सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कसो

वृत्तिहरू हेर्दा चाडपर्व र संस्कृतिका विषयमा व्यापक बहस आवश्यक छ । चाहिनेजति विमर्श भएकै छैन । वादेवादे जायते तत्त्वबोध बहसबाटै निणर्यमा पुग्न सकिने हो ।

Nepal Telecom ad

छायादत्त न्यौपाने ‘बगर’ :

खै जीवन, जीवनजस्तो जीवन ? हामी नेपालीले लामो समयदेखि खोजिरहेको जीवन ? भीड बढेको बढ्यै छ, जीवन ढलेको ढल्यै ? शिर उचालेर हृदय फुकाउने समय पर पर सरेको सर्‍यै छ । आज सबैतिर खडेरी छ, इमानको खडेरी, मानवताको खडेरी, विवेकको खडेरी, पसिनाको खडेरी, नैतिकताको खडेरी, खडेरीकै चापमा जीवन सुकेको छ र सुक्दै गएको छ । भोक, रोग, अभाव, अशिक्षा उस्तै छ गाउँसहर झोपडीमा । केही टाठाबाठाले संस्कृतिको साङ्लो बाँधेर आफूलाई अगाडि उभ्याउन पल्केका छन् । संस्कृतिको सुर्के पारेर संस्कारको उजिन्डोमा झुन्डाएर खुम्च्याउने हिजोदेखिको बासी होड आज पनि छ । व्यवहारमा सजिलो र संस्कृतिमा विज्ञान आएको छैन । ‘संस्कृति हो मान्नुपर्छ’ जसरी पनि मान्नुपर्छ भन्ने मनोविज्ञानले थिचिरहेको छ । उस्तै हिजोजस्तै गरी आज पनि ।

हो, चाडपर्व जातीय पहिचान दिने परम्परित मान्यता हुन् । यी आपसी भेट र विधि व्यवहारका द्योतक हुन् तर यी गरगहना प्रदर्शन गर्ने होडबाजीका सूचक होइनन् । जीवनलाई कर्मयोगमा हिँडाएर उज्यालो भविष्य निर्माणको लागि चौतारीमा बसेर गरिने विमर्श हुन् । महिनाको पहिलो शनिवार कविगोष्ठी हुनेछ भनेर किटान गरेपछि नियम बन्छ, नियमित कविगोष्ठी हुन्छ, निम्तो गरिरहनु पर्दैन, ठिक यस्तै रक्षाबन्धन, तीज, दसैँ जस्ता तिथिमिति निर्धारण गरियो र भेटघाट गरी भलाकुसारी साट्ने सुयोग जुराइयो । परम्परा यत्ति हो, यस्तै हो । कहिले कसले जुरायो ? पक्कै पनि प्रत्येकका आफ्ना वंशजले ।

वंश बढ्यो । व्यक्तिले आफूलाई विशेष देखाउन खोज्यो, फरक व्यवहार गर्‍यो । त्यो फरक पोसाकमा देखायो, खानपानमा देखायो अनि बोलचालमा पनि । यसमा जसले परिकार खायो, पहिरनमा देखियो, त्यसले अरुलाई पनि आकर्षित गर्‍यो । मान्छे त्यतै लाग्यो । जसरी पनि तडक-भडक गर्नैपर्ने ! गरिएन भने हेप्ने, हेपिइने, म कमजोर छैन भन्ने देखाउनकै लागि रिन काढेर खर्च गरी गरी सक्षम देखिन बल गर्ने चलन चल्यो, बेथितिले संस्कारको दर्जा पायो । पैसावालबिच कसले धेरै जनालाई रिन दिने ? बँधुवा बढाउने भन्ने होड पनि सुरु भयो । दिने बेलामा ला, लैजा छोराछोरीलाई नयाँ लुगा किनिदे, मिठो मसिनो खान दे । बडो गुन लाएझैँ गरी रिन दिने परिपाटी बस्यो । रिन दिएपछि मान्छे बँधुवा बनाउने होडले कटुवाली गर्‍यो, मनुष्यत्व ढलपलियो ।

