सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गुँड बनाउने मुड

नेपालका माछाहरूको हरिबिजोग भएको समयमा अहिले सबैको आँखामा परेको माटो कब्जा गर्न केको आइतबार । किनभने अर्काको गुँड, माटो कब्जा नगरी खाएको पचाउन नसक्ने महलधारीहरूले हिजो भूमिगत बस्दाको आनीबानी छाडेका छैनन ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

आफू मान्छे भएको नाताले मानवोचित ढङ्गले एउटा टाउँको लुकाउने गुँड मुड धेरै पहिलेदेखि चल्दै आए पनि कस्तो कुन रूपको र कहा बनाउने भन्ने कुराले धेरै ठाउँमा भौतारिए । आफ्नो छँदा खादाँको गुँड काला कर्तुतीहरूको त्रासले आत्मालाई ह्रास पार्दै कौडीकै दाममा आफ्नो नामलाई बिना कामको बनाउन बिक्री गरे । नेपालमा चल्ने धेरै हावा मध्ये मधेसमा चलेको एउटा हावा जसले हाम लाखौ दाजुभाइको मुडलाई कुड्याएर गुँड नै छाडन बाध्य पार्‍यो । म पनि त्यही हावाको झोक्कामा परेर उडे आजाद पंक्षीझैँ भएर ।

गुँड बनाउने मुडमा म जस्ता कैयौँ दाजुभाइहरू मधेशबाट उठिबास भै शहर, बजार, खोँच, कन्दरा, मन्दरा, छाँगा, छहरा, लहरा सबैतिर चाहार्दा पनि सूँढ लम्काउने ठाउँ नपाउँदा टाउकामाथि दस क्विन्टलको बोझ थपियो । नून किन्न बोकेको पैसाले सुन किन्न आँट गर्नेहरू त्यो हुलमा मूल हुने भूल गरिरहेका थिए । म पनि त्यै ड्याङ्को मूला न परे हुलको मूलमा हिँड्ने भूल गर्दा सुल परेर झण्डै अनन्त यात्राको वादमा परेको । हुलमुलमा जीउ जोगाउनु अनिकालमा बिऊ जोगाउनु भन्ने उखान बुढापाकाहरूले भनेको सुनेको हुनाले हुलमुलमा परेको मुडलाई साइड लगाउने विचार गरे र बचेराका माउलाई कान फुके । नभन्दै माउ, बाउ र बचेरा सबैको विचार ठ्याक्कै मिलेकोले सबैलाई घिसार्दै, भुँडी निचोर्दै बाटो लागे ।

नयाँ ठाउँमा गुँड बनाउने मुड चलेकोले माउ र बचेराको पसारिएको सुँढलाई बुच्चो पार्न आफ्नो चुचोले भ्याएसम्म बुई चढाए । नभन्दै गुँडभित्र पस्न पाउने आशाले पसारिएको बुच्चो पारेर फुच्चा फुच्ची बच्चा बच्ची र माउ बाउको हाउ भाउसँग सहमत भए । सहमत नभैकन उनीहरूको गुञ्जायस पनि थिएन । किनभने बाउको कुरा माउले र माउको कुरा बचेराहरूले आज्ञा पालन गर्नु पर्ने परम्परागत रीत नै हो । कति रात धीत मरुञ्जेल शीत खाएर बसेकोले गुँडभित्र सुरक्षित भएर बस्ने धोकोले मन खङ्गारिएको थियो । नभन्दै भौतारिदै जाँदा एक अर्ध सहरको बिज्ञापन कौवाले कानमा पारिदियो । यसो बिचार गरे र माउलाई सुनाए माउले आफ्ना बाउ पनि त्यतै भएकोले होला स्वीकृति दिई र गुँड बनाउने भुँइको सुइँको लाएर अर्काको बुइँ नचढिकन भुइँको व्यवस्था पेटलाई कुँकुइँ कुँकुइँ पार्दै भए पनि गरेरै छाडे ।

गुँड बनाउन भुइँको व्यवस्था त भयो, अब गुँड बनाउन चराले झिक्रा, पात, पतिङ्गर, माटो जम्मा गरेझैँ जोड जाम गर्न तेह्र बज्ने अवस्था आयो । भुँइको व्यवस्था गरेर बचेराका माउलाई भने ल अब भुँइ भयो, अब मुँड चलेका बेलामा गुँड बनाउला । अहिले एउटा खोपी खोजेर टोपी लाउला, बिस्तारै ढुकुरका जोडी र बचेरालाई गुँडमा राख्ने प्रयास गरौला भनि माऊ र बचेराको चित बुझाए ।

