जाेनाथन स्वीफ्टगुलिभरको यात्रा- (१)
डुंगामा बसेका मेरा सहयात्रीहरूलाई के भयो, डुंगाबाट भागेर चट्टानमा पुगेका साथीहरूको के हाल भो, जहाजमै रहेकाहरूको अवस्था के भो, म भन्न सक्तिनँ तर निचोडमा एउटै कुरा भन्न सक्छु, तिनीहरू हराए ।

जोनाथन स्विफ्ट :
अनुवाद :: श्यामल
गुलिभरको यात्रा सन् १७२६ मा पहिलोपल्ट प्रकाशित भएको व्यङ्ग्य-आख्यान हो । आगामी सन् २०२६ मा यसले प्रकाशनको तीन शताब्दी पार गर्नेछ । त्यस समयमा लोकप्रियता र आकर्षणका दृष्टिले यस आख्यानका अति थोरै प्रतिस्पर्धी पुस्तकमध्ये ड्यानियल ड्युफोको रविन्सन क्रुसो मात्र एक थियो । यस आख्यानलाई विश्वमै सदावहार कृति मानिन्छ । यस विश्व विख्यात कृतिको यस अनुवादमा नेपाली पाठकहरूको सुविधाको लागि करीब तीन सताब्दीअघि प्रचलित बेलायती अंग्रेजी भाषाका कठिन तर हाल अप्रचलित संरचनालाई सरल बनाउन तथा पाठलाई सहज र अधिकतम बोधगम्य बनाउन वाक्यहरूलाई छोट्याइएको छ र अनुच्छेदहरू पनि पठनयोग्य हुने गरी विभाजन गरिएको छ । फित्कौली डटकमको आग्रहमा यो अनुवाद गरिएको हो, र पहिलो अध्यायलाई पनि क्रमशः तीन खण्डमा विभाजित गरिएको छ । प्रस्तुत छ पहिलो खण्ड । – श्यामल
॥ अध्याय १ ॥
लेखक आफ्नो पहिलो यात्राको वणर्नको लोभसहित आफ्नो र आफ्ना परिवारका बारेमा केही विवरण दिन्छन् । उनी समुद्री डकैतीमा पर्छन् र बाँच्नका लागि समुद्रमा पौडन्छन् । सुरक्षित तवरले लिलिपुट नाम गरेको देशको किनारमा उत्रन्छन् जहाँ उनलाई बन्दी बनाई देशको मुख्य ठाउँमा पुुर्याइन्छ ।
नटिंघमशायरमा मेरा पिताजीकोे सानोतिनो जमीन थियो । म उहाँका पाँचभाइ छोरामध्येको तेस्रो अर्थात् साहिँलो थिएँ । उहाँले मलाई चौध वर्षको उमेरमा क्याम्ब्रिजको इम्यानुअल कलेजमा पढ्न पठाउनुभो । त्यहाँ म तीन वर्ष बसेँ, आफूलाई पूरै अध्ययनमा लगाएँ तर जाबो लण्डनका प्रख्यात शल्यचिकित्सक जेम्स बेट्सको सहयोगी भएर बस्न वाध्य भएँ । म उनीसँग पूरै चार वर्ष बसेँ । त्यतिबेला मेरा पिताजीले अलि अलि रकम पठाइदिनुहुन्थ्यो जसबाट मैले अध्ययनको मेलोमेसो मिलाउनुका साथै गणितका अन्य भागको खाँचो टार्नुपर्दथ्यो । यो यात्रा गर्न चाहनेहरूका लागि उपयोगी हुने थियो र म अहिल्यै वा भविष्यमा कुनै दिन यात्रा गर्ने नै छु भन्ने निश्चय मैले गरेको थिएँ । बेट्ससँग काम गर्न छोडेपछि म पिताजी र जोन काका लगायतका अन्य नातेदारहरूकहाँ गएँ र मैले उहाँहरूबाट चालीस पाउण्ड पाएँ । यसका साथै उहाँहरूबाट लेदेनमा पढ्न बस्ताको जोहो गर्न प्रतिवर्ष थप १३ पाउण्ड पाउने वचनबद्धता पनि मलाई मिल्यो । भौतिक विज्ञानको पढाई लामो समुद्री यात्राका लागि उपयोगी हुने भएकाले त्यहाँ मैले दुई वर्ष सात महिनासम्म भौतिक विज्ञान पढेँ ।
लेदेनबाट फर्के लगत्तै मेरा असल मालिक बेट्स महोदयले मलाई क्याप्टेन अब्राहम पानेल कमाण्डरसमक्ष स्वाल्लो नामक जहाजको सर्जन बन्न सिफारिस गरिदिनु भयो । मैले उनीसँग साढे तीन वर्ष लेभाँ र अन्यत्रका गरी एक दुई वटा जलयात्रा सम्पन्न गरेँ । त्यहाँबाट फर्केपछि मेरा मालिक जोन बेट्सले मलाई लण्डनमा बस्न प्रोत्साहित गरे अनुरुप बस्ने निधो गरेँ । उहाँले कैयौं विरामीहरूलाई मैले हेर्न पाउने गरी सिफारिश गर्नुभयोे । मैले भाडामा ओल्ड जुरीस्थित एक घरको एक सानो भाग लिएँ । मेरो अवस्थालाई अनुकुल बनाउन उहाँकै सिफारिशमा न्यूगेट स्ट्रिटका होजियर (कपडा उद्यमी) श्री एडमण्ड बर्तोंकी माइली छोरी श्रीमती मेरी बर्तोंसंग बिहे गरेँ । यसबाट मैले अंशका रुपमा चारसय पाउण्ड दाइजो पनि पाएँ ।
तर मेरा असल मालिक बेट्ुस दुई वर्षपछि मरे । मेरा साथीभाइ थोरै हुनाले मेरो गोरखधन्दा चौपट हुन थाल्यो । मेरो अन्तर्चेतनाले मेरा थुप्रै भैयादहरूका गलत अभ्यासहरूको नकल गरेर फेरि फेरि दुःख बेहोर्ने अनुमति दिदैनथ्यो । त्यसैले मैले मेरी श्रीमती र अरु कतिपय चिनजानका मानिसहरूसँग परामर्श गरेर फेरि समुद्रमै हेलिने निधो गरेँ । म दुईवटा पानीजहाजको सर्जन रहिसकेको र छ वर्षको अवधिमा इष्ट र वेष्ट इण्डिजसम्मका कतिपय जलयात्रा तय गरिसकेको हुनाले यस अनुभवले मेरो भावी यात्रालाई थप मदत गथ्र्यो नै । फुर्सतको समय मैले सधैं उत्कृष्ट प्राचीन र आधुनिक लेखकहरूका धेरै वटा पुस्तक पढ्नमा लगाएँ र, किनारमा हुँदा मानिसहरूका तमीज र स्वभाव नियालेर हेरेँ, मेरो स्मरण शक्तिको ठूलो सुविधाको उपयोग गरी मैले तिनीहरूको भाषा पनि सिकेँ ।
मेरो भाग्य देखाउन नसक्ने यो अन्तिम जलयात्राबाट मलाई दिक्क लाग्न थाल्यो । अतः मैले मेरी श्रीमती र परिवारसँग घरमै बस्ने विचार गरेँ । ओल्ड-जुरीदेखि फेटर-लेनवाला काम त्यागेर नाविकहरूसँग काम पाउँला भन्ने आश गर्दागर्दै केही जोर चलेन । कुरो ठीक ठाउँमा आउला भन्ने तीन वर्षको अपेक्षापछि, एण्टिलोप नामक जहाजका मालिक कप्तान विलियम प्रिचार्डबाट एक अलि लाभदायक खालको प्रस्ताव आयो । मैले सो प्रस्ताव स्वीकार गरेँ । उनी दख्खिनी समुद्रतर्फको जलयात्राको तयारीमा लागेका थिए । हामीले मे सन् १६९९ को मे महीनाको ४ तारीखका दिन ब्रिस्टोलबाट जहाज अघि बढाउने कार्यक्रम तय गर्यौँ । र, खासमा यो जलयात्रा पहिलो खेपमै निकै लाभदायी सावित भयो ।
केही खास कारणले गर्दा ती सागरहरूमा हाम्रो रोमान्चक यात्राको सबै विवरण लेखेर पाठकलाई दुःख दिनु उचित हुन्न । तथापि वेस्ट इण्डिजसम्मको हाम्रो यात्रालाई उपद्रो हिंस्रक आँधीले वान दियमान (त्यसबेला यस नामले अस्ट्रेलियाको उत्तर पश्चिमी भाग या त तास्मानियालाई जनाएको हुनुपर्ने हो) भूमिको उत्तर पश्चिमी क्षेत्रमा हुत्याइदिएको थियो भनेर उसलाई यत्ति जानकारी दिनु पर्याप्त हुन्छ । हामीले हेर्दा हामीलाई देशान्तरमा ३० डिग्री २ मिनेट दक्षिणमा रहेको देखाएको थियो । हाम्रा जहाजी यात्राको चालक दलका साथीहरूमध्ये १२ जना त अचाक्ली धेरै श्रम र रद्दी खानाका कारण मरेका थिए । बाँकी बचेकाहरूको अवस्था पनि अति नै कमजोर थियो । नोभेम्बर ५ तारीखमा, त्यस ठाउँमा गर्मी याम शुरु हुने बेला परेछ, एकदमै तुवाँलो लागेको मौसम थियो । नाविकहरूले जहाजको डोरीको आधा भाग जत्तिको लामो एक चट्टान त पत्ता लगाए तर हावा यति बढी बलियो थियो कि हामी त्यसै चट्टानमाथि परेर तत्कालै छुट्टियौँ । समुद्रमा डुंगा हुत्याउने छ जनामध्ये म पनि थिएँ । जहाजको बाटो छोडेर र चट्टानलाई छलेर हामी अघि बढेका थियौँ । हामीले हाम्रो श्रम उही जहाजमै हुने बेला नै खर्च गरिसकेका थियौँ, अब चैं बुताले भ्याउन्जेलसम्म आफ्नो ज्यानलाई छालको दयामायामा विश्वास गरेर मेरो गणनाका हिसाबले लगभग तीन लीग (एक लीग बराबर तीन माइल अर्थात् यहाँ नौ माइल) डुंगा चलायौं । अनि लगभग आधा घण्टासम्म अचानक उत्तरतिरबाट हुत्तिँदै आएको हावाको तीब्र झोकाले डुंगा डग्मगायो । डुंगामा बसेका मेरा सहयात्रीहरूलाई के भयो, डुंगाबाट भागेर चट्टानमा पुगेका साथीहरूको के हाल भो, जहाजमै रहेकाहरूको अवस्था के भो, म भन्न सक्तिनँ तर निचोडमा एउटै कुरा भन्न सक्छु, तिनीहरू हराए ।
(क्रमश:)
०००
तस्विर : गुगलेश्वर जसले जे खाेजे पनि खुरूक्क उपलब्ध गराउँछ ।
Subscribe
Login
0 Comments
Oldest





