खै, नेपाली चाडपर्व भनेर चिनिएका तिथिमितिमा गरिने कर्महरू वैज्ञानिक छैनन् भन्ने विचार बुझिने गरी सम्प्रेषण हुन सकेको ? यदाकदा भनिन्छ, लेखिन्छ तर भन्नेहरू नै अगुवा बाटो हगुवा भएर देखा पर्छन् । यसर्थ सर्वसाधारणको मनोविज्ञानमा पैसा नभएर दसैँ मनाएन, दर खाएन, तिहारमा पटका पड्काएन, क्रिसमसमा भोज गरेन, इदमा भोकै बसेन भन्ने भान परिरहेको छ । यसलाई चिर्न अगुवाको बोलाइ र व्यवहारमा एकरूपता आवश्यक छ । छिमेकमा मैले अधिकारको प्रयोग गरिरहँदा छिमेकीको अधिकार खोसिनु हुँदैन भन्ने चेतना बिउँझनु जरुरी छ । यसका निम्ति वैचारिक बहस आवश्यक देखिन्छ । जन्ममृत्यु संस्कार सम्बन्धमा गरिने कतिपय गतिविधि अनावश्यक देखिन्छन् भने कति मान्छेले रोजगारी पाइरहेका छन् भन्ने बहस पनि छ । कतिपय संस्कृतिका क्रियाकलापले स्वरोजगारी दिइरहेका छन् । यिनको विकल्पमा अर्को रोजगारी सिर्जना गरेर मात्र विस्थापित गर्नुपर्ने हुन्छ भन्ने आवाज पनि तिखो छ । साँच्चै भन्ने हो भने सम्पन्नले सधैँ मासु खान्छन्, फेरि फेरि लुगा लगाउँछन्, समस्या गरिबको हो । गरिबलाई अर्थोन्नतिको अवसर जुटाइदिने हो भने सम्पन्नले छाड्दै गएका संस्कार संस्कृति सबैले छाड्न सक्छन् । यो पनि एउटा परिमार्जनको पाटो हुन सक्छ । हेरौं त धनाढ्य र नवधनाढ्यले कुनै पनि सामाजिक सांस्कृतिक मूल्य मान्दैनन्, पालना गर्दैनन् । तिनलाई कसैले केही भन्दैन उल्टो तिनैसित रिन लिने तिनकै संस्कृति गरिबले धान्दिनुपर्ने ?

हो, मान्छे आदेश मान्दैन तर समाजको आवाज सुन्न बाध्य हुन्छ । व्यक्ति आर्थिक रुपले ‘मात्र आर्थिक रुपले’ सम्पन्न छ भने यी दुवै समस्या रहँदैनन् । धनीलाई संस्कार मानिरहन कसैले भन्दैन, कर गर्दैन । ऊ मलाई कसैले किन गरिनस् भनेर प्रश्न गर्न सक्दैन भनेर ढुक्का छ । यो विभेदकारी गहिरो बेथा गरिबकै हो । गरिबकै मनोविज्ञान कमजोर बनेको हुन्छ, दमदार तर्क भेटिरहेको हुँदैन । बहुसंख्यकले आवाज सुनिदिँदैन । एक्लिने डरले सत्कर्म भन्ठानेर अकर्म गर्दै जान्छ । आफूलाई नपर्दा मात्र विरोध गर्छ र बहिष्कार गर्छ जब पालना गर्नुपर्ने बेला आयो कि लत्रेर समर्थनमा आफैँ अघि सर्छ । बेथा साह्रो छ भन्न सकिँदैन नभने फेला परिन्छ । दीर्घकालदेखि अपनाइएका कतिपय व्यवहारका विषय च्याट्ट छाड्न सकिँदैन । वैज्ञानिक सत्य र व्यवहारमा सरलता भएका पर्व परम्परा ठिकै होलान् तर अन्धविश्वासी सूत्रका रूपमा रहेर आस्था बनी धार्मिक लेपन लेसिएर संस्कारको मान राख्दाको सुखद पक्ष के र नमान्दाको दुखद पक्ष के-के हुन सक्छन् ? सप्रमाण विश्लेषण हुन सकेको देखिँदैन । पर्याप्त छलफल बहस पनि भएको छैन । यदाकदा हुने गोष्ठीहरूमा कुनै व्यक्ति विशेषको दोधारे धारणा सुनाइन्छ । सुन्यो ‘ए’ भन्यो निस्क्यो । व्यवहार उस्तै रहन्छ सुन्ने र सुनाउने दुवैको ।

