नगिता लेप्चा राईकुराको कैरन
यी महामहिमहरूले राखेका कुराहरू सबै कार्यान्वित भएका छन् ता ? उनीहरूका बुरुक-बुरुक पारेर हुरुक-हुरुक पार्ने कुराहरूले हामी डम्मै अघाएर ढ्याउ...ढ्याउ भएका छौं तपाई-हामी सबै ।

कुनै विषयमा कसैलाई केही भन्नु अर्थात् वचन, वार्ता, बोली आदिलाई कुरा भनिन्छ । कुरा मह, चिनी आदिको स्वादजस्तो, गुलियो, स्वादिलो पनि हुन्छ भने करेला, नीम, चिराइतोजस्तो तीतो वा टर्रो पनि हुन्छ । यसैले कुरा भनेको कुरै हो । अर्काको कुरा गर्नुजस्तो मज्जा अरु केही हुँदैन । अर्काको कुरा नगर्ने, कुरा लाउने, नसुन्ने, कुरा खोज्ने यो संसारमा पाइन गाह्रो छ ।
कुरा गर्ने तरिका आ-आफ्नै पाराको हुन्छ । कोही भाँती पुऱ्याएर कुरा गर्छन्, कोही बाङ्बुङ् । कोही बङ्ग्याएर कुरा गर्छन्, कोही घुमाएर, कोही भने हाकाहाकी । कुरालाई जति तन्कायो उति तन्किन्छ । कुरालाई जता लगायो उतै लाग्छ। कुरो र कुलो एउटै हो ।
प्रेमि-प्रेमिकाहरूको कुरा कहिल्यै टुङ्गिँदैन । यिनीहरूको प्रेमालापमा नौनी घिउजस्तो कुरा टाँसिएको हुन्छ । हाम्रो देशका नेताहरू कुरा गर्न र कुरा लाउनमा सिपालु छन् । यसैले कृषि प्रधान देशलाई अब ‘कुरा प्रधान देश’ बनाउने प्रस्तावको आवश्यकता देखिन्छ । नेता मात्रै किन कुरा गर्नमा यहाँ कसैलाई भेटदैन । यहाँ सबै कुरौटे । भ्रष्टाचारमा अनर्स गर्नेहरू शिष्टाचारका कुरा गर्छन् यहाँ । ढाँट-छल गरेरै आफ्नो जीवन धान्ने ढाँट माष्टरहरू हे भगवान् ! सत्यका कुरा गर्छन् । अनैतिकताका शिरोमणिहरू नैतिकताका कुरा गर्छन् । आफ्नै आङमा भैंसी हिँड़ेको देख्दैनन् अर्काका आङमा जुम्रा हिँड़ेको देख्छन् ।
नेपाली साहित्यमा लगायत नेपाली जनजीवनमा यो ‘कुरा’ शब्दले विशिष्ट स्थान ओगटेको छ । कारण यो कुरालाई आवश्यकता र स्थिति अनुसार जसरी प्रयोग गरे पनि हुन्छ । हाकिमलाई सहकर्मीको कुरा लाउनोस्- चल्छ । कुरा खोज्नोस् झन् चलेबल । कुरा मिलाउनोस्… उत्तम । कुरा चलाउनुहोस्…। विरोधीहरूबारे नेगेटिभ कुरा गर्नुहोस्…आहा ! क्या मज्जा आउँछ । विरोधीहरूका कुरा गर्नेहरू भुतुक्कै भएर दोब्रेको देखिन्छ ।
कसैको कुरा साह्रै मीठो हुन्छ । कसैको कुरा फेरि झिँझेटलाग्दो । कोही स्वादिला कुरा गर्छन् भने कोही अर्थ न बर्थका । नेताहरू पचहत्तर प्रतिशत ढाँट कुरा गर्छन्, रहल पच्चीस प्रतिशत कुरामा पनि भेजाल कुराको ह्वास्सै गन्ध पाइन्छ ।
यो संसारमा अर्काको कुरा गर्नेहरूको सङ्ख्या कम्ति छैन । बिहान ओछ्यान छोड़ेदेखि बेलुकी ओछ्यान परिञ्जेल अर्काकै कुरा गरेर बिताउनेहरू पनि हाम्रो वरिपरि छन् । अर्काको कुरा गर्नु कस्तो मज्जा लागेको । अर्काको कुरा गरिएन भने यिनीहरूको पेट भरिँदैन । पेट डम्मै छ भने पनि अर्काको कुरा नगरिञ्जेल पटक्कै पच्दैन । अर्काको कुरा गरेर आफू सन्तुष्ट हुने हजमोला हो यो कुरा गराइ । यस्ताहरूको मुख चौबिसै घण्टा स्याउँ….स्याउँ गरेर चिलाइरहेको हुन्छ । कसैको कुरा गर्ने बानी मानसिक विकारबाहेक अरु केही होइन । तर यस्ता कुरौटेहरू कुन दिन यस्तो भड़्खालामा पर्छन्, त्यस भड़्खालामा जाकिएपछि उक्लिन गाह्रो पर्छ ।
अर्काको कुरा गर्नेहरू बाहेक पनि कुरा लाउनेहरू धेर खतरनाक हुन्छन् । आफू सद्दे, चोखो, सत्य हुनलाई आफ्ना हाकिम, ठूला-बड़ालाई कुरा लाउनेहरू छुल्याहा हुन् । यसरी बिनासित्ती कुरा लाएर हाकिम, ठूला-बड़ा सामु ऊ जति नै प्यारो हुन खोजे पनि त्यो क्षणिक हुन्छ । किनभने दिएर र अर्काको कुरा लाएर कसैलाई खुसी पार्न सकिँदैन ।
अर्काको कुरा सुन्नेहरू झन् ‘घटिया’ व्यक्तित्वका दास हुन् । इतिहास साक्षी छ- अर्काको कुरा सुनेर त्यसको सठिक मूल्याङ्कन नगरी निणर्य लिनु अक्षम्य अपराध पनि हो । कैकेयीको कुरामा मक्ख पर्ने राजा दशरथको कुरा कोट्याएर पनि के गर्नु ? सुपणर्खाको नाक काटिएको अर्काकै कुराले गर्दा होइन र ? धोबिनीको कुरा सुनेका भए रामले सीतालाई त्याग्थे होलान् त ?
