सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्राज्ञिक पुरस्कार

अर्का एक विवेकशील प्राणीलाई चयन समितिमा राखी हत्ते गर्ने ती ‘प्रतिभा’ लाई नै पुरस्कृत गरियो । पुरस्कार वितरण गर्ने यस परम् प्रदूषित पद्धतिका प्रतापले एउटा प्रतिभाशून्य शठले पुरस्कार पड्कायो ।

Nepal Telecom ad

कीर्तिशेष श्याम गोतामे :

हामीकहाँ स्थापित पुरस्कारहरूको स्थिति कतिसम्म कारुणिक छ भने पुरस्कार पाउनेभन्दा पुरस्कार दिनेहरू बढी पिरोलिने गरेका छन् र एउटा न एउटा पुरस्कार नपाउने स्रष्टाहरू औंलामा गन्न भ्याइने छन् । कतिपय पुरस्कारहरू पाउन कम्तीमा चार वर्ष कुर्नुपर्छ । यद्यपि, त्यस प्रतिभाको ‘असामयिक निधन’ भइ नै हाल्यो भने पनि आत्तिनुपर्ने खण्ड छैन, किनभने त्यस्तो मात्र कारणले हरिने होइन । अलिकति धैर्य गर्न सक्नुपर्छ, ‘मरणोपरान्त’ भन्ने पुरस्कार मरेकै थप उपाधिसमेत पाइन्छ । यो पुरस्कार प्रायः काल पर्खेर बसेका प्रतिभाले पाउने गर्दछन्, यदाकदा पालो मिचिनेजस्ता पवित्र पद्धतिहरू पनि निःसङ्कोच सक्रिय रहने गरेकै छन् । फगत कुन कुरा किटान गरी भन्न सकिन्छ भने सत्तरी वर्षको उमेर नपुगेकाले चाहिँ जस्तोसुकै घटिया लेख्ने क्षमता भए पनि यो पुरस्कार पाउन सक्दैन । यस्ता पुरस्कारहरू पितृ हुनहुनै आँटेकाहरूलाई प्रदान गर्ने प्रथा छ र यसको राशि पनि हार्दिक लोभलाग्दो छ । यसको निम्ति प्रतिभाभन्दा उमेर बढी हुनुपर्ने प्रावधान छ । तथापि, घाट नै लानुपर्ने भइसकेकालाई भने विशेष ग्राह्यता दिइने गरिन्छ, जो एकदमै उपयुक्त र स्तुत्य पनि छ । यो पुरस्कार पाउनेहरू प्रायः मरिसकेका छन् र भविष्यमा जसले पाउँछ, उसले पनि यथाशक्य चाँडो मर्नुपर्ने करीब-करीब पक्का छ । जतिले पाए, ती सप्पै यस लोकबाट बिदा भइसके !

कतिपय पुरस्कारहरूको वितरण व्यवस्था पनि वैज्ञानिक र आल्हादकारी छ भने प्रतिभाको चयन पुरस्कार स्थापना हुनुअगावै नितान्त तत्परताका साथ सम्पन्न भइसकेको हुन्छ । यस परिप्रेक्ष्यमा केही विख्यात बनियाँहरूले अति आकर्षक एवम् महनीय पुरस्कारको स्थापना गरेका छन् । प्रबुद्ध भन्नैपर्ने खालका केही पत्रकारहरू त निकट भविष्यमै ‘धमिजा पुरस्कार’ स्थापना हुने र सो पुरस्कार पाउने प्रतिभाको नाम काढ्नसमेत धक मान्दैनन् । केही पुरस्कारका नियमहरूमा पुरस्कारको घोषणा गरिनुअगावै षड्यन्त्रकारी फेरबदल हुने गरेको पाइनु नितान्त स्वागतयोग्य सन्दर्भ हो । आफूले कृतज्ञ तुल्याउन आँटेको कुपात्र, मात्र नियमको खिचलोले गर्दा पुरस्कारबाट विमुख हुनुपर्ने जघन्य स्थिति आउँछ भने त्यस्तो नियमको मेरुदण्ड, आफैँले बनाएको भए तापनि किन नभाँच्नु ? पुरस्कार एउटा सामान्य वाचा हो, कुनै कबुलियत होइन । ‘फलानोलाई दिन्छु भन्या हो तर अब दिन्न रे ! केको किचकिच र केको कर ?’

केही पुरस्कारहरू यसकारण मात्रै पनि प्रसिद्ध छन् किनभने तिनको स्थापना भएको युगौँ बितिसक्यो । प्रतिभा चयन समितिका अधिकांश मनोनीत सदस्यहरूले गोलोकगमन- पर्यन्त सम्पन्न गरिसकेका छन् । अपवादस्वरूप दीर्घसूत्री प्रकृतिका केही जीवट एवम् लिच्चड सदस्यहरू अद्यावधि-पर्यन्त जीवितै छन् भन्ने दुःखद् सूचना दिनुपर्दा मलाई अतीव कष्ट हुन्छ । पुरस्कारको विधानको मूल प्रतिसमेत धमिराले उदरस्थ गरिसक्यो भने कैयन् मेधावी सपूतहरूले आफ्ना पिताश्री वा मातेश्वरीद्वारा स्थापित पुरस्कारको अक्षयकोष एवम् ब्याजसमेत सम्बद्ध पितृहरूले सास फेर्न बिर्सनासाथ भक्षण सम्पन्न गरे । त्यस्ता पुरस्कारको नाममात्रै सुनेर भए पनि गति परूँ भन्ने तपाईंको मनोकांक्षे छ भने ‘नेपाली प्रतिभा र पुरस्कार’ नामधारी ग्रन्थको अवलोकन गरे फरक पर्दैन । तर, यस पद्धतिमा अब निकै सुधार आएको छ । ‘लादूराम’ (विराटनगर-निवासी पाठकहरूले मलाई माफ गर्नुहोला, किनभने विराटनगरतिर यो नाम उच्चारण नै गर्न हुन्न !) नाम गरेका र हाल यस लोकमा नरहेका कपडाका एक अदद व्यापारीविशेषले कुनै बखत गुप्तदानस्वरूप एक सय एक थान दोसल्ला कान्तिपुर निवासी कुनै साहित्यिक धुपौरेकहाँ जम्मा गरिदिएका रहेछन् । गएको वर्षमा जति भाग्यशाली लेखक-कविहरूले दोसल्ला ओढाइमाग्नुभयो, ती सब ’लादूराम’ जीको स्मृतिमा ओढाइएको हो भन्न पाउँदा भ्याउतोले छाती फुलाएर मरेसरह मलाई पनि मरूँ मरूँ भएर आउँछ ।

पुरस्कारका प्रस्तावहरू काकताली परेको अवसरमा मकहाँ पनि आउने गरेका छन् । तर, कतिपय प्राविधिक त्रुटिहरूले गर्दा मैले पाउन सकेको छैन । त्यसको वितरण प्रणालीमा केही त्यस्ता क्रूर प्रावधानहरू थिए, जो या त मलाई अमान्य थिए अथवा मेरो हैसियतभन्दा बढी खर्चिला थिए । प्रथमतः त्यो पुरस्कार मैले कुनै गैरसाहित्यिक एवम् नितान्त घटिया राजनीतिक कुपात्रको करकमलमार्फत प्राप्त गर्नुपर्ने र अर्को विडम्बना के भने पुरस्कार प्रदान गर्ने अतिथिश्री मभन्दा पनि पत्रु र प्रतिभाशून्य थिए । दोस्रो, पुरस्कार वितरण समारोहमा साहित्यकारहरूको उपस्थिति उल्लेखनीय रूपमा गराउनुपर्ने ठेक्का मैले नै लिनुपर्ने र मुख्य अतिथिलाई दिनहुँ बिन्ती बिसाउने र टेलिभिजनमा सोर्ससमेत मैले नै लाउनुपर्ने । यतिसम्म त लौ भर्सेलै परोस् भनेँ तर त्यतिमात्रले नपुगी समारोह हलको भाडा, अतिथिहरूका निम्ति जलपान, माइकको बहाललगायत स्मारिका मुद्रणपर्यन्तको खर्च गरेर नपुगी कथम्कदाचित पुरस्कारको रकम पूरा विनियोजित नभएको अवस्थामा बाँकी रहेको रकमसमेत सोही पुरस्कारको अक्षयकोषमा दाखेल गर्नुपर्ने अरे !

