साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धनञ्जय काकाको जय होस्

यस्ता कुराको मेसो पाउने भएका भए उनलाई वरिष्ठ कवि तथा साहित्यकारको उपाधि पनि यति सजिलै कसले पो दिन्थ्यो र ? यही मेसो नपाउने भएरै उनलाई यो उपाधि जुरेको छ ।

Nepal Telecom ad

उनको वास्तविक नाउँ त के हो ? थाहा छैन । तर, धनञ्जय काका भनेपछि उनलाई सबैले चिन्छन् । त्यसमा पनि साहित्यका क्षेत्रमा त उनको छुट्टै पहिचान छ । धनञ्जय काका भनेपछि साहित्यका क्षेत्रमा कमैले मात्र नचिनेका हुन सक्छन् भत्रे ठम्याइ स्वयम् धनञ्जय काकाकै छ । उनको साहित्यिक योगदानका विषयमा चर्चा परिचर्चा नगर्ने सायदै होलान् । स्वमहिमा गान त काका स्वयम्कै कार्यक्षेत्रको विषय भइहाल्यो । हुन पनि साहित्यमा कुनै त्यस्तो विधा छैन जसमा धनञ्जय काकाले हात नहालेको होस् । यति भएपछि काकाको औकातका विषयमा थप बखान गरिरहनु पर्ने त होइन तर के गर्नु, काकाको साहित्यिक हैसियत कस्तो र’छ भनेर सार्वजनिक गर्नैका लागि पनि – रिजाल बा- जसलाई गाउँ, टोल र यताउताका साना ठुला सबै उमेरकाले ‘रिजाल बा’ नै भनेर सम्बोधन गर्छन्, ले आफ्नो थोत्रो मुखबाट धोत्रो स्वर निकालेर सोधिहाले – “के छ ? हिजो आज कलम कत्तिको चलिरा’छ ?”

“रिजाल बा, धेरै वाद प्रतिवाद गरिरहनु पर्ने मान्छे त तपाईं होइन ! तर तपाईंको भाषाकै कारणले पनि तपाईंलाई भन्नै पर्ने भो – “भ्यागुतो जस्तो सास भएको जीव त होइन नि कलम ! आफैँ चलिरहनलाई ? त्यो त थिर हुन्छ । त्यस्तो थिर वस्तु आफैँ कहाँ चल्छ र ? के प्रश्न गर्नु भ’को त्यस्तो ?” धनञ्जय काकाले सदाझैं ताइ न तुइको आफ्नो भाषिक विद्वता छाँटिहाले ।

“ल, ल ठिकै छ । तिम्रै कुरो माथि भो । ल अब भनन त हिजो आज कलम कत्तिको चलाइरा’छौ ?” रिजाल बाले थप प्रतिवाद नगरीकनै आफैँले गरेको पूर्व प्रश्न सच्याए ।

धनञ्जय काकालाई बाउँटो कुरा गर्न कसैले सिकाउनु पर्दैन । यस्ता खोँचे थाप्ने विधामा त उनलाई जो कोहीले भेट्ट्याउनै सत्तैmन । उनले रिजाल बालाई फेरि फटाफट उस्तै प्रतिप्रश्न गरे – “ए, बा ! म केटाकेटी हुँ र ! कलम चलाइरहनलाई ? केटाकेटीले पो खेलौना सम्झेर कलम पाए’नि, मलम पाए’नि चलाइरहन्छन् । खेलाइरहन्छन् । कि तपाईंले मलाई केटाकेटी नै सम्झेर – “कत्तिको कलम चलाइरा’छौ’ ?” भनेर सोध्नु’भा ?”

धनञ्जय काकाको आनीबानी बुझेका रिजाल बालाई काकाको त्यस किसिमको प्रश्न गराइ खासै अनौठो लागेन । त्यसै भएर पनि काकालाई उनले सम्झाउन खोज्दै भने – “मैले त तिमीसँग तिम्रा साहित्यिक गतिविधिका कुरा कोट्ट्याएर तिम्रो साहित्यिक योगदान अरू साहित्यकार र साहित्यका पाठक सामु पुर्‍याइदिन मात्र खोजेको हूँ । तिमीलाई नचिन्ने पनि त एकाध मान्छे होलान् नि साहित्यिक दुनियाँमा अझै पनि ? छैनन् र ?”

