साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्सी

भविष्यमा मेरा यी दुइ सुपुत्रहरू कुर्सीको निम्ति कतै नलोभिउन् भनेर, कुर्सीको निम्ति हानाहान र तानातान नगरोस् भनेर यो ट्याक्टिक्स अप्नाएको छु ।

Nepal Telecom ad

पछिल्तिर अड़ेसिने भएको चारखुट्टे अग्लो आसनलाई कुर्सी भन्दछ । यो कुर्सी शब्द सुन्ने बितिकै मलाई सानो छँदाको एउटा घटना स्मरण हुने गर्दछ । त्यसताका हामी साना थियौं । कमानबस्तीको घर । पापाले घरमा तल सिरानघरे मिस्त्री काकालाई भनेर कुर्सी बनाएर ल्याएका थिए । असङ्ख्य पीरा, मकैको खोसेला र मूढ़ाहरूमाझ टिक काठको नयाँ कुर्सीलाई अन्य आसनको तुलनामा साँच्चै महान् देखियो । सधैं पीरा र मूढ़ामाथि बसेर स्कूलको घरको काम हामी दुइ दिदीभाइ गर्दथ्यौं । घरमा टिक काठको त्यो पनि पालिस गरिएको कुर्सी आएपछि त्यसमाथि बस्नलाई हाम्रो रात-दिन हानाथाप हुन्थ्यो ।

घरमा कुर्सी आएपछि घरभित्र भएका पीरा र मूढ़ाहरू हाम्रो नजरबाट तुच्छ ठहरिन थाले । कुर्सीको लागि जहिले पनि हामी दुइ यसरी हानाथाप गरेको देख्दा पापाले हामीलाई थप्पड़ कस्दै भने, तँहरू मान्छेको भाँड़ो होइनस् । तँहरूलाई यस्तो दामी कुर्सीमा बस्न सुहाउँदैन… कुर्सीमा बस्ने भाग्य भए पो… पिशाचहरू । कुर्सीमा त बड़े बड़े मानिसहरू मात्र बस्छन् । तँहरूको भाग्यमा श्री लेखिएको भए पो तित्तिरी लेखेपछि गति यस्तै हुन्छ । पापा एकदम रिसाहा मान्छे । त्यही दिन नयाँ कुर्सीलाई पापाले बञ्चरोले चिरेर अगेनामा घुइँकाए । कुर्सी मज्जाले जल्यो । हामी दिदीभाइ एकार्कामा हेराहेर गर्दै उभिरह्यौं ।

मलाई स्कूलमा भर्ना गरियो भूइँ क्लासमा । सर-गुरुआमाहरू क्लासमा आएर सोझै कुर्सीमा बस्थे । हामी भुइँमा । स्कूल जान थालेदेखि के स्पष्ट भयो भने, हो यो कुर्सी भन्ने आसनमा त सर-गुरुआमाहरू मात्रै बस्न पाउँदा रहेछन् । पापाको कुरा ठिकै लाग्यो ।

चौथो श्रेणी पढ़्दाको कुरा, टिफिन समयमा हुनुपर्छ सायद । सर-गुरुआमा बस्ने कुर्सीमा म थचक्कै बसेँ । मज्जा लाग्यो । कुर्सीमाथि बसेर बेस्सरी हल्लिएँ । कति आरामदायक कुर्सीमाथि बसेर मज्जाले हल्लिनु । तर म कुर्सीमा बसेकी कुन चाहिँ सहपाठी हो वा मनिटरले हो अफिसमा गएर पोल हालिदिइछ क्यारे ! सेकेण्ड सरले अफिसमा बोलाएर मेरो सातोपुत्लो खानु मात्र होइन कस्सेर दुइ झ्याँपट हानेको घटना कहिल्यै भुल्न सक्तिनँ । दुइ झ्याँपट हानेर पनि उनलाई पुगेन रहेछ… मेरो कान समातेर सेकेण्ड सर गर्जेको अहिलेसम्म पनि मेरो कणर्कुँवरमा गुञ्जिरहन्छ- कुर्सीमा बसिस्…एई बोक्सी । स्टुडेण्ट भएर सर-गुरुआमा बस्ने कुर्सीमा त्यसरी बस्नु हुँदैन बुझिस् बोक्सी ? (सेकेण्ड सरलाई रिस उठ्यो कि हामी केटीहरूलाई बोक्सी भन्थे ।) मैले सामान्य मुण्टो हल्लाएर बुझेको जस्तो गरेकी थिएँ त्यसदिन ।

