पिँडालु पण्डितधनञ्जय काकाको जय होस्
यस्ता कुराको मेसो पाउने भएका भए उनलाई वरिष्ठ कवि तथा साहित्यकारको उपाधि पनि यति सजिलै कसले पो दिन्थ्यो र ? यही मेसो नपाउने भएरै उनलाई यो उपाधि जुरेको छ ।

उनको वास्तविक नाउँ त के हो ? थाहा छैन । तर, धनञ्जय काका भनेपछि उनलाई सबैले चिन्छन् । त्यसमा पनि साहित्यका क्षेत्रमा त उनको छुट्टै पहिचान छ । धनञ्जय काका भनेपछि साहित्यका क्षेत्रमा कमैले मात्र नचिनेका हुन सक्छन् भत्रे ठम्याइ स्वयम् धनञ्जय काकाकै छ । उनको साहित्यिक योगदानका विषयमा चर्चा परिचर्चा नगर्ने सायदै होलान् । स्वमहिमा गान त काका स्वयम्कै कार्यक्षेत्रको विषय भइहाल्यो । हुन पनि साहित्यमा कुनै त्यस्तो विधा छैन जसमा धनञ्जय काकाले हात नहालेको होस् । यति भएपछि काकाको औकातका विषयमा थप बखान गरिरहनु पर्ने त होइन तर के गर्नु, काकाको साहित्यिक हैसियत कस्तो र’छ भनेर सार्वजनिक गर्नैका लागि पनि – रिजाल बा- जसलाई गाउँ, टोल र यताउताका साना ठुला सबै उमेरकाले ‘रिजाल बा’ नै भनेर सम्बोधन गर्छन्, ले आफ्नो थोत्रो मुखबाट धोत्रो स्वर निकालेर सोधिहाले – “के छ ? हिजो आज कलम कत्तिको चलिरा’छ ?”
“रिजाल बा, धेरै वाद प्रतिवाद गरिरहनु पर्ने मान्छे त तपाईं होइन ! तर तपाईंको भाषाकै कारणले पनि तपाईंलाई भन्नै पर्ने भो – “भ्यागुतो जस्तो सास भएको जीव त होइन नि कलम ! आफैँ चलिरहनलाई ? त्यो त थिर हुन्छ । त्यस्तो थिर वस्तु आफैँ कहाँ चल्छ र ? के प्रश्न गर्नु भ’को त्यस्तो ?” धनञ्जय काकाले सदाझैं ताइ न तुइको आफ्नो भाषिक विद्वता छाँटिहाले ।
“ल, ल ठिकै छ । तिम्रै कुरो माथि भो । ल अब भनन त हिजो आज कलम कत्तिको चलाइरा’छौ ?” रिजाल बाले थप प्रतिवाद नगरीकनै आफैँले गरेको पूर्व प्रश्न सच्याए ।
धनञ्जय काकालाई बाउँटो कुरा गर्न कसैले सिकाउनु पर्दैन । यस्ता खोँचे थाप्ने विधामा त उनलाई जो कोहीले भेट्ट्याउनै सत्तैmन । उनले रिजाल बालाई फेरि फटाफट उस्तै प्रतिप्रश्न गरे – “ए, बा ! म केटाकेटी हुँ र ! कलम चलाइरहनलाई ? केटाकेटीले पो खेलौना सम्झेर कलम पाए’नि, मलम पाए’नि चलाइरहन्छन् । खेलाइरहन्छन् । कि तपाईंले मलाई केटाकेटी नै सम्झेर – “कत्तिको कलम चलाइरा’छौ’ ?” भनेर सोध्नु’भा ?”
धनञ्जय काकाको आनीबानी बुझेका रिजाल बालाई काकाको त्यस किसिमको प्रश्न गराइ खासै अनौठो लागेन । त्यसै भएर पनि काकालाई उनले सम्झाउन खोज्दै भने – “मैले त तिमीसँग तिम्रा साहित्यिक गतिविधिका कुरा कोट्ट्याएर तिम्रो साहित्यिक योगदान अरू साहित्यकार र साहित्यका पाठक सामु पुर्याइदिन मात्र खोजेको हूँ । तिमीलाई नचिन्ने पनि त एकाध मान्छे होलान् नि साहित्यिक दुनियाँमा अझै पनि ? छैनन् र ?”
