाप नभएपछि प्राकृतिक अनुसाशन र व्यवहार गरे वयस्क मानिसहरू पनि कति हितकारी र अरुको भलाई जानीनजानी गर्ने हुन्छन् होला हैन त ?
साँझसाँझ हुन लाग्यो । पत्रु बटुल्ने(कवाडी)को लयबद्ध स्वरले त्यता पो मन गयो र झ्यालबाट हेरेँ । उसले पुराना किताब र पत्रपत्रिकाहरू जम्मा गर्नै थालेको रहेछ । मेरो चौघेराबाट पनि ‘अब कामै नलाग्ने र म्याद गुज्रिएका कुरा राखेर बोझमात्र, कुनै काम नै नगर्ने बस्तु राखेर के काम ?’ भनेर दिन लागिएको रहेछ । वयस्कहरूका यस्तो कुरा सुनेर ‘काम गर्न नसक्ने र पुराना काम नलाग्ने कुरा सबै लैजान्छ भने सुतिरहने हाम्रा बाआमालाई पनि लैजान्छ कि क्या हो ?’ भनेर पल्लाघरका बहर केटा भन्दै रहेछन् । त्यस्तो वार्तालाप सुनेर घृणारहित भई हाम्रा घरका फिस्स हाँसेको झ्यालबाट देखेँ । मन कुँढिएर आयो, के हाम्रा उमेर र शारीरिक अवस्थाका अनुभवले खारिएका मानिसहरू पत्रुका डङ्गुर (कवाडीखानाका) जस्ता जीनिस भइसक्यौँ त ? के हाम्रो भनुभव, ज्ञान र शिप उपयोग गर्ने समाज अब छैन ? हामी बेकामे, खानेकुराका काल, औषधि बिक्रि बढाउने ग्राहक र रोगका घर मात्र हौँ ? कस्तो बिव्ल्याँटो समय आयो ? के सबै यसैगरी सोच्दा हुन् कि मति बिग्रेका केही मात्र हँ ? हत्, कस्तो चिन्ता र बितृष्णाले मन निचोरिएर आयो । होइन, नेपाली समाज त्यति त बिग्रेको छैन, यता पिर नगरौँ कि ? दशौँ पाठा पाएर घरको व्यवहार मिलाउन सहयोग गरेकी बुढिबाख्रीलाई व्याउन थाकेको र दाँतसमेत झरेकीले कति बाँच्ली र भनेर पाल्न छोडेर बगरेलाई मासुमोलमा बेचेको कथा सम्झेँ । यस्ता कुराको प्रतिबाद गरौँ त, कस्लाई गरौँ ? जान्ने भएर बोलौँ, धोबीको गदाहाको चाल होला । दुःखदिएकाले आधारातमा चोर पस्ता मालिक उठाउन घुक्न वास्ता नगर्ने कुकुरभन्दा जान्ने भएर कर्कश आवाजमा कराउने गदाहालाई आफ्नो सुरमा मस्त सुतेको मालिक उठेर चुटेको थियो । यस्तै प्रशङ्गका सम्झना र त्यसबाट उम्रेको रनाहले धेरैबेर मन भनभनायो, छाती पोल्यो, जीउनै फतक्क गल्यो ।
सार्है मन उद्वेलित भएर लम्पटासनमा आएँ । आफूले सक्दा परिवार र आफ्नो ज्ञानको तुजुकमा गरेका काम सम्झेँ । सबै राम्रै गरेझैँ लाग्यो, प्रारम्भिक अवस्थाभन्दा बढोत्तरीनै गरेको हो । बाबुबाजेको आज्ञानुसार नै अघि बढेकै हो । त्यसोगर्दा नै यतिसम्म स्तर पुग्यो, अब यस्कै आधारमा आफू मुनिकाले प्रगति गरे झन राम्रो । उनीहरू बाङ्गिएकै हुन् कि क्या हो ? मलाई ‘तैँले गरेको कुनै राम्रो होइन’ पो भन्छन् । के म अब तेस्रो तहको व्यक्तित्व भईसकेँ त, उहिले गरेका काम अहिले उड्केर कस्लाई फाईदा होला ? उनीहरू पछिका सन्तानले के सिक्लान् ? आखिर छेउको सियो माझमा पनि त आउँछ, कस्तो विवेकी नभएका ? मानिसको प्राकृतिक चेतना कता हरायो होला ? किन हरायो होला ? दिक्क मान्दै यताउति हेरेँ, घडीमा पाँच बजेछ । ओहो ! खोई रातीको स्याहार ? यसपाला मिनपचासमा पचास दिन नाघी चिसो लम्स्याइलो भएर दुःख दिएको थियो । अझै राती र बिहान दुःख दिन्छ । तातो पानी र तताउने जिनिस् दुरुस्त हुनै पर्यो । नत्र त, साँझ तुम्बो भर्दा, औषधि निल्दा र रातीको हाजिरीमा खान मनलाग्दा उत्तानो परिहालिन्छ नि ! अलिकति पानी तताउन हालेर फेरि लेख्नेकुरामा सोच्न निमग्न भएँ ।