“मैले तिमीलाई सोध्न खोजेको कुरा तिमीले अभिधार्थ र लक्ष्यार्थ दुवैमा बुझेका छौ । तिमीले अभिधार्थमा मात्र मेरो कुरालाई लिएर अर्थ लगाउन खोज्यौ । तर पनि त्यही कुरा म फेरि प्रस्ट्याउँछु – “तिम्रो साहित्य लेखनको गतिविधि आजकल कत्तिको सक्रिय छ ? तिमी त साहित्यमा एउटा झर्भmराउँदो व्यक्तित्व हौ नि ? यो कुरालाई नबुझेर कतै निष्क्रियतातिर पो तिमी लागेका छौ कि भनेर एउटा शुभेच्छुक हितैषीका नाताले मात्र सोधेको हुँ । कि, तिमीलाई पनि उछिन्ने अरू कोही साहित्यकार यस दुनियाँमा उदाइसके ?”

धनञ्जय काकाले भुइँ छाडे । फुरूक्क फुर्किए । उसै त धनञ्जय काका, त्यसमाथि रिजाल बाले बेलुन फुलाएझैं फुलाइदिएपछि उनको के गति भयो होला ? सहजै अनुमान लगाउन सकिन्छ ।

“अँ ! रिजाल बा पनि, मैले त यसो कुराकानी अगाडि बढाउनका लागि सजिलो होला भनेर पो तपाईंसँग यस्ता कुरा गरेको त । साँच्चै भनेको जस्तो लाग्यो कि क्या हो तपाईंलाई ?” धनञ्जय काकाले कुरो सच्याए ।

“रिजाल बा, लेख्ने कुरामा त म कहिल्यै थाक्दिन । मलाई यो स्तरसम्म पुर्‍याएकै साहित्यले हो । भन्न त मान्छेहरू मलाई अनेक थरी भन्छन् । भनिरहून् । मेरो मूल्याङ्कन म आफैँले गर्ने हो कि अरू कसैले ? भन्नुस् त, रिजाल बा । अरूले जतिसुकै जे भने पनि म मेरो बाटो छोड्दिन क्या रे । कुन बाटोमा लाग्दा मेरो हित हुन्छ भन्ने त मैले थाहा पाउने कुरा हो नि, अरूले हो र ? समकालीन साहित्यकार मध्येमा मेरो लेखनीको प्रतिस्पर्धामा आउने एक जना साहित्यकार पनि आजका दिनसम्म मैले देखे भेटेको छैन । भोलिका दिनमा मेरै पुनर्जन्म भएर कोही निस्किएछ भने यसै भन्न सकिन्न, होइन भने मलाई पछ्याउने सम्भावना बोकेको साहित्यकार सितिमिति भेटित्र । ल भन्नुस् त रिजाल बा, समकालीन साहित्यमा मेरो जस्तो स्थान अरू कसैको छ ?” धनञ्जय काकाले एकै सासमा आफ्ना कुरा भनी भ्याए । “मेरो जस्तो लगन, मेरो जस्तो सक्रियता र ममा भए जस्तो उर्बरता जो कोहीमा पाउन गाह्रै छ । कसले सक्छ यसरी म जस्तो दिन रात एकनासले खटिन ?” उनले आत्म प्रशंसाका लागि अर्को दुई वाक्य पनि खर्चिए ।

“अरूको साहित्यको अध्ययन पनि त प्रशस्तै गरेको होलाउ नि ?” धनञ्जय काकाको हैसियत थाहा पाउँदापाउँदै पनि रिजाल बाले उनको थप परीक्षण गर्न खोजे ।

धनञ्जय काका अगाडि भन्दै थिए – “आफूले रचना गरेका साहित्यको अध्ययन त म दोहोर्‍याएर गर्न भ्याउँदिन भने अर्काको साहित्य अध्ययन गर्ने फुर्सद मैले कसरी निकाल्न सक्छु र ? त्यसमा पनि ती भटमासे रचनाकारहरूको रचना पढेर समय बर्बाद गर्नु छैन मलाई । बरु त्यस्तो समय मिल्यो भने त अर्को रचना तयार गर्नतिर लाग्छु नि म । तिनको रङ्ग न ढङ्गको साहित्य पढेर आफ्नो प्रखर रचनाकारिताको क्षमतामा किन ह्रास ल्याउनु मैले ?”

