साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सफलताको ओखती

म अचेल ‘एडजष्ट’ हुने प्रयासमा लागेको छु । कतिसम्म सफल भएँ त्यसको मूल्याङ्कन गर्न सकेको छैन । तर एउटा नयाँ औषधिको आविष्कार गर्न भने सफल भएको छु । खाँचो परेकाहरूलाई सुविधा होस् भन्ने उद्देश्यले त्यो अनुपातलाई तल उद्धृत गर्दै छु ।

Nepal Telecom ad

मानिसको स्वभावको निर्माण उसको उमेर र अवस्थामा हुने परिवर्तनहरूबाट हुन्छ ! केही विशेष अवस्था र हदम्यादको सिद्धान्तलाई हामीले मानी आएका छौं । यीमध्ये २५ वर्ष नाघेपछि गर्दभजन्य प्रकृतिको लोप हुने; बुद्धि-बङ्गारोको प्रस्फुटन भएपछि बौद्धिक अभिवृद्धि हुने (अथवा) ‘मानवता’ को खोजीमा मुगलान पस्ने जस्ता पारलौकिक परम्परावादी शर्तहरू उल्लेखनीय र प्रभावकारी हुन् भन्ने मेरो धारणा छ ।

केही स्वभावहरू यस्ता पनि हुन्छन् जो उमेर, अवस्था सीमाक्षेत्र र जेलिंदा वचनबद्धताहरूबाट एकदमै स्वतन्त्र र स्वाधीन रहन्छन् असत्य भाषण, गफ चुटाइ, नेतांगी, दलाली र साहित्यिक तानाशाही जस्ता पवित्र र प्रतीकात्मक सत्कर्महरू चाहिँ यस्ता कोटिका विभाजनभित्र आउँदछन् ममा पनि गफ चुट्ने प्रतिभा पैतृक सम्पत्तिको रूपमा थियो, तर लेखकमा दरिइनासाथ मैले त्यो ‘सीप’ आफूभित्रको ‘साहित्यकारलाई सहर्ष र सहृदयातापूर्वक हस्तान्तरित गर्न उपयुक्त ठानें किनभने त्याग र सहानुभूति कुपात्रको हातमा पार्नु आफ्नै खुट्टामा आफैले बञ्चरोको प्रहार गर्नु झैं उदारता हुन्छ भन्ने कुरा मलाई राम्ररी थाहा थियो ! सहानुभूति साहित्यकारको ‘पेवा’ हो र ‘प्राण’ पनि ! उसप्रति दया गर्नु युग-धर्म हो ! भनिएको पनि छ, “सहानुभूति निर्धाको भोजन हो ।”

जहाँसम्म झूटो बोल्ने बानीको सम्बन्ध छ त्यो ममा छैन भनी आफ्नो लाछीपनको विज्ञापन गर्न चाहन्न ! तर यतिसम्म भने किरिया खाएर भए पनि भन्न सक्छु कि यी पंक्तिहरूमा म जे भन्दै छु ती सजीव सत्य हुन् । जुन उमेरमा झूटो बोल्नु अपरिहार्य मानिन्छ त्यो उमेरको हद म्यादलाई मैले उछिनिसकेको छु । केही यस्ता आशावादीहरू पनि हुन्छन् जसमा उमेर ढल्कनासाथ अदम्य उत्साह हुँदाहुँदै पनि झूटो बोल्ने ‘हुती’ हराएर जान्छ दुर्भाग्यवश परिणाम के हुन्छ भने असत्यको सुदृढीकरण गर्ने उपक्रमको षड्यन्त्रमा यस्ता उपबुज्रुकहरू नजानिँदो किसिमले फड्का मारी सत्यको संवद्र्धन गर्न पुगिरहेका हुन्छन् ! म नै त्यसको सजीव उदाहरण झैं अचेल म स्वर्गप्राप्तिको कामनाले ग्रसित छु आत्मरक्षाको निम्ति सत्यको लौरो टेकेर हिंड्छु औसरवादी र भाइमाराको कुनै निश्चित धर्म हुँदैन ! स्वार्थपूर्तिको निम्ति जे गरे पनि ‘धर्म छाड्यो’ भन्ने तीखो लोकापवाद सुन्नुपर्दैन तसर्थ धर्म छाडेबापत नरक पर्नुपर्ने दुःशंकाबाट म निर्धक्क छु । अर्को कुरा, कुन तथ्यले पनि मलाई अभयदान दिइरहेको हुन्छ भने ‘नरक पठाउने’ उद्देश्यपूर्तिको निम्ति मैले कतै धाउनु र कसैद्वारा पठाइनुपर्दैन किनभने म काठमाडौंनिवासी हुँ !

धक्कु जति छाडे पनि केही नयाँ नस्लका बानीहरूको संचयन गर्ने लोभबाट चाहिँ म पनि मुक्त हुन सकेको छैन । अरूको जीवनका गुह्य कुराहरूलाई खोतली वातावरणलाई सुवासयुक्त तुल्याउने सजीव उत्साह सामान्य बुद्धिजीवीहरूमा झैं ममा पनि छ ! खोतल्ने अभियानमा कहिलेकाहीँ झुुक्किएर आफूलाई समेत खोतल्न पुगिंदो रहेछ । आफूलाई चिन्नको निम्ति ऐना खोजेर हिंड्नु आफ्नो व्यक्तित्वहरूको आफै अवमूल्यन गर्नुहुन्छ भन्ने ठानेर नै यो खोतल्ने बानीलाई मैले बटुलेको हुँ । यो पनि एक किसिमको उपलब्धि नै हो, साउँ नभिडाईकनै आर्जन गर्न समर्थ भएको ‘ब्याज’ र ‘घिउ खाने’ जस्तै !

यी उदात्त उद्देश्यहरूबाट उत्प्रेरित भई अचेल म चौबीसै घण्टा यो तथ्याङ्कको संकलन गर्नमा व्यस्त छु कि मैले आफ्नो दुनु सोख्याउने क्रममा ‘असत्य’ को कवच धारण गरी कति भकारी पाप बटुलें । आफूले गरेका पापको विवरण अरूलाई सुनायो भने सम्बन्धित पापको फल चाहिँ सुन्नेले बेहोर्नुपर्ने र सुनाएबापत पाप प्रक्षालन भई हात लाग्ने पुण्यको फल चाहिँ सुनाउनेले त पाउँदछ भन्ने कुरा कुनै सत्संग समारोहमा मैले श्रवण गर्न पाएको थिएँ । तसर्थ मैले गरेका असत्य भाषणका केही आदर्श नमूनाहरू तपाईंहरूको सेवार्थं तल उद्धृत गर्दै छु ।

प्रकाशकको प्रशंसा गर्नुपर्दा मेरो अभिनन्दनको ढाँचा यस किसिमको हुन्थ्यो, “रामोराम वास्तविक साहित्यसेवी त तपाईं पो ! हमी लेखन्दासहरू त माध्यम मात्र हौं ! तपाईंले सुपथ मोलमा ‘सर्वाधिकार’ किनेर हामीलाई अझै बढी उत्साहका साथ कर्तव्यपथमा लम्कन प्रेरित नगर्नुभएको भए अहिलेसम्म नेपाली साहित्यको जग बेपत्ता भइसक्ने थियो । तपाईंको गुन बाँचुञ्जेल त के मरेपछि पनि म कहिल्यै बिर्सनेछैन ।” मेरा प्रकाशक मक्ख परी भन्थे, “बाजे, तपाईं त द्यौते हो ।”

वधू-पक्षको तर्फबाट बिहेको निम्तो पाउँदा गोडधुवाको सुव्यवस्था गर्नुपर्ने हुँदा कुनै सरकारी अड्डाखानाको टेलिफोनको ‘सदुपयोग’ गर्दै “म सिकिस्त छु” निःशुल्क खेद प्रकट गर्न बिर्सन्नथें, तर त्यसको ठीक प्रतिकूल वर-पक्षबाट आमन्त्रण हात परेमा ‘अनुकूल’ मिलाई स्वयम्बर-समारोहदेखि जन्तेबाख्राेसम्मका सबै औपचारिक समारोहका आयोजनाहरूमा सक्रिय भई भागलिन म रुचाउँथें ।

