साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्सी थाम्नु वा हत्याउनु छ भने

हामपन्थी, वामपन्थी, दामपन्थी, घामपन्थी र जामपन्थी गरी कुर्सीका दाबेदारहरू जो, जति, जे पन्थीहरू हुनुहुन्छ यस देशमा आउनोस् मेरो कम्पनीबाट भाडामा जिन्दावाद-मुर्दावाद गराउनोस् र राजनीतिक फाइदा उठाउनोस् ।

Nepal Telecom ad

प्रतिबन्धित नेपाली काङ्ग्रेस र सात वामपन्थी पार्टीहरूले भने, “देशमा प्रजातन्त्र छैन ।” प्रजातन्त्र ल्याउन उनीहरू अब आउने फागुन ७ गते आन्दोलन गर्छन् रे !

यो सुनेर पञ्चहरूले भने, “यहाँ प्रजातन्त्र छ, पूरै छ ।”

आफ्नो दाबी सिद्ध गर्न पञ्चहरूले अस्ति गएको १५ गते र्याली गरेर पञ्चायतको झ्याली पिटे । निर्दल र बहुदलका बीचमा अब द्वन्द्व नमच्चिएर थच्चिने कुरै भएन । त्यसैले मैले पनि अब यस अवसरलाई छोपी पैसा कमाउने दाउले एउटा ‘बिजनेस कन्सर्न’ खोल्ने भएको छु ।

तर चिन्ता एउटै छ, त्यो के भने पछि गएर यी बहुदलवादी र निर्दलवादी अवसरवादी भएर पनि सम्झौतावादी भइदिए भने आफू त फेरि तादी वा मादीमा पुगेर झ्वाम्म फालहाल्नुपर्ने हुन्छ ।

यस बेला मलाई लोककथाकी त्यो मर्छु भन्ने बूढी सासू र पोइल जान तयार भएर बसेकी तरुनी विधवा बुहारीको सम्झना भइरहेछ ।

कुरो के भएछ त भने मर्ने बेला नगिचिएको सम्झेर बूढी सासूले भनिछ, “हेर् बुहारी ! अब म मरिहाल्छु । म मरेपछि तँ पनि पोइल गइहाल्छेस् । त्यसैले यो खेतबारी बेचेर अलिकति धर्मकर्म गरी परत्र सुधार्छु म ।”

बुहारीले स्वीकृति दिई, खेतबारी सबै बेचियो । तर समय बित्तै गयो, पछि त न बूढी मरी न बुहारी पोइल गई । घरमा खाने दानासम्म पनि भएन ।

अब यसै गरी देशमा प्रजातन्त्र छैन भन्ने कुरामा विवाद गरेर अहिले ङ्यारङ्यार र ङुरङुर गर्न थालेकाहरू छ वा छैनमा मतैक्य भएर पटापट कुर्सीमा बसिदिए भने वामपन्थीहरू फेरि भटाभट फुटेर नौ टुक्राको नौ टुक्रैमा विभाजित हुनेछन् र व्यापार गर्छु भनी पुँजी लगाएर नाफा लिने कुरामा ढुक्क भएर बसेको म स्वाँठचाहिँ बिल्लिबाठको बिल्लिबाठमै पर्नेछु ।

केटाकेटीमा बूढापाकाहरूले भनेको सुनेको छु, दुई थरीका बीच झगडा भएका पाखामा बसेर हेर्नेले माझीऔँला र बूढीऔँलाको नङ जुधाएर ‘नारद, नारद’ भन्नु रे, झगडा चर्कंदै जान्छ रे ।

किन ढाँटिरहूँ अस्ति १५ गतेको पञ्चर्‍यालीमा मैले भूगोलपार्कमा बसेर नङ जुधाएर किटिककिटिक पार्दै नारदमन्त्र जपेको जप्यै गरेँ ।

सके अब तपाईंहरू भन्नुहोला, “ए मुलङ्खरे ! राजनीतिक विवादमा फल्ने र फुल्ने कुन बिजनेस हो यो तेरो ?”

वास्तवमा सही कुरो गर्ने नै हो भने मेरो यो बिजनेसको मूल जरो नै राजनीतिक विवादमा गएर गाडिएको छ । राजनीतिक विवाद जतिजति चर्कन्छ र जतिजति जुलुस, प्रदर्शनहरू हुन्छन् उतिउति मेरो बिजनेस फल्छ, फुल्छ र फलदायी हुन्छ ।

अब तपाईंहरू सम्भवतः मनमनै भन्नुहोला, “ए बाबा ! यस तुलेगाँडोले कुन बिजनेस खोल्न आँटेछ, यस्तो राजनीतिक अशान्तिमा बिग्रने सट्टा झन् फल्ने र फुल्ने ?”

