पिँडालु पण्डितजुक्ति
विद्यालय पुगेपछि उनको पहिलो काम हाजिरी र पाए एक कप चिया । साथीभाइहरूसँग सामान्य भलाकुसारी र राजनीतिदेखि सञ्चो विसञ्चोसम्मका कुराकानी ।

“नमस्कार आमा । सञ्चै हुनुहुन्छ ? के गर्न लाग्नु’भा ?”
“बुवा नमस्कार, आरामै हुनुहुन्छ नि ? अहिले जान्छु ल ?
पाका उमेरकालाई मात्र होइन, कम उमेरकासँग पनि उनी यस्तै तरिकाले शिष्टतापूर्वक कुराकानी गर्छिन् र हिमचिम बढाउँछिन् ।
भाइ आज कलेज गएनौ ? कि, पढाइ छैन ? पढ्नचाहिँ पर्छ है भाइ, समय घर्केपछि हुँदैन ।
बाटोमा भेटिएकासँग प्रायः उनको कुरा भइरहन्छ । कहिलेकाहीँ उनी बाटो छोडेर बस्तीभित्र छिर्छिन् । दीपा मिस आउनु भो भनेपछि सबै ठाड्ठाडा कान लगाएर उनका कुरा सुन्न लालायित देखिन्छन्, त्यसमाथि पनि महिला दिदीबहिनी र आमाहरू ।
उसो त बाहरू पनि उनको कुरा सुन्दा दङ्ग पर्छन् । ए !, हँ !, त्यसो पो ! भन्दै उनका कुरामा चासो देखाउँछन् ।
“आज मेलापात छैन कि कसो ? खेतीपातीका बेला पनि यस्तो फुर्सद ?”
सधैँ मेलापात, काम, केटाकेटी, वस्तुभाउ भनेर छटपटाइरहने महिलालाई भेटिन् भने उनी यसरी नै कुरा गर्छिन् । उनीहरू पनि दीपा मिस भेटेपछि एक्कैछिन भए पनि मुन्टो ठड्याउँछन् र हाँसीहाँसी बात मार्छन् ।
“सञ्चै हुनुहुन्छ नानी ? खानपिन गरेरै हिँड्नु भा’त होला ? टाढा छ, के गर्नु नगई हुँदैन ।”
उनीहरू पनि दीपा मिसलाई यसरी नै सहानुभूति ओइर्याउँछन् । दीपा मिस सेता दाँत देखाएर खिस्स हाँस्दै कट्टीको सारी मिलाए जस्तो गरी स्याहार्दै अघि बढ्छिन् ।
विद्यालय पुगेपछि उनको पहिलो काम हाजिरी र पाए एक कप चिया । साथीभाइहरूसँग सामान्य भलाकुसारी र राजनीतिदेखि सञ्चो विसञ्चोसम्मका कुराकानी ।
मिस कक्षामा कहिल्यै पस्नुहुन्न भन्ने सबै विद्यार्थीलाई थाहा छ । टाढैबाट गुड मर्निङ गर्छन् । उनी पनि हाँसेरै गुड मर्निङ फित्र्याउँछिन् र आफ्नाे बाटो तताउँछिन् । गाउँलेहरू भेला हुँदा भन्छन् – “मिस हुनु त दीपा मिस जस्तो । कति फरासिली !”
अर्को वर्ष तिनै फरासिली मिस सबैको शुभेच्छाले पार्टीको टिकटमा त्यही प्रदेशको सांसद् बनिन् ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































