सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भाँतीभाँतीका कपालभाँती !

यता आफूलाई भने त्यो कपालभाँतीको उत्पाती उपचारले भाँती पुगेको चिया देख्तै पेट हुँडलिन पो थाल्यो ! खाउँ त कसरी खाउँ ! नखाउँ त के निहुँ पारेर नखाउँ ? एकाएक वाकवाकी लागेर न रुनु न हाँस्नुको अवस्था पो भइदियो ।

Nepal Telecom ad

नरेन्द्रराज पाैडेल :

हिजोआज शिष्टाचार निर्बाह गर्ने मेसोमा पनि बामदख्खिन कित्तातिरजस्तै थरीथरी समीकरण र तालमेल देखापर्न थालेका छन् । त्यसमा पनि जाडो महिनाको उदयसंगै हिमाली प्रदेशको सिरेटो र नेपाली नाँकको सुमधुर ऐक्यबद्धता रहँदैआएको पनि परापूर्व कालदेखि नै हो । यी दुबैको घरी नीतिगत र घरी कार्यगत एकता भएकै बेला बढ्दो नगर सरसफाइ पनि अर्को सहायक तत्व बनेर थपिँदा झनसारो सुनमा सुगन्ध नहुने कुरै भएन ! हिँउदमास लागेपछि जाडोले जति तुजूक देखायो, नाँकले पग्लिएर लौ खा त मोरा भन्दै उत्तिकै फजीति देखाइदिने लीला पनि असुहाउँदो रहेन ! पाखे भरिया, जागीरे शहरिया, खर्पने किसान, डाइभर खलाँसी यो ऊ केही भन्नु नपर्ने,सबैका नाँकहरू सिमसार क्षेत्र बनेर अनवरत रसाएकोरसाएई । उमेरले डाँडो काटीसकेका तर पुगिसरी आएर अथुल्लाएका ऊच्च वर्गीय सभ्य नागरिकले त कुकुरबन्धुसंगै संपन्न गर्ने बिहानी पैदलयात्रामा आआफ्ना नाँक छोपेर, निमोठेर वा गँजेटेर तरल पदार्थसंग घनिष्ठ सम्वन्ध कायम गरीरहेकै छन् ।

जतिसुकै ठूलाबडा भैखाकाले पनि विहानैदेखि रुमालको सट्टा पाँचऔलीले नाँकको पाउलागी पर्ने, टुप्पो निमोठ्ने,पुछ्ने, दुलो खोतलेर दलदलसंग हँस्सीमजाक गर्ने, नाँकेओडारका छेउभित्ता तलमाथि कोट्याउने, सुमसुम्याउनेआदि क्रियाकर्मलाई खुलेआम प्राथमिकता दिँदैआएको पनि दिनदिनै देखेकै छ यो लेखन्तेले । ‘आफ्नो गाउँ आफैं बनाउँ’ भनिन्थ्यो एकताका ! अहिले “आफ्नो नाँक आफैँ अँठ्याउँ र आफैं खोतलखातल गरौं ” भन्ने नाराकासाथ रूपान्तरण भएको छनक पाइँदै छ त्यो महिमामण्डित राष्ट्यि अभियान ! सारमा भन्नुपर्दा अरु कुरामा भर्सेलै परोस् ! नाँकसंग चल्न जिस्किन र खेलाउन रमाउने नेपालीहरूको उदात्त बानी चैं संसारमा नै उम्दाखाले कर्ममा पक्कापक्की दरिएको कुरा गतिलै घटनाले बताइरहेका छन् । अनि बाटो हिँड्दा भेट हुने मित्रहरूलाई हत्तपत्त नाँकबाट पाँच औंला छुटाउँदै त्यही हात च्याप्पै मिलाएर गरिने ‘गूड’ का अभिवादन पनि उच्च कोटिको भद्रताभित्रै पर्दै आएका छन् । अन्तको त कुरै छोडौं अलि वर्षअघि संयुक्त राष्ट्संघको महाधिवेशनमै एकजना मूर्धन्य नेपली नेताले सबकासामु हाक्काहाक्की नाँकका पोरा खोतल्ने कर्म गर्दा रिसेप्सन गर्लले हात धुन पठाएकी थिइन ।

