सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अर्गानिक नेपालीको खोजी

नेपालमा भएका पार्टीहरुका सिद्धान्त पनि त कहाँ यताका हुन् र सबै आयातित नै छन् नि । शुद्ध अर्गानिक नेपाली कतै देख्नु भएको छ भने देखाउनलाई म चुनौती नै दिन्छु । ल भन्नुस् त अर्गानिक नेपाली कता छ ?

Nepal Telecom ad

विश्व विनोद :

बिहान विदेशमा बनेको मोबाईलले ट्याक्क उठाउँछ । हाई काढ्दै उठ्यो । पिसाब फेर्न भन्दा पहिले यु ट्युब, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालको उपासना गर्दै केही समय बिताउँछ । यस पछि भारतमा बनेको खाद्य सामग्रीको नास्ता खान्छ । अनि फेरी बिस्तारै सामाजिक सञ्जाल पल्टाउँछ । अल्याङ टल्याङ गरेर खाना पकाउँछ । वाह ! उसको भान्छामा भारतीय चामल पाक्छ, तरकारी उतैको आउँछ । नुन पनि उतैको हो, बेसार पनि उतैको हो, मसला पनि कहाँ नेपालको हो र ? सबै सबै उतैको हुन्छ ।

काम हुने नेपाली भारतमा बनेको कपडा लगाएर काममा निस्कन्छ । अफिसमा गएर चाईनामा बनेको ल्यापटप पल्टाउँछ । उसको एक स्टिच मेसिन, त्यसमा लाग्ने काँटी, प्रिन्टरमा लाग्ने कागज समेत चाईनाबाट आउँछ ।

उसको श्रीमति घरमा बसेर भारतीय लुगा धुने मेसिनमा उतैको पाउडर हालेर लुगा धुन्छिन् । जब काम सक्छिन् , उनको दैनिकी टिकटकमा बसेर लाईभ बस्नु र विभिन्न उपहार माग्नु रहन्छ । सिँगार पटारमा ईटालीदेखि चाईनाका सामान उनका अंग अंगमा विदेशी सिँगार पटारका सामानले रजाई गर्छन् ।

बेलुका परिवारका मानिस जम्मा भए पछि टिभी चल्छ । बिरलै नेपाली च्यानलले त्यो घरमा बज्ने मौका पाउँछन् । भारतीय च्यानलमा चल्ने सिरियलले त्यो घरमा मज्जाले स्थान जमाउँछन् । त्यो घरका मानिसहरु देशका राष्ट्रियता र स्वाभिमानका कुरा केही गर्छन् र भन्छन्— यो देशमा केही भएन , देशको पैसा सबै बिदेशले लग्यो ।

आमा र छोरी आफ्नो हातको नङ देखाउँदै कस्को लामो भयो भने तर्कना गर्छन् । आमा र छोरी खेतमा नपसेको र निहुरी परेर काम नगरेको दशकौं भैसकेको छ । बाबुले भैंसीको दुध नदुहेको पनि उस्तै भै सकेको छ । पुराना कुरा हरायो भन्ने यिनै पुस्तालाई निकै चासो पनि छ । डोको हरायो, नाम्लो हरायो, उन्ने र बुन्ने कला हरायो भनेर यिनै पुस्ताले लेखेर सामाजिक सञ्जालमा पोष्ट्याउँछन् । तर उनीहरुले यी कुरा सिक्नको लागि प्रयत्न गरेको पाइँदैन ।

जब बेलुकी सुत्ने बेला हुन्छ, सामाजिक सञ्जालमा रमाउँदै बुढो देखि नयाँ पुस्ता सुस्ताउँछ बिदेशी कपडाले बनेको बिस्तारमा । अझ झन् बिदेशी प्लाईउड र भारतीय वा मलेसियन काठबाट बनेको खाट उसको सेवामा हाजिर हुन्छ जब कि उसको बारीमा काठ कुहिरहेको हुन्छ ।

अनि फेरि बिहान हुन्छ, ऊ उसैगरी उठ्छ । अध्यात्ममा लाग्नेहरु भारतीय गुरुको प्रवचन पनि सुनिरहन्छन् । भारतीय भजन गुन्गुनाउँछन् । दिउँसो भारतीय संगीत गुन्गुनाउँछन् । अझ यस्तो लाग्छ, नेपालको बारेमा भन्दा ज्यादा उनीहरुलाई भारतीय सेलिब्रेटीको बारेमा अधिक जानकारी छ ।

अबको पुस्ता यस्तो भएको छ कि, मकै कतिबेला छर्ने हो, कति बेला एकोहोरो गोड्ने हो, दोहोरो गोड्ने हो पत्तै छैन । तिहारमा लगाईने मालाको सयपत्रि उमार्ने र रोप्ने समय उसलाई थाहा छैन, गाई कति महिनामा व्याउँछ, भैंसी कति महिनामा व्याउँछ, परेवाले कति दिनमा फूल कोरल्छ त्यो पनि उसलाई थाहा छैन । थाहा छ त बिदेशी ब्राण्डका मोबाईल, विदेशी ब्राण्डका सामान अनि कहिले विदेशी फिल्म रिलिज हुन्छ आदि ईत्यादी ।

उसका शरीरमा चाईनामा बनेका कपडाहरु सजिएका हुन्छन् । यति सम्म कि उसको दाँत कोटउने सिन्का चाईनाको हुन्छ, कान कोट्याउने कुरा उतैको हुन्छ । तर पनि ऊ शुद्ध नेपाली भनेर घमण्ड गर्छ । नेपालमा भएका पार्टीहरुका सिद्धान्त पनि त कहाँ यताका हुन् र सबै आयातित नै छन् नि । शुद्ध अर्गानिक नेपाली कतै देख्नु भएको छ भने देखाउनलाई म चुनौती नै दिन्छु । ल भन्नुस् त अर्गानिक नेपाली कता छ ? तारेमाम् !

०००
लमजुङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी