सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

राजस्व-भक्षणको राजनीति

जनताको विवेकको अपमान गर्ने राजनीतिज्ञले शब्द-पाखण्डको आडमा रजाइँ गर्न केही समय सक्ला, तर कालान्तरमा ऊ राजनीतिक विदूषक हुन पुग्ने कुरामा विमतिको गुञ्जाइस छैन ।

Nepal Telecom ad

श्याम गोतामे :

देशका नीति-निर्माताहरू सत्ताको नवीनतम समीकरण मिलाउने चाँजोपाँजोमा व्यस्त छन् । सत्ताधारी दल कहिले रा.प्र.पा.सँग अङ्कमाल गर्न पुग्छ, यदाकदा प्रमुख प्रतिपक्ष पनि उप-प्रमुख प्रतिपक्षसँग गाला जोर्न पुग्छ । आफूलाई परेपछि कोढीको पाउ पनि मल्नुपर्छ, मौका पर्दा गधालाई पनि बाउ भन्नुपर्छ । यसो त गधालाई बाउ भनिहाले पनि त्यसको वंशावली नै बिटुलिने होइन । किनभने, गधाको सुपुत्रलाई पाजी भन्ने चलन नै छ । र, कुनै राजनीतिज्ञ पाजी प्रकृतिको छ भने ‘राजनीतिक करियर’ मा त्यसलाई ‘प्लस प्वाइन्ट’ नै मानिन्छ । यो द्वैध चरित्ररूपी अङ्कमाल गर्ने प्रेमिलो क्रममा कुन दलले कसको बगली मार्न सफल हुने हो, त्यो त समयले बताउला । तर, ‘पाए अन्त; नपाए फलानोको जन्त’ गर्ने हामा राजनेताहरूको चरित्र सम्बद्धहरूका निम्ति सौभाग्यको सन्दर्भ भए पनि देशका निम्ति भने दुर्भाग्य नै हो ।

मध्यावधि चुनाउ महँगो हुने हुनाले सस्तोमा के उपलब्ध छ भन्ने वस्तुको खोजी जारी छ । ‘सस्तो बेसाहा पेट लागी मर’ भनेझैँ कतै जनतालाई नै छेराउटी लाग्ने त होइन ? महँगो राष्ट्रले थेग्न सक्दैन र सस्तो शाश्वत रहँदैन । यस्तो अवस्थामा देशलाई अब ‘राष्ट्रिय सरकार’ चाहियो अरे ! प्रश्न उठ्छ- आजसम्म बनेका वा बनाइएका यावत् सरकारहरू के अराष्ट्रिय थिए त ? एउटै सरकार कहिले राष्ट्रिय र कहिले अराष्ट्रिय हुन पुग्ने यो प्रविधि स्तुत्य छ ।

अरू क्षेत्रहरूमा ॐ नाथे राजनीति- पर्यन्तमा मूल्य र मान्यताका कुराहरू यदाकदा उक्काउने चलन दृष्टिगोचर हुँदा मलाई ग्लानि हुन्छ । ‘मूल्यको राजनीति’ हामीकहाँ पनि हुन्छ- मूल्य चुक्ता गर्नोस् र सत्ता किन्नोस् ! सत्ताको प्रारब्ध नै बिकाउ प्रकृतिको हुने हुँदा त्यो प्रायः टिकाउ हुँदैन । जस्तो, नियमै छ- जुन टिकाउ हुन्छ, त्यो बिकाउ हुँदैन; र जुन बिकाउ छ, त्यो टिकाउ हुँदैन । तर, हामीमाझको राजनीति टिकाउ पनि छ र बिकाउ पनि छ । राजनीतिज्ञ – क्षेत्रमा एक थरी थर भएकाहरूको सङ्ख्या न्यून देखिए पनि व्यवहारमा र आचरणमा सबै उही पाराका नै पाउनु हाम्रो धर्तीको गर्व हो । जसरी उसको अर्ती मानिदिनुपर्ने प्रावधान छ, त्यसैगरी नेताको अर्ती जनताले मान्नुपर्छ ।

