विवेक शर्मा गाैतमधोका
भेडाहरूले चुनाव पनि जिताए । अझै उनीहरूको रौँ फिर्ता गर्ने सम्भावना देखिएन । भेडाहरू निराश र चिन्तित भए । पुनः भेडाहरूले आफ्नो चरण विकासको बजेट निकासाको लागि ऊसँग ठूलो रकम माग गरे ।

विवेक शर्मा गौतम :
गोठालो निकै इमान्दार देखिन्थ्यो ।
ऊसँग एक बथान भेडा थिए । ती भेडाहरूको शरिरमा बाक्लो रौं थियो । गोठालोले भेडाको रौं काटेर ऊन बनाउने सोच्यो । एकदिन मेसिन लगाएर एक बथान भेडाहरूको रौं काटेर नाङ्गेझार पार्यो । उसले रौंलाई ऊन बनाएर त्यसबाट सुइटर, टोपी, राडीपाखी, पटुका जस्ता न्याना वस्त्र बनाएर गाउँमा बेच्ने योजना बनायो । त्यसबाट मनग्य आम्दानी गरेर चुनाव लड्ने विचार गर्यो ।
उता जाडो याम शुरु हुनै लाग्यो । भेडाहरूलाई जाडोमा कसरी बाँच्ने भन्ने चिन्ता लाग्यो । सबै भेडाहरू जसरी भए पनि आआफ्नो रौँ फिर्ता माग्नुपर्छ भन्नेमा लागे । गोठालोले सजिलै फिर्ता नदिने निणर्य गर्यो । गोठालोले भेडाहरूलाई लगाएको कामहरू सम्पन्न गरेपछि मात्र उनीहरूलाई रौं फिर्ता गर्ने सहमति भयो ।
भेडाहरू गाउँगाउँमा गएर चुनाव प्रचार प्रसार गर्न थाले । आफ्ना रौँबाट बनेका न्याना बस्त्रहरू बेच्न र केही बाँडन थाले । उनीहरूले उठाएर दिएको पैसा गोठालाले जम्मा गर्दै गयो । भेडाहरूले पैसा बुझाएपछि आफ्नो रौं फिर्ता माग्न थाले । चुनाब जितेपछि फिर्ता गर्छु भन्यो ।
भेडाहरूले चुनाव पनि जिताए । अझै उनीहरूको रौँ फिर्ता गर्ने सम्भावना देखिएन । भेडाहरू निराश र चिन्तित भए । पुनः भेडाहरूले आफ्नो चरण विकासको बजेट निकासाको लागि ऊसँग ठूलो रकम माग गरे । ऊ निकै खुशी र उत्साहित भयो । उसले केन्द्र सरकारसँग माग गर्यो ।
उक्त बजेट कुम्ल्यायो । गोठालो-सांसद स्वीटजरल्याण्डतिर कुलेलाम ठोक्यो ।
०००
काठमाडौं








































गम्भीर व्यंगयुक्त लघुकथा ।
मैले पढेको तपाईको यो पहिलो लघुकथा ।
यसले तपाईको लघुकथाप्रति चासो बढाइ दिएको छ ।
पढ्नु भएछ । खुशी लाग्यो।धन्यवाद सर ।