खाँटी कार्यकर्ता
खाँटी कार्यकर्ता त्यो पनि ठूलो पार्टीको ! दुख त यसै उसै गरिँदैन । यसै मोज गरिन्छ । ठगेर खान पाएपछि काममा जोतिन्छ कुनै मूर्ख ?
हो नि ! म कार्यकर्ता हुँ । मलाई काम गर्न अल्छी लाग्छ । साथीहरू मलाई ढुक्कले अल्छी भन्छन् । बदलामा म ङिच्च दाँत देखाइदिन्छु । उनीहरू अर्कोतिर फर्कन्छन् ।
म त भन्छु कार्यकर्ता हुनु नै श्रम गर्नु हो । कति गाह्रो छ कार्यकर्ता हुन् । तिमी नभाकालाई के थाहा ! कति ढुङ्गा हान्ने र टायर बाल्ने गरेपछि बल्लतल्ल कार्यकर्ताको फाराम भर्न पाइन्छ । फाराम भरियो ।
पालो पर्खिनु पर्छ । समय लाग्छ । कति समयपछि फाराम स्वीकृत हुन्छ । लौ स्वीकृत भयो रे । यसपछि क वर्गमा पुग्ने अभ्यास र प्रतीक्षा गर्नुपर्यो । अँ, जसोतसो क वर्गीय भइयो । फेरि तिम्रै गुटको हुँ भनेर विश्वास दिलाएर प्रमाणित हुनु अनिवार्य हुन्छ । यस्ता पापड त कति बेलिन्छ कति र पो कार्यकर्ता भइन्छ । यति सङ्घर्ष गरेपछि बल्ल नेताले नाम सोध्न छाड्छन् । फोन पनि उठाउँछन् । कार्यकर्ता हुन सजिलो छ र ! के भन्ठान्या तिमीले ?
मान्छेले कति सजिलोसँग भन्दिन्छन् कार्यकर्ता अल्छी हुन्छन् । पसिनाको कदर गर्दैनन् । कमिसनका कनिकामा रमाउँछन् । मान्छे कुरा बुझ्दैनन् कि बुझपचाउँछन् कुन्नि ! कार्यकर्ता बन्न रातदित कठोर श्रम गरेको वास्तै नगरी खेत खन, जागिर खा, उद्योग खोल पसिनाको कमाइ खा । नेतालाई घुस खान बाध्य नपार । यो पद देऊ त्यो ठाउँमा पुर्याऊ भनेर भेटी नचढा। नेताको बानी नबिगार भनेर अर्ती दिन्छन् । यी अरुलाई निशुल्क अर्ती दिएर नथाक्नेहरू के बुझून् ! नेतालाई आफू अनुकूल नचाउन नसके के को कार्यकर्ता ? यिनीहरूलाई त नेपालमा कार्यकर्ताको शक्ति कति छ भन्ने थाहै रहेनछ । विदेशमा झैँ नियमकानुन शक्तिशाली छ भन्ठान्दा हुन् मोराहरू ! हात थापेर खानु राम्रो होइन भन्छन् । यी मुलालाई के थाहा अदुवाको स्वाद !
दुख गरेर कार्यकर्ता बनेपछि त पदपैसाको खाँचो हुनै भएन नि ! नेताले जे भने नि हस् भनिन्छ, विरोध गरिन्नँ, उनीहरूले भनेको मानिन्छ । परेका बेला आन्दोलन गरिन्छ । निर्देशन अनुसार विनासित्ति विपक्षीलाई ठोक्न परे नि ठोकिन्छ । उनीहरूका लागि काम गरेपछि चोरीडकैती, घुस, कमिसनमा छुट दिने र अपराध गरे पनि कारबाही हुन नदिई जोगाउने दायित्व उनीहरूकै हो । यो त हामी कार्यकर्ताले पाउनै पर्ने हक हो । यति पनि नपाए केको कार्यकर्ता ? को बन्छ कार्यकर्ता ? नेताले काम गर्ने भनेकै कार्यकर्ताका लागि हो ! जनता त देखाउने दाँत पो त !
हो नि त राजनीतिक पार्टीको मान्छे भएपछि त जे गरे पनि छुट पाउनुपर्छ । कानुन त जो कार्यकर्ता बनेनन् स्वतन्त्र छन् तिनलाई हो । हामी कार्यकर्ता त कार्यकर्ता ! कानुन सानुनले छेकथुन गरे नेताका काम कसले गर्छ ? नेताहरू आपसमा मिलेर आ-आफ्ना पार्टीका कार्यकर्ता जोगाऊ अभियानमा सहमति गर्छन् । हामी सुरक्षित रहन पाउँछौं ।
यही हो कार्यकर्ताको पसिना । यसबाहेक राजनीतिलाई सेवा बनाएर खेतीपाती गर्ने, जागिरमा भिड्ने, उद्योग व्यवसायमा प्रतिस्पर्धा किन गर्ने ? नगरेरै, गरेका साथीहरू भन्दा बर्ता ठाँटबाटले जिउन पाइएको छ भने ठेक्कापट्टा कमिसन, नेतासँग खर्च थाप्ने अवसरै अवसरको उपयोग नगरेर अरुतिर भौंतारिने ?
खाँटी कार्यकर्ता त्यो पनि ठूलो पार्टीको ! दुख त यसै उसै गरिँदैन । यसै मोज गरिन्छ । ठगेर खान पाएपछि काममा जोतिन्छ कुनै मूर्ख ? यस्तो गरी खाने काम त स्वाभिमानले शिर उचालेका पौरखमा विश्वास गर्ने कर्मयोगीको हो, जनता जनार्दनको हो । आफू त परियो खाँटी कार्यकर्ता यही धर्म थामिन्छ ! यसमै रमिन्छ । अस्तु ।
पर्वत, हाल काठमाडौं