सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

खोयाबिर्के प्रतिष्ठान

बोली लरबरिएको, मुख गन्हाएको, हातमा बियरको बोतलमा खोयाको बिर्को लाएको, सिधा हिंड्न खोज्दा खुट्टा बाङ्गिने, खोयाबिर्के खाँदा आफूलाई आफैँले निकै ठूलो मान्छे ठान्ने हुनु अनिवार्य गरिएको छ ।

Nepal Telecom ad

आउनुस् साहित्यिक व्यापारी साथीहरू हामी पनि एउटा अगतिलो संस्था गठन गरौँ । साहित्यकारिताका नाममा इतिहास बिक्री गरौँ र गोजी भरौँ । भरिएको गोजीले जीवन चलाऔँ । अरुलाई गलाऔँ र कुसंस्कारको विकास गरौँ । बरु खोया बिर्के प्रतिष्ठान गठन गरौँ र यो देशमा साहित्य नै शेष हुने गरी एउटा मेस संचालन गरौँ । ढिलो नगरौँ है मैले पहिले नै भन्द्या छु पछि पछुतो मान्न पाइन्न । राजनीतिमा साहित्य मुछेर खन्खनी डलर गनेर रुपैया साटेर नेपाली साहित्यको भरिलो भण्डार रित्तो बनाउन खोयाबिर्के प्रतिष्ठान गठन गरी महादान गरौँ ।

कसै कसैको लागि साहित्यको भण्डारका रूपमा रहेको खोयाबिर्के लेखनको श्रोत भएकोले श्रोत संरक्षण गर्न हामीले खोयाबिर्के प्रतिष्ठान गठन गर्न लागेका हौँ । नेपाली भाषालाई भासाको भाखा बनाउन, आफैँ गन्हाउन, साहित्यिक संस्कार भत्काउन, भाषा साहित्य कला संस्कृतिभित्र विद्रुपता ल्याउन यो खोयाबिर्के प्रतिष्ठानले सबैलाई सहयोग गर्ने छ । भाषा, साहित्य, कला, संस्कृतिको द्रुत विकासका लागि पश्चिमोत्तर संस्कार आवश्यक ठानिएकोले दक्षिणी प्रभावलाई दवावका रूपमा लिएर नयाँ ढोका खोलेर पुरानो भm्यालबाट यो खोयाबिर्के प्रतिष्ठान खोल्ने तयारी हामी गर्दैछौँ । हाम्रो समाजले हेपेको, सरकारले पकाएर चाखेको, जनताले काँचै ठानेको यस्तो महत्वपूणर् अलौकिक र अन्तर्राष्ट्रिय स्तरमा समेत नामी र दामी संस्था हुनेछ । जन्मनुभन्दा अघि नै ख्याती कमाउन लागेको ऐतिहासिक खोयाबिर्के प्रतिष्ठान नामक संस्थामा पसेर बस्न पाउनु हाम्रो अहोभाग्य हुनेछ । जसरी हुन्छ त्यसको हर्ताकर्ता बन्न तम्सनेले सम्पर्क गरे खोयाबिर्के तान्नसमेत पाइने नौलो तर पुरानो सूचना रहेको जानकारीमाथि पनि थप समाचार भन्न चाहन्छु ।

यो प्रतिष्ठानमा हाननीय टाइपका माननीय, खाननीय, घुसनीय, छुस्सनीय, जुटनीय झुस्सनीय, ठुस्सनीय, ठोकनीय, ढुस्सनीय, दुष्टनीय, पुष्टनीय, फुस्सनीय, फुटनीय सबैले स्थान पाउनेछन् । यसैगरी बुर्लुक्कनीय, भुक्कनीय, मुक्कनीय, रुकनीय लुरुक्कनीय, लुकनीय, शोषनीय, षट्मलनीय, सुतनीय, हल्लानीय, क्षुद्रनीय, त्रिकालनीय, ज्ञाननीय अज्ञाननीय जस्ता महाविद्वानलाई समेत समेटेर खोयाबिर्के प्रतिष्ठानको सदस्यता दिन सकिनेछ । चौविसै घण्टा मद्यशालामा बास हुने ट्वाकबहादुर, घ्याम्पेसिंह, लरबरानन्द, लम्परेश्वर लगायतकालाई खोया बिर्के प्रतिष्ठानमा सदस्यता दिंदा संस्थाको गरिमा लुरक्कभै भुइँमा पछारिने भएकोले यतातिर बढी ध्यान केन्द्रित गरिने छ ।

समाजमा काम नलाग्ने दामका लागि इतिहास बेचेर जे पनि गर्न सक्ने लठ्ठकबहादुर, ल्वाँगेप्रसाद, तोरीलाहुरे सिंह जस्ता महा बहादुरहरूलाई संस्था बिगार्ने जिम्मेवारी दिइने योजना खोयाबिर्के प्रतिष्ठानले तय गरेको छ । संस्थालाई भद्रगोल पारेर कार्यक्रम गर्न नसक्नेलाई कुनै पनि प्रकारको सदस्यता दिन नसकिने व्यहोरा सबैमा जानकारी गराइन्छ । अर्कासँग लिएको पैसाले साहित्यिक व्यापार गर्न नसक्ने, पुर्खाको इतिहासलाई नामेट पारेर संस्थागत रूपमै इतिहास मेटाउने जस्ता उच्च साहित्यिक सोच र नैतिकता बिक्री गरेर जीवन निर्वाह गर्न सक्ने बेइज्जतदारी यति तपाईहरूले कतै देख्नुभएको छ भने खोयाबिर्के प्रतिष्ठानको हावादारी महलमा हुत्याई दिनु हुन यो गोज्याङ्ग्रे सबैमा अवरोध गरेको काँचोचनाले स्वागत गर्न चाहन्छ ।

होटलमा पाइने खोयाबिर्के होस् वा गाउँघरमा तयार पारेको होस् आखिरीमा स्वाद फरक भए पनि प्रतिष्ठानले त्यसलाई काँचै मीठो स्वादमा पस्कन सक्नेहुँदा स्वाद चाख्न चाहनेले मौकामा चौका मात्र होइन पञ्जा पनि हान्न सक्नेछन् । प्रस्तावित संस्था भए पनि वास्तविक काम गर्न कागज सधैँ तयारी अवस्थामा रहेकोले व्यवहारका कुरालाई छुरा लगाएर खुइल्याउन सकिने छ । भाषा साहित्यको जरो उखेलेर मिल्काउन सक्ने क्षमता भएको खोयाबिर्के प्रतिष्ठानले पुराना अपमानित र तिरस्कृत सबैलाई स्वागतका साथ बाहिर राख्नेछ । भित्र राख्दा प्रतिष्ठानलाई घाटा हुने भएकोले नाफा हुने कामलाई स्वीकार गरिने छैन ।

प्रतिष्ठानको विधान तयार भएकोले यसलाई खारेज गर्नेतिर लागिने छ भने खारेजीपछि धुमधामकासाथ शरीरमा ग्याँस नभएका व्यास महासयहरूको नामावली रछ्यानको सूचनापाटीमा टाँसिने छ । सूचना प्रकाशित भएपछि कसैले पनि हेर्न बिर्सनु होला । सूचना हेर्न पाउने हक सबैमा भएकोले खोयाबिर्के प्रतिष्ठानले अधिकारलाई प्रतिकारमा लगेर साह्रो गाह्रो परेको समयमा आफ्ना सदस्यहरूलाई दुःख दिन पछि पर्ने छैन भन्ने विश्वास दिलाउन चाहन्छौँ । भागबण्डाका कुरामा लाटो देशको गाँडो तन्नेरी बन्न सक्नेलाई पनि सहभागी गराइने छ । भाग मिलाइए पनि बण्डामा झमेला उत्पन्न गराउन कम्मर कसेर लाग्न सबैमा अनुरोध गरिनेछ । नामैले पनि खोयाबिर्के प्रतिष्ठान आफैँमा ऐतिहासिक संस्था भएकोले साहित्यका नाममा स नलेख्ने तर आफूलाई महान साहित्यकार भनाउने मास्टर र अन्य चरीमुखे महाशयहरूलाई समेत संस्थामा प्रवेश गराएर दुर्गन्धित बनाइने छ ।

यो खोयाबिर्के प्रतिष्ठानले भाषालाई शासा बनाउने छ भने साहित्यलाई बाहित्य कलालाई जला र संस्कृतिलाई विकृति बनाएर चरम विकासको बाटोमा खुट्टा बिना नै हिँडाउने प्रयास गरिने छ । साहित्यिक ग्याँस बिनाका व्यासहरू भेला पारेर खोयाबिर्के प्रतिष्ठानलाई झ्यासमा परिणत गरी नेपाल प्रज्ञा प्रतिष्ठानसँग सहकार्यका लागि प्रस्तावपत्र तयार पारिने छ । यतिमात्र नभएर विश्वका ठूला ठूला साहित्यिक प्रतिष्ठानहरूसँग मितेरी, दौंतरी, भगिनी, भातृ, दातृ सम्बन्ध गाँसेर खोयाबिर्केका साथ भोज भतेरमा रमाउन महापण्डित, पण्डित, गुरु पुरोहित, मुल पुरोहित लगायतका सबैलाई कोदेजलले स्वागत गरिने छ । नेपालमै हालसम्म स्थापना नभएको प्रतिष्ठान स्थापना हुने भएकोले यो अवसरमा व्यासहरू बिचमा बक्सर प्रतियोगिता गराइने छ ।

