साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरा पाहुनाहरू

“क्या हो ? दिनभरि कहाँ बेपत्ता ? हामी ४ पल्ट आइसक्यौं ! ३ बजेपछि पनि भेट नहुँदा हार खाएर रन्जनामा ‘पवित्र पापी’ भन्ने सेनिमा हेरेर भर्खर मात्र फर्केको ! होइन भान्सा उठिसक्यो कि कसो ?”

Nepal Telecom ad

‘जोगीको घरमा सन्न्यासी पाहुना’ भन्ने उखान छ तर यहाँ म कुन कुरो स्पष्ट गर्न चाहन्छु भने न त म कुनै जोगी हुँ, न अचेल मकहाँ डेरा-डण्डा बिसाई गजधम्म परेर निर्लिप्त भावमा हामको खाना हसुरी तृप्तिको डकार लिंदै आफन्त्याइँको उन्मुक्त प्रदर्शन गरिरहनुभएका मेरा आदरणीय अतिथि महोदय नै कुनै सन्न्यासी हुनुहुन्छ । हामी दुवै नै भोगी हौं । पाहुनाको सम्बन्धमा मेरो धारणा के छ भने अरूको घरमा पाहुना लाग्ने सुऔसर लाभ गरुन्जेल उनीहरूलाई आत्मबोध हुँदैन । त्यस बखत उनीहरू आफ्नो दृष्टिमा निराकार देखिन्छन् । उता जुन अभागीले पाहुनाको पीडा भोगिरहेको हुन्छ ऊ पाहुनाको उपस्थितिलाई साक्षात्भन्दा पनि बढी रूपले महसूस गर्दछ र स्वभावतः यस्तो हार्दिक स्थितिमा आतिथेयलाई मृत्युबोध हुनु कुनै नौलो कुरो होइन ।

मेरा एक जना नातेदार पाहुना तराईको कुनै सरकारी अड्डामा शाखा अधिकृत हुनुहुन्छ । वर्षमा ४।५ पटक उहाँले सरकारी कामको सिलसिलामा ‘काज’ मा काठमाडौं आउनुपर्दछ ‘काज’ मा आएको कर्मचारीले नियमानुसार दैनिक भत्ता पाउने कुरा त सबैलाई विदित नै छ । त्यत्रो भत्ताको रकम कुम्ल्याएर पनि एउटा ‘लज’ मा एउटा ‘बेड’ लिएर बस्ने हुती नपुगेर यस्ता कोटिका भद्रजन मेरो घरलाई पवित्र तुल्याउन सुनधारामा बसबाट ओर्लने वित्तिकै भरियालाई गुण्टा बोकाई मकहाँ हमला बोल्न आइपुग्दछन् । त्यति मात्र कहाँ र ? भरियाले गुण्टा बिसाउन नपाउँदै मेरा अतिथि महोदय आफ्नो गोजी छामछुम गर्दै मेरी श्रीमतीसित भन्दछन्, “खोइ, खोइ भाउजू ! एक मोहर पाउँ त, चानचुन पैसा नभएर टिस्टुंगमा चियापर्यन्त खान पाइएन, अब जसरी भए पनि यो भरियारूपी घाँडोलाई त पन्छाउन कर नै लाग्यो, खोड़, पाउँन ।” फनक्क फर्किएर मेरी श्रीमती गुप्ती कोठाभित्र पस्दछिन् र एउटा मोहर पाहुनाको प्राथमिक स्वागतमा नै शहीद हुन्छ ।

खान कुस्त पुग्नेहरूको घरमा पाहुना सूर्य झैं शोभायमान देखिन्छन्, तर श्रमजीवीको घरमा आइलाग्ने पाहुनालाई राहु-केतुको संज्ञा सजिलैसँग दिन सकिन्छ । त्यसमाथि पनि महीनाको अन्त्यतिर पदार्पण गर्नुहुने पाहुना महोदयको एक्कासि दर्शनलाभ हुँदा त कहिलेकाहीं त आफ्नै जगल्टा लुछुँ जस्तो भएर आउँदछ । काठमाडौंको उर्लंदो भाउ-बेसाहा, रणमुक्तेश्वर (तरकारी बजार) को प्रेरणास्पद भाउ; प्रशोधित दूधको निम्ति कुखुरा बासेदेखि उभिनुपर्ने लाम (क्यू) र मट्टीतेलको निम्ति मर्‍या बिरालो काखी च्यापे सरह मोबिलको टिन काखी च्यापी टोल-टोल भौतारिइनुपर्ने स्थिति; तथा चुरोटसम्म किन्ने पैसा गोजीमा नरहेको बखत भीमकाय शरीरवाला तराईका कुनै दैत्याकार पेटवाला पाहुना घरमा आइपुग्दा हृदय कम्पनबाट उत्पन्न हुने रोमाञ्चलाई अभिव्यक्त्याउने शब्द पाउन कठिन छ । शरीर पसीनाले निथ्रुक्क हुन्छ, नाडीको गति शून्य हुन्छ । पाहुनाको शुभागमनले शीतांग भएका मानिसहरूलाई भर्ना गर्ने अस्पताल पनि त छैन ! यस्तो अवस्थामा पुर्पुरोमा अगुल्टोले हान्नु सिवाय अरू उपाय पनि के छ ?