भइगयो अब म तपाईंहरूलाई धेरै बेरसम्म कुतूहलमा राख्दिनँ । मेरो यो नयाँ खोल्ने बिजनेस कन्सर्नको नाम हो, ‘जिन्दावाद एन्ड मुर्दावाद कं. प्रा.लि. ।’ यसको अध्यक्ष तथा महाप्रबन्धक म स्वयं हुनेछु ।

हुन त कम्पनीको नामैबाट पनि कम्पनीको काम के रहेछ भन्ने कुरो स्पष्ट हुन्छ । तर पनि खुलस्तै गरेर भनिदिऊँ, कुनै पनि बहुदलवादी, निर्दलवादी वा जोसुकै पनि वादी तथा प्रतिवादीले जुलुस निकालेर जिन्दावाद, मुर्दावाद गराउनु छ भने मेरो कम्पनीबाट भाडामा गराउन सक्नेछन् ।

अब यस जिन्दावाद एन्ड मुर्दावाद कम्पनीमा तपाईंहरू पनि सरिक भएर सेयर होल्डर बन्न चाहनुहुन्छ भने आउनोस्, मेरो ‘जिन्दावाद एन्ड मुर्दावाद कम्पनी’ को सेवा प्राप्त गरेर कुर्सी हत्याउनोस् ।

के गर्ने र पञ्चहरू प्रायः लोभी र पापी भइदिए । अस्ति १५ गते बहुदलवादीहरूलाई तर्पण दिने उद्देश्यले निकालेको र्यालीमा पनि पैसा खाने भइदिए ।

कति वरिष्ठ कहलिएका पञ्चहरूले त झन् लिने बेलामा लिए ठूलाठूला थैली, मनाउने बेलामा चाहिँ मनाए आफ्नै भैली । जसले गर्दा सरकारलाई लाज पचाएर कतिपय संस्थानका मानिसहरूलाई अनिवार्य रूपमा सामेल गराएर जिन्दावाद र मुर्दावाद भट्याउन लगाउन परिरहेको ।

त्यसैले हामपन्थी, वामपन्थी, दामपन्थी, घामपन्थी र जामपन्थी गरी कुर्सीका दाबेदारहरू जो, जति, जे पन्थीहरू हुनुहुन्छ यस देशमा आउनोस् मेरो कम्पनीबाट भाडामा जिन्दावाद-मुर्दावाद गराउनोस् र राजनीतिक फाइदा उठाउनोस् ।

राजधानीमा जोसुकैले पनि राजनीतिक उद्देश्यप्राप्तिका लागि मेरो यस कम्पनीबाट शान्तिपूर्ण प्रदर्शनका लागि दस व्यक्तिदेखि दस लाख व्यक्तिसम्म भाडामा लिन सक्नेछ ।

यस कम्पनीका कार्यकर्ताहरू प्रदर्शन, धर्ना, पिकेटिङ र नाराबाजीमा सिद्धहस्त छन् । भाडा प्रदर्शनको प्रकृति, स्वभाव, परिस्थिति र आकार तथा प्रकार हेरी अग्रिम लिइनेछ ।

यद्यपि प्रदर्शन शान्तिपूर्ण कार्यका लागि मात्र भाडामा दिइनेछ । तर पनि २०३६ सालको जस्तो मोसो दलेर सहर घुमाउने, आगो सल्काउने र मोटर पोल्नेजस्ता कार्य पनि विशेष परिस्थितिमा स्वीकार गरिनेछ । यसका लागि भाडाचाहिँ दोब्बर लाग्नेछ ।

०००
(२०४६ माघ)
(पिँडालीको व्यंग्यकृति ‘प्रसन्न हुनुहोस्’बाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
माथि पर्ने तरिका

माथि पर्ने तरिका

केशवराज पिँडाली
गोदीप्रसाद वदेहाम

गोदीप्रसाद वदेहाम

केशवराज पिँडाली
नामको अर्थको अनर्थ

नामको अर्थको अनर्थ

केशवराज पिँडाली
अब कुरा काट्ने कि त ?

अब कुरा काट्ने कि...

केशवराज पिँडाली
यमपुरीको यात्रा

यमपुरीको यात्रा

केशवराज पिँडाली
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x