साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सियोले इनार खन्ने मूर्ख

धम्मरधुस लागेर खन्दा लोकोपकारिमा दरिन र सन्तोषले सासको अन्त गर्न सकिन्छ भने सियोका टुप्पाले इनार वा इनारको भाइ कुवा खन्ने ताउरमाउर गर्ने कि नगर्ने ? कि कुकुरझैँ मर्ने जिब्रो तन्काएर झिंगा भन्काएर ? श्रीमानकाे जो विचार ।

Nepal Telecom ad

मान्छेले चाम बाँधेर गर्ने हो भने के हुँदैन र ? जतिसुकै विकट असम्भव काम पनि सम्भव हुन्छ । त्यस्तै मध्येको एक हो सियोले इनार खन्ने काम । सियोले इनार खन्नु चानचुने कुरा होइन । छुसीले जाबो सियोले इनार उधिन्नेका कुरा के पत्याउनु पनि भन्छन् । तर त्यसो होइन । अर्ती भनेको सानोको पनि मान्नुपर्छ जान्नुपर्छ सुन्नुपर्छ र मनले गुन्नुपर्छ । गर्नेले आँटेपछि, उधिनिराखेपछि, खनिराखेपछि अतिरिक्त बल बाहुबल र पसिनाको खाँचो पर्छ तर प्वाल पनि पर्छ । इनार भनेको प्वाल मध्येकै ठूलो प्वाल न हो । बडेमानको गहिरो खाडल । खाडल कुन उद्देश्यका लागि पारिन्छ । उद्देश्यहीन खाडल प्वालमा ज्युँदा प्राणी परेर पर्लक्क आँखा पल्टाउँदै प्राण त्याग्न सक्छन् । त्यसैले उद्देश्य जायज र पायक हुनुपर्छ । उप्रान्त घुँडा धसेर प्वालका लागि पाइला अगाडि बढाउनुपर्छ । त्यसै अन्धाधुन्द घोचेर मात्रै हुँदैन । उद्देश्य मुताविक प्वाल पार्ने अथक प्रयास गर्नु पर्छ । एक तमासले प्वाल केन्द्रित भएर जाइलाग्नुपर्छ । दरो खरो औजार लिएर जाँगरका साथ जाइलागेपछि खाडल मात्र होइन इनार नै तयार हुन्छ ।

सियोका टुप्पाले इनार खन्नु लगभग मुख्र्याइ काम हो । असम्भव काम गर्न तम्सिएपछि धेरैले मूर्ख मात्र होइन पटमूर्ख नै भन्छन् । यस्तो काम सत्तोसत्ते मरिहत्ते फत्ते गरेर देखाएपछि हेप्ने झुक्नेले आश्चर्यजनक ढङ्गले जिब्रो टोक्छ । जिब्रो सानोतिनो ठक्करले टोकिँदैन । जिब्रो टोक्न सुहाउने अँगाला भरिको काम गरेर देखाउनुपर्छ । अन्यथा जिब्रो टोकिँदैन । टोकिन मान्दैन । असम्भव काम सम्भव हुँदा जिब्रो अटोमेटिक आफै टोकिन्छ । राजीखुसी आफू खुसी मुख्र्याइ काम गर्नु आफ्नो देह प्रफुल्लित पार्न मनोकाङ्क्षा पूरा गर्नु हो । उद्देश्य पूरा हुँदा मान्छेको ह्याकुलो हाँस्छ । ह्याकुलो हँसाउनका लागि नै मान्छेले नसोचेका दुःख कष्ट शिरोपर गर्नु पर्छ । तब मात्र लक्ष्य हासिल हुन्छ र आफ्नो अनि अरूको पनि देह दया लाग्दो गरी द्रवीभूत हुन्छ ।

मानव वस्तीको टोलटोलमा हातमा सियो लिएर इनार खन्न तम्सिरहेका मूर्खहरू हुन्छन् । मात्र छुट्याउन सक्नुपर्छ । कोही अल्छीग्रस्त अलक्षिन मूर्खहरू हुन्छन् भने कोही गरेर देखाउने दैविक शक्ति भक्ति भएका लक्षिनका मूर्खहरू पनि हुन्छन् । लक्षिन अलक्षिन मान्छेको अनुहारले छुट्टिदैन कामले छुट्टिन्छ । सियोले इनार खन्ने एक प्रकारको मूर्ख हो । आफै बसेको रुखको हाँगो काट्ने कवि कालिदास पनि मूर्खै थिए । लाखौँको बध गर्ने तानाशाह हिटलरलाई पनि मूर्ख शासक भनिन्छ । मध्यराती घर छोडेर हिँड्ने मूर्ख्याइँ काम नगरेका भए गौतम बुद्ध प्रसिद्ध कहाँ कहलाउँथे । त्यसैले मूर्ख नबनी यस संसारमा केही गर्न सकिँदैन । सके मिलेसम्मको मूर्ख बनेर आफ्नो औकात आफैले देखाउन सक्नुपर्छ । सियो बनेर पस्नु फाली बनेर निस्कनु त्यसै कहाँ भनेका हुन् र ?

सियो बाहेक अन्य वस्तु औजार प्रयोग गरेर खन्छ भने त्यो सामान्य र स्वभाविक ठहर्छ । त्यसैले त्यस्ताको काम कसैले सुन्दैन, हेर्दैन, टेर्दैन । यस कलियुगमा मिलेसम्म बिब्ल्याँटो काम गर्न तम्सिनुपर्छ तब मात्र मान्छेले बक्रदृष्टिले हेर्न र अँगालोमा बेर्न तम्सिन्छ । सबैले टेरिपुच्छर लाएपछि आफ्नै श्रीमतीले पनि म्वाइखाने सम्भावना ह्वात्तै बढेर जान्छ । अन्यथा शत्रु मित्रु कसैले हेर्दैनन्, टेर्देनन्, पुच्छर्दैनन् । केही नभन्ने नगन्ने छन् भने पनि हारखानु हुँदैन । हार नखाएपछि गुहार माग्नु पनि पर्दैन । खन्नेले नपत्याउँदो सियोले नै इनार खनेर देखाएपछि नचाहेर पनि कालान्तरमा टेर्नु हेर्नु र पुच्छनुपर्छ । यसरी पत्याइ नसक्नु मूर्खले पनि लक्ष्यभेदी काम मार्फत सज्जनलाई सन्तुष्टि दिनसक्छ । त्यसैले कतै केही नहेरी नसोची दुःख कष्टको अनुभव नगरी एक तमासले लक्ष्यको घैला भर्न पनि सियोको टुप्पाले इनार खन्ने मूर्खता जारी राख्नुपर्छ ।

इनार खन्ने तौरतरिका फरक फरक हुन्छन् । कसैले कुटो कोदालो गल गैची कैची कोरेसो झम्पल प्रयोग गरेर इनार खन्छन् त कसैले बडेमानको डोजर बुल्डोजर बारुद बम बारुदका मद्दतले पनि प्वाल पारिरहेका हुन्छन् । खन्ने जाँगरिलाले यो चाहियो त्यो चाहियो भन्दै भन्दैन, बरु खन्दै खन्दैन । हल गोरु नारेर अँगालो मारेर पनि इनार खनिँदैन । खन्ने बहादुरले अन्यले झै खनेको छु भनेर ढोल ढोलक पनि पिट्दैन । एकोहोरो महामूर्ख बन्दै खन्दै समयसँगै काम पनि सक्छन् । जसले जसरी जुनसुकै औजार प्रयोग गरेर खने पनि अन्तिम उद्देश्य चाहिँ एउटै हो । मुख्य कुरा नै उद्देश्य लिनु हो । उद्देश्य भएपछि काम हुन्छ । त्यसैले त महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका छन् ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ हो, उद्देश्यले चन्द्रमा चहार्न इच्छा मार्न सक्नुपर्छ ।

कृषकले खेतबारी खन्छन् बिउ बिजन अन्न उत्पादन हेतु खेतीपातीका लागि । बाटोघाटो खन्छन् हिँडडुल सहज सुगम होस् भन्नाका लागि । त्यस्तै कुवा इनार खन्छन् दुनियाँको धोक्रो चिस्याउन आन्द्राभुँडी सातपत्रे भित्राँस भिजाउनका लागि । हरेक किसिमको तिर्खा हरेक उपायले मेटाउन सकिन्छ । खन्ने औजार उद्देश्य तौरतरिका फरक फरक हुन्छ तथापि सामाजिक सामुहिक हित सुविधा र सेवाका लागि नै दिलो ज्यान भरपुर ध्यान दिएर लागि परिन्छ, केही न केही गरिन्छ तब न मान्छे जिउँदो ठहरिन्छ । केही सिन्को नभाची निख्लो बाँचेर मात्रै त जिउँदो मुर्दो भैहालिन्छ नि । केही न केही गर्नु भनेको भावी सन्ततिको पाउ दरो पार्ने दाउ हो । सजिलो छ- जीवन कटाउन केही न केही गरे जस्तो गर्‍यो मर्‍यो । क्या आनन्द । बेस्सरी गरें भन्ने मान्छेले पनि अहिलेसम्म गरेको सिन्को भाँचेको त्यही हो । आफ्नो श्रम सिपका अलवा अरूका हितमा प्रित जोड्न रुचाउँछ सज्जन । केही नखनी नकोतारी बसी राख्नु भन्दा केही खन्नु कोतर्नु ठूलो कि निन्द्रायुक्त बनेर निदाइराख्नु ठूलो ? खोपडीले खाम्न सक्छ भने खन्नु भूत, वर्तमान, भविष्य तिनै कालका लागि राम्रो । हिम्मत नहारी गर्दै जाउँ, नजाने पनि समयले सिकाउँदै जान्छ । चिनाउँदै जान्छ । गराउँदै मन पराउँदै जान्छ । ठूलो औजार र औकात नभए पनि सियो सिउरमा सिउरेरै बसौँ एक दिन इनार कसो नखनिएला ।

