विश्व विनोदहर्के तैँले ठिक गरिस् यार
हर्के, तिमी विदेशिएका पटक्कै हैनौ किनकी हरेक स्वासमा तिमीले देश सम्झेका हुन्छौ, हरेक चाडबाडमा रेमिट्यान्स पठाइदिएका हुन्छौ तर हर्के हामी यहाँ देशभित्र बस्नेलाई परेका पीडा कतै गए पनि सुनाउन नपाइने रहेछ ।

विश्व विनोद :
प्रिय हर्के,
अब गाउँमा नफर्के
याद छ तँ मेरो लगौंटियार होस् । सुख दुखका कुरा एकापसमा साट्ने तँ र म नै थियौं । हातमुख जोड्ने बाध्यताले तँ नौ डाँडा पारि जाँदै गर्दा मन अमिलो र मष्तिस्क धमिलो बनाउनेको एक नम्बरमा मेरो नाम आउँथ्यो । यहीँको जमिनमा नै पौरख गर्नु पर्छ, यहि देशको मानिस हुनुमा गर्व गर्नुपर्दछ भन्ने मेरो अन्ध देश प्रेमको गजबको आकांक्षा थियो । तर रोजगारीको कारण विदेशिनु तेरो बाध्यता थियो पनि । तेरो पासपोर्टसँग मैले मेरो नागरिकता दाँजेको थिएँ कुनै बेला । त्यो बेलासम्म पासपोर्ट नबनाएकोमा मलाई यै देशको नागरिक भएकोमा गर्व लाग्थ्यो अनि मनमनै गुनगुनाउने गर्थेँ— कमसेकम गुलामी गरेर त बाँच्न परेको छैन ।
समय उस्तो रहेन जुन मैले सोचेको थिएँ । आखिर हर्के, तँ भन्दा बढी गुलामी मैले नै गर्न परेको छ । कृषि कर्ममा रमाउँछु भनेर कृषि फाराम खोल्दा हरेक कुना कुनामा हाकिम साबहरूलाई गुलामी गर्न परेको छ । यहाँको महङ्गाईसँग म चेपुवामा पर्नु परेको छ । तर हर्के तैँले त ठिक गरिछस् यार बेलैमा विदेश गएर । यति भनेर मैले मेरो निराशा पोखेको हैन तर अब आउने पुस्ताको हविगत देखेर चिन्ता मात्र लागेको हो ।
हर्के, कमसेकम तँ घर फर्कदा गाउँलेले तँलाई अर्कै सानदार नजरले पनि त हेर्ने गरेका छन् । खाडीमा पसिना झारेर भए पनि देशलाई रेमिट्यान्स भित्र्याउन योगदान दिने तैँ जस्ता लाखौं मानिस छन् भनेर मलाई गर्व गर्न मन लाग्छ । तर हर्के तैँले जति पनि त मैले यो देशमा केही गर्न सकेको छैन । म यहाँ महिना दिन काम गरेर पनि परिवार पाल्न धौ धौ छ, यौटा टिभीको सेट किन्न सकेको छैन, तर हर्के तैँले त विदेशमा काम गरेर भए पनि आफ्ना बालबच्चालाई राम्रोसँग पढाउन सकेको छस्, राम्रो घर बनाएको छस् तर हर्के मेरो घर त तँ हामी भाँडाकुटी खेल्ने बेलाको घर नै हो, उही पुरानोमा नै त छु ।
प्रिय हर्के, तँ विदेशमा बस्दा हरेक दिन देशलाई सम्झन्छस् तर हर्के मलाई आजकाल यो देश हरेक पल्ट बिर्सन मन लागेको छ । देशलाई मैले न केही गर्न सकेँ न देशले मलाई वातावरण दियो । केही गर्छु भन्दा आफ्नै जग्गा बन्धकी, धितो, अडाना राखेर दुनियाँ थरि काम गर्नु पर्छ । किसानी गर्यो, गर्यो, अर्कै देशको तरकारी सस्तोमा सरकारले भित्र्याउन दिएर हाम्रो बिक्रि हुन्न । नयाँ कुनै कुरा चाल्यो, ईजाजत लिनै अप्ठ्यारो, पुरानो कुनै कुरा गरुँ बिचौलियाका दबदवा । ए हर्के यहाँ मलाई स्वास फेर्न पनि मुस्किल भै सक्यो ।
हर्के, तिमी गएको देशमा कमसेकम नीति छ, थिती छ, तर यहाँ न नीति न थिती बर झन् बेथिती छ । तिमी खाडीमा गएर पनि आफ्ना सन्ततीलाई युरोप पठाइसकेको छौ । अबको ५ बर्षमा तिम्रा सन्तती उतैको बासिन्दा बनेर भविष्य सुरक्षित गर्नेछन् तर हर्के म नेपालमा नै बसेको कारण, गरिब भएको कारण मेरा सन्ततीले युरोपको यात्रा तय गर्न सकेका छैनन् । हर्के, तिमीले ठिकै गरेछौ, विदेशमा श्रमको नियम मानेर तिमी काम त गरेका छौ तर यहाँ म चौबिसै घण्टा जोतिएर काम गर्नु पो परेको छ ।
हर्के, तिमी विदेशिएका पटक्कै हैनौ किनकी हरेक स्वासमा तिमीले देश सम्झेका हुन्छौ, हरेक चाडबाडमा रेमिट्यान्स पठाइदिएका हुन्छौ तर हर्के हामी यहाँ देशभित्र बस्नेलाई परेका पीडा कतै गए पनि सुनाउन नपाइने रहेछ । हर्के तिमीले ठिकै गरेको छौ यार । आजलाई तारेमाम् !
०००
लमजुङ
Subscribe
Login
0 Comments
Oldest








