आफ्नी अर्द्धांगिनीको अभिनन्दन गर्नुपर्दा मेरो शृङ्गारिक अभिव्यक्तिको शैली यो छन्दमा कुद्दथ्यो, “मैले तिमी राम्री छ्यौ भनें भने तिमी ‘मात्तिनुपर्दैन क्यारे’ भनी भन्छ्यौ । हृदयको आवाज पनि न तिमी त कस्ती, हेर !” यति भनेपछि म ‘सफल’ हुन्थें । सालाखाला सबै नेपाली पतिदेवहरूको नियति यस्तै त होला नि ।

घरको अर्थमन्त्रीको हैसियतले बजेट भाषण गर्नुपर्दा आफ्नो आर्थिक विलापको सूत्रपात म यस्तो पारामा गर्न रुचाउँथें, “तँलाई महीनैपिच्छे धोती किन्न कहाँबाट पैसा ल्याउँ ? सिंगै तलब बुझाएर पनि मैले धर नपाउनु ? औंलो दिँदा डुडुल्को निल्न खोज्छेस् ? अचेल फाटफुटे आम्दानी गर्न कत्रो रीत पुयाउनुपर्छ त्यसको अनुभव र अनुभूति तँ छुसीलाई के होस् ? ठूलठूलो रकम कलम पचाउन सक्ने जागीर भए पनि रहर गरी हाली त भनेर चित्त बुझाउँ !”

“म जस्तै मेचमा बसी बसी तलब पचाउने मनसाय राख्छस् भने झट्ट नै प्रमोशनको चाँजो पाँजो मिला बाबु ? होइन भने ना.सु.को जागीर खाई मासुको आहार खोज्ने तेरो जिभ्रोलाई अलि आराम दे र हात चला !” यो चाहिं आफूमुन्तिरको सहायकलाई अफिसमा गफ गरेको अभियोगमा दिएको हल्का ‘नसीहत’ को एउटा नमूना थियो !

पण्डितले भेटी बटुल्ने उद्देश्यले पुराणका उज्याला पक्ष मात्र सुनाए मेरो नियत खोटो छैन ! सन्तुलन कायम गर्नका लागि मेरा सत्य भाषणका केही चलती नमूनाहरू यहाँ उद्धृत नगर्नु सत्यको मर्यादाको भंग गरेको हुनेछ । तसर्थ सुन्नुहोस्, केही घतिला सत्यहरू !

चोरचार गर्ने चातुर्यमा पोख्त भनी नाम कमाएका एक जना समकालीन साहित्यिक बन्धुको अनुरोधमा उनको पुस्तकको भूमिकामा मैले आफ्नो सत्यलाई यसरी पोखें, “प्रस्तुत पुस्तकको पवित्रता र लेखकको त्यसप्रतिको ईमानदारीमाथि शंका गर्ने कुनै छिद्र पाइनँ । प्रत्येक वाक्य (उहाँले जनै छोई किरिया खानुभएबमोजिम !) उहाँका आफ्नै हुन् भनी म प्राणित गर्दछु । नेपालीभाषामा आजसम्म उहाँ जस्तो रद्दी लेख्ने उहाँ बाहेक अर्को प्रतिभा नउदाएकोले पनि यस तथ्यको दरिलो पुष्टि गरेको छु ।” अचेल उक्त ग्रन्थका ग्रन्थकार नयाँ सडकमा यसरी कुर्लन्छन् रे, “गोतामे भूमिकामा भन्दा समालोचनामा राम्ररी व्यक्तिन्छ !” मैले पाएको यो पहिलो साहित्यिक दनक थियो ।

