राजेन्द्रकुमार बज्राचार्यवृद्ध चिन्तन – १२
राम्रो पढ्न अमेरिका किन गयो, साथीहरू साथमा । गाह्रो साथ बसे त्यहाँ मन भयो, रोयो हियो आँतमा ॥ केही साल बितेे त्यहाँ खबर त्यो, भुल्दै गयो झन् पर । वृद्धा छन् सब पीरमा दिनदिनै, फर्केर आऊ घर ॥

राजेन्द्रकुमार बज्राचार्य :
पुर्याएर विमानस्थल सबले, दुख्दा सबैको मन ।
होला शान्ति हियो कतै पटलमा, पूरा हुँदाका दिन ॥
ऊ पुग्दा त भए खुसी सहजले, त्यो कर्मथलो तर ।
वृद्धा छन् सब पीरमा दिनदिनै, फर्केर आऊ घर ॥५६॥
ऊ पुग्दा त भए खुसी सहजले, त्यो कर्मथलो नर ।
शिक्षामा मन राख्नु है सहजमा, फोरुन् यहाँ पत्थर ॥
त्यो प्रारम्भ मिठो भयो खबरले, छायो खुसी सागर ।
वृद्धा छन् सब पीरमा दिनदिनै, फर्केर आऊ घर ॥५७॥
यौटै पुत्र बिदाइ भो कहरमा, दुख्दै हियो भित्र नै ।
होस् विद्वान् अब ज्ञानको नद नदी, पौडी रहोस् मत्स्यझैँ ॥
ज्ञानी होस् नव ज्ञानले अब सदा, राखोस् यहाँ जाँगर ।
वृद्धा छन् सब पीरमा दिनदिनै, फर्केर आऊ घर ॥५८॥
ठूलो स्वप्न छ जिन्दगी भर यहाँ, हाँसेर बाँचूँ सदा ।
माया भाव रहोस् सदैव दिनमा,नाचेर साँचूँ बडा ॥
सारा विश्व तनावमा हरदिनै, वृद्धा बसेको घर ।
वृद्धा छन् सब पीरमा दिनदिनै, फर्केर आऊ घर ॥५९॥
राम्रो पढ्न अमेरिका किन गयो, साथीहरू साथमा ।
गाह्रो साथ बसे त्यहाँ मन भयो, रोयो हियो आँतमा ॥
केही साल बितेे त्यहाँ खबर त्यो, भुल्दै गयो झन् पर ।
वृद्धा छन् सब पीरमा दिनदिनै, फर्केर आऊ घर ॥६०॥
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