मान्छेको भाग्य विधाताले लेख्ने गर्दछन् भनिन्छ । तर, राष्ट्रको भाग्य कुन लेखकले लिपिबद्ध गर्दछ भन्ने कुराको उल्लेख न त पुराणमा पाइन्छ, न त नेपाली साहित्यको इतिहासमा नै यसबारे उल्लेख छ । हाम्रो राष्ट्रको भाग्य लेख्ने लेखनदास को हो ? तपाईंलाई थाहा छ भने नाथे एउटा प्रेस विज्ञप्ति प्रसारित नगरी मौन किन बस्नुभा’ ? एकलौटी पाराको सरकार त हामीकहाँ आफैँ हैजा निम्त्याई अकाल मृत्युको शिकार हुन्छ भने क्वाँटी सरकारको आयु कति ? मेरो राय मान्ने हो भने अब गठन हुने सरकारमा काङ्ग्रेस र कम्युनिस्ट दुवैको समानुपातिक र न्यायोचित प्रतिनिधित्व हुनुपर्छ । यसबाट साहित्यलाई प्रत्यक्ष फाइदा हुने देखिन्छ । किनभने, राजेश्वर देवकोटाज्यूले कविता रचना गर्ने र लोकेन्द्रबहादुर चन्दज्यूले हास्य-व्यङ्ग्य लेख्न अवकाश पाउनुहुनेछ । राजनीतिमा लसपसिएका साहित्यकारहरूका दुवै हातमा सधै लड्डु नै रहने गर्दछ; एकातिर चिप्लियो भने अर्कोतिर ‘सेवा’ गर्ने अधिकार सुरक्षित हुन्छ । उदाहरणका निम्ति, वर्तमान सरकारलाई लिनोस् । प्रदीप नेपालजीले राजीनामा दिनुपर्‍यो भने उहाँ निमेषमात्र पनि ढिलो नगरी लेख लेख्न प्रारम्भ गर्नुहुनेछ । कथम्कदाचित मोदनाथ प्रश्रितज्यू अनिवार्य अवकाश पाउनेमा पर्नुभयो भने महाकाव्य रच्न प्रारम्भ गरिहाल्नुहुनेछ । ‘सेवा’ भन्ने शब्द कस्तो जोकरजस्तो हुन पुगेको छ भने तासको जोकरजस्तो जता जडिदिए पनि ठीक !

जुनसुकै प्रकृतिको सरकार आए तापनि तिनको उद्देश्य भने एकदमै पुनीत रहने गरेको छ र जसको पनि गन्तव्य र लक्ष्य एउटै छ- राजस्व भक्षण गर्नु । बिचराहरू गरून् पनि के! एउटा चुनाउमा खर्चेको पैसाले अर्को चुनाउमा काम दिँदैन । महँगी बढ्याबढ्यै छ, प्रतिष्ठा घट्याघट्यै छ । अन्न खाऊँ भने खडेरी परेर उब्जा नै हुन सकेन, घुस खाऊँ भने खाँदा खाँदा अब त अमन नै भइसक्यो ! सिमन्टी खाऊँ भने उदयपुरबाट हिँडेको ट्रक लहान आइनपुग्दै मुग्लान पस्छ । रासायनिक मल खाऊँ भने एक त भाउ नै महँगो, दोस्रो, आपूर्ति व्यवस्था कस्तो स्तरीय छ भने विवेच्य मल ठर्रामा मिसाउने उद्योगीलाई समेत पर्याप्त हुँदैन । र, तेस्रो के भने मल भन्ने थाहा हुँदाहुँदै पाइन्छ भन्दैमा त्यस्तो कुमक्ष के खानु । आफू त खानै परेपछि राजस्व नै खाने । एकजना मन्त्रीलाई त खान नपाएर कस्तो उखरमाउलो भएछ भने अर्थोक केही खान नपाए बिचरा पिटाइ खानसमेत तत्पर थिए । मैले आउँदै भने, “ठाउँ न ठहर, बूढी गर्छे रहर । बेला न कुबेला तपाईंलाई पिट्न को मानिस ल्याऊँ ? संसद्को आसन्न अधिवेशनसम्म जसरी हुन्छ; धैर्य नै गर्नुपरे पनि कुर्नुहोस्, तपाईंको मनोकाङ्क्षा पूरा हुनेछ, तथास्तु !“

