सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गाली

कर्म अनुसारको गाली खान खुवाउन नेताले शर्म मान्दैनन् । संस्कृतमा एउटा भनाइ छ । एक लज्जा परित्याज्य त्रैलोक्य विजयी भवेत् । एउटा लाज शरम् पचाउन सक्यो भने तीनै लोकमा विजय प्राप्त गर्न सकिन्छ ।

Nepal Telecom ad

त्वद् भक्तानां स्वैरचरः सपर्या
स्वेच्छा शास्त्रं स्वस्वभावस्च मोक्षः

भक्तहरूले गरेको मनपरी नै पूजा, मनपरी नै शिक्षाशास्त्र अनि जुन बानी व्यहोरा आफूमा नीहित छ त्यो नै मोक्ष हो भन्ने भावार्थ माथिको श्लोकबाट पाइन्छ ।

अहिले छाडा विश्व चलिरहेको छ । लाज, घिन, शरम पचाएर मान्छेले मान्छेलाई तथानाम गाली गर्दै जे जस्तो अवतारमा पनि उत्रिन सक्छ । आफू, आफ्ना मान्छे, र आफू आबद्ध दलले जे गर्छ त्यही ठिक भन्नाका कारणले नै राजनीतिमा लाजनीति हावी भएको हो । हाम्रो प्यारो नेपालको राजनीति छिछी, भन्न लायक छ । त्यसैले माननीय नेताहरू भक्कुमार डकारुन्जेल गालीलाई पनि लाज लाग्ने गाली खान्छन्, खाँदै आइरहेका छन् । अनाचरण व्यभिचारले मानवलाई पाटमा बेरेर घाटमा पुर्‍याउँदासम्म पनि छोड्दैन । राजनीतिका घनटाउकेले जे गर्छन् तिनका सुसारे भक्तजनले त्यसैलाई पूजा मानेर प्रसाद ग्रहण गर्छन् ।

गाली कसैलाई पनि मन पर्दैन । हुर्किंदै, फुर्किंदै, पाखुरा सुर्किंदै जाँदा गालीका धेरै शब्दभण्डार मानव मगजमा घुसिसकेको हुन्छ । यसरी घुसेका अनन्त शब्दमध्ये गाली पनि एक हो । यसलाई अङ्ग्रेजीमा स्कुल्डेड (Scolded)  वा अब्यूज (Abuse) भनिन्छ । सामान्यतया अब्यूज शब्दलाई कडा, कर्कश गालीमा प्रयोग गरिन्छ । गाली हरेक मातृभाषामा सुरक्षित रहेको हुनाले उम्रिदैका तीनपातले पनि एकअर्कालाई मर्का पर्ने गरी गाली गर्ने गर्दछन् । जेहोस् गाली शब्द चित्त नपरेको मानव कर्मलाई लक्षित गर्दै प्रक्षेपण गर्ने परम्परा अद्यापि कायमै छ भने लाग्छ गाली अजर अमर हुनुपर्छ र मानव चेतनासँगसँगै यसको विकास भएको भनी ठोकुवा गर्न सकिन्छ ।

नेपालीका टाउका टाउकामा हान्ने नेपालका महान् नेताले सत्र हजार नेपाली नागरिकको प्राणपखेरु उडाए । नेपाल सिंगो देशको अहिले तिनै बाजा बजाएर राजा बनेका छन् । तिनकै झोले, चम्चे, सुसारे, धुपौरे, तिनकै दलबल यसैमा सन्तुष्ट छन् । आफ्नै आँगनमा आफ्नै नेपाली दाजुभाइलाई हाकाहाकी कर्द, चक्कु, चुल्याँसीले काट्दा वा गोली ठोक्दा न तिनलाई आत्मग्लानि भयो न पछुतो पश्चात्ताप, अत्यन्त निर्दयी, अधर्मी, पापी, हिंस्रक, जनहत्यारा भएको कारणले गर्दा नै आम नेपाली नागरिकले ती अमूक दलका नेता कार्यकर्तालाई अविच्छिन्न रूपमा सत्तोसराप गाली गर्ने गर्दछन् । आम जनताले आत्मसन्तुष्टि हेतु धिक मरुन्जेल चित्त नपरेको प्राणीलाई गाली गर्छन् । खराबलाई गाली गर्ने संस्कार विश्वव्यापी नै छ भनौ न । यहाँ यसै गालीको सेरोफेरोमा यो कलम केन्द्रित रहने छ ।

