साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय नरधूप : जय चुरोट

चुरोट खाँदा क्यान्सर हुन्छ भन्ने गफ सुन्दा–सुन्दा अपच हुन थाल्यो अब ता । स्वदेशी चुरोटले क्यान्सर हुनु त के खोकिसम्म पनि आउँदैन । त्यस्ता कुरा क्यान्सिल गरौँ । चुरोटले क्यान्सर हुने भए अहिलेसम्म नेपालमा चुरोट खाने बाँकी नै रहँदैनथे ।

Nepal Telecom ad

श्याम गाेतामे :

अधिकांश कवि र लेखकहरूको निम्ति आफ्नी प्रेमिका र पत्नीभन्दा प्यारो ठहरिन आएको नरधूप याने चुरोट वा तमाखुको सम्बन्धमा पक्ष समर्थन गर्नुअगावै उच्चस्तरको कोसेली चुरोट नसल्काई कलम घिच्याउने दुस्साहस गर्नु स्वदेशी चुरोटप्रतिको आफ्नो कर्तव्य र दायित्व पूरा नगरेको सराप लाग्ने हुँदा चुरोटकै उपलब्धिस्वरूप कलेटी परेको ओठले चुरोट च्यापी यो लेखकको शिलान्यास गर्दै छु ।

आदिकविको चिलिमको पातो सेलाएर ‘मूड’ अफ् हुन्थ्यो, महाकविको प्रमुख पान पनि यही नै थियो, जनकविले पनि यसको मर्मलाई कम गरी अवश्य नै आँक्नु भएको छैन होला भने, कताकता कविहरूको र नरधूपको एउटै गोत्र त हुँदैन भनी सोच्न बाध्य हुनु अवश्य नै मूर्खता हुने छैन ।

त्यसमाथि नरधूपको सम्बन्धमा गन्थन लेख्ने यो सिद्रे लेखक पनि घरानियाँ (आधुनिक) ससुरालीको ज्वाइँ हुने सौभाग्य पाएको र माइती गएकी पत्नीले ल्याएको कोसेली खाने संकष्ट उठाउनै नपरी यत्रो उमेर बितिसकेकाले अचेल पनि किन हो कुन्नि कोसेलीको नाम सुन्दैमा राल चुहिएर आउँछ ।

त्यस बेला म १३ वर्षको थिएँ । पढाइको हकमा गुरुजीको स्कुलमा ४ किलास र घरमा अमरकोशको सर्ग–वर्गसम्म । विद्योपार्जनमा स्थापित यो कीर्तिमानको विवरण सुन्दा अचेलका पढैयाहरूले नाक चेप्राउलान्, तर उहिलेको ४ कक्षामा पढ्दा आउने बुद्धि अहिले ‘म्याटरी’मा पढ्नेहरूले पनि राख्दैनन् ।

मैले नजानेको अतिरिक्त कार्यकलाप के थियो ? गुच्चा, डन्डिबियो, पायाँ, च्याम्पटी प्रभृति तत्कालीन नामोद खेलहरू जसको ठाउँ अचेल ‘एथलेटिक’ विकासको साथसाथै फलास, चल–सत्र, पालीकट साइटिन, ट्वन्टीनाइन, पपलू टिपलू र नौतिरीले ओगटे ।

चुरोट खाने बानी कमाएको त झन् ८ वर्षको उमेरमा, आफ्नो जीवनको दोस्रो पञ्चवर्षीय योजनाको तेस्रो चरणमा नै । ती दिनहरू सम्झँदा अहिले मुटुमा भक्कानो फुट्दछ, यति चाँडै बूढो भएकोमा आफूलाई आफैँले सराप्न मन लाग्दछ ।

क्या घाघडान र अर्थपूर्ण थिए उहिलेका चुरोटका नामहरू ! मोटरमार, फूलमार, पल्टनमार, ऊँटमार आदि…आदि । नामै सुन्दा मात्र पनि गुन्द्रुक उम्लिएझैँ वीररस उम्लिएर आउने ।

मोटरमार खाँदा ‘अचेल सेतो प्लेट भएको मोटरमा चढेको’ जस्तो आनन्द आउँथ्यो, फूलमार खाँदा फूलको सुगन्धले मुखै अत्तर खाएझैँ हुन्थ्यो, पल्टनमार खाँदा लाहुरे हुन विदेशिएका दाजुभाइ सम्झी गौरव गरिन्थ्यो, र ऊँटमार खाँदा ऊँटझैँ घाँटी बंग्याएर (कडा र महँगोले गर्दा) सर्को तानी साथीहरूपट्टि फर्की फुस्स धुवाँ उडाउँदा कति मान र मर्यादा हुन्थ्यो । ठोसलाई महत्त्व दिने जमाना थियो त्यो, त्यसैले चुरोटका नाउँहरू पनि खाने मानिसजस्ता नै ठोस हुन्थे ।

अहिले कालीदासको ‘क’ खिइएझैँ काल खिइएकोले पिण्ड खाने बेलामा यी बूढा आँखाले यो दिन पनि देख्न पर्यो । चुरोटको नामै सुन्दा चियामा झिँगा परेझैँ (दूधमा र घ्यूमा होइन नि !) खाऊँ कि ओकलूँ हुने । ‘आशा’ खाए केको भरमा बाँच्ने ?

‘गरूण’ भगवान् विष्णुको वाहन नै भए, ‘जानकी’ आमा नै भइन्, ‘गोर्खा’ खाए निसाफ लिन कहाँ जाने ?

चुरोटको नामकरण गर्ने महानुभाव पक्का पनि कुनै कवि वा लेखकका अभिन्न मित्र होलान् जसको प्रभावले खाने कुरोको नाम यस्ता रहन गए । नत्र भने खाने कुराको नाम पनि यस्ता हावादारी (भावात्मक) हुने थिए त ?

धुवाँ निलेर पेट नभर्ने हुँदा निल्न खान नहुने चिजको नाम राखेको पो हुन् कि ? अनि जनता जनार्दनले के चुरोट खाऊन् ? चुरोट कारखानाले के प्रगति गरोस् त ?

नपत्याए कोसेली (निल्न खान हुने) को उत्पादन सुरु भएकै वर्षदेखि चुरोट कारखानाले गरेको प्रगति सबैको सामु छ । त्यसकारण मेरो रायमा त चुरोटको नामकरण लड्डु, पेडा, बम्बैसन अथवा गुन्द्रुक, ढिँडो, खोले अथवा लुइँचे, कुखुरा, खसी, राँगो, आदि (भोज्य पदार्थ)का नाउँमा आधारित हुन पर्दछ, जसबाट चुरोटको एक सर्को तान्दैमा चुरोटको मीठो स्वादको साथै क्रमशः तत्तत् विषयको स्वाद र मनोवैज्ञानिक प्रोटिनसमेतको फाइदा उपभोक्ताहरूले लिन्थे ।

यी नामहरूले तर्साएर खान जति दिगमिग लागे पनि गुन्दु्रक र ढिँडो पचाउने पेटले ‘चुचुरो’, ‘सगरमाथा’, ‘पर्वत’सम्म पनि पचाई आएकै हौँ । किनभने, हामी नामको पछि दौडने होइनौँ । हामीलाई त स्वाद पाए भयो ।

उहिले हनुमानले सूर्यलाई निलेथे अरे, हामीमा पनि ‘चुचुरो’, ‘सगरमाथा’, ‘पर्वत’सम्म निल्ने क्षमता आइसकेकोले हामीले पनि सुरसा अथवा सो नभए हनुमानसरह मर्यादा पाउन पर्ने स्पष्ट छ ।

केही बुज्रुकहरू कहिलेकाहीँ ‘बाँदरको पुच्छर लौरो न हतियार’ भन्छन् । तिनीहरूले रामायण पढेका छन् वा छैनन् शंकै छ ।

हनुमानको पुच्छरले सुनको लंका जलायो, हाम्रो पुच्छर (हात)ले सुनको लंका नजलाए पनि यति चुरोट जलायो जसका ठूटा मात्र जम्मा पारी राखेको भए ती ठूटालाई लहरै राखे पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ओछ्याउन पुग्थ्यो भन्ने कुरामा कुनै शंका छैन ।

हामी चुरोटवाजले भने कहिलेकाहीँ हाम्रो र देशको उद्योगको भलो नचाहने कुनियत राखेका बुज्रुक विदेशी चिकित्सकहरूले हाम्रो ‘यज्ञ’को विपक्षमा लूते कुकुर भुकेझैँ भुकेर हामीलाई आफ्नो लक्ष्य प्राप्त गर्ने मार्गतिर बढ्न बाधा पुर्याएको देख्दा उनीहरूको बुद्धिमाथि दया जागेर छाती चरक्क चिरिएको अनुभव गर्नुपरेको छ ।

यस सन्दर्भमा ती महान चिकित्सकको जय मनाउनु हाम्रो पुनीत कर्तव्य हुन आउँछ, जसले केही महिनाअघि चुरोटको महान् सहयोगी चियाको पक्ष समर्थनमा ‘चिया खानेलाई हृदय रोग कम मात्रमा हुने’ भनी घोषणा गरे ।

अब त्यो दिन टाढा छैन जब हामी चुरोटवाजले ‘चुरोट खानेलाई क्यान्सर कम हुन्छ’ भनी स्वदेशी उपबुज्रुक चिकित्सकहरूले वक्तव्य प्रसारित गरेको सुनी ‘गंगुबाजे’ले पशुपतिमा गाँजा तानेझैँ निर्धक्क भई चुरोटको सर्को तान्ने शुभ अवसर पाउनेछौँ ।

हुन त क्यान्सर नै भए पनि अब के लछारीहाल्ला र ? फ्लू र कालजिभ्रे रोगद्वारा ‘बज्रमाथ’ खाएर झोक्किँदै क्यान्सरको ओखती अनुसन्धान गरी आफ्नै तरिकाले क्यान्सर निको पार्ने अठोट राखेका स्वदेशी चिकित्सकहरूले अवतार लिएको खबर सुन्दा हामी चुरोटवाजको लक्षयज्ञ यानी जीवनभरिमा कमसेकम १ लाख स्वदेशी चुरोट फुँक्ने योजना सफल हुँदैन भनी शंका गर्नु ‘हाम्रो देशले जेट युगमा पदार्पण गर्यो’ भन्ने भीषण तर्कको विरुद्ध आवाज उठाएझैँ हुनेछ ।

यसो त विरोधीहरूले फागुन ७ गते घ्याम्पो (स्वदेशी राकेट) उडाउँदा उडान सफल नभई टुँडिखेलमा डढेलो लागेको उदाहरण देलान् । त्यो त अपवाद ठान्नुहोस् ।

स्वदेशी चुरोटको प्रगतिले हात्ती चढ्यो भन्ने रिसले आफू धूरी चढ्न तम्सने निरस र चुरोटको मर्म थाहा नपाउने तत्त्वहरूले यसको विरोधमा जतिसुकै मरिमेटे पनि हामी चुरोटवाजलाई आफ्नो प्रगति पथबाट विचलित पार्न सक्नु यो जुनीमा सम्भव छैन ।

विरोधीहरूको प्रचारले केही बुद्धि भ्रष्ट हुन आँटेका, (तर हुनचाहिँ नपाएका) चुरोटवाजहरूले वर्षेनी चैत्रको अन्तिम हप्तातिर नयाँ वर्षको शुरुआत साथै यस्तो दिव्य आहार त्याग गर्ने धम्की दिन्छन् ।

तर वैशाखको १० गतेसम्म पनि आफ्नो दुष्प्रयास जारी राख्न नसकी कम गर्ने सिद्धान्त अपनाई ११ गते ‘क्राइभेन’, २० गते ‘कैप्स्टन’, २४ गते ‘पनामा’ र मसान्तका दिन घरको अर्थ मन्त्रालयले बजेट नाघेको अल्टिमेटम दिँदा जेठ १ गतेदेखि ‘पुनर्मुसिको भवः’ भनेझैँ साविकस्तरमा आएको देख्दा हामी चुरोटवाजहरू आफ्नो सफलतामाथि आफैँ गौरवान्वित हुन्छौँ र विरोधीहरू रिसले पुर्पुरो ठोक्न थाल्दछन् ।

चुरोट खाँदा क्यान्सर हुन्छ भन्ने गफ सुन्दा–सुन्दा अपच हुन थाल्यो अब ता । स्वदेशी चुरोटले क्यान्सर हुनु त के खोकिसम्म पनि आउँदैन ।

त्यस्ता कुरा क्यान्सिल गरौँ । चुरोटले क्यान्सर हुने भए अहिलेसम्म नेपालमा चुरोट खाने बाँकी नै रहँदैनथे । फेरि परिवार नियोजनको समस्या नै किन आउँथ्यो ? हामी अनुभवी र दीर्घजीवी चुरोटवाजका त कुरै छाडौँ, हाम्रा समाजका आधुनिक श्रीमतीजीहरूको कमलो कलेजोलाई त यसले केही लछार्न सकेन । बरु उपलब्धिको रूपमा मोहिनी लाउने तलतललाई मेट्न हामीलाई यसले सहयोग नै गरेको छ ।

सारांशमा, गुलेली छन्द (रबड छन्द)मा म केही कवितामा बिन्ती गर्दछु–
सुन हे मेरा दाजु र बहिनी चुरोट न छोड,
छाड्नु नै परे ‘विदेश’ छोड, ‘आशा’लाई न तोड ।

अन्त्यमा चुरोटको एजेन्ट नभए पनि एक मर्मज्ञ चुरोटवाज भएकोले चुरोटका उत्पादकहरूमा चुरोटको प्रचलित नाउँ संशोधन गरिदिनुहुन आफ्नो बहुमूल्य राय बिन्ती गरेको छु ।
जय नरधूप–जय चुरोट

०००
(गोरखापत्र, २८ वैशाख २०२६)
गौतमको हास्यव्यङ्ग्य सङ्ग्रह ‘मपाईं’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
माड्साप्

माड्साप्

श्याम गोतामे
प्रुफरिडर

प्रुफरिडर

श्याम गोतामे
खाद्य सामग्री

खाद्य सामग्री

श्याम गोतामे
नेता

नेता

श्याम गोतामे
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x