सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पुलिस महात्म्य

तथापि पुलिसको महात्म्य नै वर्णन गर्न बसेपछि केही नमूनाकै रूपमा भए पनि वर्णन त गर्नै पर्ने हुन्छ । त्यसैले प्रस्तुत छ पुलिसका करामतहरूका बारेमा केही लघुकथाहरू ।

Nepal Telecom ad

मुन पौडेल :

म आज पुलिसको बारेमा लेख्न बसेको छु तर लेख्दालेख्दै कुन सट्का खोरमा जाक्किनु पर्ने हो, त्यसको भने कुनै ठेगान छैन भन्ने कुराको पनि हेक्का न राखेको होइन मैले । तर के गर्नु, पुलिसको बारेमा लेख्नुको मजै अर्को छ । साँच्चै भन्ने हो भने हाम्रा साहित्यकार मित्रहरूलाई महाकाव्य लेख्नु परोस्, काव्य लेख्नु परोस्, नियात्रा लेख्नु परोस्, जात्रा लेख्नु परोस्, निबन्ध वा प्रवन्ध मिलाउनु परोस्, गद्य कवितामा बग्नु परोस् वा छन्दमा बन्द हुनु परोस्, गजल गाउनु परोस् वा पजलमा बहुलाउनु परोस्, व्यङ्ग्यलाई बटार्नु वा हास्यमा पात्तिनु परोस्, त्यसको लागि एउटा सुन्दर, प्रभावशाली, प्रभावकारी, युगयुगान्तकारी विषय पुलिस बाहेक अरु केही हुन सक्दैन । हुन त यो विषय यति गहिरो र ज्यानमारा छ कि यसको वणर्न गर्न हजार जिब्रा भएका शेषनागले पनि सक्दैनन् होला, यसको महात्म्यको बेलिविस्तार लाउन महाभारत बयान गर्ने वेदव्यासले पनि सक्दैनन् होला, र कोही वणर्न गर्ने निस्किहाल्यो भने लम्बोदरले समेत लिपिवद्ध गर्न सक्दैनन् होला । कम्प्युटरले झन् के सक्नु !

तैपनि प्रयास त गर्नै पर्यो भनेर साह्रै सानो मुटु भएको यो पौडेल डराउँदै डराउँदै अगाडि बढेको छ । तर मित्रहरूले एउटा के कुराको हेक्का राख्नु पर्यो भने मेरो यो लेखको कुरा लेख छापिनु अघि नै पुलिसका जासुसहरूलाई थाहा हुन सक्छ र उनीहरूले मलाई सम्पादकहरूले लेखकहरूको लेख बेपत्ता पारेको जस्तो, मुलुकमा कैयौं मानिसहरू बेपत्ता पारेको जस्तो बेपत्ता पार्ने ठूलो सम्भावना रहेको छ । त्यसैले नेपाल साहित्यिक पत्रकार सङ्घ, व्यङ्ग्यकार सङ्घ, रुने-हाँस्ने सङ्घ सबैलाई अहिले नै सतर्क रहन जानकारी गराई रहेको छु । अब भन्नु होला कस्तो छेरुवा व्यङ्ग्यकार रहेछ, छेरी छेरीकन किन लेख्नु पर्यो ? लेख्नु त परिगो नि ! अफिम, कोकिन, गाँजा-भाङ खाने मान्छे नखाएर बस्न नसकेको जस्तो लेखक पनि नलेखिकन बस्न त सक्दैन नि ! अब कर्कलो, पिँडालु, मधेसतिर पाउने ओल, सिस्नुले कोक्याउँछ भन्दैमा तपाईं खान छोड्नु हुन्छ त ? जापानतिर डाक्टर अगाडि राखेर विषालु माछा खान्छन् रे भन्ने सुन्नु भएको छैन ? अब लेख्न त आँटियो आँटियो, जे त होला ।

पुलिस भनेको केलाई भन्छन् ? यसको परिभाषातिर पो जाने हो कि ! तर मेरो कुरो मान्नुहुन्छ भने परिभाषा सरिभाषातिर नजाउँ किनकि पुलिसहरूले आफ्नो परिभाषा आफैं लेखिसकेका छन् आफैँले बनाएका शब्दकोशहरूमा । यिनका शब्दकोशहरूका इनसाइक्लोपेडियाहरू नै छन् र सबै शब्दकोशहरू रगतले लेखिएका छन् । यिनले हत्याका शब्दकोश बनाएका छन्, लूटका शब्दकोशहरूको रचना गरेका छन्, बेपत्ता पार्ने कलाको शब्दकोश लेखेका छन्, अन्याय, अत्याचारका वृहत् शब्दकोशको पाण्डुलिपि तयार पारेका छन्, भ्रष्टाचारका शब्दकोशको नवीनतम् संस्करणहरू प्रकाशित गरेका छन् । यिनीहरूका आफ्नै वणर्माला छन्, आफ्नै लिपि छन्, आफ्नै अक्षर छन्, आफ्नै लेखक छन्, आफ्नै प्रेस छन्, र निस्सन्देह आफ्नै पाठकहरू छन् । यिनले पिटी पिटी पढाउँछन्, गोली हानीहानी सिकाउँछन्, झुन्ड््याई झुन्ड्याई सत्य बोल्न लगाउँछन् र भाग्न लगाएर पिठ्यूँमा गोली पड्काउँछन् । यिनको आफ्नो भाषा छ, आफ्नो बोली छ, आफ्नो ताल छ, आफ्नो कमाल छ, आफ्नो महाजाल छ । यिनलाई शिकार मन पर्नु पर्छ, परिकार मन पर्नु पर्छ, सेभरलेट कार मन पर्नु पर्छ, जसरी भए पनि खोसी छोड्छन् । पहिले अप्रत्यक्ष रूपमा माग्छन् उपहारको रूपमा । पाएनन् भने माग्छन् दस्तुरीको रूपमा । त्यसरी पनि पाएनन् भने एउटा कुनै निहुँ खोजेर यस्तो चक्रब्यूहको निर्माण गर्छन् जहाँ कुनै कृष्ण, अभिमन्यु वा द्रोणाचार्य काम लाग्दैन । मान्छे पुलिसको महाजालमा फसिहाल्छ । र अभिमन्यु झैं नै दुष्टहरूको चङ्गुलमा परेर अन्याय पूर्वक मारिन्छ ।

नेपालका पुलिसलाई सही अर्थमा चिन्नु छ भने खासै भौंतारिनु पर्दैन । तपाईंहरूले चोरलाई देख्नु भएको छ ? तपाईंहरूले डाकालाई देख्नु भएको छ ? तपाईंहरूले खुनी, हत्यारालाई देख्नुभएको छ ? तपाईंहरूले लुटेरा, हुँडारलाई देख्नुभएको छ ? तपाईंहरूले बलात्कारी, व्यभिचारी, भ्रष्टाचारी, अत्याचारीलाई देख्नुभएको छ ? देख्नुभएको छ भने भैगो नि । पुलिसलाई पनि देखिहाल्नुभो नि । पुलिस र चोर, डाँका, खुनी, हत्यारा, स्मगलरहरूमा खासै भिन्नता हुँदैन । यत्ति फरक हुन्छ कि पुलिसले वर्दी लगाएको हुन्छ, हातमा कानुनी बन्दुक वा डन्डा हुन्छ, जुत्ताको पालिस चम्किरहेको हुन्छ, काँधको फुली टल्किरहेको हुन्छ तर चोर, डाँकासँग कानुनी लाइसेन्स हुँदैन । नेपालका मान्छे आजको एक्काइसौं शताब्दीको अन्ततिर पनि पुलिसदेखि नरभक्षीसँग डराएको जस्तो डराउँछन् । जङ्गली जनावरसँग डराउँदैनन् वरु, जङ्गली जनावरहरूले नजिस्क्याई, नचलाई कुनै नोक्सानी गर्दैनन् तर पुलिस भनेपछि कुलेलम ठोक्छन् नेपाली जनता ।

नेपाली पुलिसलाई सहजरूपमा चिन्ने कसरी ? वा भनौँ कुनै मनुवामा केचाहिँ त्यस्तो विशेषता छैन भने त्यो नेपाली पुलिस होइन भनेर चिन्ने ? यदि कुनै मानिस नैतिकवान छ भने निस्सन्देह त्यो मान्छे पुलिस हुन सक्दैन । साँच्चै भन्ने हो भने नेपाली पुलिसलाई नैतिकवान भन्नु भनेको आमाचकारी गाली गर्नु सरह हुन्छ । पुलिसलाई अरु जे भनेर गाली गरे पनि उनीहरूलाई ठ्याईंले पनि छुँदैन तर नैतिकवान भनेर झुक्किएर मात्र पनि मुखबाट निस्कियो भने बिताउँछन् पुलिसले । दोस्रो कुनै मान्छे इमान्दार छ भने त्यो कुनै अफिसमा पिउन त हुन सक्छ तर पुलिस भने मरे हुन सक्दैन । इमान्दारी र पुलिसको टाढासम्म कुनै नाता हुँदैन ।

तेस्रो कुनै मान्छे गरिब छ, एक दुई करोडको सम्पत्ति छैन, घरभाडा, सेयर, व्यापार, के जाति के जातिबाट मासिक एक दुई लाख भाडा आउँदैन भने त्यो मान्छे कदापि पुलिसको हाकिम हुन सक्दैन । चौथो कुनै मान्छे जाँड खाँदैन, रक्सी खाँदैन, मुखबाट स्कचको वासना चलाउँदैन भने पनि त्यो पुलिस हुन सक्दैन । पुलिस भएपछि पाथीका पाथी रक्सी धोकेर बहुलाउने, चिच्याउने, वितण्डा मच्चाउने हुनै पर्छ । भन्नलाई पुलिस समाजमा व्यवस्था, कानुन, स्थापित गर्न बसेको निकाय मानिन्छ । हो पनि । तर पुलिस स्वयंलाई भने कुनै नियम कानुन लाग्दैन । नेपालका पुलिस नियम कानुन त परै जाओस् संविधानभन्दा पनि धेरै धेरै माथि हुन्छन् । हाम्रो देशमा पुलिसले नियमको, कानुनको, संविधानको शासन चलाएको हुँदैन, पुलिसले आफ्नै शासन चलाएको हुन्छ ।

तपाईंलाई नेपालका विभिन्न ठाउँहरूमा पाइने प्रसिद्ध चिज, खानेकुरा, लाउने कुरा, ओछ्याउने कुरा, कुनै पनि कुरा चाहिएको छ भने लुसुक्क पुलिसमा जागिर खानुस्, सजिलै भेट्टाई हाल्नुहुन्छ । तपाईंलाई मार्फाको स्याउको रक्सी चाहिएको छ, बरमझियाको पेंडा चाहिएको छ, भोजपुरको खुकुरी चाहिएको छ, भक्तपुरको जुजुधौ चाहिएको छ, बागलुङको बुट्टे लट्ठी चाहिएको छ, महेन्द्रनगरको विजयसालको काठको भाँडो चाहिएको छ, पाल्पाको करुवा चाहिएको छ, ढाकाको टोपी चाहिएको छ, जनकपुरको मिथिला पेन्टिङ चाहिएको छ, काठमाडौंको राँगाको मम चाहिएको छ, र तपाईं पुलिसको हाकिम हुनुहुन्छ भने तपाईंले यी चिजहरू सित्तैमा सहजरूपमा पाउन सक्नुहुन्छ । एउटा जिल्लाको हाकिमले अर्को जिल्लाको हाकिमलाई, सानो हाकिमले ठूलो हाकिमलाई, सानो प्यादाले ठूलो दादालाई, यस्ता उपहार, कोसेली पठाउनै पर्ने व्यवस्था पुलिस नियमावलीमै भएको हुन्छ । पुलिस भएपछि सबै चिज खान, सबै चिज लाउन, सबै चिज लुँड्याउन पाउने हक सहजै प्राप्त भएको हुन्छ । र त्यो पनि सित्तै ।

पुलिसले जे पनि गर्न पाउँछ । यहाँ सम्मकि अदालतले पनि, न्यायपालिकाले पनि पुलिसको रौं पनि बङ्ग्याउन सक्दैन । अदालतले बन्दी प्रत्यक्षीकरण अन्तरगत एउटा बन्दीलाई छाड्ने आदेश दिन्छ, पुलिसले छोडेको जस्तो गरेर कागज मिलाउँछ अनि अदालतबाट निस्किने बित्तिकै आदेशलाई लँगौटी लगाउँदै फेरि समातेर खोरमा लगेर कोचिदिन्छ । यस्तो बहादुर हुन्छ नेपालको पुलिस । अदालतले हराएका मान्छेहरूलाई अदालतसमक्ष पेश गर्न आदेश गर्छ, पुलिसले आदेशको लँगौटी लगाइदिन्छ र यदि जिउँदै छ भने उल्टो यो संसारबाट विदा गरिदिएर पानीमाथिको ओभानो भएर बसिदिन्छ । कसैले पुलिसको रौं पनि बङ्ग्याउन सक्दैन ।

नेपालका प्रत्येक नेपालीसँग नेपाली पुलिसका मीठा मीठा कथाहरू हुन्छन्, व्यथाहरू हुन्छन् । विरलै त्यस्तो कुनै नेपाली होला जोसँग नेपाली पुलिसको बारेमा सुरिला गीतहरू न होलान् । सबैसँग विचित्र विचित्र किसिमका, अपत्यारिला, अद्भूत, अप्रतिम व्यथाहरू टनाटन भरिएका होलान् । यी सबैलाई कागजमा उतार्ने कोशिस गर्ने हो भने साक्षात् गणेशजीलाई नै गुहार्नु पर्ने हुन्छ । तथापि पुलिसको महात्म्य नै वर्णन गर्न बसेपछि केही नमूनाकै रूपमा भए पनि वणर्न त गर्नै पर्ने हुन्छ । त्यसैले प्रस्तुत छ पुलिसका करामतहरूका बारेमा केही लघुकथाहरू ।