गालीले मानव चेतनाको विस्फारित स्नायु प्रणालीलाई खुम्चाइदिने र मानमर्दनका तन्तुमा सोझै ठोक्किने हुनाले यो शब्द कानमा पर्नासाथ जन्तुको अधर अँध्यारो हुँदै पारो तातिन थाल्छ । पारो तातिएपछि मानव मनलाई सम्हाल्न गारो हुन्छ । जब मन विद्रोहमा उत्रिन्छ तब मगजले दूषित अप्रिय शब्दहरू ओकल्न थाल्छ । गल्ती गरेका मान्छेको कर्तुत खोल्दा अनि आइन्दा त्यस्तो दुस्कर्म नगर्न चेतावनी दिँदा मानव मन नमिठोसँग पिरोलिन्छ । सत्य तितो हुन्छ भनेझै दोसीले गाली रुचाउँदैन । मिठो, नमिठो जिब्राले मात्रै होइन मनले पनि छुट्याउँछ, खुट्याउँछ । त्यसैले गाली ग्रस्त मानवको अधर धुम्मिएको गगनझै अँध्यारो हुन्छ, शायद भित्रभित्र मन रुन्छ ।

भर्खरका दुधे बालखलाई ‘बऽड पाइया’ भन्दा सचेत मानवका छाउरा छाउरीहरू पीर मानेर रुने गर्छन् । माया र हेलाको भाव बुझेर नै तिनले आफ्नो मर्का बुझिदिन आँसुको सहारा लिन्छन् । नसक्ने अशक्तलाई अहंकार, दम्भले सातो खान हुर्मत लिन सकिन्छ तर अपराधी गद्यारहरूले सातो मात्रै खाँदैनन् ठहरै मारी दिन्छन् भने त्यस्ता रक्त पिपासुलाई गाली गरेर कोही अघाउला त ? संघीय गणतन्त्र नेपालका हरेक नेताहरू प्रचूर गालीको भूमरीमा परेका छन् । खुसीको कुरा हामीलाई प्रजातन्त्रबाट प्राप्त प्रत्यक्ष लाभ भनेकै नेतागिरी गर्नेलाई चर्का चर्का खस्रा खस्रा, धारिला धारिला, मीठामीठा गालीले स्वागत गर्न पाउनु, पेटमा सारङ्गी बजाएर हामी एक अर्कामा मुख बझाई रहेका छौँ । यसभन्दा ज्यादा उपलब्धि नहिजो थियो न आज छ न भोलि नै हुन सक्छ ।

महामानव गौतम बुद्धलाई पनि मोक्ष प्राप्त गर्ने बेलामा कुहेको सुँगुरको मासु खाएर असाध्यै दीर्घरोग लागेको भनेर गाली गर्नेहरू धेरै छन् । बुद्धको मूर्ति तोडफोड गर्नु गालीको प्राविधिक पक्ष हो तर लक्ष्य चाहिँ अपमान गर्नु नै हो । भाङ, धतुरो, गाँजा सेवन गरेर देवी पार्वतीलाई पिरोल्ने भन्दै देवाधीदेव महादेवलाई गाली गर्ने पनि नभएका होइनन् । गोपिनीको सारी लुकाएको गम्भीर आरोपका साथमा स्त्रीलम्पट, दही चोर, चित्त चोर भन्दै कृष्णजीलाई गाली गर्नेहरू पनि नभएका होइनन् । महात्मा गान्धी कानुन पढ्न रेल, पानी जहाज चढेर बडो कष्टले बेलायत जान्थे । उनी पातलो, कालो वर्ण, टाउकोमा फेटा गुथ्ने, धोती लगाउने गरेको देखेर उनलाई यात्रा गर्दा आफ्नो सिटमा बस्नै नदिने र उनलाई कुटेर बाहिर निकाल्ने गर्थे तर उनले बदलामा कसैलाई पिट्दैन थिए, बरु कानुनी लडाइँ लड्थे । कपाल काट्न सैलुनमा जाँदा तँ कालेको कपालै काट्दिन भनेर फर्काइ दिन्थे । जसोतसो आफ्नो कपाल आफै काट्थे तर कपाल कतै लामो, कतै छोटो बेछन्दको जगल्ट्याएझै देखिन्थ्योे भनेर उनको आत्मकथामा पढ्न पाइन्छ । अधिवक्ता भइसकेका महात्मा गान्धीलाई अन्य वकिलहरूले हेप्नुहेप्थे । हेप्नु, कुट्नु, जल्ट्याउनु, थुक्नु, पिट्नु गालीका प्राविधिक पाटा हुन् । अति बाठाले निख्लो गालीभन्दा प्राविधिक पाटाको प्रयोग गर्नु उत्तम ठान्छन् ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरकोरियाली शासक किमजोङ उनलाई चकचके छाउरो भनेर गाली गरेका थिए भने बदलामा ट्रम्पलाई बौलाहा, सन्काहा पनि भनेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जोगी नामर्द भनेर गाली गर्नेहरू धेरै छन् । गाली अनेक स्वादका हुन्छन् । स्वाद चाख्नलाई पनि ऐंचो पैंचोका रूपमा गाली वरण गर्छन् । एकले अर्कालाई मौका मिल्नासाथ डकारुन्जेल खुवाउँछन् र खान्छन् पनि । विष बिनाको सर्प र इष विनाको मानवलाई मान्छेले मान्छे नै गन्दैनन् भनेपछि गालीले इष उत्पादन गर्दो रहेछ भनेर पनि बुझ्नु पर्छ । इष न किन्न पाइन्छ न त बेच्न नै, यो त आफ्नो स्वभावले अज्माउने अदृश्य प्रवृत्ति हो । यसको भाव बुझ्न टन्न गाली खानुपर्छ र मात्रै इष आर्जन गर्न सकिन्छ ।