आफूले खनेका इनारमा कोही जाकिएला, मर्ला, अप्ठ्यारो पर्ला, आसु झर्ला भन्ने पिरलो मनमा नपालौँ । पानी कसले भर्ला त्यो पनि नसोचौं । पानी आकाशबाट आउँछ कि पातालबाट त्यो पनि नसोचौँ । ओठबाट आउँछ कि जिब्रो या घाँटीबाट खाँटी पानी कहाँबाट आउँछ त्यो पनि नसोचौँ । हिमाली हिउँ पगालेर या समुद्र उमालेर भए पनि इनारमा पानी भर्ने काम प्रभुको हो । पानी भर्ने के गर्ने नगर्ने चिन्ता लिनु पर्दैन । इनार खनिसकेपछि पानी इन्द्र राजा र रानीले पठाउँछन् । मात्र हाम्रो राम्रो काम इनार खन्ने । दुःखकष्टले त्यसमाथि पनि सियोका टुप्पाले खनेका इनारमा छिपछिपे पानीमा भरिभराउ या जलविहीन हुन्छ कि भन्ने उपचिन्ता कहिल्यै नलिनु । एकोहोरो भेडो बनेर सियोले इनार खनेर दुनियाँलाई चकित थकित र अन्तमा खुसीले पुलकित पार्ने कोसिस गरौँ । यत्नपूर्वक अथक प्रयत्नका साथ हर्दम इनार खन्नमा नै आनन्द मानियो भने बाँच्न जानियो भनेर ठोकुवा गरिदिए हुन्छ ।

लियोनार्दो दा भिन्चीले मोनालिसाको चित्र कोर्दा ४ वर्ष लगाएर राम्रै बुहार्तन व्यहोरेको हुनुपर्छ । नत्र मोनालिसा र भिन्ची यति प्रसिद्ध हुने थिएनन् । भैरव अर्यालले हास्यव्यङ्ग्यको अभाव परिपूर्ति गर्न जीवनमा निकै ठूलो सङ्घर्ष गर्दा पनि चित्त नबुझेर अभावसँग लड्दा लड्दै गोकणर्को भिरमा मध्यराती हाम फालेर आफै लडेर प्राण पखेरु उडाएका थिए । तथापि आज हामी उनको जयभुँडी इतिश्री लगायत कृति पढेर हाँसी रहेका छौँ । महाकविले काव्य तयार गर्दा पनि अधिक दुःखकष्ट भोग्नुपर्‍यो । डोरी जति लामो बाटे पनि गाँठो एउटै हुन्छ ।

प्रष्ट भन्दा कष्ट नगरी इनार तयार हुँदैन । चाहे जस्तोसुकै मुडेबल र भावभङ्गीले या जेसुकैले खोतलेर उधिनेर खने पनि कसरी खनियो केले खनियो सरोकार हुँदैन तर कसले खन्यो भन्ने कुरा महत्त्वपूणर् हुन्छ । त्यसैले त आदिकवि भानुभक्त आचार्यले लेखेका छन्-

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो ।
यो भानुभक्त धनि भैकन आज यस्तो
भरजन्म घाँसतिर मनदिइ धन कमायो ।
नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो ।

हामीले हरतरहले भानुले जस्तै धनभन्दा मन ठूलो गरेर दुनियाँले हाइहाइ गर्ने इनार खनौँ । इनार या कुवा जलासयले भरिपूणर् भएपछि खानपिन नुहाइधुवाइ चोखीनीति, स्नानदान, आचमन, शौच या जलपान जे गरे पनि मिल्छ । डुबाउने, उबाउने, पिउने, पोख्ने, लिप्ने, पोत्ने, जेसुकैले जसरी सुकै चरण वा पानीमा विचरण गरोस् सरोकार हुँदैन । तर इनार चाहिँ आजकै दिन त्यसमा पनि देहले माम हाम दामको काम गर्दा गर्दै यत्नपूर्वक अथक प्रयत्नका साथ धम्मरधुस लागेर खन्दा लोकोपकारिमा दरिन र सन्तोषले सासको अन्त गर्न सकिन्छ भने सियोका टुप्पाले इनार वा इनारको भाइ कुवा खन्ने ताउरमाउर गर्ने कि नगर्ने ? कि कुकुरझैँ मर्ने जिब्रो तन्काएर झिंगा भन्काएर ? श्रीमानकाे जो विचार ।

फूलबारी, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x