“यसो कसैले आयोजना गरेको कवि गोष्ठी तथा अरू विविध साहित्यिक कार्यक्रमहरूमा पनि गइन्छ/सहभागिता जनाइन्छ होला नि ?” रिजाल बाले अर्को प्रश्न थपे ।

“कार्यक्रमको शोभा बढाउनैका लागि भए पनि गइदिनै पर्‍यो नि । म गइन भने सबैले अमिलो मुख लगाउँछन् । किन आइनस् भनेर दुखेसो पोख्छन् । अँध्यारो मुख लगाउँछन् । कसैकसैले त हामी जस्ताको कार्यक्रममा के आउनु हुन्थ्यो त ? भनेर रसिलो व्यङ्ग्यवाण पनि प्रहार गर्छन् । दश थरीका मान्छेको दश थरीका भनाइ खानुभन्दा त यसो पुगिदिनै ठिक लाग्छ र गइदिन्छु पनि । बरु यसो कविता वाचनको कार्यक्रम रहेछ भने चाहिँ यस्तै कार्यक्रममा अन्यत्र पनि जानुपर्ने आफ्नो व्यस्तताको बहाना बनाएर आयोजकलाई खुसुक्क भन्छु र फटाफट आफ्नो कविता पढेर खुसुक्क हिँडिहाल्छु । अरूको रचना सुनेर म कहिल्यै पनि आफ्नो समय बरबाद गर्नतिर लाग्दिन । दश थरी भटमासे कविका भटमासे कविता सुनेर बिनसित्तिमा को बसिरहोस् ।” काकाले आफ्नो महत्ता आफैँले दर्शाए ।

“अनि अर्को एउटा नयाँ कुरो – यसो श्रीमती, छोरा, बुहारी, छोरी, ज्वाइँ, नातिनातिनाको पनि नाम रहोस् भनेर आफ्नै अध्यक्षतामा एउटा साहित्यिक संस्था दर्ता गराएको छु । आफूले वर्षको एकचोटि कार्यक्रम गर्न नसके पनि अरूका कार्यक्रममा जाँदा “…  संस्थाका अध्यक्षज्यूलाई आसन ग्रहणका लागि आग्रह गर्दछु” भनेर उद्घोषकले उद्घोषण गर्न भ्याउँदा नभ्याउँदै स्रोता दीर्घाका प्राणीहरूलाई नमस्कारसम्म पनि नगरी म आसन ग्रहणको निम्तो स्वीकार गरिहाल्छु । त्यत्रो आदरपूर्वक गरेको आग्रहलाई ढिल्याइँ गरेर कसैको अनादर गर्न त भएन नि ! कसो रिजाल बा ?” धनञ्जय काकाले आफ्नो थप भेद पनि खोल्न भ्याए ।

“कतिले त मेरा कविता लगायतका रचनाको भाव नबुझेर मैलाई सोध्न आउँछन् र मलाई नै अप्ठ्यारोमा पार्छन् । जवाफ लगाउँ भने कतिखेर कुन मनस्थितिमा के लेखिएको हुन्छ आफैँ सम्झिन्न । आफैं बुझ्दिन । अनि भन्नु नै पनि के ? त्यही भएर के भत्रु न के भत्रुका बिच म पनि ‘जसले लेख्यो त्यसले अर्थ लगायो भने रचनाको मर्म मर्छ’ भनेर सर्लक्क पन्छिन्छु र उल्टै लेख्ने काम पो लेखकको हो त, अर्थ लाउने काम त अध्येताको हो नि भनेर उपदेश छाटिदिन्छु । यति पनि चलाखी नगर्ने हो भने मेरो विद्वतामा जो कोहीले पनि औँला ठड्याउन थालिहाल्छन् नि, हैन त रिजाल बा ?”

काकाको स्वमहात्म्यमा कतै पूर्ण विराम छैन । कति सरल र सहज प्रवाह छ उनको । काका अझै अगाडि बढेर भन्छन् – “कसैले मेरो विद्वता पहिचान गरेर आफ्ना कृतिहरू अध्ययनका लागि मलाई दिन्छन् । ती किताबले मेरा सिरानी उचालिन्छन्, बोरा भरिन्छन् तर पाना पल्टिने अवसर तिनले कदापि पाउँदैनन् । कसैले चासो राखेर आफ्ना कृतिका बारेमा यसो सम्झाएछन् भने तिनलाई फेरि कलम उचाल्न जाँगर नचल्ने गरी फटाफट ठाउँको ठाउँ कृति समीक्षा गरिदिन्छु । नत्र कसरी खारिन्छन् तिनीहरू ?

