साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्सीगमन राजनीति !

कुर्सीकुर्सीको टकराव हुन्छ, कुर्सी फालिन्छ, कुर्सी बन्छ, कुर्सी ठडिन्छ । कहिले पल्टन्छ, कहिले भाँचिन्छ, कहिले बल्छ । यसरी नै कुर्सीको संसार चल्छ । सबै राजनीतिको राजा कुर्सी राजनीति ।

Nepal Telecom ad

के अचम्म ! के भयो काकालाई काकाको भाका नै अर्कै छ । अगाडि पुगेर पाँच पल्ट नमस्कार गर्दा पनि औतारी काका टसमस गर्दैनन्, यिनी पनि साँच्चै औतारी नै हुन् । गजबको कुर्सी फेला पारेछन् । चिन्या नचिन्यै पो गर्छन् वा ! कुर्सी जति अग्लो भो उति तलकालाई देख्दैनन् । देखे पनि धरहराबाट हेर्दा मान्छे कमिलो न हो । हैन यो के भयो ? नपाउनेले केरा पायो वोक्रैसित खायो भनौं भने काका मेचभन्दा मेचमा बस्ने मान्छेको ल्याकतअनुसार इज्जत गर्ने हुन् । हैन सधैं बस्ने फेला पारेको हो कि भनौँ भने यही कुर्सीमा बस्दाबस्दै कतिलाई कुलेलम ठोक्नुपरेको नदेखेका हैनन् । अरू बेला नओर्ले पनि पेट गडबड भयो भने यिनलाई पनि भनी काकालाई सुनाएँ- के हो काका तपाईं कुर्सीमा बसेपछि अबै देख्न छोड्नु भो नि । तपाईंका ज्ञानेन्द्रीय त सद्धे छन् ? मेरो आवाजै सुन्न छोड्नुभएछ । तपाईंलाई चिमोटिसकें, गैंडाको छालामै तपाईंको समवेदना, यो के भएको काका ! कतै ज्ञानेन्द्रियले काम गर्न छोडेको त हैन ? सुन्दै नसुन्ने, देख्दै नदेख्ने, बुझ्दै नबुझ्ने, अत्तोपत्तो नपाउने हो भने कुर्सीबाट झर्लान् नि काका !

यति के भनेको थिएँ काकाले पिर्लिक्क आँखा पल्टाएर भैंसीसिङ्गे जुँगा चोस्याउँदै भने- अब म कानमा तेल हालेर बस्दिनँ । मेरो मुखमा नदेखिने ठेडी कोचिएको हो रहेछ- हाच्छयूँ ! गर्दा मेरो चेत खुल्यो- हे पाँडे पुराणका महापण्डित ! अर्थोक केही हैन मैले कुर्सीको राजनीति कस्तो हुँदो रहेछ चिन्तन गर्न कुर्सीमा एक छिन बसेको थिएँ । मैले आफैलाई प्रयोग गरेर हेर्दा गजबको अनुभव भयो, त्यो अनुभव सुनाउँछु हेर मेरो कानले काम नगरेको हैन । मेरो कानमा प्रशस्तिको गीत बज्दै थियो । गीत बज्दाबज्दै मेरो छिमेकी आएर राजदूत हुन पाऊँ भन्यो- तथास्तु भनेँ । टाकटुके झारफुके आएर काका कुलपति भन्यो- तथास्तु भनें । मेरो तेलमालिस गर्नेले आइल कम्पनी जीएम् भन्यो- तथास्तु भनें । मेरो ठेकेदार आएर मन्त्री पाऊँ भन्यो- तथास्तु भनें । मेरो कानभरि प्रशस्तिको गीतले मस्ती भरिएको बेला तिनलाई को, कस्तो योग्यताको ? काम के गरेको छ ? कतै अग्रिकल्चरको विशेषज्ञ कल्चरमा पर्ने हुन् कि ? अत्तोपत्तो नगरी तथास्तु भनेँ । अहिले पो झल्याँस्स भएँ । जाने सपूतको ठाउँमा भूतलाई राजदूत बनाएँछु । कालो अक्षर भैंसीबरावरलाई शिक्षाको डाइरेक्टर बनाएँछु । तेलमा झेल गरी सेल खानेलाई जीएममा थमाएँछु । कुर्सी गज्जबको हुँदो रहेछ । पार्टीको पद पाउन गोडा मल्ने गर्दै सल्लाहकार भएपछि झन् गजब हुने रहेछ ।

काकाको अनुभव पो गजब ! कुर्सी त त्यसै गजब छँदैछ नि ! मैले सिरुपाते जुँगा सम्याउँदै भनें । औतारी काका भैंसीसिङ्गे जुँगा तलास्दै चर्किए- हिजो माथ्लो तहमा ठूला कुर्सीमा बस्ने सचिव र खुस्केपछिको सचिवको सिनेमा पो गजब हुँदो रहेछ । कुर्सीमा बसुन्जेल तिनका पछाडि सिनुको वरिपरि झिंगा भन्केझैं भन्किँदा ती पनि मक्ख पर्थे । खुस्केपछि मरेको मुसालाई उपियाँले छाडेझैं लखरठ्याक भएका कति छन् कति ! यस्तो देख्दा देख्दै पनि सेवा गर्ने कुर्सीमा बस्नेको फूर्ति हेर्दा तिनको ज्ञानेन्द्रियले काम गरेको छैन भन्ने प्रमाण स्वतः सिद्ध नै छ । मैले के व्याख्या गरौं ! तिनको तेस्रो आँखा भएको भए मान्छे के हो चिन्नुपर्ने हो ।