ईश्वरका कुरा नसुन्दा आदम र इभको गति कस्तो भए ? यसैकारण नै भनिन्छ, आगो ताप्नु मूढ़ाको कुरा सुन्नु बूढ़ाको ।
कसैलाई ठूल्ठूला कुरा गर्ने बानी हुन्छ । उनको कुरामा बाह्र बत्तीसका हाँक हुन्छ । यस्ता ठूल्ठूला कुरा गर्नेहरूका ठूल्ठूला कुराहरूमध्ये सय प्रतिशत ढाँट कुरा हुन्छ । यस्ता कुरालाई ‘हावाको कुरा’ भने पनि दार्जिलिङे भाष।मा ‘बीटी (दष्न तबपि)’ भन्ने चलन छ ।
कुरामा कुरा चियामा चिउरा भित्तामा माकुरा भनेजस्तो कुरा लाउनेले कुरा ओसारेपछि अनि कुरो सुन्नेले पनि कुरो खाएपछि ता एक दिन न एक दिन भाँड़भैलो मच्चिने नै हो । कुरै कुरामा आएर कुरा दिइहाल्नु कहाँको युक्तिसङगत होला ? यसैले भनिएकै छ नि, कान देऊ कुरा नदेऊ । कुरालाई बटारेर, कुरा पल्टाएर कुरा लड़ाउनु खोज्नु आगोमा घिउ थपेकै बराबर हो ।
हाम्रा नेताहरूले बोले जति र भने जति कुरा राखेका छन् के ? हाम्रा नेताहरूको पनि ‘बिग् टक्’ ता कम्ति जाँदैन है । यी महामहिमहरूले राखेका कुराहरू सबै कार्यान्वित भएका छन् ता ? उनीहरूका बुरुक-बुरुक पारेर हुरुक-हुरुक पार्ने कुराहरूले हामी डम्मै अघाएर ढ्याउ…ढ्याउ भएका छौं तपाई-हामी सबै । यस्ता कुराहरूले अपच हुनलाग्दा हामीलाई आश्वासनको हजमोलाले बिसेक हुने बानी लागेको छ । आश्वासनको हजमोला खोज्न कुनै औषधि पसल धाइरहनु पर्दैन । कुनै पनि नेताको मुखमा आश्वासनको हजमोला निःशुल्क पाइन्छ । यसको निम्ति तपाईले केही गर्नै पर्दैन । सामान्य कष्ट गरेर नेता सामु बसेर उनको मुखारविन्दबाट प्रष्फुटित भएका कुराहरू ध्यान लाएर सुन्न मात्रै परो । तर होसियार ! नेता सामु गएर उनका कुराहरू सुन्दा नेतालाई कुरा फर्काउनु चाहिँ हुँदैन । कुरा पल्टाउनु पनि भएन । कुरा बटार्ने ता झन् कोशिष नगरेकै जाती । यसबेला नेताले आलु खाएर पेड़ाको धाक देखाए पनि तपाईंले मुख थाम्नै पर्छ । के गर्ने ? जसो-जसो बाहुन उसो-उसो स्वाहा ता गर्नैपऱ्यो ।
जे होस्, कुरामा कुरा चियामा चिउरा, भित्तामा माकुरा भनेजस्तो कुरा गर्ने सबैको अधिकार छ । तर कुरा गर्न पायो भन्दैमा अर्काको बदख्वाइँ गर्नु ठ्याम्मै उचित होइन । स्वस्थ, धनात्मक कुरा गरौं । बिनासित्ती अर्काको कुरा गरेर व्यर्थै गुन्द्रुकको झोलमा जात किन फाल्नु ? कि कसो ?
०००
जलपाइगुड़ी (भारत)
Subscribe
Login
0 Comments
Oldest






