‘हाम्रा बाआमा कति जान्ने है, बाहिर पनि कस्तो मिलाएर शौचालय बनाएका । बाहिरीया भेट्ने पनि फराकिलो आँगन, अगाडि फूलबारी र फलफूल रोप्ने चिटिक्क बारी । यस्तो राजमार्ग नजिकको जग्गा किनेर घर पनि जत्तिपुग्ने ठूलो, तीन परिवार बस्न मिल्ने । हैन, पछिसम्म हामीलाई सुख होस् भनेर होला । वास्तवमा आफूले दुःख गरेर भए पनि दुईपुस्ता सुखी हुने जोहो गरिदिएका छन् । हामीले त के गर्न सकिएला ! यस्तो भनेर महिला आवाज भन्दै थिइन् । आफ्नै रगतले मात्र हाइन अर्काको घरबाट आएकाको पनि त्यस्तो माया र प्रशंसा परिवारको कुरा गुनगुन भए पनि ढोका बाहिरबाट सुनेपछि क्या मख्ख परियो । पुलकित भएर कता छु भन्ने नै होस् भएन । अझै के भन्छन् भनि कनसुत्लो लाग्दै थिएँ, कोही बाहिर आउन लागे जस्तो आवाज आएकाले हिँड्नुपर्यो भनि फर्कन खोजेको चप्पल पाउदानमा अल्झेर लडेँ ।’ हत, म फेरि कुन तन्द्रामा परेछु । एकैछिन पछि एकजना आई ‘साँझपख पनि के लडिरहेको, यसो हिँड्डुल गर्नु नि, यसो गरे त खान नि रुच्दैन । रुचेन, रुचेन भनेरमात्र हुन्छ ? औषधिले पनि काम गर्दैन लड्या लड्यै गरे’ भनेर हपारे । लौ, आफूले भोग्नुपर्ने नै यहि हो भनि चित्तबुझाई चुप रहेँ ।
पानी ताती सकेछ, तातै रहनेमा भरेँ, चिसोमा मिसाएर राखेँ परे अहिले र खानाखाँदा कामलाग्छ भनेर । ओछ्यान टक्टकाएँ, दिउँसो यताउति गर्दा लरबरिएका लुगा, राती लाउने लुगा तहमा राखेँ । नजिकराख्ने फोहोरदानी सफा गरेर ठूलो ढोका बाहिरको भाँडोमा हालेँ । अब के गरौँ ? लेख्ने भन्या कता मन बरालिएछ, के पाको उमेरमा यस्तै हुन्छ ? कि मलाईमात्र हो ? होइन, अलि बिव्ल्याँटो परिस्थितिमा भएकालाई यस्तो हुन्छ कि सप्ठ्यारोमा हुनेलाई पनि उमेरमा यस्तै हो ? अँ, यो नै लेखको विषय पनि हुनसक्छ नि, यसबारेका पनि सोच्नु पर्ला ! लौ, साँझको पाँच भन्दा बढि नाघ्यो, अब त बेलुकीको खानाको सुरसार र के खाना खाने भन्ने घण्टी आउन सक्छ । बेलामा बाले काम पनि लाग्छ, नमिले के मिल्छ भन्ने पूर्वजानकारीले आँत आकर्षित गरिरहन पाइयो । यतिखेरसम्म पनि मैले लेख टुमटाम पार्न सकिन । हरे ! हुन त, एकछिन त्यसै बसेको त छैन केहिनकेही सोचेकै छु । अपजस् नै लाउने भए अपरान्हदेखि मैले फुर्सद पाएको कहिले देख्नु भयो ? ल, तपाईं नै भन्नोस् मलाई फुर्सद छ त, छैन नि, लेख्न सकिन अब के गरुँ म ?
क्रमश…
ल.पु. चालिसेडाँडा
लेखकका यस्तै सामग्रीहरू
१. मेरा अहिलेका साथीहरू, फ्रेसन्युजनेपाल डट कम अनलाइन, २०२१ नेभेम्बर २७
२. हामीले गर्ने कामहरू, फित्कौली डट कम अनलाइन, २०२१ दिसम्बर २८
३. हामीले किन यस्तो भोग्छौँ ?, फित्कौली डट कम अनलाइन, २०२२ जनुवरी ११
४. हामी जता भए पनि !, फित्कौली डट कम अनलाइन, २०२२ फरबरी ५
५. हामी यस्तैमा छौँ साथीहरू !, परिसम्बाद डट कम अनलाइन, २०२२ फरवरी ९
६. हामीलाई फुर्सद छैन, के गर्नु ? (१), फित्कौली डट कम अनलाइन, २०२२ फरबरी १७
७. हामीलाई फुर्सद छैन, के गर्नु ? (२), फित्कौली डट कम अनलाइन, २०२२ फरबरी २४
Subscribe
Login
0 Comments
Oldest





