पूर्व प्रधानमन्त्री तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाले देशमा प्रजातन्त्रको दैलो खोलेर नै आम नेपाली नागरिकमा थुतुनु बजाउने, दारा किट्ने, मुक्याउने र मारामार गर्न पाउने स्थिति आएको हो भनेर गाली गर्नेहरू पनि धेरै छन् । राजा वीरेन्द्रलाई तानाशाहा भनेर गाली गर्थे भने जङ्गबहादुर राणालाई निरङ्कुश, अतिचारी, व्यभिचारी, शासक भनेर कोही कसैले थिचोमिचो गरेमा उनकै उदाहरण दिने गरिन्छ । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई जहाज अपहरण काण्डका डन, गुण्डा, हुटीट्याउँ, तालु खुइले भनेर गाली गर्नेहरू पनि कम छैनन् । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका अध्यक्ष शेरबहादुर देउवालाई लाटो, लठेब्रो, भारत परस्त लम्पसारवादी, देश बेचुवा, काँग्रेसको कलङ्क, फरियावादी भनेर गाली गर्नेहरू देख्न, सुन्न पाइन्छ ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई पादरी, एमाले पार्टीलाई ध्वस्त अस्तव्यसत पार्ने, अगतिलाको हद, हरामी, केरा खा भन्दै विभिन्न स्वादको गाली गरेको देख्न सुन्न, पढ्न पाइन्छ । केपी ओलीलाई झापामा मान्छे गिँडेर नेता बनेको उखाने, स्वेच्छाचारी शासक भनेर सत्तोसराप गाली गरेर मानमर्दन गर्दै आनन्द मान्नेहरू धेरै छन् भनेपछि गालीले समाजवादी र समावेशी धार समातेको प्रष्टै हुँदैन त ?

यस्तै हो, जब देशमा अत्याचारी, व्यभिचारी, दुष्टात्माले शिर उठाउँछ र उसको राईंदाईं देख्नुपर्छ अनि गलत नेतृत्व भनेर गालीका क्वाँटी शब्दभण्डारसँगै पाखुरा सुर्किनेहरू पाइलैपिच्छे पाइन्छन् । हरेक क्षेत्रको नेतृत्व जनहितकारी उपकारी, फलदायी लागेन भने आम देशभक्त नागरिकले फाँको हाल्दै झाँको झार्ने चलन त पुरानै हो तर जब विश्वमा इन्टरनेटको तागतले सामाजिक सन्जालमा गलत प्रकृति छरपष्ट हुन्छ अनि फेसबुक, टुइटर, समाचारको माध्यमबाट ढ्याउ गरुन्जेल गालीका कोर्राहरू बर्सिनुलाई अनौठो, नौलो, बिरानो, मान्ने दिन गयो भनौ न ।

हरेक प्राणीले खानपान खुराकका साथसाथै गालीको सेवन गर्नै पर्ने अवस्था आइलाग्न सक्छ । व्यक्तिले व्यक्तिलाई गर्ने गाली व्यक्तिपरक भनिन्छ भने समाजले समाजलाई गर्ने गाली समाजपरक हुन्छ । त्यो गाउँका मान्छे चोर, ढाँट, फटाहा छन् भन्छन् भने त्यसलाई समाजपरक गाली भनिन्छ । एउटा देशले अर्को देशलाई गाली गर्छ भने त्यो देशपरक गाली मानिन्छ । जस्तो नेपाल गरीब देश भनेर हेय दृष्टिले हेर्छन्- विकसित मुलुकहरू । भारतीय नागरिकको चोर्ने, ढाँट्ने, ठग्ने, लुट्ने, धुत्ने बानीले गर्दा भारतीयहरू बद्मास, फटाहा हुन्छन् भनेर प्रायः सबै मुलुकले चिन्छन् ।