औतारी काकाको दिव्यवाणीमा मैले थपेँ- हुन त हो काका । बुद्धिले गरेको भए विगत वाह्र वर्षमा विकृति बढ्ने नै थिएन नि । वाह्र वर्षमा उन्यू फुल्छ ढुङ्गो टुसाउँछ भन्थे । यिनको त सिङ फुल्यो, पुच्छर टुसायो । जनताको नारा दिने नगदजति आफै लिने । हवाईछापे चप्पल गाउनेले हवाईमहल खडा गर्ने मौका पायो कि आफ्नै लठैतले सबतिर भने । अझै बुद्धि आएन बजियाहरूको ।

काकाको कुरामा पुनः थपें- तर काका यो चेतना कसैलाई पनि नआएको कारण के हो ? दनादन आफ्नै मान्छे भर्ना गर्ने, बाबुको बपौती जस्तो सब सिध्याउने । यो के भएको काका ?

ओतारी काका बडो गम्भीर भएर भैंसीसिङ्गे जुँगा तलास्दै भन्न लागे- त्यही त म भन्छु । कहाँ छ पारदर्शिता ! कहाँ छ सुशासन ! कहाँ छ योग्य मान्छेको कदर ! कहाँ छ स्वच्छ व्यवस्थाको विकास । किन कुनै पदका लागि स्वच्छ, स्वतन्त्र खुल्ला प्रतियोगिता हुन सक्तैन ? द्वन्द्वको कारण यही हो । चुत्थोले पद पाएपछि प्रजातन्त्र बाँदरको हातमा नरिवल हुने ने भयो । यस्तै मनपरी गर्न पाइने भएरै कुर्सीका लागि कुर्सी भाँच्ने, कुर्सी फाल्ने, कुर्सी बाल्ने काम भएका हुन् । म त प्रतिगमन आन्दोलनमा पनि कुर्सीकै लडाई देख्छु अर्थात् कुर्सीगमन राजनीति ।

काका कुसीगमन राजनीति भन्ने त मैले कहिल्यै सुनेको छैन । बहुदलीय राजनीति, प्रजातान्त्रिक राजनीति सबै सुनेको छ । के हो काका कुर्सीगमन राजनीति ?

ओतारी काका भैसीसिङ्गे जुंगा मुठ्याएर मुसार्दै चर्किए- के हुनु कुर्सी फालाफाल !’ कुर्सीमा नै देखेका छन् मालामाल । कुर्सीकै खेल, कुर्सीमै झेल, कुर्सीमै मेल, कुर्सीमै ठेलमठेल, कुर्सी राजनीति यही हो । ‘गमन’ चाहि फरक ।

कुर्सीमा जान वा कुर्सी खुस्कने दुवै अर्थ छ यसमा । कुर्सी गएकामा चर्किने राजनीति । अर्थात् पुनः कुर्सीमा जाने राजनीति । कुर्सीगमन राजनीतिलाई राजनीतिमा लाग्नेले अनेक नाम दिन्छन् । कोही ‘आन्दोलन’ कोही ‘अभियान’, कोही ‘जुलुस’ भन्छन्, कोही ‘सम्मेलन’। कोही ‘नारा’ भन्छन् कोही ‘वक्तव्य’ । तर सबैको केन्द्र कुर्सी नै हो । अर्थात कुर्सीमा सबैको जाने इच्छा नै आजको राजनीति हो । कुर्सीगमन राजनीति भनेको यही हो । ठूला कुर्सीले साना कुर्सीलाई धकेल्छन्, ठूला कुर्सीले सानालाई उकाल्छन्, फाल्छन् पनि । कुर्सीकुर्सीको टकराव हुन्छ, कुर्सी फालिन्छ, कुर्सी बन्छ, कुर्सी ठडिन्छ । कहिले पल्टन्छ, कहिले भाँचिन्छ, कहिले बल्छ । यसरी नै कुर्सीको संसार चल्छ । सबै राजनीतिको राजा कुर्सी राजनीति । म्युजिकल चियर भनेकै यही हो । कुर्सीमा बस्नैका लागि कुर्सी राजनीति । जसले जे भनोस् यो कुर्सीगमन राजनीति हो ।

औतारी काकाको भाषणको निचोड निकाल्दा मलाई लाग्यो ‘कुर्सीगमन राजनीति नभएसम्म कुर्सीदमन राजनीति चल्छ । ‘कुर्सीदमन राजनीति भएसम्म कुर्सीगमन राजनीति चल्छ ।’ यति विचार गरी कुर्सी नभए म पनि कुर्सीकै लागि कुदें । कुदेको कुदेकै छु ।

०००
(नेपाल समाचारपत्र, चैत १०, २०६०)
‘श्रीपाँडेको सरकार’ (२०६४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x