साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्ध्याकरण

बन्ध्याकरणको भेउ पाउन थाल्दा नथाल्दै उसभित्र रहेको अलिकति सास पनि उडेर जुन दिन सम्पूर्ण रूपमा उसको बन्ध्याकरण हुन्छ तब मात्र उसको होस खुल्छ ।

Nepal Telecom ad

बन्ध्याकरण भन्ने बित्तिकै जोसुकैले पनि गर्भनिरोध भन्ने बुझ्छन् । नबुझुन् पनि किन ! हो नै त्यही । अन्यथा बुझे भन्ने पिँडालुको न आरोप हो, न गुनासो । तर बुझ्नु पर्ने कुरा के छ भने बन्ध्या शब्दमा करण जोडिएर बन्ध्याकरण शब्द बन्छ र यसले निर्धक्कसँग गर्भनिरोधको अर्थ दिन्छ । परिवार नियोजनअन्तर्गत स्त्रीहरूको डिम्बबाहिनी नसालाई शल्यक्रियाद्वारा बन्द गर्ने काम बन्ध्याकरण हो भने यसलाई एकै शब्दमा भन्नुपर्दा गर्भनिरोध भनिन्छ । गर्भनिरोधको पनि अर्को अर्थ गर्ने हो भने यसले गर्भ रहने वा राख्ने कामलाई निषेध गर्ने कुरालाई बुझाउँछ । बन्ध्या मात्रैको अर्थ खोज्दा भने नेपाली बृहत् शब्दकोशले बाँझी आइमाई, शारीरिक दोषले गर्दा सन्तान हुन नसकेकी स्त्री, थारो वा बैला पशु भनेर अथ्र्याएको पाइन्छ ।

यति भनेपछि बन्ध्या र बन्ध्याकरणका विषयमा परिवार नियोजनका अनेकौँ भाषणबाजी, प्रचार प्रसार र त्यसको व्यवहारगत प्रयोगले भुक्तभोगी सर्वज्ञ पाठकलाई थप केही भनिरहनु पर्दैन भन्ने पिँडालुको ठम्याइ छ । तर, पिँडालुको आफ्नो छुट्टै मान्यता के छ भने बाँझो भाले पनि हुन सक्छ, पोथी पनि हुन सक्छे । पुरुष मान्छे पनि हुन सक्छ, महिला मान्छे पनि हुन सक्छे । लैङ्गिक विभेदको अहिलेको जमानामा बन्ध्याकरण पोथी प्राणीमा मात्र लगेर सीमित गरिनु हुन्न । त्यसैले यहाँ चर्चा हुँदै गरेको बन्ध्याकरणले स्त्रीपुरुषको भेद गर्दैन । भालेपोथी भनेर तल माथि गर्दैन । समान व्यवहार गर्छ । त्यसैले यहाँ बन्ध्याकरण शब्द दुवैका लागि समानान्तर रूपमा प्रयोग हुन्छ र प्रसङ्ग अनुसार त्यसलाई पहिल्याउनु पर्छ ।

सबैले थाहा पाएको जाबो बन्ध्याकरणका विषयमा पनि पिँडालुले के चासो राखेको होला भन्ने पिँडालु पाठकहरूलाई लाग्न सक्छ । म भए पनि त्यही भन्थेँ, तपाईं भए पनि त्यही भन्नु हुन्छ । सामान्य अर्थमा हेर्दा कुरो सामान्य नै हो । गहिरिएर बुझ्ने हो भने योभन्दा ठुलो विषय अरू केही हुनै सक्तैन । जुन विषयको चर्चाले विद्यालयका कक्षा कोठादेखि घरको शयन कक्षसम्म उत्तिकै स्थान पाएको छ । उत्तिकै चर्चा परिचर्चा र बहस चलाएको छ । भोलिको पुस्ता निर्माणमा आग्लो लगाउने यस विषयले चर्चा नपाएको विश्वका सायदै मुलुक होलान् । यस्तो विषयलाई पनि सामान्य भन्नु हुन्छ भने तपाईं पिँडालुभन्दा पनि बढी सामान्य र कर्कलोभन्दा पनि बढी नरम ठहरिनु हुन्छ ।

मान्छे जस्तो उपद्र्याहा प्राणीको बन्ध्याकरण गर्नु कुनै अनौठो विषय रहेन अहिलेको विश्वमा । मान्छेभन्दा पनि बढी उपद्र्याहा कुखुरा र परेवाको बन्ध्याकरण पनि मान्छेभन्दा पहिला नै सुरु भएको कथन बन्ध्याकरण बजारमा भेटिन्छ । अझ यी सबैभन्दा बढी उपद्र्याहा बोकाको बन्ध्याकरण त अनुसन्धान गर्दै जाने हो भने पक्कै पनि देवताकै पालामा सुरु भएको तथ्य फेला पर्न सक्छ । कुरो कोट्ट्याउने हो भने देवताहरूले नै पनि बन्ध्याकरण गर्ने गरेको अनुमान गर्न सकिन्छ । होइन भने सबैभन्दा बढी देवता हिन्दुका मानिन्छन् । ती पनि तेत्तीस कोटी अर्थात् तेत्तीस करोड । यसमध्ये आधा देव आधा देवी मान्ने हो भने प्रत्येकका साढे सोह्र करोड । यिनले एक एक वटा र कसैले जुम्ल्याहा देव देवी जन्माइदिएका भए थप सत्र करोड बढेर हिन्दुका देवता पचास करोड हुन्थे । यसरी अनुमान गर्दा पक्कै पनि तिनले बन्ध्याकरण गरेको हुनु पर्छ । होइन भने ती कसरी ठ्याक्कै तेत्तीस कोटीमा समेटिए ? बन्ध्याकरणका विषयमा अनुसन्धान गर्नेहरूका लागि यो एउटा गम्भीर प्रश्न हुन सक्छ ।

बन्ध्याकरणको सुरुआती प्रसङ्ग मात्र हो यो । होइन भने बन्ध्याकरण नगर्ने अहिले को छ यहाँ ? कुकुर, सुँगुर, चरा, चुरूङ्गी, बाघ, भालु सबैको बन्ध्याकरण हुन्छ । घोडा घोडीको बन्ध्याकरण, गाई गोरुको बन्ध्याकरण । लामखुट्टे, झिँगा, उडुस, उपियाँ सबैका सबैको बन्ध्याकरण । मान्छेको खुबी भनेकै अहिले अर्काको बन्ध्याकरण गर्नुमा देखिएको छ । मान्छेको पुरुषार्थ भनेकै निषेधमा देखिएको छ । अर्काको अस्तित्व समाप्त पारेर आफ्नो अस्तित्व कायम राख्नुमा देखिएको छ । सक्ने भए मान्छेले बन्ध्याकरणको त के कुरा पृथ्वीका सारा वस्तु तलतिर घोप्ट्याएर आफूलाई त्यसको माथिपट्टि ठिङ्ग उभ्याउने थिए ।

बन्ध्याकरण किसिम किसिमका हुन्छन् । कतिपय अवस्थामा बन्ध्याकरण गर्नलाई सियो, धागो, कैँची जस्ता उपकरण नै चाहिन्छ भन्ने पनि छैन । यी उपकरणको अभावमा बन्ध्याकरण गरिएकाहरूको गर्भनिरोध चाहिँ साधारणतया पाँच वर्षसम्म कामयावी हुन्छ । त्यसपछि पनि बन्ध्याकरण गरियो भने बेग्लै कुरा होइन भने पाँच वर्षमा एउटा त्यस्तो अवसर चाहिँ तिनलाई आउँछ । यस्तो अवसरमा थोरैको मात्र बन्ध्याकरण फुक्का हुन्छ, धेरैको यथावत कायम रहन्छ । यिनलाई बन्ध्याकरण गर्ने चिकित्सकहरू बस्तीभरि हुन्छन् । अचम्मको कुरो, तिनले जे चिजलाई बन्ध्याकरण गर्ने हो तिनलाई नछोईकन गोप्य रूपमै बन्ध्याकरण गरिदिन्छन् । यसरी बन्ध्याकरण हुनेमा निर्वाचनमा भाग लिने नेता/नेती सबै पर्छन् । यो हाम्रो मुलुकको मात्र प्रचलन नभएर विश्वका अधिकांश मुलुकको यथार्थ हो । निर्वाचनका माध्यमबाट बन्ध्याकरण भएपछि साधारणतया पाँच वर्षलाई तिनको काण्ड पुग्छ । यस्तो बन्ध्याकरण व्यक्तिको स्वेच्छाले नभएर मतदाताले यिनलाई बन्ध्याकरण गर्नुपर्छ भनेर मनमनै ठानेकालाई गरिन्छ ।

बन्ध्याकरण गर्ने काम सरकारी कार्यालयभित्र पनि प्रशस्त मात्रामा हुन्छ । यहाँ चाहिँ उपद्र्याहाको बन्ध्याकरण नभएर सज्जनको बन्ध्याकरण गरिन्छ । जो काममा बढी मरिमेट्छ, हाकिमका ढोकामा झुक्किएर मात्र पुग्छ, हाकिमका अगाडि कुरै गर्न परे पनि आफ्नो मात्र सोझो कुरो गर्छ, अर्काको छुल्याइँ पटक्कै गर्दैन । हो, यस्ता कामदार र कर्मचारी बन्ध्याकरणका लागि योग्य मानिन्छन् हाकिमका दृष्टिमा । बन्ध्याकरणमा परेपछि यी बन्ध्याकृतहरू छटपटाउन थाल्छन् र मनमनै रून्छन् । बन्ध्याकरणका लागि सिफारिस गर्नेहरू बन्ध्याकरण कर्ताका सामु चुट्की पट्काएर हाँसिरहन्छन् । अर्का एकथरी हाकिम कारिन्दा हुन्छन् जो सही पटक्कै गिराउँदैनन् तर मुखले सप्पै आदेश दिएर काम तामेल गराउँछन् र रस चाहिँ आफू पान गर्छन् । काममा कथङ्कदाचित केही तलमाथि पर्‍यो भने रस पान गर्नेलाई नभएर काम गर्नेलाई भ्रष्टाचार निर्मुल गर्छु भनेर ढोल पिट्ने संस्थाले बोल्नै नपाईकन उठ्नै नसक्ने गरी बन्ध्याकरण गरिदिन्छ । यस्तो बन्ध्याकरणले उसको जिन्दगी बरवाद हुन्छ तर जसको बन्ध्याकरण गर्नु पर्ने हो ऊ चाहिँ गौँडा गौँडामा पञ्जा पैmलाएर दौडिरहन्छ ।

यस्तो बन्ध्याकरण ठाउँठाउँमा हुन्छ । व्यापारीले ग्राहकको बन्ध्याकरण गरिदिन्छ । गाडी खलासीले यात्रुको बन्ध्याकरण गरिदिन्छ । त्यसमाथि पनि कुनै चाडबाड आयो भने त गाडीमा यात्रा गर्ने जो कोही पनि बिनाबन्ध्याकरण गन्तव्यमा पुग्न सत्तैmन । चलन चल्तीको दरभन्दा दोब्बर तेब्बर रकम असुलेर गाडीवालाले उसको बन्ध्याकरण गरिदिन्छ । खलासीले त यात्रुको मात्र नभएर मौका पर्दा गाडी साहुकै पनि बन्ध्याकरण गरिदिन्छ । उस्तै परे गाडी चढ्दा पकेटमारले यात्रुको खल्तीकै पनि बन्ध्याकरण गरिदिन्छ । अनि परेन फसाद !

सहर बजारका ठाउँहरूमा फेरि अर्को अचम्मको बन्ध्याकरण हुन्छ । जति विकास अगाडि बढ्छ बन्ध्याकरणको मात्रा उति नै बढ्दै जान्छ । यतिखेर चाहिँ प्राणीको नभएर जमिनको बन्ध्याकरण हुन्छ । घर बनायो जमिनको बन्ध्याकरण, पर्खाल लगायो जमिनको बन्ध्याकरण, आँगन सफासुग्घर बनाउन खोज्यो जमिनको बन्ध्याकरण । यति मात्र हो र ? हामी यति सडक बिस्तार गर्‍यौँ भन्छौँ, उति सडक बिस्तार गर्‍यौँ भन्छौँ तर हामी कठोरभन्दा कठोर बनेर ठुलो मात्रामा जमिनकै बन्ध्याकरण गरिरहेका हुन्छौँ । त्यहाँ झारसम्म पलाउन पाउँदैन, अरूथोकको त के कुरा ?

बन्ध्याकरणको क्षेत्र व्यापक भएको छ । बन्ध्याकरणको बिस्तार क्षेत्र यतिविधि बढेको छ कि मान्छेले भेउ नै पाएको छैन । बन्ध्याकरणको भेउ पाउन थाल्दा नथाल्दै उसभित्र रहेको अलिकति सास पनि उडेर जुन दिन सम्पूर्ण रूपमा उसको बन्ध्याकरण हुन्छ तब मात्र उसको होस खुल्छ । यसरी उसको होस खुल्दा अरूले उसको भाषै नबुझ्ने भइसकेका हुन्छन् अनि यस्तो होस खुलाइको अर्थ नै के रहन्छ र ?

०००
‘हिमाली गुराँस‘ (२०७६ मङ्सिर-पुस)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
अर्दलीको खोजखबर

अर्दलीको खोजखबर

पिँडालु पण्डित
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x