साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यङ्ग्य लेखको बजार भाउ

गफ र टुक्का अलि कम गरी कतै कतै झुक्किएर विचारणीय विषयहरू पनि पार्न सक्नु पर्दछ । कतै कतै जोरी खोज्ने किसिमका वाक्यांशलाई ‘फिट’ गर्न सके यस्ता लेखहरू साधारणतया यस्ता पत्रिकाका निम्ति ग्राह्य हुन्छन् ।

Nepal Telecom ad

श्याम गोतामे :

हिजोआज धेरै कुराहरूमा उत्तरोत्तर प्रगति भइरहेको साहित्यिक बजार भाउमा पनि यो उपलब्धिको सुरक्षा गतिशीलताका साथ भई नै रहेछ । त्यसमाथि व्यङ्ग्य साहित्यको झन् बेसाहा नै चर्को । झन् यो साता त गाईजात्राको पूर्व-साता भएकोले खुदो पर्न गयो । गाईजात्रा विशेषाङ्कको निम्ति विचारवान् र स्तरीय लेखहरू सौभाग्यवश पत्रिकाहरूको निम्ति ग्राह्य नहुने हुँदा नवोदित जोकर-लेखकहरूले साटो फेर्ने राम्रो मौका पाए । यस्तो हरेक क्षेत्रमा आइपर्दछ । व्यवहारले उखानहरूलाई नवीकृत गरिरहन्छन् र यहीँ नै कारण हो कि ‘कहिले सासुको पालो कहिले बुहारीको’ भन्ने उखानको अस्तित्व बाँचिरहेकै छ । नियमानुसार तिनताका व्यङ्ग्य लेखकहरूको भाउ खूपै बढेको थियो । सम्पादकहरूको आर्द्र पुकार सुन्दा सुन्दा झर्को लाग्न थालिसकेको थियो- “लौ न, भैरवजी ! लेख यार नभए आफ्नो बाहनको पुच्छर नै भए पनि दिनोस्न । गोतामेजी ! तपाईंको लेखबेगर पत्रिका कसरी निकालूँ ? लौ न ढिस्काना- जी ! लेख नभए केही गफ नै छाँटेर दिनुहोस् ।” सिनेमाप्रेमीले ब्लाकको चाकरी गरेर गल्ली गल्ली पछयाएकोझैँ सम्पादकको दशा थियो र व्यङ्ग्य-लेखकहरूचाहिँ “सिकेन छैन, थर थर… लौ लौ….९-९ सुका !” भन्दै आफ्नो प्रभुत्व देखाउँदै थिए । सम्पादकको बगली रित्याउने अमूल्य औसरलाई त्यसै खेर फाल्नु बुद्धिमानो पनि त होइन, कसो ?

व्यङ्ग्य लेख नियमानुसार कम प्रकाशित हुन्छन् । यसको गर्भाधानको प्रक्रिया बडो जटिल हुन्छ । गर्भधारण गरी सफलतापूर्वक प्रसव गराउन त्यतिकै परिश्रम गर्नुपर्दछ जत्ति कि कुमारीको गर्भलाई सफलतापूर्वक ‘एवोर्सन’ गराउनमा हुन्छ । सुपुत्र जन्माएझैँ व्यङ्ग्य लेखको पहिलो गुण के हुनुपर्दछ भने यसले कोलाई आक्षेप वा प्रहार नगरोस् । शान्तिवार्ताको प्रतिवेदन परिष्कृत रूपलाई साहित्यिक व्यङ्ग्य भनिन्छ । बुझ्न गाह्रो र लेखले भन्न खोजेको भन्दा बढी तथ्यहरूको रहस्योद्घाटन (जो लेखकको दिमागले नभ्याएको हुँदा समालोचकहरूले झिक्दछन्) गर्न सकिने खालका व्यङ्ग्य लेखहरूचाहिँ स्ट्याण्डर्ड पत्रिकाको निम्ति ग्राह्य र स्तरीय मानिन्छन् ।

