काठमाडौँ
न त खुसी सुत्दा उठ्दा न त हिँड्दा बस्दा मान्छे बस्छन् उँधो बगाई उँभो खोज्नु जस्ता त्यसै बित्छ सेकेण्ड, मिनेट त्यसै बित्छ घण्टा टन्टा माथि टन्टा फसाद लण्ठा माथि लण्ठा ।
अनिल पौडेल ‘किर्ते’ :
यो काठमाडौँ
खै के छ यो ठाउँमा
बरु चिसो हावा छ गाउँमा
छङछङ गर्ने खोला
बरु जाउँ उतै बोकेर झोला
तर गाउँ छोडी सबै काठमाडौँ आउने लहर
पेरिस जस्तै ठान्छन् यो काठमाडौँ शहर
बाँच्न गाह्रो यो काठमाडौँ पिएजस्तै जहर
छक्क पर्छु के लागेको यहाँ आउने रहर
गाडीको धुवाँ, भटभटेको धुवाँ
चालीस पुग्दा नपुग्दै हुन्छ स्वाँ स्वाँ
घरी पेट घोच्छ घरी नाक दुख्छ
कति थुक्नु थुक्दा थुक्दा हाब्रे मुख सुक्छ
चोक चौबाटो सबै गनाउँछन्
त्यही गनाउने ठाउँमै मान्छे घर बनाउँछन्
पावा तरकारी जागिर सरकारी
करोडौँ भ्रष्टाचार लाख जरिवाना
राजसी छ खाना, घिउ दुनामा, एकरात थुनामा
संसारकै फोहोर शहर रेडियोले भनेको
यस्तो राम्रो राजधानीको किन खोईरो खनेको ?
बाटोमा छन् खाल्टा, मान्छे उल्टा पाल्टा
बाटो हो कि फेवाताल छुट्याउनै गाह्रो
साईकलमा भर्ने हो कि ? हावा फुक्छ धारो
बिचरा बटुवा छैन पेटमा चारो
अनि चढ्छ पारो, भत्काईदिन्छु धारो
कानुन छैन काठमाडौँमा मलाई के को गाह्रो
बाटो छैन थोत्रे ठाँडो हरन मात्रै लाउने
यत्राविधि यी बटुवा कता होला धाउने
जता पनि बाटैबाटो घुम्यो सात फेरा
घर छैनन् गोकर्ने तेरा अनि मेरा
अमेरिका सोच्ने, घ्वाच्च स्टोभ घोच्ने
आतंक छ कोलाहल छ कानमा रुवा कोच्ने
भाडा बढ्छ पारो चढ्छ खा बाबै केरा
झ्यालबाट फोहोर फाल्छन् टाउका माथि खस्छ
भित्र पसी त्यही मान्छे सोफा माथि बस्छ
फोहोर पानी मुसलधारे सडकमा नै फाल्ने
ओई सरकार काँ छ ठाउँ यीनलाई मुद्धा हाल्ने ?
आधा श्वास फेर्छौ पुरा फेर्न सकिँदैन
बाह्रैमास तुवाँलो छ हेर्न सकिँदैन
कवाडी छन् गुड्ने गाडी झनै थोत्रा टडक
उभ्याउने त ठाउँ छैन काँ होस् गुड्ने सडक
शंख फुकेजस्तो हरन थोत्रे गाडी फुक्छ
कराएरै खलासीको धोद्रे घोक्रो सुक्छ
भेडाबाख्रा खाँदेजस्तै मान्छे खाँद्छ भित्र
यता फक्र्यो उता फक्र्यो जता नि बिचित्र
यै हो साथी काठमाडौँ लाजधानीको चित्र
राजधानी भो लाजधानी
नहुनेलाई सास्ती, हुनेलाई मस्ती
न त सुख आज, भोलि न त हिजो, अस्ती
महँगी र अभाव, जीन्दगीलाई दवाव
हिँड्छन् मान्छे देखाउँदै फुइयाँको रवाफ
धराने वङ्गुर, फोहोरको डङ्गुर
विषको डल्ला स्याऊ, सुन्तला, अङ्गुर
सुन्धारा, ग्वार्को, कहानी शहरको
आफ्नोपन् छैन सबै झर्को र फर्को
छिरेपछि खाल्टो भित्र सबै हराउने
बुद्धि आयो गाई हैन कुकुर चराउने
दूध दिने गाई सडकमा, कुकुर राजा छतको
पारो तात्छ दिउँकि माया टेक्ने दुवै हातको
कुकुरकै गोठालाले भरिन्छ यहाँ बाटो
राक्षसले भरियो यो देउता कुद्या माटो
गाउँबस्ती खाली पादैँ काठमाण्डु जान्छन्
तीन आनाका टुक्रे आफूलाई बिल गेट्सझैँ ठान्छन्
कोही देख्छु हात्ती जस्ता कोही मुर्गी स्याल
आफ्नो बाहेक क्वै गर्दैन अर्काको ख्याल
विष्णुमती, बागमती अनि रुद्रमती
मती भ्रष्टहरूले सब पारे मुत्रमती
पाईलै पिच्छे बेग्लाबेग्लै नाउँ भएका ठाउँ छन्
यत्राविधि मान्छे यता के गर्न पो आउँछन्
रातभरी जाग्राम बस्छन् कतिबेला सुत्छन्
पेटमा मुसा दौडाई आफू पाँचै बजे कुद्छन्
थानकोटको मुनी घुम्दै बित्छ जुनी
आधा आयु जाममा, आधा आयु काममा
साँझको समय भोले तिम्रो नाममा
न यो शहर साहुको, न त घर छ बाउको
खाईयो आलु, खुईलियो तालु खान्छ किन टाउको ??
कहिले यता गुडुडु रनिङ, कहिले उता रनिङ
भोको पेट पाइखानामा आधा घण्टा कनिङ
कैले दिसको पछि लाग्यो कैले पछि द्याट
धोती न टोपी जुत्ता फ्याट, फ्याट
इटिङ गेटिङ नथिङ ब्रो वेरिङ ल्यादर ह्याट
ठुला—ठुला घर छन् यहाँ ठुलै मान्छे बस्ने
सानालाई नाग जस्तै ठ्वाङ्ङ-ठ्वाङ्ङ डस्ने
बिहान कुद्यो पम्प तिर दिउसो ग्याँसको लाईन
भनेजति क्यास दिए नि गन्धे ग्याँस पाइन्न
दुक्कीहर्लाई मात्र ठिक छ जो छ धेरै छट्टु
नाक मुखै ढाक्ने गरी लाउनुपर्छ कट्टु
सुङ्ने शक्ति गायब नाकको कामै भएन
गाउँछ गीत नेपाली……
नेपाली गीत गाउँदैन
पेट्रोलको लाईन बस्छ गाउन भ्याउँदैन
गीत गाउन थाल्दा घरमा ग्याँस आउँदैन
टेन्सन बढ्छ सगरमाथा शिरै छोला जस्तो
यो टाउको नै आत्मघाती बिष्फोट होला जस्तो
चोक तिर भेट हुन्छ हेलो हाई डियर
तनावको पारो डाउन सुरु हुन्छ बियर
उठा गीलास चियर्स, तब बढ्छ गीयर
ह्वेन आइएम हियर ह्वाइ टु फेयर
छक्क पर्छु यहाँ आउनेको देख्दा लामो लहर
आएपछि जहर, पुरा हुन्छ रहर
जता पनि बाटै बाटो घुम्यो सात फेरा
घर छैनन् गोकर्ने तेरा अनि मेरा
अमेरिका सोच्ने, घ्वाच्च स्टोभ घोच्ने
आतंक छ, कोलाहल छ कानमा रुवा कोच्ने
न त खुसी सुत्दा उठ्दा न त हिँड्दा बस्दा
मान्छे बस्छन् उँधो बगाई उँभो खोज्नु जस्ता
त्यसै बित्छ सेकेण्ड, मिनेट त्यसै बित्छ घण्टा
टन्टा माथि टन्टा फसाद लण्ठा माथि लण्ठा
मान्छे फालाफाल कोही मालामाल
जे-जे भेट्यो खाँदी-खाँदी गोजाभित्र हाल
गोजाको मुख टाल, फड्के पाइला चाल
यही सिकाउँछ यो शहरले मलाई बाल ??
०००
मोरङ
कार्टुन : अन्नपूर्ण पाेष्ट