आमा बाबुले छोराछोरीलाई गर्ने गालीमा माया, दया, करुणा मिसिएको हुन्छ । मर्न नसकेको, भतुवा, हरामी, सिन्के, दाउरे, मोटे, घर छोडेर गइ हाल भनेर गाली गरे पनि सन्तान एकछिन ओझेल पर्नासाथ कता गयो भन्दै खोज्न जान्छन् । औलो ठोक्किएर रगत आयो भने रुन थाल्छन् । मिठो मिठो खान दिन्छन् र आवश्यक पर्‍यो भने फेरि आमा चकारी लगाएर दुसित र दूषित गालीको वर्षा गराउन पनि सक्छन् । यस्ता पारिवारिक गालीको असर क्षणिक हुन्छ जुन ब्रेक फास्टभन्दा अगाडि पछाडि वा बाह्रै मास चारै प्रहर खाइराख्न पनि सकिन्छ । अन्य प्राणीको गालीभन्दा मान्छेले मान्छेलाई गरेको गाली स्वादिला, भरिला र झरिला हुन्छन् । पशु चौपायालाई पनि गाली गरेर ओर्काउने फर्काउने गरिन्छ । भाषा नबुझ्ने मानवलाई पनि मुड्की, लात्ती उज्याएर ठिक पार्ने प्रयास गरिन्छ । आफ्नो आत्म सन्तुष्टि हेतु चेतनशील प्राणीले बुद्धिमान प्राणीलाई गाली गर्ने आआफ्नै कला र गला हुन्छ । गालीले रनक्क रन्काएर सत्पथमा हेल्ने प्रयास नै गालीको मूल मर्म, कर्म र उद्देश्य हो । गालीका मद्दतले नसोझिएको मान्छेलाई भौतिक कारवाही गरेर भए पनि लाइनमा ल्याउने अथक प्रयास मानवबाटै हुन्छ । कर्म अनुसारको गाली खान खुवाउन नेताले शर्म मान्दैनन् । संस्कृतमा एउटा भनाइ छ । एक लज्जा परित्याज्य त्रैलोक्य विजयी भवेत् । एउटा लाज शरम् पचाउन सक्यो भने तीनै लोकमा विजय प्राप्त गर्न सकिन्छ । मानव जीवन भोगाइको आरोह, अवरोहमा गाली पचाउन नसक्नेले पनि गाली चाहिँ खानैपर्छ । हर उमेरकाले गालीको शिरोपर र सामना गर्नैपर्छ ।

अन्त्यमा एउटा अर्ग्यानिक  बौलाहा नाङ्गै भुतुङ्गै सडकमा हिँडिरहेको खुनखार जँड्याहाले फेला पारेछ र बौलाहालाई थुक्दै तथानाम गाली गर्न थालेछ- “तलाई पागल, बद्मास, मगज फुस्किएको, तेरो त इज्जत थिएन नाङ्गै हिँडिस् तर समाजका लागि लुगा लगाउनु पर्छ कि पर्दैन ? इजेत बिनाको स्याल, पशु अबदेखि यसरी नाङ्गै भएर कहिल्यै नहिँड है, ला भनेर आफ्नै कट्टु फुकालेर दिएछ ।

०००
शिवशक्ति मार्ग
फूलबारी-११, पोखरा, कास्की
फोन ९८०६६७७५९४

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
रेखा

रेखा

शेषराज भट्टराई
म्वाई महात्म्य

म्वाई महात्म्य

शेषराज भट्टराई
थाङ्ने चिन्तन

थाङ्ने चिन्तन

शेषराज भट्टराई
साँढे स्वास्नी

साँढे स्वास्नी

शेषराज भट्टराई
अन्तिम संस्कार

अन्तिम संस्कार

याेगीश कृष्ण
रङ र छेपारा

रङ र छेपारा

कुमार खड्का
सीमा सङ्घर्ष

सीमा सङ्घर्ष

डा. विदुर चालिसे
पुजारी कि भुजारी ?

पुजारी कि भुजारी ?

गाेपेन्द्रप्रसाद रिजाल
लकडाउनपछि

लकडाउनपछि

कृष्ण प्रधान
अदृश्य भाइरस

अदृश्य भाइरस

मनीषकुमार शर्मा ‘समित’