आजलाई बहसमा राख्ने बासी चलन ! उधारो किनेर खाने बानी बसेपछि सित्तै पाएझैँ हुने र आवश्यकताभन्दा बढी खर्च गरिएजस्तै पर्व मनाउन पैसा पाइयो भनेर बढी खर्चिने । पछि तिर्न नसकेर उठिबास भई थातथलो छाडेर हिँड्न बाध्य हुनुपर्ने देखियो । धनवानले पर्वलाई धार्मिक आस्था र जातीय पहिचानसँग जोडेर व्यवहार गर्ने, गराउने र आफू धनी हुँदै जाने । गरिबलाई झन् झन् गरिब बनाई बँधुवामा परिणत गर्दै जाने छल कर्मले थिच्दै लग्यो । यस्तै अन्यायी कर्म रीत बन्न पुग्यो, मान्न कर लाग्यो । के त यसरी खेलै खेलमा तानिएका रीत बोकेका चाडपर्व नेपालीले वर्षभरि मनाउने चाडपर्व फजुल खर्चका मुहान हुन् ? भड्किलो जीवन शैलीका बासी तिथिमिति मात्र हुन् ? यो प्रश्न त्यति गम्भीर नलाग्न सक्छ किन भने चाडपर्व मनाउने यो भड्किलो शैलीले न त परम्पराको आदर्श धान्छ न त वर्तमान जीवनको वैज्ञानिक संस्कार संस्कृति बताउँछ । पर्वको नाममा स्वास्थ्य बिग्रिने गरी खानपान, जुवातास, भाँतीभाँतीको पहिरनका पछि लागेर आपसी वैमनस्य बढाउने विधि संस्कृति बन्न सक्दैन । यो त अरुलाई थिचेर खुसी हुने दानवीय चिन्तन हो, अहङ्कार हो, मानवता कुच्याउने लोभ हो । संस्कृति त समाजमा बसेका प्रत्येक सदस्यले सहज रूपले सहृदयी भाव सम्प्रेषण गरी सुखी र खुसी हुने अवसर हो । जीवनले पछ्याउने संस्कृति, संस्कार र शैली यस्तै बन्नुपर्छ । विज्ञान सम्मत व्यवहार गरेर मानवीय समतालाई आत्मिक सुख मिल्ने गरी भौतिक सुख भोगको अवसरले समता अर्थिन सक्नुपर्छ र यसैमा आफन्तले सँगै शिर उठाएको सहृदयी मुस्कान खुल्नुपर्छ । हो नि ! उत्साही सचेतनाले जीवन रङ बोकेर आकाशमा स्वच्छन्द विचरण गर्न पाउनुपर्छ ।

तीजको नाममा महिनौँ अगाडिदेखि दरखाने निहुँ पारेर छरछिमेकी र आफन्तबिच होची अर्घेली बढाउने सामन्ती चिन्तन मासिनुपर्छ । कोची-कोची खाने र निराहार बस्ने चलन देखासिकी हो । यो धर्म संस्कृति हुन सक्दैन । धर्मले नियमित कर्म गरी श्रमलाई कदर गर्नु भन्छ भने संस्कृतिले परम्पराले चिनाएको खानपिनका परिकार भेषभूषा, घरायसी भाँडाकुँडा आदि उपकरण र यिनको उपभोग, निर्माण विधि, उत्पादनका क्षेत्र बताउँछ । समाजका सदस्यहरू को धनी छ ? को कमजोर छ भनेर विभेद बढाउने विधि संस्कृति नभई विकृति हो । विकृतिलाई संस्कृति भनेर पछि लाग्ने कमजोर चेतना माझिएर समतामुखी व्यवहार अनुसरण गरिनु युगचेतना हो । युगचेतना जीवनको आवश्यकता हो तर पर्वको नामसित आएका तिथिमितिको बहिष्कारै गरिहाल्नु कति आवश्यक छ ? आवश्यक त तिथिमितिको निहुँ पारेर गरिने खर्चिलो, भड्किलो, अगतिलो गतिविधि त्याग्नु हो ।

