पिँडालु पण्डितबन्ध्याकरण
बन्ध्याकरणको भेउ पाउन थाल्दा नथाल्दै उसभित्र रहेको अलिकति सास पनि उडेर जुन दिन सम्पूर्ण रूपमा उसको बन्ध्याकरण हुन्छ तब मात्र उसको होस खुल्छ ।

बन्ध्याकरण भन्ने बित्तिकै जोसुकैले पनि गर्भनिरोध भन्ने बुझ्छन् । नबुझुन् पनि किन ! हो नै त्यही । अन्यथा बुझे भन्ने पिँडालुको न आरोप हो, न गुनासो । तर बुझ्नु पर्ने कुरा के छ भने बन्ध्या शब्दमा करण जोडिएर बन्ध्याकरण शब्द बन्छ र यसले निर्धक्कसँग गर्भनिरोधको अर्थ दिन्छ । परिवार नियोजनअन्तर्गत स्त्रीहरूको डिम्बबाहिनी नसालाई शल्यक्रियाद्वारा बन्द गर्ने काम बन्ध्याकरण हो भने यसलाई एकै शब्दमा भन्नुपर्दा गर्भनिरोध भनिन्छ । गर्भनिरोधको पनि अर्को अर्थ गर्ने हो भने यसले गर्भ रहने वा राख्ने कामलाई निषेध गर्ने कुरालाई बुझाउँछ । बन्ध्या मात्रैको अर्थ खोज्दा भने नेपाली बृहत् शब्दकोशले बाँझी आइमाई, शारीरिक दोषले गर्दा सन्तान हुन नसकेकी स्त्री, थारो वा बैला पशु भनेर अथ्र्याएको पाइन्छ ।
यति भनेपछि बन्ध्या र बन्ध्याकरणका विषयमा परिवार नियोजनका अनेकौँ भाषणबाजी, प्रचार प्रसार र त्यसको व्यवहारगत प्रयोगले भुक्तभोगी सर्वज्ञ पाठकलाई थप केही भनिरहनु पर्दैन भन्ने पिँडालुको ठम्याइ छ । तर, पिँडालुको आफ्नो छुट्टै मान्यता के छ भने बाँझो भाले पनि हुन सक्छ, पोथी पनि हुन सक्छे । पुरुष मान्छे पनि हुन सक्छ, महिला मान्छे पनि हुन सक्छे । लैङ्गिक विभेदको अहिलेको जमानामा बन्ध्याकरण पोथी प्राणीमा मात्र लगेर सीमित गरिनु हुन्न । त्यसैले यहाँ चर्चा हुँदै गरेको बन्ध्याकरणले स्त्रीपुरुषको भेद गर्दैन । भालेपोथी भनेर तल माथि गर्दैन । समान व्यवहार गर्छ । त्यसैले यहाँ बन्ध्याकरण शब्द दुवैका लागि समानान्तर रूपमा प्रयोग हुन्छ र प्रसङ्ग अनुसार त्यसलाई पहिल्याउनु पर्छ ।
सबैले थाहा पाएको जाबो बन्ध्याकरणका विषयमा पनि पिँडालुले के चासो राखेको होला भन्ने पिँडालु पाठकहरूलाई लाग्न सक्छ । म भए पनि त्यही भन्थेँ, तपाईं भए पनि त्यही भन्नु हुन्छ । सामान्य अर्थमा हेर्दा कुरो सामान्य नै हो । गहिरिएर बुझ्ने हो भने योभन्दा ठुलो विषय अरू केही हुनै सक्तैन । जुन विषयको चर्चाले विद्यालयका कक्षा कोठादेखि घरको शयन कक्षसम्म उत्तिकै स्थान पाएको छ । उत्तिकै चर्चा परिचर्चा र बहस चलाएको छ । भोलिको पुस्ता निर्माणमा आग्लो लगाउने यस विषयले चर्चा नपाएको विश्वका सायदै मुलुक होलान् । यस्तो विषयलाई पनि सामान्य भन्नु हुन्छ भने तपाईं पिँडालुभन्दा पनि बढी सामान्य र कर्कलोभन्दा पनि बढी नरम ठहरिनु हुन्छ ।