मैले मेरो गल्ती स्वीकारेँ । तर मलाई सबैभन्दा लाज र कुरीकुरी केमा लागेको थियो भने, त्यस दिन क्लासमा जति पनि सर-गुरुआमाहरू आए सबैले एउटै कुरा दोहोऱ्याएका थिए- सर-गुरुआमा बस्ने कुर्सीमा बस्ने नयाँ गुरुआमा को हो ? खै नयाँ गुरुआमाको मुखको दर्शन गरुँ ।

त्यस दिनको सात पिरियडमा सातै पिरियड मैले प्रत्येक सर-गुरुआमाको कटाक्ष सुन्न पऱ्यो । त्यसै दिनदेखि यो कुर्सी भन्ने आसनमा ठूला-बड़ाहरू मात्रै बस्न सक्दारहेछन् भन्ने कुरो मेरो कलिलो मानसपटमा आजसम्म जरा गाड़ेर बसेको छ । र आज पनि ठूला मान्छे बस्ने आसनमा म कहिल्यै बस्दिनँ । यतिबेला पापाले भनेका कुरा झल्झल्ती याद आयो मलाई ।

ठिकै हो, कुर्सीमा लरतरा मानिसलाई बस्ने अधिकार छैन तर अचेल यो कुर्सी युगमा कुर्सीमा बस्न एउटा होड़बाजी नै चलेको देखिन्छ । योग्यता होस वा नहोस्, अनुभव होस् नहोस्, ज्ञान होस् नहोस् सबैलाई नै कुर्सीमा बस्ने रहर हुँदोरहेछ भन्ने अचेल पो बुझ्न थालेकी छु । कुर्सीकै निम्ति हाम्रो देशमा गञ्जागोल हुने गर्दछ । झुसेमुसे नेतालाई पनि कुर्सी नै चाहिन्छ । सङ्घ-संस्थाको ‘स’ पनि नबुझ्नेलाई समेत कुर्सी चाहिन्छ । कोही कोही ता कुर्सीमा एकपल्ट बसेपछि फेभिकोलले टालेकै जस्तो टासिरहन चाहन्छ । कोही बल-बुताको भरमा, कोही सरकारी ओहोदाको भरमा, कोही पैसाको तुजुकमा कुर्सीमा गजधम्म बस्न चाहनेहरू पनि नदेखिएको होइनन् । कुर्सीको आकर्षणले सबैलाई मोहित पारेकै हुन्छ । जसरी मलाई भुइँक्लास पढ़्दा सर-गुरुआमाको कुर्सीले आकर्षित पारेको थियो । म कतिको योग्य छु ? यसबारेमा कसैले समालोचना गरेको देखिँदैन ।

टाढ़ा किन जानु ? …हाम्रो देशको राजनीति बाँचेको छ भने कुर्सीमै बाँचेको छ । त राजनीतिभन्दा कुर्सीलाई नै ठूलो ठान्ने नेताहरूको सङ्ख्या हाम्रो देशमा थोरै छैन । देशका नेताहरू कुर्सीकै निम्ति मात्र राजनीति गरेको देखिन्छ । कुर्सीकै निम्ति बाँच्छन् यिनीहरू, कुर्सीकै निम्ति मर्छन् । कुर्सीले सबैलाई लोभी बनाएको छ । कुर्सीमा बस्न पाउनु भनेको डाड़-पन्यू आफ्नै हातमा हुनु हो । कुर्सीमा बस्नु पाउनु भनेको नै दसैवटा औँली घीउमा चोबिनु हो ।

राजनैतिक कुर्सीमा आसन पाउनु भनेको त झन् चाँदी कट़ाइ पो हुन्छ त । यसर्थ राजनीति कुर्सीमा लोभिनु स्वाभाविकै हो ।
अचेल मेरा दुइ छोराहरूलाई कुर्सीमै राखेर पढ़ाउँछु, खाना पनि कुर्सीमै बसाएर दिने गर्छु । अनि रातभरि कुर्सीमै पलेँटी मारेर सुताउने गरेकी छु । भविष्यमा मेरा यी दुइ सुपुत्रहरू कुर्सीको निम्ति कतै नलोभिउन् भनेर, कुर्सीको निम्ति हानाहान र तानातान नगरोस् भनेर यो ट्याक्टिक्स अप्नाएको छु ।

हेरौं, म ताक्छु मूढ़ो बञ्चरो ताक्छ घूँड़ो पो हुने होकि !!

०००
खोलाचन्द फाप्री, जलपाईगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x