सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

विकास

खाँट्टी कुरो महँगी पो रहेछ ! जुन सधैँ हलक्क हल्केको हल्क्यै छ । महँगीको विकासबाट त तत्तत् व्यक्तिको ढुकुटीमा श्रीवृद्धि भै मालामाल हुनुपर्ने हो तर यहाँ त उल्टो खर्च भयो ।

Nepal Telecom ad

सुमी लोहनी ;

आर्थिक वर्षको वार्षिक विकासको जानकारी प्राप्त गरेर आफ्नो ज्ञानभण्डार भरिपूर्ण पार्ने लालसाले लठ्याएर लट्ठै पार्‍यो । लौ न मित्र ! तपैँसँग दूरको दृश्य दर्शन गराउने दूरबिन छ ? छ भने प्लिज, मलाई एकै छिनलाई दिनुस् न ! ‘किन चाहियो दूरबिन ?’ भन्नुहोला, प्लिज ! प्लिज दिनुस् न ! वहाँ हाम्रो देश विकास भएर कस्तो भैसक्यो रे ! देशको त्यही विकासलाई जति हेर्दा पनि कहीँबाट देख्न सकिएन । त्यसैले अब सगरमाथाकै टुप्पोमा चढेर दूरबिनबाट हेर्नुपर्‍यो भनेर दूरबिन खोज्या क्या !

के वाहियात कुरा गर्‍या यस्तो भन्नुहोला, यो कुरा मैले भन्या हैन है ! यसो देशको हालखबर के कसो रहेछ भनेर छापामा छपक्क छापिएको खबर थपक्क छापा उठाएर पढेँ, चित्त बुझेन अनि दूरदर्शनमा दृष्टि दौडाएँ, कानका किरा तर्सिने गरी रेडियोमा कान थापेँ । सामाजिक सञ्जालको जन्जालमा अल्झिएँ …। जता हेरे, सुने पनि कुरोको चुरो त उस्तै छ, देशमा जताततै विकासै विकास भएको ! अनि त म देश विकासमा खर्च भएको रुपैयाँको अङ्क देखेर झन्डै फेन्ट भएर खुत्रुक्कै भएको भन्या ! वर्षामा आकाशबाट ओइरेको पानी भन्दा पनि बढी पैँसा पो देश विकासमा खर्च भएको रहेछ । अब हेर्नुस् त देश विकासका खातिर अरब राष्ट्रका तेल खानीमा भएको तेल भन्दा पनि बढी रुपैयाँ खर्च गरेर देशमा के, कहाँ, कति, कस्तो, कसरी विकास भएछ भनेर जान्ने जिज्ञासा जाग्नु जायजै हो नि, हैन र ? यही कुरा जान्नका लागि कोठाको झ्यालबाट चिहाएँ । छतबाट नियालेँ । सडकमा उभिएर विचारेँ । टुँडिखेलमा घुम्दै हेरेँ । तर के गर्नु जति जे गरे नि हात लाग्यो शून्यको शून्यै !

अब यसरी देखिने भएन भनेर धरहराको टुप्पीमा पुगेँ । चारैतिर हेर्नलाई दृष्टि दौडाउनु भन्दा पहिल्यै आहा ! हरररर कस्तो मीठो सुगन्धको हरक पेरिसको पर्फ्युमलाई पछार्दै स्वाट्टै ब्रम्हाण्डमै पुग्ने गरी पस्यो र आफ्नोे विकास तीब्र गतिमा भैरहेको आभास गरायो । आँखा गाडेर हेर्दा अलि पर संसद भवनमा ‘के निहुँ पाऊँ कनिका बुक्याऊँ’ भने झैँ निहुँ खोजिखोजी ‘आज मेरो पालो भोलि तेरो’ भन्दै बारम्बार बैठक अवरुद्ध पार्ने, सकेसम्म सभामा उपस्थितै नहुने, लाजसरमसँगै भत्ता पचाउन पल्केका अल्पायु पाएर पनि आफूलाई अजम्बरी ठान्ने सेता हात्तीको बथान देखियो । धरहरालाई माथ गर्ने ठूला-ठूला बिल्डिङ स्वदेशी ऋण र विदेशी लगानीमा बग्रेल्ती फस्टाएको प्रत्यक्ष देखियो । रोपाई गर्न ठिक्क पारेसरिको सडक देखियो । यस्तै अरू पनि धेरै-धेरै कुरा देखिए तर देशको विकास चैँ कता भएछ खै ? खरायोको सिङ झैँ देख्नै सकिएन बा ! चस्माको पावर कम भएर पो नदेख्या हो कि भनेर पावर बढाएर अर्को चस्मा लगाएर हेर्दा पनि अँह, विकास भएको त कतै पनि देख्दै देखिएन भन्या !

