साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अकवरे सहमति

समयले बालीको विलक्षण उत्पादन पस्किदिँदा घरकाज बसेका बुढाबुढी समेत शिकार खेल्न खोला तलाउतिर लागेछन् । मानो नयाँ बजेट आएर उनीहरू पनि उखपातै खुशी थिए - नेपाली नेताहरू जस्तै ।

Nepal Telecom ad

भनिन्छ अकवरे खुर्सानी छोइ नसक्नु हुन्छ -जण्ड पीरो । अकवरी सुनलाई कसी लगाउनु पर्दैन । अकबर बादशाह इन्साफ गर्नेमा एक नम्बर थिए आदि आदि । त्यस्तै नेपाली नेताहरूका बीचमा हुने अकवरे सहमति पनि कम मापाको भन्न काहाँ मिल्ला त । यसको फर्मूला नै आफैंमा उखर्माउलो पाराको हुँदो रहेछ । त्यसमाथि जामा फेटा गम्छा पतलून टोप बूट पहिराएर सिँगारपटारसहित मिडिया चउरको चौतारीमा निकाल्दा त गाईजात्राको जन्तुलाई समेत ठ्याक्कै बिर्साउने । यसको जन्म मृत्यु र बैतरणी समेत कतै कहिल्यै न भएको चाँहिँ हुने गरेको अनुभवले सिकाइसकेछ हामीलाई । त्यसैले यसबारे धेरै व्याख्याचर्चा नगरे पनि यसो कहिलेकाहिँ कोट्याई हेर्नु नवेस चाहिँ पक्कै न होला ।

हट्यो सारा हिलो मैलो— लेखनाथजीले ऋतुविचारमा भने जस्तै फेरि एक पटक रमाइलो बेला आयो । बजेट अधिवेशनपछिको रसिलो भरिलो, हरियो परियो शान्त सुन्दर सम्पन्न शरद ऋतुले नेपाली माटो सुमसुम्यायो । बग्दै जाने दिन हप्ता महिना वर्ष, जल्दै जाने टायर बन्द जाम दङ्गाफसाद र बिर्सिँदै जाने कर्तव्य वाचा आदर्श सिद्धान्तका ज्वारभाटा भरिएका समय छालहरूमा इन्द्रेनीको रूमानी चमक छचल्कियो । समयसागरमा भुल्का मुल्काहरू उम्लिए अनि वृत्ताकार बनेर सुइयँ सुइयँ अनिश्चयको भविष्यभुमरिमा रूपान्तरित हुन पुगे ।

त नेपाली जिन्दगानीमा एकपटक फेरि मङ्सिर आयो । राजनीति नाउँका घाँसे मैदानहुँदो हान्निएका चौपाया जनावरको स्वच्छन्द विचरणको लागि बिर्ता खन्की खर्कहरू खनिए । उफ्रने चउर, सिँगौरी खेल्ने भित्ता, भँड्खाराहरू र सिङ्ग पुच्छर जुधाउने पाहारिला मैदानहरू खाली भए । पहाडतिर कोदो, मकै, मास, मस्याङ सिमी भटमास टिप्ने सोहोर्ने कुट्ने, काट्ने केलाउने बताउने कामहरू सम्पन्न भए । टार र सुर्के बारीहरू उघारा बने । तराइ मधेसका टारी, भीट अव्वल सीम बगर सबैतिर बाली काट्ने चुट्ने बताउने भित्र्याउने कामधन्दाहरू सकिए । खेत खला, खलिहान खाली भए । अलि बलिया बाङ्गा गाइ भैंसी घोडा खच्चड बाख्रा बङ्गूर सवैलाई समान रूपले घाँसमाथि सहज र समानुपातिक पहुँच प्राप्त भयो । नेतृत्वतहका माउ मुखिया भँडारे सबैतिर एकैसाथ दुबो चर्ने, सिङ पुच्छर हल्लाएर सिगौरी खेल्ने, वलियाले निर्धाहरूलाई छेउभित्तातिर जथाभावी पेल्ने अनि बेला मौका अकबरे सहमति कायम गरेर अर्घेलो झेल्ने ख्यालठट्टाका चटनी चाट्तै गर्नै र खेलाँची पाराले डण्डीबियो गीर भकुण्डो गट्टा धुलीमाटी खाले खेल खेल्ने फर्मूला तयार भयो । अनि यस्तै यस्तै खेलमा जालेमाले जालझेल र काइते सहमतिका घाँसपिँडोमा रमाएका चौपायाको लागि फर्सी मकै र विकासे दानाको खोले- कुँडो तयार हुन थाल्यो । गोठभित्रै बनेको टाट्नाबाट मुल्टो तन्काउँदैमा सहजै पुगिने डूँडमा थुतुनो डुवाएर स्वर्याप स्वर्यारप पार्ने सुविधा प्राप्त भएपछि भएन त कमाल ? मानो उनीहरू भर्खरै जस्केला पटिबाट जिप्ट्याएर हात लागेको बजेट चर्दाचर्दै मात लागेर भैंमा न भाँडामा थिए ।

त्यस्तै नेपाली चील गिद्धहरूलाई मङ्सिर लाग्यो । तराइ भावर र गढ्तीरका झाडी दमारहरू हिउँद लाग्दै फाँडिए । रूखवृक्षका हाँगा, बुटा पोथ्राहरू छिमलिए । सिमल सिसौ खयरका पात झरे । विशालकाय वटवृक्षहरू नाङ्गिए। झाडी, बगर, पर्ती किनार खलपत्रै खुइलिए । चील गिद्धहरूले आफ्नै बासस्थान सिमलबोटबाट जताततै बेवारिस लडेका गाइ भैँसी घोडा गधा खच्चरहरूको शव टाढैसम्म ट्डकारै देख्न सक्ने भए । यसरी देखिएको सिनोमाथि विनाभेदभाव, विना पनपक्ष मिलीजुली जाइलाग्ने अनि चारैतिरबाट एकसाथ हस्तक्षेप गर्ने र मरि गए त्यसै न छाड्ने रणनीति तयार हुन गयो । समानुपातिक सिद्धान्त र सहकार्यको शैलीमा ठुङ्ग्ने, चिथोर्ने, लुछने, भुत्ल्याउने, खइुल्याउने, फोर्ने अर्को कार्यनीति तय भएछ ।

त्यसपछि शवको वरपर झुत्तिएर दारा गाड्ने , लुछ्ने ,चपाउने, निल्ने भुँडी भर्ने र सुम्लिएको पेट फुलाएर आराम गर्नेसम्मका क्रान्तिकारी कदमहरूमा कार्यगत एकताको प्रक्षेपण पनि सर्वसम्मत रूपमै कायम हुन पुग्यो । खुला आकाशमा रिङ्दै गरेका चीलहरूले टाढैबाट गाउँका एक एक चल्ला देख्न थाले । बाजहरूले काँसका झाङभित्रका वचेरा- अण्डा सहजै भेट्ने भए । रूखका टोड्कामाथि गुँडमा खेल्दै गरेका चल्ला माउहरू पहुँचभित्र सहजै पर्न थाले । प्रकृतिको हराभरा मैदानमा लुछाचुँडी र नृशंश हस्तक्षेप यो हविगत देखेर घाइते बुढो रूख भन्दो रहेछ—
“छोडिदे छोडिदे……..। हान् लुछ् हान् लुछ् जिन्दगीका भुवा ।”

महाकवि देवकोटासंग कविता पैचो गरेछ विचरा बुढो रूखले । तर मिलीजुली, बाँडीचुँडी लुछौँ चुडौँ, चपाउँ भन्ने चरणवद्ध रणनीतिका प्रवर्तक वाज चील गिद्ध लगायतका वरिष्ठ पञ्छीहरूलाई बुढो रूखको प्रार्थनाले सिंग पुच्छर कतै तातो पानी लाग्ने कुरै भएन । सिनो प्राप्तिको अन्तिम चरणमा पुगेका पञ्छीराजहरूलाई स्थान प्रदेश कालको पनि कुनै ख्यालै रहेन । मैदानमा लम्पसार लडेको शिकारशव पौष्टिक आहारको लागि छ्यालव्याल पुग्ने देखेपछि तानातान र हानाहानको हैरानीले पनि कुनै चान्स नै पाएन । उनीहरूको लागि पनि शायद हालै मात्र लुकी छिपी चोरी चकारी पास भएको बजेट पर्याप्त रहेछ ।

त्यस्तै नेपाली जलचरहरूमा मङ्सिर आयो । खेतका गरा कुला पैनी नहरहरू सुके । पोखरी, तलाउ, खोला नाला सङ्लिए । हाँस बकुल्ला मलेवा चखेवाहरूको मिटिङ मेटिङ्ग, सभा जुलूसको सिजन शुरू भयो । माछा, गड्यौँला, बुदुना कीरा टिप्ने कुरामा सहमतिको पेटारो खुल्यो, पसारियो । मलेवा, जलेवा, हाँस, सारस, हुटिट्याउँ, भुँडीफोर सवै बर्गको कुकर्म गर्ने समावेशी कार्यदल बन्यो । तलाउ खोलाका माछा लेउ झ्याउ च्याउसम्म बाँकी नराखी भ्याउने समान भागवण्डाको समानुपातिक लक्ष्य निर्धारण गरियो । बकुल्लादेखि मलेवासम्मका सवै बर्ण, धर्म, लिङ्ग र विचार दर्शनको प्रतिनिधित्व गर्ने चरा वर्गको वीचमा लेउ झ्याउ सिद्रा बुदुना गँगटा पाहा लगायत परिकारको चारो टिप्ने र पेट भर्ने कार्यमा भद्रतापूर्वक सहजै तात्विक निश्कर्षको घोगो एका एक हुत्त पसायो । समयले बालीको विलक्षण उत्पादन पस्किदिँदा घरकाज बसेका बुढाबुढी समेत शिकार खेल्न खोला तलाउतिर लागेछन् । मानो नयाँ बजेट आएर उनीहरू पनि उखपातै खुशी थिए – नेपाली नेताहरू जस्तै ।

०००

‘गोरखापत्र’ माघ २२, २०६७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
काले र भाले

काले र भाले

नरेन्द्रराज पौडेल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
अथ श्री कोसेली महात्म्यम् !

अथ श्री कोसेली महात्म्यम्...

नरेन्द्रराज पौडेल
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x