नन्दलाल आचार्यभ्यागुताको विवाह र पानीझरी
“ल ल म चाहिँ हिँडेको है । सन्तान त फैलाउनु तर पहिचानको संकट चाहिँ भोग्न नपरोस् हामीहरूले जस्तो ।” नव दम्पती भ्यागुता जोडीलाई सन्देश दिई राखेर म चाहिँ पल्लो घरे माइलाको घरमा गफ लडाउनु कुदें ।
सरमान सुब्बा ‘रसिक’ :
घरबाट यसो घुम्न बाहिर निस्किएको थिएँ । घुम्न पनि खै कता जानु। पानी परेर बल्ल अलि अलि थामिएको बेला । तरै पनि पल्लो घरे माइलाको घरमा गफ जोत्न जानु पर्यो भन्ने विचार पलाई हाल्यो । म फेरि छटपटे मान्छे । चटपटे खाएर भटभटे कुदाएको जस्तो मेरो मन छटपट छटपट कुदी रहन्छ । एउटा पुरानो- पुरानो अङकुसे छाता कुममा ल्याफ्र्याक्क झुण्डाएर दुई चार कदम के अघि बढेको मात्रै थिएँ । छेवैको झाडीबाट कुनै परिचित मान्छेको आवाज आयो । हेरें देखिनँ । सपना जस्तो पनि लाग्यो र भ्रम जस्तो पनि । फेरि दुई कदम मात्र अघि सरेको थिएँ “अंकल, अंकल म यहाँ छु” भन्दै कराएपछि बाटो छेउको सानो पानी जमेको कुवामा एकजोडी भ्यागुता भ्यागुती घिच्रोमा खादा माला पहिरिएर मतिर फर्केर अभिवादन गर्दै रहेछन् ।
गाउँमा धेरै महिनादेखि पानी नपरेको कारणले सुखौरो लागिरहेको थियो । अलि अलि उम्रिएको अन्नबाली पनि घामले सुकेर सोत्तर भएपछि बुढाहरूले सल्लाह दियो- “अब भ्यागुताको जोडी खोजेर विवाह गर्नु पर्छ । त्यसपछि हेर मात्रै न त्यसको बाउको कुकुरको मुत ओइरिएन भने हाम्रो मुखमै तुरी गर्नु तिमेरले ।” म चाहिँ अलिक अल्लारे, अन्धविश्वासमा हत्तपत्त विश्वास नगर्ने भएकोले होला एकजना गाउँले बुढाले मलाईनै इङ्गित गरेर भनेको थियो ।
बुढोहरूको मन राख्नलाई नै मैले वल्लो घर पल्ला घरको केटाहरू भेला गरेर भ्यागुता खोज्न हिँड्यौँ । निकै तल सिम्सारमा एउटा भ्यागुता फेला पर्यो । उपद्रे केटाहरूले युवा मोर्चा हो कि नारी मोर्चा हो भन्दै ओल्टाई पोल्टाई हेरेको देखेर म चाहिँ हाँस्दा हाँस्दा । एकजनाले त्यो भ्यागुता युवा मोर्चा रहेको पुष्टि गरेपछि फेरि नारी मोर्चा भ्यागुताको खोजीमा लाग्यौं । नभन्दै अलिक परतिर एउटी हुप्प फुलिएकी भ्यागुतीलाई पत्तो लगाई हाले केटाहरूले । त्यसको ब्रेस्टदेखि तिख्रासम्म छामेपछि काइला भाइले भन्यो- “लु यो चाहिँ नारी मोर्चा नै हो किन भने यसको चाक पनि ठुलो छ ।” फेरि सिम्सार खोल्सा थर्किने गरी हँसााइ भयो । घरमा ल्याएपछि बुढाहरूले बडो विधिपूर्वक भ्यागुता भ्यागुतीको विवाह गरे । खादा माला पहिराई दियौं । रोस्टेड फटेङ्ग्राको फिला, फ्राई गरेको साङ्लेको अण्डा र छिचिमिराको सुपले बनिएको परिकार खुवाएर हामीले आशिर्वाद दिईवरी विदा गरेको भ्यागुताको जोडी अचानक बाटोमा भेट्दा म दङ्ग परेछु ।
“’अंकल त गहिरो सोंचाईमा परे जस्तो छ नि ?” मलाई हेरेर मुसुमुसु हाँस्दै भ्यागुताले भन्यो । मैले उसको प्रश्नको वास्तै नगरी सोधें- “अन्त तिमेर अझै यतै छौ ?”
“हजुर अंकल, अब यतै बसाई हुन्छ होला । हजुरहरूले नै तलबाट उठाएर ल्याएपछि अब फर्किनु पनि कसरी ? न त बाटो चिन्नु न त बाटो खर्चले पुग्नु ।”
कुरा ठिकै थियो उनीहरूको । भन्ने मेसो नपाएपछि कुरालाई अर्कैतिर मोडें- “अन्त तिमेरको हनीमुन कस्तो भयो ?”
मेरो यो प्रश्न गराईले भ्यागुती शरमले रातो पिरो हुँदै मानेको पातको छेल लागेर लुकी । भ्यागुताले चाहिँ हाँस्दै भन्यो-“हनीमुन पनि के भनौ र अंकल ! तपाईंहरूले हामीलाई सिम्सारबाट उठाउँदा खेरी नै यसको पेटमा बच्चा थियो । अहिले त यत्रो यत्रो पो भयो ।” भ्यागुताले देखाएको कुवामा हेरेको त ससानो चेपागडाहरू कुवाभरी खेल्दै रहेछन् ।
“लु बधाई छ तिमेर दुईलाई ।” यति चाहिँ भनिदिएँ ।
“अनि पानी पर्दैछ होइन त ?” सोध्यो भ्यागुताले ।
“धन्यवाद पानी वर्षाई दिनु भएकोमा ।” भनें ।
“के को धन्यवाद ? अहिले त पानी पर्ने सिजननै हो । मध्य बर्खामा पनि पानी परेन भने कहिले पर्छ त ?” मैले बोल्नलाई मुख मात्र के खोलेको थिएँ फेरि उसैले भन्यो-
“आजकल पानीको मुहानहरू सबै मान्छेहरूले अतिक्रमण गरेर घरहरू बनाएपछि कहाँबाट पानीको सोर्स बाँचोस् त । वन जंगलहरू मासिएको मासिएकै छ । पानी कसरी परोस् त ।” हो हो त्यो त । मैले थपें । फेरि थपें- “अब यो कुवाबाट थुप्रै भ्यागुताहरू फैलिनेछ र पानीको दुख हुने छैन ।”
दुईटै भ्यागुता झाडीनै थर्किने गरी टर्रटर्रटर्र ट्वार्र गरेर हाँसे ।
गफ गर्दा गर्दै मुसलधारे पानी दर्किनु थालेपछि कुममा ल्याफ्र्याक्क झुण्डिएको छाता घरक्क खोलेर ओड्दै भनें- “ल ल म चाहिँ हिँडेको है । सन्तान त फैलाउनु तर पहिचानको संकट चाहिँ भोग्न नपरोस् हामीहरूले जस्तो ।” नव दम्पती भ्यागुता जोडीलाई सन्देश दिई राखेर म चाहिँ पल्लो घरे माइलाको घरमा गफ लडाउनु कुदें ।
गन्धे कुवामा भ्यागुताहरू उसरी नै कराई रहेका थिए-
टर्र टर्र ट्वार्र
टर्र टर्र ट्वार्र
टर्र टर्र ट्वार्र ।
शायद मेरै जयजयकार गरेको हुनुपर्छ ।
०००
नाम्ची, सिक्किम
Subscribe
Login
0 Comments
Oldest






