माउले त्यो पनि स्वीकारी अब म कस्तो गुँड बनाउने भन्ने सोँचमा मनभित्रको घोँचपेच सहदै, हावा जताबाट बहन्छ उतै बहकिदै, आफ्नो व्यथा जेथा नभएकाहरूलाई कहँदै, दुनियाँको कुरा सुनेर द्विविधामा रहँदै आत्मामा परमात्मालाई पुकार्दै हिँड्न थाले । जहाँ जहाँ पुगे त्यहाँ त्यहाँ आफ्नो सोँचभन्दा अग्लो सग्लो ठाडो मुन्टो लाउनु पर्ने महल देखेँ । आफूलाई बनाउनु छ गुँड, त्यो म हल हेरेर चित बुझाउनु बाहेक केही थिएन । माउले पनि कस्तो गुँड बनाउने भनेर मुँडलाई तङ्ग्य्राउन सकिन । तै पनि माउ र बाउ दुवै जोडिएर अल्लाहसँग सल्लाह गर्नु पर्‍यो भनेर वादविवाद गर्‍यौँ । धेरै प्रकारका गुँडका बारेमा चर्चा भयो तर त्यसको पर्चा भने कतै छरिएन ।

कस्तो गुँड बनाउने त भनि गहिरो विचार विमर्श भयो । परेवाको खोप, भगेरा, कोटेरोको, चमेरो, सारौँ, कोइली, काग, सुगा, चील, गीद्ध, गौथली, ढुकुर, चीभे, सुभी, कुखुरा, च्याखुरा, हुट्ट्यिाउ लगायतका सबै चराहरूको जस्तो गुँडको मोडेलको कुरा आयो । तर मान्छे बस्ने गुँडको कुरा आएकोले र मान्छे बस्ने गुँड बनाउनु पर्ने भएकोले सोही अनुसारको मुड तयार पार्न सकिएन । चराको गुँड जस्तो बनाउन पनि गाह्रो किनभने गौथलीको गुँड शुभ सङ्केत भए पनि आफू सधैँ अशुभै अशुभबाट जीवन घिसार्दै आएकोले त्यसबाट फलिफाप होला भन्ने विश्वासै छैन । गिद्ध, चील, बकुल्लाको गुँड झन महाबिकट किनभने आफू होचो र सानो कद्को मान्छे भएकोले मुन्टो माथि उठाएर हेर्दा पछि मुन्टो नै बाङ्गिएला भन्ने डर, चमेराको जस्तो गुँड बनाउ भने राति राति खट्नु पर्छ । कतै समाजले अर्को उपद्रो सोच्लान् भन्ने डर । सबै चराले बनाएको गुँडका बारेमा मुड बनाएर सोचियो तर कुनै उपाय सुझेन ।

आफ्नो पुरानो गुँड जस्तो बनाउने मुड पनि नचलेको होइन तर टाउकाको रौँ उखेलेर विक्री गर्दा पनि नपुग्ने भएकोले हुटि्ट्याउलेझैँ भुइँमा गुँड बनाउने मुड चल्यो । किनभने अरु चराहरूले अर्काको टाउँका माथि गुँड बनाउँछन् । तर हुट्टियाउले भने भुइँमा गुँड बनाएर हावा पानी घाम छिचोल्दै बचेरा हुर्काउँछ । मैले पनि त्यहीँ निधो गरे । जसरी भए पनि मुड चलेको बेलामा आफू सुहाउँदो गुँड बनाएर बचेरा र माउलाई भाउ बुझाएर थान्को लगाउने मुडमा पुगे ।