पुरस्कार दिने निणर्य गर्ने प्रसङ्गमा झगडाको शुभारम्भ त्यस बखतदेखि नै हुन थाल्छ, जब प्रतिभाचयन समितिमा विशिष्ट कोटीका बुद्धहरू र पण्डास्तरका विशेषज्ञहरूको जम्काभेट हुन्छ । कस्तोलाई प्रतिमा मान्ने ? किन मान्ने ? जुन वर्षको सिर्जनाको निम्ति दिइने पुरस्कार हो, त्यही वर्षभित्र उसले गरेको पौरखको गणना गर्ने हो कि कुनै समयमा ऊ पनि लेख्ने गर्थ्यो भनी उसमाथि दया गर्ने हो ? उसको कुनचाहिँ कृति अथवा ग्रन्थलाई पुरस्कार दिने हो र त्यो कृतिको अथवा गन्थको सर्वोत्कृष्टताको मापदण्ड के ? सम्भाव्य अन्य सर्जकहरू ऊभन्दा कुन कारणले गर्दा कमजोर ठहरिए ? यस्ता प्रश्नहरू प्रायः प्रत्येक पुरस्कारका प्रसङ्गमा अद्यापि निरुत्तरित छन् र भविष्यमा पनि रहनेछन् । चुम्बकले फलाम नै सकभर रोज्छ । यसको उत्तर शायद यही हो कि ?

यस्तै एउटा प्रतिभा चयन समितिबाट मलाई ठ्याक ख्वाएर निकालियो । किनभने, ‘कसलाई प्रतिभा मान्ने ?’ भन्ने पहिलो जिज्ञासामा नै ठाकठुक परिहाल्यो । मेरो बदलामा एक जना अर्का सज्जनलाई मनोनीत गरियो, जो कुरा चपाउन साह्रै खप्पिस थिए अनि सम्बद्ध पुरस्कार सके आफैँ जिप्ट्याउने इच्छा उनको थियो । अन्त्यमा उनले गोप्य रूपमा भनिहाले- “यो पुरस्कार नपाए म रानीपोखरीमा हामफाल्छु र डुबेर मर्छु पनि !”

यस्तो हत्ते नै गरेकोले चयन समितिबाट उनको राजीनामा लिई अर्का एक विवेकशील प्राणीलाई चयन समितिमा राखी हत्ते गर्ने ती ‘प्रतिभा’ लाई नै पुरस्कृत गरियो । पुरस्कार वितरण गर्ने यस परम् प्रदूषित पद्धतिका प्रतापले एउटा प्रतिभाशून्य शठले पुरस्कार पड्कायो । नेपाली वाङ्मयमा यस्ता पुरस्कार कति पड्के कति । कति पड्कने क्रममा छन् । सरस्वतीका साधकहरूको मन भने कहिल्यै पड्केन । के यस किसिमको ‘प्राज्ञिक बलात्कार’ रोक्न सकिन्न ? कुनै पनि लेखक पुरस्कारको निम्तिमात्र लेख्दैन’ भन्ने चलन छ, तर ‘आत्मतुष्टि, यश, नाम, पैसो मलाई केही चाहिँदैन, म त मात्र साहित्य-साधनामा लागेको हुँ’ भन्ने सुन्दैमा अरूले पत्याउँछन् भने त मेरो बाउको के लाग्यो । मचाहिँ किमार्थ पत्याउँदिनँ । लेख्नुको उद्देश्य पछाडि कुनै न कुनै आकाङ्क्षा धेरथोर सबैमा हुन्छ, कमसेकम मेरो त अवश्य छ । तथ्यलाई कुरो चपाएर लुकाउनु ‘साहित्यिक कायरता’ हो । लेनदेनको माम्लामा धर्मफराक हुन लाज मान्नुहुँदैन । ‘पैसाको मुख रातो हुन्छ- के यो उखान त्यस्सै उब्जेको हो त ?

०००
‘जनमञ्च’, अङ्क २, (२०५२ वैशाख १४)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जय नरधूप : जय चुरोट

जय नरधूप : जय...

श्याम गोतामे
सफलताको ओखती

सफलताको ओखती

श्याम गोतामे
मेरा पाहुनाहरू

मेरा पाहुनाहरू

श्याम गोतामे
सतर्क हुनुहोस् !

सतर्क हुनुहोस् !

श्याम गोतामे
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी