राजेन्द्रकुमार बज्राचार्यवृद्ध चिन्तन -६
मेटोस् दैव अनाथ हात जनता, त्यो व्याधिको नै भय ॥ छाओस् है अब राज्य वृद्धजनमा, पीडा छुटोस् भै डक । वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥

राजेन्द्रकुमार बज्राचार्य :
तात्तातो छ भुजा सदैव दिनमा, आनन्द त्यो जिन्दगी ।
होस् साथीसँग बस्न साथ मनको, भारी बिसाएँ अघि ॥
होस् माधुर्य कुरा सदैव छिनमा, बित्दा घडी प्रेरक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥२७॥
होस् सल्लाह उनै मुली सरहको, सन्मानले जोड्दछ ।
लेओस् निर्णय आयआर्जन मिलोस्, सद्भावले मोड्दछ ॥
माया प्रेम रहे सदैव मनमा, पाइन्छ सारा झक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥२८॥
लागोस् है उपचार त्यो सहजमा,रोगी हुँदाका वय ।
मेटोस् दैव अनाथ हात जनता, त्यो व्याधिको नै भय ॥
छाओस् है अब राज्य वृद्धजनमा, पीडा छुटोस् भै डक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥२९॥
होस् सामूहिक, योजना भ्रमणको, होस् तीर्थ यात्रा कतै ।
राखोस् धार्मिक कर्मकाण्ड यसमा, क्षेत्रीय जात्रा यतै ॥
होस् भीमारथ स्थूल कार्यक्रमको, सन्मान वृद्धा हक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥३०॥
पूरा होस् अब चाहना नि मनको,होस् दान सेवा कति ?
रोपून् वृक्ष हरेक पुण्य धनको, होस् स्वर्गका मार्ग ती ॥
सम्झोस् है सब यात्रुले सुपथमा, जीवन्तझैँ धावक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥३१॥
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