“मैले तिमीलाई सोध्न खोजेको कुरा तिमीले अभिधार्थ र लक्ष्यार्थ दुवैमा बुझेका छौ । तिमीले अभिधार्थमा मात्र मेरो कुरालाई लिएर अर्थ लगाउन खोज्यौ । तर पनि त्यही कुरा म फेरि प्रस्ट्याउँछु – “तिम्रो साहित्य लेखनको गतिविधि आजकल कत्तिको सक्रिय छ ? तिमी त साहित्यमा एउटा झर्भmराउँदो व्यक्तित्व हौ नि ? यो कुरालाई नबुझेर कतै निष्क्रियतातिर पो तिमी लागेका छौ कि भनेर एउटा शुभेच्छुक हितैषीका नाताले मात्र सोधेको हुँ । कि, तिमीलाई पनि उछिन्ने अरू कोही साहित्यकार यस दुनियाँमा उदाइसके ?”
धनञ्जय काकाले भुइँ छाडे । फुरूक्क फुर्किए । उसै त धनञ्जय काका, त्यसमाथि रिजाल बाले बेलुन फुलाएझैं फुलाइदिएपछि उनको के गति भयो होला ? सहजै अनुमान लगाउन सकिन्छ ।
“अँ ! रिजाल बा पनि, मैले त यसो कुराकानी अगाडि बढाउनका लागि सजिलो होला भनेर पो तपाईंसँग यस्ता कुरा गरेको त । साँच्चै भनेको जस्तो लाग्यो कि क्या हो तपाईंलाई ?” धनञ्जय काकाले कुरो सच्याए ।
“रिजाल बा, लेख्ने कुरामा त म कहिल्यै थाक्दिन । मलाई यो स्तरसम्म पुर्याएकै साहित्यले हो । भन्न त मान्छेहरू मलाई अनेक थरी भन्छन् । भनिरहून् । मेरो मूल्याङ्कन म आफैँले गर्ने हो कि अरू कसैले ? भन्नुस् त, रिजाल बा । अरूले जतिसुकै जे भने पनि म मेरो बाटो छोड्दिन क्या रे । कुन बाटोमा लाग्दा मेरो हित हुन्छ भन्ने त मैले थाहा पाउने कुरा हो नि, अरूले हो र ? समकालीन साहित्यकार मध्येमा मेरो लेखनीको प्रतिस्पर्धामा आउने एक जना साहित्यकार पनि आजका दिनसम्म मैले देखे भेटेको छैन । भोलिका दिनमा मेरै पुनर्जन्म भएर कोही निस्किएछ भने यसै भन्न सकिन्न, होइन भने मलाई पछ्याउने सम्भावना बोकेको साहित्यकार सितिमिति भेटित्र । ल भन्नुस् त रिजाल बा, समकालीन साहित्यमा मेरो जस्तो स्थान अरू कसैको छ ?” धनञ्जय काकाले एकै सासमा आफ्ना कुरा भनी भ्याए । “मेरो जस्तो लगन, मेरो जस्तो सक्रियता र ममा भए जस्तो उर्बरता जो कोहीमा पाउन गाह्रै छ । कसले सक्छ यसरी म जस्तो दिन रात एकनासले खटिन ?” उनले आत्म प्रशंसाका लागि अर्को दुई वाक्य पनि खर्चिए ।
“अरूको साहित्यको अध्ययन पनि त प्रशस्तै गरेको होलाउ नि ?” धनञ्जय काकाको हैसियत थाहा पाउँदापाउँदै पनि रिजाल बाले उनको थप परीक्षण गर्न खोजे ।
धनञ्जय काका अगाडि भन्दै थिए – “आफूले रचना गरेका साहित्यको अध्ययन त म दोहोर्याएर गर्न भ्याउँदिन भने अर्काको साहित्य अध्ययन गर्ने फुर्सद मैले कसरी निकाल्न सक्छु र ? त्यसमा पनि ती भटमासे रचनाकारहरूको रचना पढेर समय बर्बाद गर्नु छैन मलाई । बरु त्यस्तो समय मिल्यो भने त अर्को रचना तयार गर्नतिर लाग्छु नि म । तिनको रङ्ग न ढङ्गको साहित्य पढेर आफ्नो प्रखर रचनाकारिताको क्षमतामा किन ह्रास ल्याउनु मैले ?”
“यसो कसैले आयोजना गरेको कवि गोष्ठी तथा अरू विविध साहित्यिक कार्यक्रमहरूमा पनि गइन्छ/सहभागिता जनाइन्छ होला नि ?” रिजाल बाले अर्को प्रश्न थपे ।
“कार्यक्रमको शोभा बढाउनैका लागि भए पनि गइदिनै पर्यो नि । म गइन भने सबैले अमिलो मुख लगाउँछन् । किन आइनस् भनेर दुखेसो पोख्छन् । अँध्यारो मुख लगाउँछन् । कसैकसैले त हामी जस्ताको कार्यक्रममा के आउनु हुन्थ्यो त ? भनेर रसिलो व्यङ्ग्यवाण पनि प्रहार गर्छन् । दश थरीका मान्छेको दश थरीका भनाइ खानुभन्दा त यसो पुगिदिनै ठिक लाग्छ र गइदिन्छु पनि । बरु यसो कविता वाचनको कार्यक्रम रहेछ भने चाहिँ यस्तै कार्यक्रममा अन्यत्र पनि जानुपर्ने आफ्नो व्यस्तताको बहाना बनाएर आयोजकलाई खुसुक्क भन्छु र फटाफट आफ्नो कविता पढेर खुसुक्क हिँडिहाल्छु । अरूको रचना सुनेर म कहिल्यै पनि आफ्नो समय बरबाद गर्नतिर लाग्दिन । दश थरी भटमासे कविका भटमासे कविता सुनेर बिनसित्तिमा को बसिरहोस् ।” काकाले आफ्नो महत्ता आफैँले दर्शाए ।
“अनि अर्को एउटा नयाँ कुरो – यसो श्रीमती, छोरा, बुहारी, छोरी, ज्वाइँ, नातिनातिनाको पनि नाम रहोस् भनेर आफ्नै अध्यक्षतामा एउटा साहित्यिक संस्था दर्ता गराएको छु । आफूले वर्षको एकचोटि कार्यक्रम गर्न नसके पनि अरूका कार्यक्रममा जाँदा “… संस्थाका अध्यक्षज्यूलाई आसन ग्रहणका लागि आग्रह गर्दछु” भनेर उद्घोषकले उद्घोषण गर्न भ्याउँदा नभ्याउँदै स्रोता दीर्घाका प्राणीहरूलाई नमस्कारसम्म पनि नगरी म आसन ग्रहणको निम्तो स्वीकार गरिहाल्छु । त्यत्रो आदरपूर्वक गरेको आग्रहलाई ढिल्याइँ गरेर कसैको अनादर गर्न त भएन नि ! कसो रिजाल बा ?” धनञ्जय काकाले आफ्नो थप भेद पनि खोल्न भ्याए ।
“कतिले त मेरा कविता लगायतका रचनाको भाव नबुझेर मैलाई सोध्न आउँछन् र मलाई नै अप्ठ्यारोमा पार्छन् । जवाफ लगाउँ भने कतिखेर कुन मनस्थितिमा के लेखिएको हुन्छ आफैँ सम्झिन्न । आफैं बुझ्दिन । अनि भन्नु नै पनि के ? त्यही भएर के भत्रु न के भत्रुका बिच म पनि ‘जसले लेख्यो त्यसले अर्थ लगायो भने रचनाको मर्म मर्छ’ भनेर सर्लक्क पन्छिन्छु र उल्टै लेख्ने काम पो लेखकको हो त, अर्थ लाउने काम त अध्येताको हो नि भनेर उपदेश छाटिदिन्छु । यति पनि चलाखी नगर्ने हो भने मेरो विद्वतामा जो कोहीले पनि औँला ठड्याउन थालिहाल्छन् नि, हैन त रिजाल बा ?”
काकाको स्वमहात्म्यमा कतै पूर्ण विराम छैन । कति सरल र सहज प्रवाह छ उनको । काका अझै अगाडि बढेर भन्छन् – “कसैले मेरो विद्वता पहिचान गरेर आफ्ना कृतिहरू अध्ययनका लागि मलाई दिन्छन् । ती किताबले मेरा सिरानी उचालिन्छन्, बोरा भरिन्छन् तर पाना पल्टिने अवसर तिनले कदापि पाउँदैनन् । कसैले चासो राखेर आफ्ना कृतिका बारेमा यसो सम्झाएछन् भने तिनलाई फेरि कलम उचाल्न जाँगर नचल्ने गरी फटाफट ठाउँको ठाउँ कृति समीक्षा गरिदिन्छु । नत्र कसरी खारिन्छन् तिनीहरू ?
“समीक्षा मेरो लागि गाह्रो विषय पनि भएन । किनकि, समीक्षाका लागि मलाई कसैको कुनै पनि कृति पढ्नै पर्दैन । किताबको बान्की, साजसज्जा, शीर्षक, लेखकको अनुहार, लिङ्ग र भूगोल हेर्नेबित्तिकै सुनारले सुन जाँचे जस्तो एकै नजरमा जाँच्न भ्याइहाल्छु । अनि समीक्षा साहित्यमा मेरो बजारका अगाडि अरू कसको के लाग्छ ?”
“अनि, साहित्यिक सम्मान र कदर पत्रका ओइरोले त घरका भित्तामा एउटा किला ठोक्ने ठाउँ पनि बाँकी छैन होला हकि ! काकाको ?” रिजाल बाले भित्तो पुर्याएर प्रश्न गरे । उनको प्रश्न गराइ धनञ्जय काकालाई केही गलाउन सकिन्छ कि भन्नेतिर लक्षित थियो तर सकेनन् ।
रिजाल बाका प्रश्न सुन्ने बित्तिकै धनञ्जय काकाको स्वबखान फेरि उसै गरी सुरु भइहाल्यो – “सम्मान र कदर-पत्रका कुरा नगर्नुस् । त्यस्ता सम्मान र कदर-पत्र कुनै पनि साहित्यकारको मापन गर्ने साधन हुन सक्तैनन् । ती त हचुवाका भरमा जोर बिजोर गरेर दिने वस्तु हुन् । मेरै कुरा गरूँ न – यत्रो साहित्यिक सेवा गरेर न मैले अहिलेसम्म त्यस्तो प्रमाण-पत्र पाएको छु, न कसैले मलाई सोधेकै छन् । कति चोटि त मैले त्यस्ता साहित्यिक प्रतिस्पर्धामा भाग समेत लिइसकेको छु तर के गर्नु ? कसैले भित्री तहमा पुगेर मेरा रचनाको भाव पर्गेल्नै सक्तैनन् । स्वाद लिनै सक्तैनन् । पुरस्कृत हुनका लागि त साहित्यको स्तर अनुसारको मूल्याङ्कन कर्ता पनि त हुनु पर्यो नि । जसले रचनाको मर्र्म पहिचान गर्न सक्तैनन् उसले कसरी सही मूल्याङ्कन गर्न सक्छ ? अनि, यसैका आधारमा वितरण हुने सम्मान-पत्र र कदर-पत्रले साहित्यकारको स्तर निर्धारण गर्न सक्छ त ? ल, तपाईं नै भन्नुस् त रिजाल बा ।”
रिजाल बाले धनञ्जय काकाको भलिभाँती मन पेट चोरे । अनि उनले फूलपाती र नैवेद्य चढाउने काम मात्र बाँकी राखेर धनञ्जय काकाको प्रशंसा गर्नसम्म गरे । उनको यो बाह्य प्रशंसाको पोको धनञ्जय काकाले छिचोल्नै सकेनन् । रिजाल बा पनि कम बाठा छन् र ! काकाको पूरै मनस्थिति केलाएर उनलाई यसरी प्रशंसाको भारी बोकाएका थिए । तर, तरकारीमा डुबेको डाडुले तरकारीकै स्वाद नपाएझैं धनञ्जय काकालाई यसको मेसै भएन । यस्ता कुराको मेसो पाउने भएका भए उनलाई वरिष्ठ कवि तथा साहित्यकारको उपाधि पनि यति सजिलै कसले पो दिन्थ्यो र ? यही मेसो नपाउने भएरै उनलाई यो उपाधि जुरेको छ । समकालीन साहित्यका यस्ता साहित्य रत्न वरिष्ठ कवि तथा साहित्यकार धनञ्जय काकाको जय होस् ।
०००
‘सुलेख, २०७५ असार
Subscribe
Login
0 Comments
Oldest







































