हजुरआमा उवाच : हाम्रा पनि त कथा छन् ।
भात छोडी फास फुड, पानी छोडी जुस आमाको दूध विष भयो बाउको घुँडो चुस दाँज्न मन लाग्दो रैछ देख्दा यस्तो दिन जरा बिना बोट हुर्क्यो कोही भन्देउ किन ?
अनिल पौडेल ‘कीर्ते’ :
कथैकथा जीवनका लेख्ने पाना छैन
उमेर ढल्क्यो याद ताजा रहरले हैन
मनमा मैलो बस्यो हाम्रो माझी हेर्न मन भो
पैलेको र अहिलेको जुग दाँजी हेर्न मन भो
सबेर नै उठ्थ्यौँ हामी खोले, फाँडो पाक्थ्थो
कुँडेमा दूध उम्लिसक्दा बल्ल घाम लाग्थ्यो
लाठेहरू बारी जान्थे दुईहल मेलो खन्थे
खाजा खाने बेला हुँदा दिन ढल्यो भन्थे
अहिलेका त मान्छे बिग्रे सबै अल्छि तिघ्रे
जोस जाँगर छैन केही भएका सबै निख्रे
आधा दिनसम्म सुत्छन् बोलाउँदैमा दिक्क
बल्ल उठ्छन् झोक्राउँछन् आङ तान्दै ठिक्क
गोठभरि वस्तु भाउ दून्थ्यौँ, खोले दिन्थ्यौँ
लोरी गाउँदै डोको बोकी घाँस काट्न हिन्थ्यौँ
पटुकामा मिस्री टुक्रा मुख सुक्दा चुस्थ्यौँ
पसिनाका धारा बग्थे गाम्छा फेरले पुछ्थ्यौँ
अहिलेकाले यस्तो काम गर्नेलाई हेप्छन्
दूध हैन दारू पिउँछन् मुठी खैनी चेप्छन्
मर्निङ वाक यिनैलाई जिम धाउनुपर्ने
टन्न घिच्छन् ग्यास्टिक भन्छन् भाटा लाउनुपर्ने
ढिकी जाँतो थिए हाम्रा संगीतका बाजा
साँध्ने गर्थ्यौँ सिन्की हामी चाम्रे थियो खाजा
पटुका थ्यो कम्मरमा दुख्दैनथ्यो ढाड्
चौलानी थ्यो पृय सर्वत, सिन्की मिसाई ’माड्’
अहिलेकाले माड खाँदैनन् जाँड खाएर ढल्छन्
जाँतो, हातो थाहा छैन बस्दा पनि गल्छन्
भुट्या मकै फाल्छन् पर मःमः डल्ला टोक्छन्
गाँजा, भाङले सक्यो फोक्सो सास फेर्दा नि खोक्छन्
डोको बोकी बेँसी झर्थ्यौँ, भरदिन काम गर्थ्यौँ
कम्मर सम्म आउने खोला कुलो ठानी तर्थ्यौँ
बाख्रा लान्थ्यौँ चराउन, भैँसी आहाल बस्थे
इमानी थे वस्तुभाउ गोठ आफैँ पस्थे
मान्छे घर आउँदैनन् बाहिरै बस्छन् बरू
अहिलेका मान्छे भन्दा इमानी थे गोरु
तोरीको तेल चप्प घसी चट्ट कपाल कोर्थ्यौँ
घाम होस कि पानी खेतमा भरदिन डल्ला फोर्थ्यौँ
अहिलेकाले थाङ्नो किन्छन् फेसन भन्दै हिन्छन्
गँड्यौलाको रास ल्याउँछन् चाउमिन भन्दै दिन्छन्
गोबरले लिप्थ्यौँ हामी अहिले त्यसै पुस्छन्
जुत्ता चप्पल लगाई लगाई भान्छातिर घुस्छन्
लोटाउने चलन थियो गोबर डल्लो दल्दै
बेलुकाको भान्सा हुन्थ्यो घाम पनि नढल्दै
चार बीस पुग्न लागेँ घुन, बियाँ छान्छु
अरुचि नै छैन केही जे भेटेको खान्छु
अहिलेकालाई घरपाक्य हुन्न रुचि फाल्छन्
मान्छे खिच्चा, बर्गर, पिज्जा धोक्रो भरि हाल्छन्
बालकैमा चस्मा भिर्छन् कानलाई हुन्छ भारी
कट्टु पनि फाल्न लागे भुले दौरा, सारी
ढिकी कुट्थ्यौँ ढ्याक्क ढ्याक्क घ्वार्र घुम्थ्यो जाँतो
भरि पेला पिइन्थ्यो दूध जिउ हुन्थ्यो तातो
भड्डुभरी भात पाक्थ्यो दाउरा झोस्या भरमा
सिँगान पुछेजस्तो गर्ने कुकर थेन घरमा
अहिलेकाले खाने चामल मसिनो रे जिरा
तरकारीमा विष खान्छन् मगजमा किरा
चुलो, चम्को थाहा छैन कसरी बनाउने
गन्धे ग्याँस ठ्याँस्स पार्छन् घर नै गनाउने
सङ्गिनी र वालन थिए रत्यौलीमा झुम्थ्यौँ
आँगनीमा कम्मर मर्काई उठी, बसी घुम्थ्यौँ
कोदो पिसी रोटी खान्थ्यौँ, सातु थियो खाजा
हात पाउ बस्न लागे तर याद ताजा
अहिले त गीतै के हुन् चिच्याएर मर्छन्
भित्ती पुच्छर छिनेजस्तो चोकमा नाच्ने गर्छन्
न त गीत छ गीत जस्तो नाच हुँदै हैन
सन्ठी जस्तो ज्यान पिटिक्क भाँचिन बेर छैन
ठेकीभरी मही पारिन्थ्यो नौनी खाइन्थ्यो क्वाप्प
घिउ हुन्थ्यो भातसँग हातै डुब्थ्यो च्वाप्प
भरि हुन्थे गुप्ते, हर्पे भरि हुन्थ्यो गरियो
घिउसँग नुन साट्न धरान सम्म झरियो
न त चौँठो, घुर्रो अहिले न त नौनी भेट्छन्
आधाकिलो किन्छन् सुङ्छन् वर्षै धोको मेट्छन्
खोरमा बाख्रा कराउँछन् टाट्नो भयो खाली
बारी बाँझो सबै अल्छी खाली होला थाली
भात छोडी फास फुड, पानी छोडी जुस
आमाको दूध विष भयो बाउको घुँडो चुस
दाँज्न मन लाग्दो रैछ देख्दा यस्तो दिन
जरा बिना बोट हुर्क्यो कोही भन्देउ किन ?
०००
मोरङ