गुँड नबनाउ भने बचेरा र उनीहरूका माउको सुढ पसारिएला भन्ने डर र चिन्ताले मलाई पिरोल्ने भएकोले पनि मैले हतार गरेर गुँड बनाउने मुड बनाएको हुँ । फेरि गुँड नहुँदा आफूलाई अभावले गाँज्ने हुँदा अरको प्भावमा नपरी आफ्नै स्वभावले एउटा निचोड निकाल्न बाध्य हुनु परेको हो । बाध्य नहुँदा पनि मेरा मित्रहरले जाबो एउटा गुँड पनि बनाउन नसक्ने कस्तो मान्छे हो भनेर उल्टो जवाफ दिन्छन भन्ने पिरले शिर निहुर्‍याएर हिँड्नु पर्ने अवस्था आउँथ्यो । तसर्थ मैले त्यो अवस्था आउन नदिनका लागि पनि गुँड बनाउने मुडलाई सुँढ नपसारिकन ग्रहण गरेको हुँ ।

गुँड बनाउने मुड चलेकै बेला एउटा हल्ला पनि सुनेँ । त्यो के थियो भने एक जना नेता जो पूर्व मन्त्री समेत भइसकेका चर्चित राजनीतिक पृष्ठभूमि भएका, साहित्यकारका रूपमा समेत ख्याति कमाएका व्यक्तिले गौथलीको गुँड बनाए रे । त्यो गुँड जो कोहीले हेर्दा टाउको उठाएर हेर्नु पर्ने खालको थियो रे । तर आफूले भने त्यो गुँड हेर्न र देख्न पाइएन । उनी जस्तो राजनीतिक, साहित्यिक व्यक्तित्वको मान्छे आफू नपरेकोले त्यस्तो गुँड बनाउन कुनै ढुङ्गाभित्र नगद जिन्सी नराखेकोले पनि नसक्ने अवस्थामा छु । उहाँले बनाएको गुँडको बारेमा हल्ला सुन्दै अल्लाहसँग सल्लाहै नगरौ झैँ लाग्यो र त्यता पट्टी ध्यान पनि दिइनँ । त्यतातिर ध्यान दिँदा फेरि घरकी माउले भाउ खोजी खोजी अख्तियारले बयान लिएझैँ गरी बयान लेली भन्ने डर पनि लाग्यो ।

गुँड बनाउने मुड सबैको एकै प्रकारको नहुने भएकोले पनि मैले बचेराको र उनीहरूको माउसँग सल्लाह गर्न बाध्य हुनु पर्ने भएकोले उनीहरूकै राजी खुशी अनुसारको मोडलको गुँड बनाउने तयारीमा लागे । मेरा इष्टमित्र, दाजुभाइ, ससुराली, दिदीबहिनी लगायतका सबै नातेदारको सल्लाहलाई मात्र होइन मेरो आस्था रहेको दलको बल भएका साथीहरूको समेत सुझाव शिरोधार्य गर्नु पर्ने अवस्था भएकोले मलाई गुँड बनाउनलाई कसको सल्लाहलाई उचित मानेर अघि बढने भन्ने कुरामा द्धिविधा भयो । सल्लाह नमान्दा मेले तँलाई यसो भनेको थिएँ भनेर गाँड तेस्र्याएर भाँड गर्नेहरू र च्याँठिनेहरू पनि थिए । तर जजसले जेजस्तो सल्लाह दिए पनि मेले आफ्नो प्रविधि र सोँच अनुसारको गुँड बनाउने सोँचले झिक्रा, माटो लगायतका आवश्यक सामाग्री बटुल बाटुल पार्न थाले । समय जति बित्दै जान्छ उति महंगीले टाउकोमा फुटबल खेल्ने भएकोले पनि मैले महंगीलाई टार्न गुँड बनाउने मुडलाई नबिगारिकन ट्याङ्का र ब्याङ्का फोडेर काम शुरु गर्ने निधो गरेँ ।

गुँड बनाउन नसक्दा बाध्य भएर गुँडमै आफू लगायत आश्रितहरूलाई समेत राख्नु पर्ने बाध्यता आइपर्ने भएकोले समाजका अगाडि इज्जत बचाउनका लागि पनि मैले गुँड बनाउने बिचारलाई अनुसन्धानमा राखे । किनभने डुँडमा बस्दा बर्षा हावा हुरीमा पर्ने सङ्कट र समस्याले पिरोल्ने पिर । त्यो पनि आकासे छानोको भरमा कतिञ्जेल टिकिएला र भन्ने सोँचलाई टाउका भरिको बोझ बनाएर सबैभन्दा उपयुक्त त गुँड नै हो भन्ने लागेर पनि ट्याङ्का र ब्याङ्का फोडेर खर्च जुटाउने धुनमा लागेँ । कतिपय ट्याङ्का काठका थिए त कतिपय जस्ता पाताका । ट्याङ्काभित्रका चानचुने खिया लागेर ढुँडी परेर ठस्ठस्ती गन्हाएको अवस्थामा थियो । काठको ट्याङ्कामा धमिराले दिउल थुपारेर छिचिमिरा जन्माउन ठिक्क पारेको रहेछ । अर्थात् भनौँ मैले गुँड बनाउन जम्मा गरेको सम्पत्तिभित्र साङ्लो, माउ, कमिला लगायतका किराहरूले गुँड बनाएको रहेछ । यो देखेर मेरो गुँड बनाउने मुड नै खराब भयो । जस्ताको ट्याङ्काको पिँधमा खियाले छ्यान्द्रै छ्यान्द्रा भएछ र त्यहीबाट किरा र मुसा पसेर आफ्नो साम्राज्य बनाएका रहेछन् । ब्याङ्काको सम्पति चाहिँ एकापसमा टाँसिएर छुट्टिनै नमान्ने भएको रहेछ । भनौ सुपर गलुले टाँसेर जोडेको जस्तो भएको समपति मेरा निम्ति कुनै प्रयोजनमा नआउने अवस्थामा पाउँदा मेरो गुँड बनाउने मुडमा ठूलो आघात पुग्यो र घुाडाबाटै भए पनि आाशु चुहाउन म बाध्य भए ।

वरपर छरछिमेकी सबेको टाउको ठाडो पारेर हेर्नु पर्ने गुँड, आफ्नो भने सधैँ शिर निहुरिएको मुड । भन्न पनि लाज लाग्ने अवस्था भएकोले गुँड बनाउने खर्च जुटाउन किराका कारण मलाई सुाढ पसार्न बाध्य पार्‍यो र हिँडे खर्च बटुल्नका लागि आफ्ना माउ बचेरालाई पछि लाएर देउसी भैलो खेल्न । मेले केके पो गरिन गुँड बनाउने मुड सफल पार्नका लागि । कलमको धाक देखाए, बन्दुक तेस्र्याए, अपहरणको धम्की दिए, व्यापारी व्यवसायी, समाजका लुब्ध प्रतिष्ठित व्यक्तिहरू, शिक्षक, कर्मचारी, राजनीतिक दलका व्यक्तिहरू, नेता कार्यकर्ता भ्याएसम्मका सँग असुली गरे । कसैलाई चिठ्ठी लेखेँ, कसैलाई मुखैले दुःख दिए, बताई आफैले भेटेर टेकेर गुँड बनाउने महाकार्यक्रमलाई सफल पार्ने मनयुद्ध शुरु गरेँ । ट्याङ्काभित्र पसेर विध्वंश गर्ने किराहरूलाई सराप्दै गरेको मनयुद्ध आंशिक रूपमै भए पनि सफल भयो, भनौँ गुँड बनाउन चाहिने पात, पतिङ्गर, झिक्रा, ढुङ्गा, माटो आदिको जोहो गरे ।

गुँड बनाउने सामाग्रीको जोहो त गरे तर ज्यामीको खोजीमा म भौतारिन थाले । वास्तविक गुँड बनाउन त चराचुरुङ्गी नै जान्ने भएकोले मैले प्रसिद्ध मजदूर मानिएका कमिलालाई नभनेर काग र कोइलीलाई पो मजदूर कनाउन पुगेछु । यसो सम्झेँ काग र कोइली एक अर्काका दुस्मन हुन्, कोइलीले कागको फूल चोर्ने र कागले कोइलीको गुँड भत्काउने वा उसैको गुँडमा आफ्नो बसोवास बनाउने प्रवृति यी दुईमा रहेकोले कतै बल्लबल्ल बनाउन लागेको मेरो गुँड पनि ती ज्यामीले भताभुङ् पार्ने हुन् कि वा गुँडभित्रका सामान सबै चोर्ने हुन् कि भन्ने डरले मलाई चिन्तित बनायो । मैले काग र कोइलीलाई दिएको कामको जिम्मा फिर्ता लिएँ । किनभने उनीहरू दुवै भुँइमा गुँड बनाउन नजान्ने अरुले नदेख्ने, नभेट्ने अग्लो ठाउँमा गुँड बनाउने हुँदा मेरो गुँड बनाउने ठाउँ भुइँ भएकोले पनि दिएको जिम्मेवारीबाट पन्छाउनु पर्‍यो । यतिमात्र होइन एकले अर्काको सन्तान अपहरण गर्ने जस्ता काम जो समाजको नियम कानून विपरित व्यवहार गर्ने भएकोले पनि मैले काग र कोइलीलाई दिएको कामबाट हटाउन उचित ठाने ।

काग र कोइलीलाई हटाएर कमिलालाई नै मैले गुँड बनाउने जिम्मा दिए । किनभने किटपतङ् मध्ये सबैभन्दा बुद्धिमानी र परिश्रमी कमिला नै भएकोले पनि गुँड बनाउने जिम्मा दिए । कमिला पनि जमिन कै कुना काप्चा, प्वालमा भूमिगत रूपमा बस्ने गर्दछ । आफूलाई पनि भूमिगत बस्ने रहर भएकोले उपयुक्त कला सीप भएको जीव कमिला बाहेक अरु नभएकोले आफ्नो भुँइ हुँदा हुँदै गौथली चमेरो परेवाझैँ अर्काको गुँडमा सुँढ पसारेर गाली , हप्की, दप्की सहेर आफूले छुट्टै गुँड बनाउन मनले मानेन । अर्को तर्फ कमिला अत्यन्त सानो जीव भए पनि हातलिाई समेत जित्न सक्ने भएकोले उसको परिश्रम र बहादुरीको सबैले प्रशंसा गर्ने हुँदा मैले कमिलालाई असल इमान्दार ज्यामी ठानेर गुँड बनाउने जिम्मेवारी दिएको हुँ ।

हुन त मैले काग, कोइली, कमिला बाहेक सुगा, रूपी, भँगेरा, ढुकुर, गौथली, चमेरो, लाटो कोसेरो, परेवा आदिलाई पनि मेरो गुँड बनाई दिन अनुरोध गरेँ । तर कताकताबाट तित्रो नामको चरोले थाहा पाएछ र मेरो अगाडि आएर कराउनु करायो । मैले उसको भाषा बुझेकोले तत्कालै कमिलालाई गुँड बनाउन ज्यामीको जिम्मेवारी दिनु पर्‍यो । सुगा, रूपी, ढुकुर, भँगेराले आफ्ना सन्तानलाई चारो खोज्न नभ्याउने र अर्काको काममा भन्दा चारोकै ध्याउन्नमा बढी समय दिने भएकोले काम लगाउनु नै बेकार ठानेर कामको जिम्मेवारी दिइन । गौथली, परेवा आफै अर्काको गुँडमा आश्रित हुने भएकोले उनीहरूलाई निजी गुँडको मतलबै नभएपछि सीप, जाँगर, कला नहुनेलाई के काम लगाउनु भनेर मैले मेरो गुँड बनाउन मौका दिइनँ । लाटो कोसेरो र चमेरो दुवै दिउसो आँखा नदेख्ने, राती रातिमात्र चोर जस्तो भएर यताउता कुदिरहने हुँदा दिउसो निन्द्राले मातिने भएकोले आँखै नदेख्ने प्राणीलाई के काम लाउनु भन्ठानेर र काम लाउँदा म आफैँलाई घाटा हुने भएकोले पनि मैले कमिलालाई नै कामको जिम्मेवारी दिएको हुँ ।

गुँड बनाउने मुडलाई मैले बल्लबल्ल सकारात्मक बनाएँ । कैयौँ पटकको प्रयास पछि कमिला जस्तो परिश्रमी, इमान्दार, सिपालु प्राणी जो भूमिगत वासनीतिमा समेत विशेषज्ञका रूपमा चिनिएकोले गुँड बनाउने जिम्मेवारी दिँदा म आफैँले आफैँलाई भाग्यमानी ठानी धन्यवाद दिए । जे होस् भूमिगत रूपमै भए पनि मैले गुँड बनाउन पाएँ । पटक पटक बिग्रिउको मुड बलल बल्ल फ्रेश भयो तर भूमिगत बस्दा भने कतिवटा केस व्यहोर्नु पर्ने हो त्यो पनि भूमिगत अवस्थामै छ । हुन त आफू पनि जन्मनु अघि भूमिगत रूपमै कहाँ थिएँ त्यो आफैँलाई थाहा छैन । जन्मे पछिको भूमिगत बास उज्वलमय होस् माउ र बचेरालाई शुभकामना, बाउलाई गुँड बनाइदिएकोमा धन्यवाद । आखिरी कुनै आयोग गठन बिना नै गुँड बनेकोमा मान्छेको गुँड जिन्दावाद त भन्ने पर्छ ।

वास्तवमा भन्ने हो भने मेरो मुडले कमिला जस्तो अजिव जीवलाई फेला नपारेको भए गुँड बनाउन मलाई तेह्रमात्र होइन चौध पन्ध्र पनि बज्थ्यो होला । तसर्थ सर्व प्रथमत धन्यवाद जिन्दावाद कमिलालाई नै दिनु उचित हुन्छ । धन्यवाद दिएर पनि थपनिका रूपमा कृतज्ञता जाहेर नगरी सक्दिन म कमिला उपर । जे होस् म मान्छे रूपी प्राणी पनि गुँडको मालिक हुन पाएको र त्यो पनि भूमिगत पाराको भएकोले साह्रै खुशी लागेको छ ।

हिजोआज मान्छे रूपी प्राणीले टाउँको उठाएर मास्तिर हेर्नु पर्ने, टोपी लगाएको भए टोपी नै झर्ने खालका दरबार, महल बनाएर नाक ठड्याउने, हाँगामाथि हाँगा पलाएका टावरभित्र मान्छे बस्ने समयमा म जाबोले कमिला, मुसा, सर्प, स्याल, खिरखिरे, खरायो लगायतका प्राणी बस्ने भूमिगत गुँड बनाए त के बिगारे । यदि कसैको केही बिग्रन्छ भने वा रिस उठछ भने भताभुङ् पारिदिएमा केही फरक पर्दैन । बरू म जलगत रूपमा बसौँला माछाझैँ पौडँदै । तर नेपालका नदीनालाका माछाहरू पनि वर्षाैँदेखि रोएर दिन काटिरहेको देख्दा भने जलगत गुँड पनि ठीक होला जस्तो लागेन । नदीका माछा पानीको अभावले छटपटिएर स्वर्ग जाने क्रम बढेको बेलामा म मान्छे जातको सर्वोच्च प्राणी त झन पानी बिना बाँच्नै नसक्ने भएकोले जलगत बसोवासमा टिक्न सक्ने कुरा पनि भएन ।

बल्ल तल्ल ढुङ्गा, माटो, गिट्टी, झिक्रा, पात पतिङ्गर जम्मा गरेर बनाएको गुँड कसैले कब्जा गरे भने चाहिँ मलाई महासङ्कट पर्दछ । पानी त छिमेकीले लगेर नेपालका माछाहरूको हरिबिजोग भएको समयमा अहिले सबैको आँखामा परेको माटो कब्जा गर्न केको आइतबार । किनभने अर्काको गुँड, माटो कब्जा नगरी खाएको पचाउन नसक्ने महलधारीहरूले हिजो भूमिगत बस्दाको आनीबानी छाडेका छैनन । त्यसको सिको गर्नेहरूकै कारण पनि भूमिगत रूपले मैले बनाएको गुँडमा पसेर मुड फ्रेस गर्ने अवसर पाउँदिन कि भन्ने त्रासले मलाई सताएको छ ।

०००
उदयपुर, गाइघाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे
जय जोकतन्त्र

जय जोकतन्त्र

माधव पोखरेल गोज्याङ्ग्रे
जोकतन्त्रका जोकरहरू

जोकतन्त्रका जोकरहरू

माधव पोखरेल गोज्याङ्ग्रे
उल्लु दिवस

उल्लु दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
झुसे दाह्रीको श्याम कहानी

झुसे दाह्रीको श्याम कहानी

माधव पोखरेल गोज्याङ्ग्रे
जय दारीको भारी

जय दारीको भारी

माधव पोखरेल गोज्याङ्ग्रे
पुजारी कि भुजारी ?

पुजारी कि भुजारी ?

गाेपेन्द्रप्रसाद रिजाल
लकडाउनपछि

लकडाउनपछि

कृष्ण प्रधान
अदृश्य भाइरस

अदृश्य भाइरस

मनीषकुमार शर्मा ‘समित’
देखाउने कुरा

देखाउने कुरा

रामप्रसाद अर्याल अभिराम
जन्मोत्सव

जन्मोत्सव

भोलानाथ सुबेदी