एउटा साहित्यिक पत्रिकाले लेखेछ- “श्याम गोतामेको कलमले प्रगति गर्दैछ । अचेल प्रकाशित हुने उसका लेखहरू तथ्य भएका हुँदा छन् ।” तर जुन लेख पढेर समालोचक महोदयले मलाई फुरुङ्ग पार्नुभयो त्यो लेख मेरो प्रथम रचना थियो सम्पादक महोदय (जो आफूलाई प्रगतिशील र यथार्थवादी ठान्नुहुन्छ) को मुटुले ढ्याङ्ग्रो बजाएको हुँदा त्यो रचना अद्यावधि प्रकाशित हुन सकेको थिएन । बल्ल बल्ल एउटा कायर सम्पादकले तिल, जौ, कुश लिएर आफ्नो सम्पादकत्वसमेतको च्याखे थापेर त्यो रचना प्रकाशित गरेको थियो । पहिलो रचनाचाहिँ स्तरीय र प्रगतिसूचक भएको रहेछ र बाँकी सबै रचनाहरू गफमात्र भएकाले मेरो कलम (बुद्धि मोटो हुँदै गएको तथ्य प्रमाणित हुन आयो ! यो माम्लो । समालोचनाको हो र समालोचना भनेको पदार्थचाहिँ यस्तै हुनुपर्दछ – स्वस्थ, दुराग्रह र पूर्वाग्रहरहित !

व्यङ्ग्य लेखको विषयवस्तु चाहिँ त्यो लेख जुन पत्रिकामा प्रकाशित गराउने हो त्यसैको सिद्धान्त अनुरूप हुनुपर्ने अवस्थामा भने बडो एकरूपता आएको छ । पत्रिकाहरू धेरै छन्, अझ मलाई त कहिलेकाहीँ कस्तो लाग्दछ भने- पत्रिका किनेर बहनेहरूभन्दा पत्रिका निकालेर सम्पादकत्वको सोख पूरा गर्ने बन्धुहरूको सङ्ख्या बढ्ता छ । तसर्थ तिनीहरूका विचार, नियम र सिद्धान्त व्यापक हुनु स्वाभाविक नै हो । कुनै पत्रिका विवादास्पद विषयलाई मात्र प्रकाशित गर्न रुचाउँदछ भने कुनैचाहि ‘र्निार्वरोध’ विषयलाई सगौरव ‘हास्यव्यङ्ग्य’ स्तम्भमा ल्याएर विसर्जित गराउन चाहन्छ । कुनै चाहिँ गफ र अल्लारे हाँसोमात्र रुचाउने हुँदा गम्भीर र तार्किक विषयवस्तुको खेस्रामात्र हेर्दैमा दफा ३० को एक आवृत्ति पाठ जप्न थाल्दछ । यस्तै छन्- कसैको गहकिलो विचार अर्कोको निम्ति फितलो हुन्छ । तर विचार भनेको त विचार हो, गहकिलो र फितलो त एउटा मापदण्ड मात्र हो ।

मैले तीन थरीका पत्रिकाहरूसँग साइनो जोरेँ । एउटाले मोटो रकम पारिश्रमिकको रूपमा दिने गरेको छ । आर्थिक नियम र रीति पुर्‍याई पारिश्रमिक दिने उक्त पत्रिकाबाट पारिश्रमिक फुस्काउन लेख लेख्नुभन्दा बढी मिहिनेत गर्नुपर्दछ । अर्को पत्रिकाले चाहिँ एउटा ‘क्राइभेन-ए’ चाख्न दिने कबोल गरेको छ । तेस्रोले चाहिँ आफ्नो सिद्धान्त र चल्ती अनुरूप (यहाँ यो कुरो भनिदिनु बढी सान्दर्भिक होला कि यो पत्रिकाचाहिँ, अचेल यसको विक्री र लोकप्रियता बढेको हुँदा प्रत्येक प्रकाशनमा १५३ कपीसम्म विक्री हुन थालेको छ !) एक बट्टा ‘आसा’ चुरोटै मात्र भए पनि लेखकबाट अनुदान लिएरमात्र रचना प्रकाशित गर्ने अठोट राख्दछ । उक्त पत्रिकाका लेखकप्रति कृतज्ञ हुनुको सट्टा लेखकलाई नै कृतकृत्य तुल्याउने गरी यस पाराले उपदेश दिन्छ – “हाम्रो पत्रिका स्ट्याण्डर्ड छ तसर्थ यसमा स्ट्याण्डर्ड लेखमात्र प्रकाशित हुन्छन् । तपाईंको रचना प्रकाशित गरी हामीले तपाईंलाई स्ट्याण्डर्ड लेखक बनाइदिएकोमा तपाईंले हाम्रो जय मनाउनुपर्दछ, खोइ ल्याउनोस् पारिश्रमिक ।” म प्रेमले विभोर भई ‘आसा’ चुरोटको एउटा प्याकेट सम्पादकज्यूलाई ‘अर्पण’ गर्दछु ।

पारिश्रमिक प्रदान गर्ने पत्रिकामा लेख दिनुपर्दा मैले धेरै मिहिनेत र बुद्धिको सदुपयोग गर्नुपर्दैन । आध्यात्मिक र शान्तिको उपयोगिता र प्रशस्ति-साहित्यको नमूना स्वरूपका आदर्श वाक्यहरू, केही गफ र गाउँले उखान-टुक्का भित्र्याई २ पाता भरेर दिन्छु । सम्पादक गद्गद हुन्छन् । रचना छिटो र हस्तक्षेपरहित रूपले प्रकाशित हुन्छ । पाठकहरूमा व्यङ्ग्य लेख पढेर वैराग्यको अभिवृद्धि हुन्छ र यसै क्रममा सङ्घर्षको उन्मूलन हुन्छ । जताततै शान्ति र समृद्धि व्याप्त हुन्छ ।

क्राइभेन-ए’ दरबन्दीको पत्रिकाका लागि दिनु पर्ने लेख लेख्न चाहिँ उपरोक्त लेख तयार गर्नुभन्दा केही बढी बुद्धि ( विवेकको आवश्यकता पर्दछ । गफ र टुक्का अलि कम गरी कतै कतै झुक्किएर विचारणीय विषयहरू पनि पार्न सक्नु पर्दछ । कतै कतै जोरी खोज्ने किसिमका वाक्यांशलाई ‘फिट’ गर्न सके यस्ता लेखहरू साधारणतया यस्ता पत्रिकाका निम्ति ग्राह्य हुन्छन् ।

सबभन्दा बढी मिहिनेत र मगज एवं बुद्धिको कुस्ती खेल्नु पर्ने चाहिँ त्यो लेख तयार पार्दा मैले गर्नुपरेको छ कसलाई प्रकाशित गराउन केही चन्दा दिनुपर्दछ । पहिला थरीका पत्रिकाबाट आउने आर्थिक लाभलाई तेस्रो खालको पत्रिकामा रचना प्रकाशित गराउँदा चन्दाको रूपमा खर्च गर्नुपर्ने हुँदा आम्दानी खर्चको सामन्जस्य हुन गई हात लाग्यो शून्य हुन आउँछ, लेखकको भाउ घट्दछ र पत्रिकाको भाउ बढ्दछ । यो ‘डिमान्ड’ र ‘सप्लाई’को माम्लो हो भनी चित्त बुझाउँदछु ।

लेनदेन जेसुकै गर्नु परेतापनि मेरा लेखहरू चाहिँ किन हो कुन्नि ‘पारिश्रमिक लिने’ पत्रिकामा नै धेरै निस्कन्छन् । लेख्न मिहिनेत पनि औधि गर्दछु । चोरचारतर्फ पनि सुदृष्टि नपुर्‍याएको भनी तपाईंले दोष लगाउन पाउनु हुने छैन । तर एउटा सावधानी भने सधैँ पालन गर्दछु र त्यो के भने लेखको स्तर पत्रिकाको स्तरझैँ नै राम्रो हुन नपाओस् । नत्र सम्पादक महोदय, ‘आसा’बाट ‘गरूड’ र ‘गरूड’बाट ‘कोसेली’ फर्माउन थाल्नेछन् । र चाहिँ ‘डिफ्लेशन’ र ‘डिफ्लेशन’को माम्लोमात्र हो ।

माम्लाहरू त धेरै छन् । तर मैले भन्न खोजेको मुख्य माम्लोचाहिँ के हो भने स्वघोषित स्तरीय पत्रिकाहरू आफ्नो स्तरलाई कायम राख्न केही विवादास्पद एवं विचारणीय (यी दुवै कुरालाई अचेल राजनीति भनेर केही बुज्रुगहरू आफ्नो बुद्धिमत्ताको प्रदर्शन गर्दछन् – भरसक राजनीतिभन्दा बाहिरको विषयवस्तु भयो भने अत्युत्तम) विषयहरू पनि पत्रिकाभित्र भित्र्याउनुपयो अन्यथा पत्रिका निविरोध भयो भने पाठक पनि ‘निर्विरोध’ हुन्छ र एक दिन यस्तो आउनेछ कि सम्पूर्ण नेपाली साहित्य ‘निर्विरोध’ भएर टुङ्गिनेछ र समालोचक, आलोचक र व्यङ्ग्यकारहरू झोली तुम्बा लिएर तपस्या गर्न जंगलतिर प्रस्थान गर्नेछन् ।

०००
‘प्रतिध्वनि’ अङ्क ५७
जदौ (२०२७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
माड्साप्

माड्साप्

श्याम गोतामे
प्रुफरिडर

प्रुफरिडर

श्याम गोतामे
खाद्य सामग्री

खाद्य सामग्री

श्याम गोतामे
नेता

नेता

श्याम गोतामे
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x