अनिल पौडेलआमाको जोहो
मैले आँखाले केही भनेँ । भावनाले बुझिन् र हतारहतार भित्र लुकाइन् लगेर । यसरी हामीलाई अत्तालिएको देखेर आमाले फेरि सोध्नुभयो- ‘हैन, त्यो पोको चैं के हो त कान्छा ?’

भावना र म प्रणयसूत्रमा बाँधिएको केही दिनपछि परिवार नियोजनको गाउँस्तरीय केन्द्रले एउटा चिठी पठायो । खोलेर हेरेको, शुक्रबार एक बजे दुवै जनालाई निमन्त्रणा गरेको रहेछ । हल लागेर गयौँ । उनीहरूले सानो कार्यक्रम गरेर अज्ञात कोसेली उपहार दिए । घरमा आएर खोल्यौँ । मीठो सपना देख्नेहरूका लागि रहेछ । त्यसलाई नचलाई पश्चिम कोठाको भुइँमा राख्यौँ ।
मैले काठमाडौंबाट कृषि विकास बैङ्कमा जागिरे जाँच दिएको थिएँ । केही दिनपछि पास भएको खबर आयो । नयाँ दुलहीलाई घर छाडेर नियुक्ति पत्र लिन काठमाडौं दौडिएँ । पहिलो पोस्टिङ केन्द्रीय कार्यालयमा भयो । तुरून्तै घर फर्किन मिलेन । केही महिनापछि भावनालाई काठमाडौँमै बोलाएँ । उनी आइन् । सामान्य रूपमा हाम्रा दिनहरू बित्दै गए ।
दसैँ आयो । झोलाझाम्टा बोकेर हामी गाउँ फर्कियौँ । उता आमाचाहिँ छोराबुहारी आउने दिन गनेर बस्नुभएको रहेछ ।
दसैँले छोप्यो, कुखुरीले चल्लो छोपेझैं । घरमा चुना लगाउने लिपपोत गर्ने आदि कामले टाउको उठाउने फुर्सद भएन । दशमीको दिन आमाका हातको टीका लगाएर ससुराली गयौँ पर्सिपल्ट फर्केर आउँदा आमाले अचम्म गर्नुभयो । बेलुका बसेर गफ गर्दै थियौं, झल्याँस्स के सम्झेझैं गरेर भित्र पस्नुभयो र फेटा बाँध्ने गम्छाले बेरिएको एउटा पोको ल्याउँदै भन्नुभयो-
‘लाटालाटी हो । यो तिमीहरुको खै के जाती हो, मुसाले घिसार्दै लगेर खाँबाको चेपमा खाँदेछ । घर बढार्दा देखेर झिकेँ । एसो हेरेँ कहिल्यै देखेको भा‘पो चिन्नु । उही तैंले एक पटक कवितामा पुरस्कार जितेर ल्याउँदा कुप्पी (टुकी) पो ल्याएछ भनेर मट्टितेल हालेर सलेदो छिराउँदा दुलो नभेटाएर अलमल्ल परें म त । सम्धीलाई सोधौं भनेको, सामु उभिएर बोल्न सरम लाग्यो । कान्छा भानिजलाई हतारहतार देखाएकी, डल्लो परेर हाँस्नुभयो । ‘क्या हो त भानिज यो ?’ भनेर लाखपल्ट सोधें, मरिगए मुख बाउनुभएन । उल्टै ‘कसैले नदेख्ने गरी राखिदिनू, भाइको सामान हो’ भनेर जानुभयो । म त हराउँछ होला भनेर पिरले आधी भैसकेकी थिएँ ।
आमाले हातको पोको हामीतिर तेस्र्याएर लामो सास फेर्नुभयो ।
भावनाले पुलुक्क मेरा मुखमा हेरिन् । मैले पनि हाँसो थाम्न सकिनँ । सक्ने विषय पनि थिएन । तर हामी लाजले बल्दै गरेको मैन पग्लिरहेका थियौं ।
मैले आँखाले केही भनेँ । भावनाले बुझिन् र हतारहतार भित्र लुकाइन् लगेर । यसरी हामीलाई अत्तालिएको देखेर आमाले फेरि सोध्नुभयो- ‘हैन, त्यो पोको चैं के हो त कान्छा ?’
०००
‘अतितको बिस्कुन’ बाट
Subscribe
Login
0 Comments
Oldest






