आफ्नो पक्षलाई सुविधा हुने तर्क दिने प्रयास जसले पनि गर्नु स्वाभाविक हो । तर, संविधानविद् अथवा संविधान-मर्मज्ञ नै भएजस्तो पारामा ‘यो ठीक र त्यो बेठीक’ भन्ने हैसियत, बर्कत र बुद्धि चुनाउ जितेर सांसद् हुँदैमा प्राप्त हुँदैन । संविधानको ‘मर्म’को व्याख्या अनधिकृत रूपमा अथ्र्याउँदै आफूले हण्डी दिएको पत्रिकामार्फत आफ्नो दुर्विचार लाद्ने दुष्प्रयास ‘मुखबाट लादी आउञ्जेल गोदनुपर्ने’ अपराधमा दरिन्छ । ‘ठीक र बेठीक छुट्टयाउने संवैधानिक अङ्ग छँदाछँदै राजनीतिज्ञहरूले असनको तरकारी बजारमा साँढे पसेजस्तो घुसपैठ गर्नु ठीक होइन । त्यस प्रयोजनका निम्ति संविधान-विशेषज्ञ, विधिवेत्ता, कानूनी सल्लाहकारका अतिरिक्त संविधानको व्याख्या बकाइदा सम्पन्न गर्ने अङ्ग पनि छ । फेरि, बोकाले दाइँ हुने भए गोरु किन चाहियो ? अनि, कसैले बोको भनोस् कि नभनोस्, मफतमा ‘गन्हाउने बोको’ हुन किन तम्सनु ? सकिन्छ भने बरु ‘गोरु’ मा पञ्जीकृत हुने प्रयास गर्नु नि !

जनता नै सर्वोपरि हो भन्ने तथ्यलाई स्वीकार गरिसकेपछि संविधानको आफूखुशी व्याख्या गर्दै हिँड्नु जनताको मान-मर्दन गर्नु हो । जनताको विवेकको अपमान गर्ने राजनीतिज्ञले शब्द-पाखण्डको आडमा रजाइँ गर्न केही समय सक्ला, तर कालान्तरमा ऊ राजनीतिक विदूषक हुन पुग्ने कुरामा विमतिको गुञ्जाइस छैन । स्थापित फटाहाहरूमध्येबाट नै अपेक्षाकृत कम फटाहा छान्नैपर्ने हाम्रो नियति नै भएको छ ।

नेपालीको ललाटको लिपि कुनै आन्दोलन वा क्रान्तिले बदल्न सक्दैन । किनभने, क्रान्तिले एउटा सिद्धान्तको प्रतिपादन गर्छ भने त्यसका विरुद्ध ४ वटा भ्रान्तिहरू पनि जन्माउँछ । ‘त्यसोभए तँ वर्तमान प्रजातन्त्रप्रति आस्था राख्दैनस् त ?’ भनी तपाईंले मलाई झम्टनुअगावै ’जन-आन्दोलन को आशय जनतामाथि यस्तो ‘अकर्मण्य प्रजातन्त्र’ थोपर्ने कदापि थिएन !’ भन्दै मैले टाप कस्ने शूर गरे पनि तपाईंले मेरो कठालो समातेर ‘तैंले खोजेको प्रजातन्त्र कस्तो त ?’ भनी प्रतिप्रश्नको गोली ठोक्नुहुन्छ भन्ने मलाई विश्वास छ । तर, प्रजातन्त्रको अर्थसमेत मैले नै अर्थ्यापरे तपाईं बुद्धिजीवी भएको सार के त ?

०००
‘जनमञ्च’, (अङ्क ८, २०५२ जेठ २५)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जय नरधूप : जय चुरोट

जय नरधूप : जय...

श्याम गोतामे
सफलताको ओखती

सफलताको ओखती

श्याम गोतामे
मेरा पाहुनाहरू

मेरा पाहुनाहरू

श्याम गोतामे
सतर्क हुनुहोस् !

सतर्क हुनुहोस् !

श्याम गोतामे
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी