साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाँटी कार्यकर्ता

खाँटी कार्यकर्ता त्यो पनि ठूलो पार्टीको ! दुख त यसै उसै गरिँदैन । यसै मोज गरिन्छ । ठगेर खान पाएपछि काममा जोतिन्छ कुनै मूर्ख ?

Nepal Telecom ad

हो नि ! म कार्यकर्ता हुँ । मलाई काम गर्न अल्छी लाग्छ । साथीहरू मलाई ढुक्कले अल्छी भन्छन् । बदलामा म ङिच्च दाँत देखाइदिन्छु । उनीहरू अर्कोतिर फर्कन्छन् ।

म त भन्छु कार्यकर्ता हुनु नै श्रम गर्नु हो । कति गाह्रो छ कार्यकर्ता हुन् । तिमी नभाकालाई के थाहा ! कति ढुङ्गा हान्ने र टायर बाल्ने गरेपछि बल्लतल्ल कार्यकर्ताको फाराम भर्न पाइन्छ । फाराम भरियो ।

पालो पर्खिनु पर्छ । समय लाग्छ । कति समयपछि फाराम स्वीकृत हुन्छ । लौ स्वीकृत भयो रे । यसपछि क वर्गमा पुग्ने अभ्यास र प्रतीक्षा गर्नुपर्‍यो । अँ, जसोतसो क वर्गीय भइयो । फेरि तिम्रै गुटको हुँ भनेर विश्वास दिलाएर प्रमाणित हुनु अनिवार्य हुन्छ । यस्ता पापड त कति बेलिन्छ कति र पो कार्यकर्ता भइन्छ । यति सङ्घर्ष गरेपछि बल्ल नेताले नाम सोध्न छाड्छन् । फोन पनि उठाउँछन् । कार्यकर्ता हुन सजिलो छ र ! के भन्ठान्या तिमीले ?

मान्छेले कति सजिलोसँग भन्दिन्छन् कार्यकर्ता अल्छी हुन्छन् । पसिनाको कदर गर्दैनन् । कमिसनका कनिकामा रमाउँछन् । मान्छे कुरा बुझ्दैनन् कि बुझपचाउँछन् कुन्नि ! कार्यकर्ता बन्न रातदित कठोर श्रम गरेको वास्तै नगरी खेत खन, जागिर खा, उद्योग खोल पसिनाको कमाइ खा । नेतालाई घुस खान बाध्य नपार । यो पद देऊ त्यो ठाउँमा पुर्‍याऊ भनेर भेटी नचढा। नेताको बानी नबिगार भनेर अर्ती दिन्छन् । यी अरुलाई निशुल्क अर्ती दिएर नथाक्नेहरू के बुझून् ! नेतालाई आफू अनुकूल नचाउन नसके के को कार्यकर्ता ? यिनीहरूलाई त नेपालमा कार्यकर्ताको शक्ति कति छ भन्ने थाहै रहेनछ । विदेशमा झैँ नियमकानुन शक्तिशाली छ भन्ठान्दा हुन् मोराहरू ! हात थापेर खानु राम्रो होइन भन्छन् । यी मुलालाई के थाहा अदुवाको स्वाद !

दुख गरेर कार्यकर्ता बनेपछि त पदपैसाको खाँचो हुनै भएन नि ! नेताले जे भने नि हस् भनिन्छ, विरोध गरिन्नँ, उनीहरूले भनेको मानिन्छ । परेका बेला आन्दोलन गरिन्छ । निर्देशन अनुसार विनासित्ति विपक्षीलाई ठोक्न परे नि ठोकिन्छ । उनीहरूका लागि काम गरेपछि चोरीडकैती, घुस, कमिसनमा छुट दिने र अपराध गरे पनि कारबाही हुन नदिई जोगाउने दायित्व उनीहरूकै हो । यो त हामी कार्यकर्ताले पाउनै पर्ने हक हो । यति पनि नपाए केको कार्यकर्ता ? को बन्छ कार्यकर्ता ? नेताले काम गर्ने भनेकै कार्यकर्ताका लागि हो ! जनता त देखाउने दाँत पो त !

हो नि त राजनीतिक पार्टीको मान्छे भएपछि त जे गरे पनि छुट पाउनुपर्छ । कानुन त जो कार्यकर्ता बनेनन् स्वतन्त्र छन् तिनलाई हो । हामी कार्यकर्ता त कार्यकर्ता ! कानुन सानुनले छेकथुन गरे नेताका काम कसले गर्छ ? नेताहरू आपसमा मिलेर आ-आफ्ना पार्टीका कार्यकर्ता जोगाऊ अभियानमा सहमति गर्छन् । हामी सुरक्षित रहन पाउँछौं ।
यही हो कार्यकर्ताको पसिना । यसबाहेक राजनीतिलाई सेवा बनाएर खेतीपाती गर्ने, जागिरमा भिड्ने, उद्योग व्यवसायमा प्रतिस्पर्धा किन गर्ने ? नगरेरै, गरेका साथीहरू भन्दा बर्ता ठाँटबाटले जिउन पाइएको छ भने ठेक्कापट्टा कमिसन, नेतासँग खर्च थाप्ने अवसरै अवसरको उपयोग नगरेर अरुतिर भौंतारिने ?

खाँटी कार्यकर्ता त्यो पनि ठूलो पार्टीको ! दुख त यसै उसै गरिँदैन । यसै मोज गरिन्छ । ठगेर खान पाएपछि काममा जोतिन्छ कुनै मूर्ख ? यस्तो गरी खाने काम त स्वाभिमानले शिर उचालेका पौरखमा विश्वास गर्ने कर्मयोगीको हो, जनता जनार्दनको हो । आफू त परियो खाँटी कार्यकर्ता यही धर्म थामिन्छ ! यसमै रमिन्छ । अस्तु ।

पर्वत, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x