“समीक्षा मेरो लागि गाह्रो विषय पनि भएन । किनकि, समीक्षाका लागि मलाई कसैको कुनै पनि कृति पढ्नै पर्दैन । किताबको बान्की, साजसज्जा, शीर्षक, लेखकको अनुहार, लिङ्ग र भूगोल हेर्नेबित्तिकै सुनारले सुन जाँचे जस्तो एकै नजरमा जाँच्न भ्याइहाल्छु । अनि समीक्षा साहित्यमा मेरो बजारका अगाडि अरू कसको के लाग्छ ?”

“अनि, साहित्यिक सम्मान र कदर पत्रका ओइरोले त घरका भित्तामा एउटा किला ठोक्ने ठाउँ पनि बाँकी छैन होला हकि ! काकाको ?” रिजाल बाले भित्तो पुर्‍याएर प्रश्न गरे । उनको प्रश्न गराइ धनञ्जय काकालाई केही गलाउन सकिन्छ कि भन्नेतिर लक्षित थियो तर सकेनन् ।

रिजाल बाका प्रश्न सुन्ने बित्तिकै धनञ्जय काकाको स्वबखान फेरि उसै गरी सुरु भइहाल्यो – “सम्मान र कदर-पत्रका कुरा नगर्नुस् । त्यस्ता सम्मान र कदर-पत्र कुनै पनि साहित्यकारको मापन गर्ने साधन हुन सक्तैनन् । ती त हचुवाका भरमा जोर बिजोर गरेर दिने वस्तु हुन् । मेरै कुरा गरूँ न – यत्रो साहित्यिक सेवा गरेर न मैले अहिलेसम्म त्यस्तो प्रमाण-पत्र पाएको छु, न कसैले मलाई सोधेकै छन् । कति चोटि त मैले त्यस्ता साहित्यिक प्रतिस्पर्धामा भाग समेत लिइसकेको छु तर के गर्नु ? कसैले भित्री तहमा पुगेर मेरा रचनाको भाव पर्गेल्नै सक्तैनन् । स्वाद लिनै सक्तैनन् । पुरस्कृत हुनका लागि त साहित्यको स्तर अनुसारको मूल्याङ्कन कर्ता पनि त हुनु पर्‍यो नि । जसले रचनाको मर्र्म पहिचान गर्न सक्तैनन् उसले कसरी सही मूल्याङ्कन गर्न सक्छ ? अनि, यसैका आधारमा वितरण हुने सम्मान-पत्र र कदर-पत्रले साहित्यकारको स्तर निर्धारण गर्न सक्छ त ? ल, तपाईं नै भन्नुस् त रिजाल बा ।”

रिजाल बाले धनञ्जय काकाको भलिभाँती मन पेट चोरे । अनि उनले फूलपाती र नैवेद्य चढाउने काम मात्र बाँकी राखेर धनञ्जय काकाको प्रशंसा गर्नसम्म गरे । उनको यो बाह्य प्रशंसाको पोको धनञ्जय काकाले छिचोल्नै सकेनन् । रिजाल बा पनि कम बाठा छन् र ! काकाको पूरै मनस्थिति केलाएर उनलाई यसरी प्रशंसाको भारी बोकाएका थिए । तर, तरकारीमा डुबेको डाडुले तरकारीकै स्वाद नपाएझैं धनञ्जय काकालाई यसको मेसै भएन । यस्ता कुराको मेसो पाउने भएका भए उनलाई वरिष्ठ कवि तथा साहित्यकारको उपाधि पनि यति सजिलै कसले पो दिन्थ्यो र ? यही मेसो नपाउने भएरै उनलाई यो उपाधि जुरेको छ । समकालीन साहित्यका यस्ता साहित्य रत्न वरिष्ठ कवि तथा साहित्यकार धनञ्जय काकाको जय होस् ।

०००
‘सुलेख, २०७५ असार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
अर्दलीको खोजखबर

अर्दलीको खोजखबर

पिँडालु पण्डित
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x