यसरी अरबौँ, खरबौँ खर्च गरेर कहाँ र कुन कुरामा केको विकास भएछ भनेर हेर्न खोज्दा सधैँ एउटा कुरामा ढ्याङ्गढ्याङ्ग लाएर ठोक्याठोक्यै भएर हैरानै पार्‍यो । सुत्दा, उठ्दा, खाँदा, बस्दा, घर, बाहिर जहाँ जहिले जे गर्दा पनि ठोक्याँ छ, ठोक्याँ छ । टाउकोदेखि पैतालासम्म अनगिन्ती यामानका टुटुल्कैटुटुल्का भैसक्यो तैपनि ठोक्किन छाड्या हैन । के रहेछ त यस्तो सर्वव्यापक कुरा भन्ठानेर टुटुल्कालाई सुम्सुम्याउँदै मुसाको फुटबल मैदान बनेको सारङ्गीजस्तो पेटमा पटुका कसेर यसो टाउको उठाएर हेरेको त मेरी बाबै नि त, झन्डै गर्धनै गर्ल्यामगुर्लुम भएको भन्या ! तै पनि त्यसको टुप्पो देख्न सकिएन । त्यसले त चौतर्फ ढाकेर आकाशलाई छोएको मात्रै हैन आकाशलाई नै प्वाल पारेर आकाशभन्दा माथि कता हो कता पुगिसकेछ । यस्तो अद्भूत के कुरा होला भन्ठान्नु भो होला हैन ? त्यो त हाम्रो देशमा रातदिन नभनी बढेकोबढ्यै गर्ने कहिल्यै घट्न नजानेको, दिनदुना रातचौगुना गरेर द्रूत गतिमा विकास भइरहेको खाँट्टी कुरो महँगी पो रहेछ ! जुन सधैँ हलक्क हल्केको हल्क्यै छ । महँगीको विकासबाट त तत्तत् व्यक्तिको ढुकुटीमा श्रीवृद्धि भै मालामाल हुनुपर्ने हो तर यहाँ त उल्टो खर्च भयो । के तपैँलाई था छ कहाँ, केमा, कति, कसरी खर्च भयो …???

जे होस्, रकेट युगमा रकेटको स्पिडमा विकास भएको महँगीले सर्वसाधारणलाई बडो मायाका साथ चारैतिरबाट ग्वाम्लाङ्ग पारेर आफ्नोे मजबुत अँगालोबाट उम्कनै नसक्ने गरी छातीमा टाँसेको छ । हलाहल विषले झैँ सबैलाई राहत र शीतलता प्रदान गरिरहेको छ । अब यसको न्यानो अँगालोबाट मुक्त हुन कसलाई गुहार्ने होला खै ? सबैको कल्याण गर्ने पशुका पतिलाई गुहारौँ भने देशका हर्ताकर्ता भनेपछि उनको पनि सातो जान्छ । के गर्नु बिचरा ! भोलेबाबा आफैँ चेतबाबा काशी भैसकेका छन् ।

अब के गर्ने होला लौ भनेर घोत्लेर बस्ने भए तपैँ चैँ ओथारो बस्नुस् र विकासको निकास कसकहाँ, कसरी, कति… भएछ भनेर सोच्नुस्, म चैँ अरबाैँ खरबौँ रुपैयाँ भन्या कति हुन्छ ? यसलाई बोक्न कति ढाकर, थुन्से चाहिएलान् ? खाता खोल्न कतिवटा बैङ्क चाहिएलान् ? थुपार्न कत्रो महल र भण्डार बनाउनुपर्ला ? खान कत्रो भुँडी चाहिएला ? भनेर यसो अनुमान गर्छु त्योभन्दा पहिले आउनुस् सँगै मिलेर गाऔं-
…के भयो ?
भण्डार रित्तियो
कसरी ?
खोसेलासरि पैंसा बाँड्नाले
किन ?
असारे विकास गर्न
खै विकास ?
बाढीले बगायो …।

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मूषक माहात्म्य

मूषक माहात्म्य

सुमी लोहनी
दसैँ आयो रे !

दसैँ आयो रे !

सुमी लोहनी
डाक्’साप

डाक्’साप

सुमी लोहनी
माछो ! माछो ! चेपागाँडो !

माछो ! माछो !...

सुमी लोहनी
बुढो मन सम्हाल्नु छ

बुढो मन सम्हाल्नु छ

अशोककुमार शिवा
आत्मा

आत्मा

पी पी काेइराला
गुरुलाई चिठ्ठी

गुरुलाई चिठ्ठी

चिरञ्जीवी दाहाल
बाह्र सत्ताइसे गफ !

बाह्र सत्ताइसे गफ !

चूडामणि रेग्मी