काल
एकैछिनको दुःख मनाउ चिन्या मान्छे गाको आखिर सृष्टि यस्तै न हो मर्ने जुनी पाको ।
डा. लोकेन्द्रप्रसाद पौडेल :
हरेकदिन घट्दै आछन्
सङ्ख्या ठुलासाना
इतिहासमा पल्टदैछन्
नयाँ नयाँ पाना ।
जोखनामा आयू किट्ने
ज्योतिष परलोक भए
ज्वरो आको सानो निहुँमा
वैद्य पनि गए ।
बोक्सी खेद्छु भन्ने झाँक्री
दोष भगाउँदै ढले
सोझा थिए छिमेकी दाइ
उनी पनि चले ।
यौटापछि अर्को गर्दै
मर्ने मर्दै गाछन्
बाँच्नेहरू मरेकालाई
कठै ! भन्ने भाछन् ।
समकालीन चासो रह्यो
मरे कतिजना ?
अग्रजपुस्ता घट्दै गाको
ज्येष्ठ विडम्बना ।
एकैछिनको दुःख मनाउ
चिन्या मान्छे गाको
आखिर सृष्टि यस्तै न हो
मर्ने जुनी पाको ।
चाहे पनि छल्न काल
कहाँ सकिन्छ र ?
कहिले आउँछ यमराज
के हुन्छ र भर ? ॥
०००
काठमाडौं