भनाइमा आयो दसैँ ढोल बजाई गयो दसैँ ऋण बोकाइ, दसैँ आयो मच्चियो, ऋण लाग्यो थेच्चियो, दसैँ आयो दशा ल्यायो जस्ता विरोधी अभिव्यक्ति दिन नछाड्ने तडकभड्क पनि मच्चाउने, मच्चाइरहने ?कहिलेसम्म यस्तो विरोधाभास बोकेर हिँड्ने ? यो रोगी मानसिकताको सघन उपचार हुन सके समस्या आफैँ हराउँछ । अर्को विकल्प भनेको दसैँ प्रन्ध दिन होइन बढीमा पाँच दिन सप्तमी, अष्टमी, नवमी, दशमी मात्र मनाउने हो भने पनि आर्थिक भार कम हुने देखिन्छ । तीजमा बसिने व्रतको वैज्ञानिकता नभएकाले दरखाने दिन मात्र भेटघाट रमाइलोमा सीमित गर्नु उपयुक्त हुन्छ । यहाँ पुरुष महिला बराबर हौँ, महिला हरेक कामका लागि सक्षम छौँ भन्ने तर आरक्षण सिटको माग गरिरहने, व्रतमा भविष्य देख्ने निम्छरो चिन्तन फराकिनु जरुरी छ । आरक्षण भनेको समता होइन, मात्र समानता हो, आश्रयको भोक हो । चुनौती उधिनेर मैदान पुग्ने अभ्यास होइन ।

हाम्रो विचार र व्यवहारले समानताको विषयमा बहस गर्न थालेको धेरै भयो, कानुन पनि बने तर जीवन सहज भएर मानवीय सद्भावको प्रकटीकरण व्यवहारमा आएको छैन । सांस्कृतिक, सामाजिक आर्थिकरुपले जीवनपद्धति मितव्ययी बन्न सकेको देखिँदैन । जन्मदिन, विवाह, व्रतबन्ध, विवाह वर्षगाँठ जस्ता अवसर खोजी खोजी तडकभडक मच्चाउने होडले दुरुपयोग गरी आर्थिक बेइमानी र सांस्कृतिक बेथिति बढाएको विषयमा धेरैको सहमति पाइन्छ । यसबाट लहैलहैमा मच्चिने पछि बेर्थमा पैसा सकियो भनेर पछुताउने परिवारमा कलह बढ्ने भएको छ । मृत्यसंस्कार झन् जटिल छ । यसलाई पनि जटिल बनाउने होड बढ्दो छ । जीवित अभिभावकलाई हेला गर्ने मृत्युपछि खुब आस्था राखेको अभिनय गर्ने कुटिल चालले महत्त्व पाएको देखिन्छ । यसलाई सजिलो पार्नेहरुको सङ्ख्या कम छ । राजनीतिक रुपले सचेत छौं भन्नेहरु पनि व्यवहारमा परिपक्व देखिन सकेको पाइँदैन । उपदेश दिनमात्र अघिसरेको देखिन्छ । काजकिरियामा बुहारीहरुलाई सहभागी नगराउन सकिन्छ ।