कुरो एक कान दो कान हुँदै भाइरल भएर मैदानसम्म छरिबरि भएथ्यो । तर बहादूर नेपालीको प्रतिनिधि भएर त्यहाँ पुगेका ती नेता जी हत्तपत्त गलीहाल्ने खालका भने परेनछन् र नै उनको नाँक खोतल्ने शिष्टाचारले पनि युएनबाटै समर्थनसहित झण्डै विश्वव्यापी मान्यता पाएको ! तै त्यतिवेर भने त्यो प्रस्तावित मान्यता के तलबितल परेर हो ! होल्डमा बसेछ । पग्लिँदो नाँकलाई आफ्नै औंलाको प्रत्यक्ष संसर्गमा राखेर अनवरत चाहिँदो सहायता गर्न नसके चित्तै नबुझ्ने बानी परिदिएका नेता नायक खलनायक बग्रेल्ती भएकाले त्यो महान शक्तिदेखि हच्किएर छिमेकीले सिँगाने,लाछी,हुतीहारा भनेर सोझै घोषणा गर्न नसकेको हुनुपर्छ भन्ने विचार पनि विचरण गर्दै छ यो मथिङ्गलमा !

अलि वर्षयता आएर बाबा रामदेवले नेपालीको नाँक महिमालाई अझै चुरीफुरीसाथ धुरी चढाएका छन । भाँतीभाँतीका कपालभाँती र अनुलोम विलोमजस्ता आत्मसफाइका क्रियाकर्म गर्न लगाएर शहरी नरनारीहरूलाई त मोहनी लगाएर लट्ठै पो बनाए हो यी बाबाले ! तर कहिले भने कपालभाती नै भाँती पुर्‍याएर गर्न नजान्दा वा ठाउँठहर नमिल्दा उल्टै समस्या बनेर जिउज्यानमाथि दख्खल पार्ने तालले बल्झिँदो रहेछ भन्ने पनि गाइँगुइँ सुनिन थालेको छ ।

यो लेखन्ते बबुराका एक जना मित्र विहानै उठेर बेजोडले सास फालेर, भुँडी फुलाएर कपालभाँती गर्न थालेका थिए रे । उनको एपेन्डिस झण्डैझण्डै फुटेछ क्यार ! एक्कासि पेटमा दर्द भएर गुहार माग्न आएपछि छिमेकी दाइभाइले उपचार गराउन लगेको त अस्पतालमा डा.साब नास्ती ! कहाँ त भन्दा हडतालमा । इमर्जेन्सी कक्षका डा. साहेव भने निजी निवासमै राज भएको सूचना पाइएछ । उनको घरमै पुगेर गाडीमा लैजानुपर्ने भएछ । खोज्दै डां साहेबको घर पुगेछन विचरा विरामीका परिवार । बल्लतल्ल घरमा भेट भएका डा. साहेब त गाडी चडेर सीटमा बस्दैखेरी नौविसेबाट उँभो लाग्दा बूढो ट्कले गीयर चेञ्ज गरेझैं छ्वास्स छवास्स आवाज निकाल्दै स्वाइँस्वाइँ नाँकको खलाँती चलाउँदै र सर्रस्वार्र आबाजमा तरल वस्तुका तरङ्ग फिँजाउँदै गर्न थालेछन ।

“अफिस घर कतै प्यासेन्टले फुर्सतै न दिने, त्यसो भएर अस्पताल आउँदाजाँदा बाटामै कपालभाँती भ्याउने गरेको !” डा.साहेव भन्दै पनि थिए रे । नाँकका पोरा फुलाउँदै आरनकै खलाँतीको पारा झिकेर हप्याकहप्याक लामो सास फाल्दै रहेछन् उनी त । हुँदाहुँदै अलिवेरपछि गाडीकै बडीभित्र असारे भ्यागुता झैं बुर्लुक्क बुर्लुक्क उफ्रिँदै गडबडी गर्न पो थालेछन् । उनको तालतुल देख्ता विरामीका परिवारको भने होसै उडेर थर्कमान भएछन् । योगाभ्यास गर्नमा एक सुरले तल्लीन भएका डाक्टरको के ठेगान ! विरामीलाई बेडमा सुताएर अपरेसन गर्न लाग्दा पनि यिनलाई कपालभातीको काँचो वायुले नाके खलाँती चलाउन नछाड्ने हो कि ? अझ अपरेशन गर्दागर्दै नाँक थुनेर अनुलोम विलोम पो गर्न लाग्ने हुन कि ! त्यसो गर्दा विरामीमाथि लगाउनु पर्ने हात आफ्नै नाक थुन्नतिर अलमलियो भने ? यताको ज्यानमा चलाउनु पर्ने कैची उताको अण्डकोशमाथि चल्न पुग्यो भने ? अपरेशन गरीहाले पनि प्राणायामतिर ध्यान जाँदा बाहिर निकाल्नु पर्ने कैंची झुक्किएर पेटभित्रै फस्यो भने ? छालामा सिलाउनु पर्ने टाँका आन्द्रा छेड्दै थैलाभित्र पस्यो भने ? हातमा लगाउनु पर्ने पञ्जा गोडातिरको मोजा बन्यो भने ? शिरमाथि योग चडेर एकसुरे बनेका डा. साहेबको के ठेगान ? ‘हे दैव कस्तो भाँतीको रहेछ यो रामदेव बाबाको कपालभाँती पनि !’ भुतभुताउँदै पनि थिए विरामीका बिचरा आफन्त ! डा साबको तालतुल देखेर मथिङ्गल छड्किँदा त आफ्नै दिमागको उपचार गर्नुपर्ला जस्तो पो भएछ ती बबुराहरूलाई !

प्रतिवर्ष आउने ऋषिपूर्णिमाको दिन जनै फेर्ने र नारीमा डोरो बाँध्ने तागाधारी कर्मकाण्ड पनि सनातनी थिए आप्mनालागि । अगिल्लो दिन कपाल खौरीमाग्न चोकैमा पर्ने ठाकुर भाइको कर्तनालयमा जाँदा उनी ग्राहकको स्वागत गर्न बसेका भेटिए । पुग्नेवित्तिकै प्रसन्न अनुहारका देखिने भाइले कुर्सीमा बसालेर यो लेखन्तेको गर्धन कान र शिरमाथि छानी छानी छुरी दौडाउन थाले । यता ठाकुर भाइ पनि बरेलीका वासिन्दा भएकाले बाबा रामदेवका साख्खै भक्त अनि कट्टर अनुयायी पनि परेछन् । उनी पो के कम ! कपाल मुण्डन गर्दागर्दै लागे कपालभाँतीका थरीथरी ताल झिकेर नाँकका पोरा फुलाउन । “छुरी चलाउने वेला यो काम ठीक भएन भाइ” भनेर विरोध गरौं, या उनी उपर तातो रिस देखाउँ भनेपनि आफ्नै शिर,गर्धन,घुच्चुकजस्ता सन्निसर्पनका ठाउँ छानीछानी छुरी चलाउँदै थिए ठाकुर भाई । सहेर बसौं उनको कपालभाँतीजनित लवण वर्षाले वाटरक्याननकै तालमा आप्mना उच्च र उदात्त अङ्गअङ्गमा फोहरा चलाउने उत्पात देखायो । अनि त कपालभाँतीका अनेक भाँतीको हुँडलोमा कपाल खौरने क्रियाको समाप्तिमै समस्या देख्न थाल्यो यो बबुराले ! तैपनि सहनुको विकल्प फेला नपर्दा हिजोआज चल्दै गरेका सर्वदलीय बैठककै तालले निणर्य विहीन बेहाल लाटोबुङ्गो बनेर लाचारीमा रमाउँदै थियो यो बबुरो पनि । बल्लतल्ल मुण्डन कर्म सकेर घर फर्किँदा सिकसिको लागेर बाटैमा झण्डै पो बेहोस बनेको ? हतारमै घर छिरेर दुइ सय ग्राम सावुन सकेर नुहाएपछि मात्र तनको सिकसिको अलि शान्त भएथ्यो ।

अलि वेरपछि पुरेत बाबुले पदार्पण गरे । उनी पनि केहीदिन यता रामदेवभक्त बनेको भर्खरै चाल पाएथ्यो यो बबुराले । यता डोरो बँध्न थाले पुरेत बाबु,उता ठाकुर भाइको भन्दा कडा र शक्तिशाली पचका पनि संगसंगै छोड्न थाले नाँकबाट । ‘विहानैदेखि जनै डोरो लगाइदिँदै हिँडेकाले बसेर कपालभाँती गर्न संभव भएन । त्यसैले जता जाऊ त्यतै भ्याऊ कपालभँती पनि । यस्तैछ मेरो दिनचर्या ।’ भन्दै पनि थिए पुरेतभाइ । उनको भनाइमाथि नाइँनाँस्ती गरौं पुरेत भड्किने डर । अर्का यस्तै पुखला पुरेत कहाँ पाउने फेरि ? विरोध नगरौं त हिलाम्मे अम्ल वर्षाले बारम्बार देह सिञ्चाइ गराउँदै गरेका पुरेतको स्पृड्कलरकै वर्षा बिहोर्दैका सास्ती हुने छाँट देखियो ।

एक दिन बिहानै एक जना साथी साथमा लिएर पल्लाटोले दाइको घरमा भेटघाट गर्न गएको थियो यो गन्थने बबुरो ! त्यहाँ पनि थाहै नपाई कपालभाँतीजन्य सघन शिष्टाचारको फेला परेर चौपट् ! कहिलेदेखि त्यो घरकी गृहिणी भाउजु महोदया पनि बाबा रामदेवकी सक्कली शिष्या बनिसक्नु भएको रहेछ,पत्तै पो थिएन । हामी भलाकुसारी गरी बसेको बरण्डामै भाउजु म्याडमले टे्रभरी चिया लिएर आइपुगेपछि पो बित्यासका हुरी बतास चल्न थाले । विहानीपखको गरम गरम चायपानी देख्तै मन लोभिनु पर्ने हो, तर रमरम नसादार लोभमाथि नै कडा प्रकारको बज्रपात भइदिँदो रहेछ कहिलेकहिँ त । भाउजु त चिया लिएर कपालभाँती गर्दै पो आउनु भयो । फेरि बाबा रामदेवबाट प्रशिक्षित नरनारीले गर्ने त अभ्यास पनि ख्यालख्याल हो र ? साँच्चिकै सघन र हठी पाराको हुँदोरहेछ । सघन पनि यस्तो हो कि, अडेरी, छिना, मार्तोल, गैंतीले काम नदिने,घन नै चाहिँने पो रहेछ । चिया ल्याउँदै गरेकी भाउजुले नव्वे डिग्रीमा नाकका पोरा फुलाएर स्वार्रस्वार्र भित्री सासका पर्रा छोड्दै गरेको दृष्यले होलीको रङ छ्यापेको भान भयो । टङ्ग्राङटुङ्ग्रुङ बजेका ट्रेभित्रका कपले एकले अर्कोलाई दनक दिँदै सङ्गीत उत्पादन गरेर कत्थक नृत्यको छनक दिन थालेपछि हातमाथिको टे्र पनि थर्र थर्र काम्दै .नाँच्दो रहेछन । विचरो चियापानी त परेछ रामदेवभक्त भाउजुको फेला ! थर्रथर्र काम्दै गरेको टे्रमा थर्कमान भएका कपहरू टाङ्ग्रटुङ संगीत दिदै के थिए,कपालभाँतीको तोडले भाउजुका नाकबाट छुटेको गरम बाफले चियालाई पनि सघन उपचार प्रदान गर्दैरहेछ । मनमा दिङमिङ हो कि सिकसिको, के के जाती पो लाग्न थाल्यो हामी पाहुना भाइलाई ।

“घरको कामधन्दाबाट एक छिन फुर्सद पाउँदिन बाबु म त ! यो कपालभाँती पनि एक दिन बिराउनु हुँदैन, जिउ नै कस्तो कस्तो आलस्से हुन्छ । अनि भान्साको कामधन्दा र कपालभाँती पनि संगसंगै गर्छु । के गर्नु त बसेर आरामले कपालभाँती गर्न फुर्सद नपाएपछि !”

भाउजुको हर्कत जेजस्तो भएपनि कुरा चैं सोह्रै आना ठीक नभन्ने बर्कत हामीमा थिएन,हो हजूर भन्न करै लाग्यो । तर यता आफूलाई भने चियापान गरेर भाउजुप्रति तत्काल देखाउनुपर्ने शिष्टाचारले पिरोल्न थाल्यो । पहिलेदेखि नै विशेषाधिकार कायम गर्दै खाइपिई आएको त्यो घरको चिया आजमात्रै खानै छोडेँ भनेर कसरी टार्नुु ! खाउँ त आप्mनै आँखाअगाडि कपालभाँतीको सघन उपचारले नुनतेल मसलासमेत थपथाप भएको चियापानी कपमाथि तर लागेर तरङ्ग फिँजाउँदै नाँच्तै रहेछ । मुखैभित्र हालेर, घाँटिभित्रै छिराएर अव कसरी खाने त्यो चिया ? यताउता गर्‍यो छटपटिमात्रै बढ्ने भो । के गरौं के नगरौंको सकसपूणर् ऐया आत्थाले अनुहार पहेलिदै गएछ बरु – उपाय भन्ने त जातै फेला पर्दैन वा । हे दैवलीला ! सालघारीमा कटूस खोज्दै हिँडेजस्तो पो भयो उपाय भेट्नु त । रत्नपार्कभित्र गिठ्ठाभ्याकुर खोजेजस्तो पनि भन्न सकिन्थ्यो यसलाई । भाउजु पनि त चानचुने कहाँ हो र ? टेबिलमाथि चिया टकारेर हाम्रो नमस्ते फर्काउँदै भन्न थाल्नु भो- “पोहोर साल रामदेव वावा नेपाल आ’बेला मैले टुँडिखेलमा सिकेको यो कपालभाँती । त्यति बेलैदेखि दैनिक तीन हजार पल्ट गर्छु । यो व्यायामले मेरो जीवनमा नयाँ आयाम थपेर गर्नुसम्म फाइदा गरेको छ बाबु ! नानाभाँतीका रोगहरू जादु गरेझै यसैले जाति गरायो । हाड मकाउने, ढाड दुख्ने,मुख सुक्ने, रिँगटा लाग्ने, भोक न लाग्ने, निद्रा नआउने, तन्द्रा नजाग्ने, आन्द्रा बटारिने , सुगर बढ्ने, प्रेसर घट्ने आदिइत्यादि प्रकारका ह्रस्वदीर्घखाले सब रोगहरू चट्टै निको हुँदारहेछन् कपालभाँतीको खलाँतीले !”

भाउजु स्वाँःफ्वाँः गर्दै नाँकका पोरा फुलाएर एकोतार सास फाल्दै र यी र यस्तै गुह्य कुरा भन्दै पनि जानुभो । यता आफूलाई भने त्यो कपालभाँतीको उत्पाती उपचारले भाँती पुगेको चिया देख्तै पेट हुँडलिन पो थाल्यो ! खाउँ त कसरी खाउँ ! नखाउँ त के निहुँ पारेर नखाउँ ? एकाएक वाकवाकी लागेर न रुनु न हाँस्नुको अवस्था पो भइदियो त उतिबेरै ।

“जय होस् यी भाँतीभाँतीका कपालभाँतीभक्त भाभी जीको ! हजूर त गाउँले मनुवाबाट महान सभ्य शहरी मानव पो भइसेछ !” यसो चेपारे लवजमा भाभी जीमा कर्णप्रियप्रिय शब्दसुमन अर्पण गर्दै गयौं हामी दुबै भाइ अनि म आफूलाई भने तत्काल लघुशङ्काको बडाबाबुले च्यापेको निहुँमा पेट मुसार्दै र अइयाआत्था गर्दै बुरुक्क उठेर सुरुक्क कुलेलम ठोक्नुको विकल्प देखिन ! त्यही विधि अपनाएर भाउजुलाई छक्याउँदै घर पुग्दा पनि उहाँले संपादन गरेका कपालभाँतीका भाँतीभाँती पचका संझिएर वाकवाकीका दौरा चल्दा बाथरुम छाड्नै मन नलाग्ने भएछ ! अनि यो पनि जप्दै थियो जय जय जय होस् यी भाँती भाँतीका कपालभाँतीको !

०००

नयाँ वानेश्वर,  ९८४१६४७१८९

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
आ-आफ्नै भाँडतन्त्र

आ-आफ्नै भाँडतन्त्र

नरेन्द्रराज पौडेल
पुरेत फर्ने रोग

पुरेत फर्ने रोग

नरेन्द्रराज पौडेल
राहत रमिता !

राहत रमिता !

नरेन्द्रराज पौडेल
अथ श्री पालिकापुराणम् !

अथ श्री पालिकापुराणम् !

नरेन्द्रराज पौडेल
चड्कनचर्या

चड्कनचर्या

नरेन्द्रराज पौडेल
अर्थशास्त्र

अर्थशास्त्र

सञ्जय साह मित्र
टाउकोमा टुटिलो

टाउकोमा टुटिलो

मुक्तिनाथ शर्मा
सत्य मर्दैन

सत्य मर्दैन

अशोककुमार शिवा
समानता अभियान

समानता अभियान

सुरेशकुमार पाण्डे
जिब्रो

जिब्रो

रमेश समर्थन