मैले दुई थरीका पाहुनाहरू भोगेको छु, तीमध्ये एक थरी चाहिं अडान दिएर एक दुई सातासम्म बस्दछन्, र अर्का थरी चाहिं ती हुन् जसलाई प्रचलित भाषामा तिहुन चखुवा अथवा टापटिपे पाहुना भनिन्छ । म अडान दिएर बस्ने पाहुनाहरूभन्दा टापटिपेहरूबाट बढी पिरोलिएको छु । टापटिप पाहुनाहरूमा विशेषतः उपत्यकाभित्रका मेरा तथाकथित नातेदारहरू नै बढी पर्दछन् । शहरको बीच भागमा, त्यसमाथि पनि नयाँ सडकको सेरोफेरोमा घरजम गरेर बस्ने दुर्भाग्यशाली व्यक्तिको पाहुना पीडाको वणर्न त्यस भेकका मै जस्ता हरिकंगाल पाहुना पीडित बाहेक अरू कसैले शायदै खुलस्त गरी गर्न सक्तछ ।

मेरा तथाकथित नातेदारहरू पूर्वमा बौद्ध, पश्चिममा थानकोट, उत्तरमा बूढानीलकण्ठ र दक्षिणमा गोदावरीसम्ममा सीमित छन् । उपत्यका बाहिरबाट प्रदार्पण गर्नुहुने पाहुनाहरूलाई सुबिस्ताको निम्ति उडुससित दाँज्न सकिन्छ, उहाँहरू ‘सिजन’मा आउनुहुन्छ, चट्ट टोक्नुहुन्छ र भित्ताबाट उक्लेर दलिनमा अन्तधर्यान भए झैं केही दिनपछि आफ्नो बाटो तताउनुहुन्छ । तर यी टापटिपे पाहुनाहरूको टोकाइ त शत्रुलाई पनि नपरोस् । यिनको टोकाइलाई सुविधाको निम्ति उपियाँसित दाँज्न सकिन्छ । कारण के भने एक पटक टोकेर मात्र यी चूप लाग्ने होइनन्, एउटा आउँछ चट्ट टोक्छ, अर्को आउँछ चट्ट टोक्छ र पालो पालो गरी टोक्दै बुर्लुक्क उफ्रेर बेपत्ता हुन्छ । भनाइको तात्पर्य के भने यिनको टोकाइको निम्ति मैले सधैँ तयार रहनुपर्दछ । विशेष गरेर शनिवारको दिन त यिनीहरूको टोकाइ यति हार्दिक हुन्छ कि उक्त दिन मेरा पाहुनाहरूले मलाई बारुलाको स्मरण गराउँदछन् ।

मेरा एक जना नातेदार प्रत्येक शनिवार आफ्नो हाकिमकहाँ चाकडी पुर्‍याउन बौद्धबाट पाटन जानुहुन्छ । कामचोर भएको हुँदा चाकडीमा उहाँको बढ्ता अभिरुचि छ । उहाँको विशेष बानी के छ भने चाकडी गर्न जाँदा उहाँ पत्नीसमेतलाई लिई जानुहुन्छ, हाकिमनी साहेपलाई नियास्रो लाग्ला भनेर चाकडी गरी घर फर्किदा शहीद गेटमा बस बदल्नुपर्दछ । बिचरा दम्पती शहीद गेटसम्म आइपुग्दा नपुग्दै विहानको १० बजिसक्छ । १० बजेपछि भोक लाग्नु स्वाभाविक नै हो र भोक लागेपछि खाने ठाउँ खोज्नु कुनै अपराध होइन । फलतः शहीद गेटमा बस कुरेर समय खर्चिनुसट्टा मकहाँ हमला बोल्नमा उहाँलाई बढी किफायत पर्दछ । उता म भने भान्सामा पस्केको भात गाँस हाल्न मात्र के लागेको हुन्छु, मेरा टापटिपे पाहुनाको आर्तनाद तल छिंडीबाट गुन्जिन थाल्दछ ।

अर्का थरी पाहुना ती हुन् जो मेरो घरलाई परिवार-मिलन केन्द्र बनाउँदछन् । पतिदेव सिंहदरबारमा जागीरे हुनुहुन्छ र पत्नी महोदयाको दैनिक वृत्ति नातेदारहरूकहाँ गएर गफ चुटी परिवारको खाद्य समस्या हल गर्नु हो । पतिदेव विहान अफिस पाल्नुअगावै “भरे श्यामजीकहाँ भेट्ने” प्रस्ताव पारित गरी अफिस जानुहुन्छ । उता पत्नी महोदया दिउसोको खाजा खाने समय भिड्किएला कि भन्ने त्रासले आफ्ना लाला-बाला र नोकर्नी समेत लिई बाह्र बजे मकहाँ आइसक्नुहुन्छ । खाजा खाइसक्दा नसक्दै र महिला-गोष्ठी सकिंदा नसकिंदै पतिदेवको सवारी आइपुग्दछ । आएर थ्याच्च मेरो खाटमा बसेपछि उहाँको भाषण शुरू हुन्छ, देशको स्थितिप्रति चिन्ता, आफूभन्दा माथिल्लो दर्जाको अधिकृतको आलोचना गर्दै पवित्र गालीहरू भट्टयाउन थालेपछि साँझको ६ त त्यसै पनि बज्ने भयो । साँझ ६ बजेपछि मेरो भान्सामा भात बसाल्ने तरखर हुने हुनाले मेरी पत्नी माथि भान्सामा उक्लिन्छिन् । सो देख्नेबित्तिकै मेरा पाहुना आफ्नी पत्नीलाई भन्दछन्, “ए डार्लिङ ! तिमी त पाहुना जस्तो पो गछ्र्यौ ए ! माथि भात-सात पकाउन भाउजूलाई सघाउनुपर्दैन ?” राति ८ बजे भात खाई सम्पूणर् पाहुना प्लाटून बस समात्न शहीद गेटतिर लाग्दछ घर पुगेपछि मेरो पाहुनालाई औधी मीठो निद्रा पर्‍यो भन्ने खबर भोलिपल्ट टेलिफोनबाट पाइन्छ । उता मेरो निद्रा भने पाहुनासँगै अन्तधर्यान भएको तथ्य कसलाई बताउँ ?

पाहुनाहरूको यस्तो क्रमबद्ध हमलाबाट पिरोलिएको छँदो एक दिन शनिवार र पाहुना छल्न र घरको छाक टार्ने पुनीत उद्देश्यले हामी पो आफ्ना लाला-बालासहित एक जना निकटतम नातेदारकहाँ गयौं । तर उहाँलाई उहाँको घरमा भेट्न सकिएन । निदान निराश भएर साँझ ६।३० बजेतिर घर फर्केर भान्सामा भातको कसौंडी मात्र के टेकाउने बेला भएको थियो मेरा उही दिनभरि भेट हुन नसकेका नातेदार महोदय आफ्नी पत्नीसहित भर्‍याँगदेखि नै यो गुनासो पोख्दै उक्लनुभयो, “क्या हो ? दिनभरि कहाँ बेपत्ता ? हामी ४ पल्ट आइसक्यौं ! ३ बजेपछि पनि भेट नहुँदा हार खाएर रन्जनामा ‘पवित्र पापी’ भन्ने सेनिमा हेरेर भर्खर मात्र फर्केको ! होइन भान्सा उठिसक्यो कि कसो ?”

रुनु न हाँस्नुको स्थितिमा हामी दुवै प्राणीले उक्त दम्पती र उहाँको लाला-बालाको स्वागत गर्‍यौ । “लास्ट बस राति ८ बजे पाइन्छ, जाउँ हिंड, बस खुस्किएला !” भन्दै उहाँहरूले पनि आफ्नो बाटो तताउनु- भयो ।

मेरो यो निबन्धमाथि मेरा पाहुना पाठकहरूको ध्यान जाला अथवा नजाला, त्यो त म भन्न सक्तिनँ तर म कुन कुरा ठोकुवाका साथ भन्न सक्छु भने यसले मेरा टापटिपे पाहुनामाथि कुनै असर पार्नेछैन किनभने पाहुना लाग्नु हाम्रो संस्कृति भइसकेको छ र संस्कृति सजिलैसित लोप हुन सक्ने कुरा होइन !

०००
‘कायेनवाचा’ (२०३३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
माड्साप्

माड्साप्

श्याम गोतामे
प्रुफरिडर

प्रुफरिडर

श्याम गोतामे
खाद्य सामग्री

खाद्य सामग्री

श्याम गोतामे
नेता

नेता

श्याम गोतामे
0
Would love your thoughts, please comment.x
()
x