मेरो सम्पादनमा पहिलो पटक प्रकाशित ‘वणर्माला’ (साहित्यिक संकलन) को पाठक प्रतिक्रिया संकलन गर्ने क्रममा एक जना मेरा समकालीन सम्पादकसँग टेलिफोनमा सम्पर्क राख्दा उनको टिप्पणी यस्तो पाएँ, “तपाईंको ‘वणर्माला’ पढें । विषय-वस्तु राम्रा र रसिला छन्, ‘प्रूफ मिस्टेक’ बढी । कमसेकम कम्पोजिटर त ‘कमन्सेन्स’ भएको भर्ना गर्नु नि ?” मैले सोको सत्य ओकल्ने उद्देश्यले भनें, “अलि अलि ‘कमन्सेन्स’ राख्ने कम्पोजिटर भनाउँदो म नै थिएँ । अब म जस्तो नै कहाँबाट ल्याउँ ?” मित्र टेलिफोनमा नै कुर्लन थाले । अब मलाई यो कुरो थाहा नहनु कि मेरो मित्रको ऐतिहासिक पृष्ठभूमि पनि मेरो जस्तै उज्ज्वल रहेछ, कसको दुर्भाग्य ?

ब्राह्ममुहूर्तदेखि सिँगार-पटार गरी सिनेमा जान भनी तमतयार भएकी मेरी श्रीमती आफ्नो पाउडरायमान गाला मुसार्दै मेरो सामु आएर ठिंग उभिई र भन्न थाली, “हेरिसियोस्त, पाउडर मिलेको छ कि छैन ? धोती यही स्वाएको छ कि अर्को फेरूँ ?” उनको सुन्दरताबाट आजित भएको छँदो मैले आफ्नो सत्यताको संवद्र्धन गर्दै यो उद्गार पोखें, “लुगा त सबै राम्रा हुन्छन्, लुगा स्वाउने हो र ? स्वाउने त जीउ पो ! तिमीलाई त केही लगाए पनि स्वाउँदैन ! बरु यो फेशनमा त पल्ला घरकी कान्छी ‘अप्सरा’ झैँ देखिन्छे !” त्यसपछि के भयो त्यो यहाँ लेखेर म आफ्नो बढाइँ आफ्नै मुखले गर्न चाहन्न !

इदं भ्रष्टं, उदं भ्रष्टं भने झैं मलाई न त सत्य फाप्यो, न त असत्यद्वारा नै केही लछारपाटो लाउन सकें ! म सरकारी सेवामा छँदा मेरो ‘सर’ ले एक दिन मलाई अर्ती दिँदै भन्नुभएको थियो, “गोतामेजी, एडजस्ट हुन सक्नु ठूलो गुण हो ! हेर्नोस् मेरो स्वभाव र आर्जन ! यो संसारमा सिद्धान्त भन्ने वस्तु केही छैन ! छ भने पनि त्यो आशावादी लाछीहरूको निम्ति गुलियो पीपी मात्र हो आफ्नो काम बन्द गर्नुस् आँखा चिम्लिनुस् र योगासनमा बसी नाभिदेखिको बल झिकेर चिच्याउनुहोस् ‘हुन्छ, हस्, हजुर, जो आदेश !’ तपाईं सबैको प्रियपात्र हुनुहुन्छ र म जस्तै पपुलर पनि !”

अचेल मेरो स्वाभाव निर्माणाधीन छ ! ठूलाबडाहरूका अर्तीहरूलाई आत्मसात् गर्दै म अचेल ‘एडजष्ट’ हुने प्रयासमा लागेको छु । कतिसम्म सफल भएँ त्यसको मूल्याङ्कन गर्न सकेको छैन । तर एउटा नयाँ औषधिको आविष्कार गर्न भने सफल भएको छु । खाँचो परेकाहरूलाई सुविधा होस् भन्ने उद्देश्यले त्यो अनुपातलाई तल उद्धृत गर्दै छु ।

चाकडी-चूर्ण- १ मासा
चापलूस भास्कर-रस -आधामासा
चुक्ली- आसवारिष्ट- एक चम्चा
दिउँसो १० बजेदेखि ५ बजेभित्रमा तीन औषधि मिसाई दिनको पाँच पटक जिम्बु-पानीका साथ खानू । ‘एडजष्ट’ हुन नसकेमा मोल फिर्ता !

०००
‘कायेनवाचा’ (२०३३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
माड्साप्

माड्साप्

श्याम गोतामे
प्रुफरिडर

प्रुफरिडर

श्याम गोतामे
खाद्य सामग्री

खाद्य सामग्री

श्याम गोतामे
नेता

नेता

श्याम गोतामे
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x