मान्छे जस्तो उपद्र्याहा प्राणीको बन्ध्याकरण गर्नु कुनै अनौठो विषय रहेन अहिलेको विश्वमा । मान्छेभन्दा पनि बढी उपद्र्याहा कुखुरा र परेवाको बन्ध्याकरण पनि मान्छेभन्दा पहिला नै सुरु भएको कथन बन्ध्याकरण बजारमा भेटिन्छ । अझ यी सबैभन्दा बढी उपद्र्याहा बोकाको बन्ध्याकरण त अनुसन्धान गर्दै जाने हो भने पक्कै पनि देवताकै पालामा सुरु भएको तथ्य फेला पर्न सक्छ । कुरो कोट्ट्याउने हो भने देवताहरूले नै पनि बन्ध्याकरण गर्ने गरेको अनुमान गर्न सकिन्छ । होइन भने सबैभन्दा बढी देवता हिन्दुका मानिन्छन् । ती पनि तेत्तीस कोटी अर्थात् तेत्तीस करोड । यसमध्ये आधा देव आधा देवी मान्ने हो भने प्रत्येकका साढे सोह्र करोड । यिनले एक एक वटा र कसैले जुम्ल्याहा देव देवी जन्माइदिएका भए थप सत्र करोड बढेर हिन्दुका देवता पचास करोड हुन्थे । यसरी अनुमान गर्दा पक्कै पनि तिनले बन्ध्याकरण गरेको हुनु पर्छ । होइन भने ती कसरी ठ्याक्कै तेत्तीस कोटीमा समेटिए ? बन्ध्याकरणका विषयमा अनुसन्धान गर्नेहरूका लागि यो एउटा गम्भीर प्रश्न हुन सक्छ ।
बन्ध्याकरणको सुरुआती प्रसङ्ग मात्र हो यो । होइन भने बन्ध्याकरण नगर्ने अहिले को छ यहाँ ? कुकुर, सुँगुर, चरा, चुरूङ्गी, बाघ, भालु सबैको बन्ध्याकरण हुन्छ । घोडा घोडीको बन्ध्याकरण, गाई गोरुको बन्ध्याकरण । लामखुट्टे, झिँगा, उडुस, उपियाँ सबैका सबैको बन्ध्याकरण । मान्छेको खुबी भनेकै अहिले अर्काको बन्ध्याकरण गर्नुमा देखिएको छ । मान्छेको पुरुषार्थ भनेकै निषेधमा देखिएको छ । अर्काको अस्तित्व समाप्त पारेर आफ्नो अस्तित्व कायम राख्नुमा देखिएको छ । सक्ने भए मान्छेले बन्ध्याकरणको त के कुरा पृथ्वीका सारा वस्तु तलतिर घोप्ट्याएर आफूलाई त्यसको माथिपट्टि ठिङ्ग उभ्याउने थिए ।
बन्ध्याकरण किसिम किसिमका हुन्छन् । कतिपय अवस्थामा बन्ध्याकरण गर्नलाई सियो, धागो, कैँची जस्ता उपकरण नै चाहिन्छ भन्ने पनि छैन । यी उपकरणको अभावमा बन्ध्याकरण गरिएकाहरूको गर्भनिरोध चाहिँ साधारणतया पाँच वर्षसम्म कामयावी हुन्छ । त्यसपछि पनि बन्ध्याकरण गरियो भने बेग्लै कुरा होइन भने पाँच वर्षमा एउटा त्यस्तो अवसर चाहिँ तिनलाई आउँछ । यस्तो अवसरमा थोरैको मात्र बन्ध्याकरण फुक्का हुन्छ, धेरैको यथावत कायम रहन्छ । यिनलाई बन्ध्याकरण गर्ने चिकित्सकहरू बस्तीभरि हुन्छन् । अचम्मको कुरो, तिनले जे चिजलाई बन्ध्याकरण गर्ने हो तिनलाई नछोईकन गोप्य रूपमै बन्ध्याकरण गरिदिन्छन् । यसरी बन्ध्याकरण हुनेमा निर्वाचनमा भाग लिने नेता/नेती सबै पर्छन् । यो हाम्रो मुलुकको मात्र प्रचलन नभएर विश्वका अधिकांश मुलुकको यथार्थ हो । निर्वाचनका माध्यमबाट बन्ध्याकरण भएपछि साधारणतया पाँच वर्षलाई तिनको काण्ड पुग्छ । यस्तो बन्ध्याकरण व्यक्तिको स्वेच्छाले नभएर मतदाताले यिनलाई बन्ध्याकरण गर्नुपर्छ भनेर मनमनै ठानेकालाई गरिन्छ ।
बन्ध्याकरण गर्ने काम सरकारी कार्यालयभित्र पनि प्रशस्त मात्रामा हुन्छ । यहाँ चाहिँ उपद्र्याहाको बन्ध्याकरण नभएर सज्जनको बन्ध्याकरण गरिन्छ । जो काममा बढी मरिमेट्छ, हाकिमका ढोकामा झुक्किएर मात्र पुग्छ, हाकिमका अगाडि कुरै गर्न परे पनि आफ्नो मात्र सोझो कुरो गर्छ, अर्काको छुल्याइँ पटक्कै गर्दैन । हो, यस्ता कामदार र कर्मचारी बन्ध्याकरणका लागि योग्य मानिन्छन् हाकिमका दृष्टिमा । बन्ध्याकरणमा परेपछि यी बन्ध्याकृतहरू छटपटाउन थाल्छन् र मनमनै रून्छन् । बन्ध्याकरणका लागि सिफारिस गर्नेहरू बन्ध्याकरण कर्ताका सामु चुट्की पट्काएर हाँसिरहन्छन् । अर्का एकथरी हाकिम कारिन्दा हुन्छन् जो सही पटक्कै गिराउँदैनन् तर मुखले सप्पै आदेश दिएर काम तामेल गराउँछन् र रस चाहिँ आफू पान गर्छन् । काममा कथङ्कदाचित केही तलमाथि पर्यो भने रस पान गर्नेलाई नभएर काम गर्नेलाई भ्रष्टाचार निर्मुल गर्छु भनेर ढोल पिट्ने संस्थाले बोल्नै नपाईकन उठ्नै नसक्ने गरी बन्ध्याकरण गरिदिन्छ । यस्तो बन्ध्याकरणले उसको जिन्दगी बरवाद हुन्छ तर जसको बन्ध्याकरण गर्नु पर्ने हो ऊ चाहिँ गौँडा गौँडामा पञ्जा पैmलाएर दौडिरहन्छ ।
यस्तो बन्ध्याकरण ठाउँठाउँमा हुन्छ । व्यापारीले ग्राहकको बन्ध्याकरण गरिदिन्छ । गाडी खलासीले यात्रुको बन्ध्याकरण गरिदिन्छ । त्यसमाथि पनि कुनै चाडबाड आयो भने त गाडीमा यात्रा गर्ने जो कोही पनि बिनाबन्ध्याकरण गन्तव्यमा पुग्न सत्तैmन । चलन चल्तीको दरभन्दा दोब्बर तेब्बर रकम असुलेर गाडीवालाले उसको बन्ध्याकरण गरिदिन्छ । खलासीले त यात्रुको मात्र नभएर मौका पर्दा गाडी साहुकै पनि बन्ध्याकरण गरिदिन्छ । उस्तै परे गाडी चढ्दा पकेटमारले यात्रुको खल्तीकै पनि बन्ध्याकरण गरिदिन्छ । अनि परेन फसाद !
सहर बजारका ठाउँहरूमा फेरि अर्को अचम्मको बन्ध्याकरण हुन्छ । जति विकास अगाडि बढ्छ बन्ध्याकरणको मात्रा उति नै बढ्दै जान्छ । यतिखेर चाहिँ प्राणीको नभएर जमिनको बन्ध्याकरण हुन्छ । घर बनायो जमिनको बन्ध्याकरण, पर्खाल लगायो जमिनको बन्ध्याकरण, आँगन सफासुग्घर बनाउन खोज्यो जमिनको बन्ध्याकरण । यति मात्र हो र ? हामी यति सडक बिस्तार गर्यौँ भन्छौँ, उति सडक बिस्तार गर्यौँ भन्छौँ तर हामी कठोरभन्दा कठोर बनेर ठुलो मात्रामा जमिनकै बन्ध्याकरण गरिरहेका हुन्छौँ । त्यहाँ झारसम्म पलाउन पाउँदैन, अरूथोकको त के कुरा ?
बन्ध्याकरणको क्षेत्र व्यापक भएको छ । बन्ध्याकरणको बिस्तार क्षेत्र यतिविधि बढेको छ कि मान्छेले भेउ नै पाएको छैन । बन्ध्याकरणको भेउ पाउन थाल्दा नथाल्दै उसभित्र रहेको अलिकति सास पनि उडेर जुन दिन सम्पूर्ण रूपमा उसको बन्ध्याकरण हुन्छ तब मात्र उसको होस खुल्छ । यसरी उसको होस खुल्दा अरूले उसको भाषै नबुझ्ने भइसकेका हुन्छन् अनि यस्तो होस खुलाइको अर्थ नै के रहन्छ र ?
०००
‘हिमाली गुराँस‘ (२०७६ मङ्सिर-पुस)
Subscribe
Login
0 Comments
Oldest






