धेरै भाइ छोरा छन् भने एक जनामात्र सहभागी भएर गर्न मिल्छ । विभिन्न विकल्प खोजेर एउटामा सहमत भएर अघि बढ्नुपर्ने हो । श्राद्ध भनेको पूर्वज स्मरण गर्ने एकप्रकारको विधि हो । स्मरणलाई फरक विधि अपनाउन सकिन्छ । हो, उहाँहरु स्मरणीय हुनुहुन्छ सश्रद्धा स्मृतिमा ल्याउनै पर्छ तर सर्प पन्छिने लौरो नभाँचिने विधिविषयमा बृहत् विमर्श पटकपटक गरी अघि बढ्ने हो भने फरक विधिमा सहमति जुट्न सम्भव देखिन्छ । विनाबहस ढिपी गरियो भने निकास निस्कँदैन । आफन्तको नाममा सामाजिक, शैक्षिक संस्थाको उन्नति, पुरस्कार, छात्रवृत्ति आदिको स्थापना जस्ता कामका लागि आर्थिक सहयोग गरेर स्मरण गर्ने विकल्प पो चित्तबुझ्दो हुन्छ कि ! असहाय अपाङ्गलाई सहयोग गरेर सम्झन सकिन्छ कि ! संस्कृति भनेको जीवनमैत्री संस्कारको अन्तर्घुलन हो । यसमा विज्ञानसम्मत व्यवहार गरी समाजका सबै सदस्यको समतामूलक समाबेसी अवसर र चरित्र आवश्यक पर्छ । जसरी मौरीहरु समपरिस्थिति निर्माण गरी एउटै घारमा निर्बाध ओहोरदोहोर गर्छन् ।

मृत्यु संस्कार, अझ बढी अवैज्ञानिक देखिन्छ तर छाड्न नदिने सामाजिक बन्धन यसकै कसिलो छ । यसका लागि मृत्यु हुँदाकै क्षण सामाजिक अगुवाले यस विषयमा विमर्श गरी आवश्यक मार्गनिर्देश गर्नु सान्दर्भिक हुन्छ तर भइदिन्छ के भने यस विषयमा बहस हुन सक्छ, म आफू बोल्नुपर्ने हुन्छ भन्ने चाल पाएर खुसुक्क अन्यत्र लाग्ने, देखा नपर्ने प्रवृत्ति छ । उपस्थिति भइहाले परिवारको इच्छा, समाजको स्वीकृति के छ भनेर समस्या उतै तेस्र्याउने आफ्नो टाउको जोगाउने चलन पनि छ । यी प्रवृत्तिहरू हेर्दा चाडपर्व र संस्कृतिका विषयमा व्यापक बहस आवश्यक छ । चाहिनेजति विमर्श भएकै छैन । वादेवादे जायते तत्त्वबोध बहसबाटै निर्णमा पुग्न सकिने हो । लामो समय प्रभावमा रहेको चलन एकाएक हटेर जान सजिलो देखिएन । छलफलमा आफन्त र समाजका प्रत्येक सदस्यको उपस्थितिमा अबदेखि मृत्यु संस्कारमा यसो गर्ने, जन्मसंस्कारमा यसो गर्ने र पर्वका नाममा यसो गर्ने किटेर विकल्प घोषणा गर्ने, लिखित घोषणापत्र नै जारी गरी कडाइका साथ पालना गर्ने गराउने प्रतिबद्धता आवश्यक छ । अन्यथा यस्तै रहन्छ, भनाइमा आदर्श व्यवहारमा बिरालो बाँध्ने कर्म दोहोरिइरहन्छ ।
अस्तु ।

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पलङ

पलङ

डा. छायादत्त न्यौपाने ‘बगर’
साइनोका केही फाँकी 

साइनोका केही फाँकी 

डा. छायादत्त न्यौपाने ‘बगर’
परिणाम

परिणाम

डा. छायादत्त न्यौपाने ‘बगर’
हाम्रो शिक्षा

हाम्रो शिक्षा

डा. छायादत्त न्यौपाने ‘बगर’
साइनोका केही फाँकी

साइनोका केही फाँकी

डा. छायादत्त न्यौपाने ‘बगर’
साइनोका नौ फाँकी

साइनोका नौ फाँकी

डा. छायादत्त न्यौपाने ‘बगर’