अर्को महत्वपूणर् कुरा त के हो भने खोयाबिर्के प्रतिष्ठानमा आवद्ध हुन चाहनेले प्रतिष्ठानमा आउँदा खोयाको बिर्को लागेको बोतल प्रमाणका रूपमा साथमा लिएर बाङ्गा खुट्टा पारेर हल्लिदै आउनु पर्नेछ । बोली लरबरिएको, मुख गन्हाएको, हातमा बियरको बोतलमा खोयाको बिर्को लाएको, सिधा हिंड्न खोज्दा खुट्टा बाङ्गिने, खोयाबिर्के खाँदा आफूलाई आफैँले निकै ठूलो मान्छे ठान्ने हुनु अनिवार्य गरिएको छ । अनुभवका हकमा आफूले किनेर नखाने खाइहाले पनि उधारो खाने र पैसा तिर्ने बेलामा अरुलाई देखाउने वा अरुकै नाम लेखाउने हुनुपर्छ । यतिमात्र होइन दुईचार वटा संस्थामा बसेर संस्था डुबाएको, खोयाबिर्के पिएर जिल्ला प्रहरीमा नाम दर्ता गराएको भए सबैभन्दा बढी नम्बरका साथ प्राथमिकतामा राखिने छ ।

बियरको बोतल होस् वा अन्य कुनै प्रकारको बोतलमा खोयाको बिर्को लाए पनि नलाए पनि आखिरी गन्ध आउने बित्तिकै माल भएको कुुरा चाल पाइने भएकोले व्यासहरूलाई ग्यास चाहिने हुँदा न्यास ध्यानका बेला पञ्चामृत चाहिन्छ नै । खोयाबिर्के पञ्चामृत खाएर न्यास ध्यानमा बस्दा मष्तिस्कमा नयाँ नयाँ कुरा उत्पादन हुन सक्छ । जुन उत्पादनले खोयाबिर्के प्रतिष्ठानको महत्वलाई उचाईमा होइन कि निचाईमा झारेर धुलोमा झुलो चकमकले खरानी बनाउँन मद्दत गर्नेछ भन्ने आशा गर्न सकिन्छ । यो प्रतिष्ठानले निराशावादी कुरा कहिले पनि गर्न सक्दैन र गर्दैन पनि । खोया बिर्के पञ्चामृत खान नमान्ने झ्यास व्यास यस प्रतिष्ठानको सदस्य रहेछन भने उनीहरूलाई प्रतिष्ठानले भ्राज्ञ परिषद् र सभामा ठेलासन गर्न सकिने व्यहोरा पनि म सबैमा गुपचुप राख्न चाहन्छु ।

यो खोयाबिर्के प्रतिष्ठानका बारेमा म बढी कुरा के लेखौँ । पञ्चामृत खाने नखाने बिचको जुहारी सबैको छहारी बनेको बेलामा जन्मिन आँटेको यो गर्भे संस्थाले जन्मिएपछि कस्तो उधुम मच्चाउला अहिले बडेमानको अनुमान हनुमान बनेर गर्न सकिएला तर यसको बिर्को नै छैन भने अवश्य पनि त्यहाँबाट गन्ध उम्केर अरुलाई असर गर्न सक्छ । खोयाबिर्के प्रतिष्ठान कसैको दवाव, प्रभाव र अभावको साधक बन्न सक्दैन । बरु बाधक बनेर न्यास व्यास जस्ता साधकहरूको मुटुमा सुइरो रोपेर, दैलोमा घण्टी बजाएर, मनमा ढ्याङ्ग्रो ठोकाएर, गधाको भारी बोकाएर गाईजात्रा देखाएर स्वागत गर्न तयारी गरिरहेको छ ।

यो अवसरको फाइदा लिन नबिर्सनु होला । घाटा भए पनि नाफा नहोला । नाफाको खोजीमा गोजी रित्याएर भौतारिन खोज्नेले समयमै सम्पर्क गरेका खण्डमा आलु खाएर पिँडालुको स्वाद चाख्न पाइन्छ । तिते करेलाको जस्तो अनुहार लाएर गृहप्रवेश गर्न पाइने सुवर्ण मौका पाइने छ । यो मोका हो चौका हान्दा छक्का दाउ पर्न सक्ने बलियो सम्भावना भएकोले चिउँडोमा पञ्जाछापको अडेस लाएर आराम गर्न सकिने छ । जय खोयाबिर्के प्रतिष्ठान, जय व्यङ्ग्य ।

०००
उदयपुर, गाईघाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गुँड बनाउने मुड

गुँड बनाउने मुड

माधव पोखरेल गोज्याङ्ग्रे
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे
जय जोकतन्त्र

जय जोकतन्त्र

माधव पोखरेल गोज्याङ्ग्रे
जोकतन्त्रका जोकरहरू

जोकतन्त्रका जोकरहरू

माधव पोखरेल गोज्याङ्ग्रे
उल्लु दिवस

उल्लु दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
झुसे दाह्रीको श्याम कहानी

झुसे दाह्रीको श्याम कहानी

माधव पोखरेल गोज्याङ्ग्रे
जिब्रो

जिब्रो

रमेश समर्थन
बाघेझाप्पु

बाघेझाप्पु

चिरञ्जीवी दाहाल
तैले यहाँ के पाइस् !

तैले यहाँ के पाइस्...

चूडामणि रेग्मी
पीडा कि रहर ?

पीडा कि रहर ?

श्रीप्रसाद पाेखरेल
गुठ्का

गुठ्का

नगिता लेप्चा राई