कथा नम्बर एक
एउटा पुलिसको हाकिम छ । ठूलो हाकिम । अञ्चल जिल्ला क्यै न क्यै हाँक्ने महान्, बहादुर र इमान्दार हाकिम । कुरै ठूलो, आँटै ठूलो, छाँटै ठूलो । एक दिन शिकार गर्दै गर्दै एउटा पसलमा पुग्छ, पसलमा एउटा फ्रिजर देख्छ र तत्कालै त्यो फ्रिजरको शिकार बनाउने योजना बनाउँछ । पसलेलाई आदेश दिन्छ- यो फ्रिजर मलाई नसोधी नबेच्नु । बेलुकी एउटा व्यापारी हात मल्दै, कपाल कन्याउँदै हाकिमसाबको दर्शन गर्न आउँछ र फ्रिजरको मूल्यमा आफ्नो काम मिलाउँछ । परिणामस्वरूप फ्रिजर रूपी शिकार हाकिमसाबको क्वाटरमा आउँछ । फ्रिजर आएपछि हाकिमसाबको अद्भूत मस्तिष्कभित्र एउटा अर्को योजना उदाउँछ र फलस्वरूप फ्रिजर ठूलो भो, यो भो, उ भो भनेर फेरि पहिलेकै पसलमा फर्काइन्छ बिक्री गरिदिनका लागि । यता फ्रिजर पसलमा जान्छ उता हाकिमसाब फ्रिजर किनिदिने अर्को शिकारको खोजीमा लाग्छ । शिकार चाँडै नै भेटिन्छ पनि । शिकार फ्रिजर किन्न पसलमा जान्छ, रकम बुझाउँछ र फ्रिजर हाकिमसाबकहाँ पुर्याइदिने निर्देश दिन्छ । पसलेले हाकिमसाबलाई फ्रिजर पठाइदिने आदेश माग्छ । हाकिमले फ्रिजर होइन पैसा पठाइदिने निर्देश दिन्छ । यस्तै तालले त्यो पसलबाट त्यो फ्रिजर पाँच पटक बिक्री हुन्छ, पैसा मात्र हाकिमकहाँ पुग्छ । त्यो घाघ पसले पनि हाकिमको पैसा कमाउने तरिका देखेर दङ्ग पर्छ र मनमनै घाघ भ्रष्टाचारीलाई कोटी कोटी प्रणाम गर्छ । महान् हाकिमसाब साह्रै इमान्दार छन् किनकि उनी पैसा खाँदैनन्, उपहार मात्र लिन्छन् । यस्ता इमान्दारलाई कोटी कोटी प्रणाम । एउटा साँचो कथा सुन्नुभएको छ कि छैन तपाईंहरूले ( एउटा महान् नटवरलालले एक पटक झन्डै पेरिसको एफिल टावर र महान् अमेरिकाको स्वतन्त्रताको मूर्ति बेचिदिएको ! त्यो ठगले त बेच्न भ्याएन, नेपालका यी पाँच पटकसम्म फ्रिजर बेच्नसक्ने धूर्त नेपालको पुलिसले मौका भेट्यो भने सिंहदरवार र नारायणहिटी दरबार पनि बेचिदिन्छन् । बुझनुभयो त ! नेपाली पुलिस महात्म्यको कथा एक समाप्तम् ।

कथा नम्बर दुई
नेपाल देशको एउटा भयङ्कर जिल्ला । कतै नभएका नेताहरू भएको नामी जिल्ला । यो जिल्लामा प्रथम श्रेणीको मौका पर्यो भने सचिवसम्म हुन सक्ने प्रमुख जिल्ला अधिकारी छन् । अख्तियारको अधिकारसमेत प्रयोग गर्न सक्ने महान् इमान्दार । अञ्चलको सदरमुकाम भएको कारण पुलिसको बडा हाकिम अर्थात् वरिष्ट पुलिस उपरीक्षक अर्थात् एस.एस.पी. साहेब पनि आफ्नो विशुद्ध इमान्दारी र नैतिकता चुहाउँदै विराजमान हुनुहुन्छ । अर्का जिल्लाका ठेकेदार, शान्ति सुरक्षाका पहरेदार एस.पी.साहेब त झन् सबैलाई नचाउँदै उपस्थित हुने नै भए । एस.एस.पी. र एस.पी.जस्ता नेपाल प्रहरीका असत्य, मेवा र असुरक्षाका सिद्धान्तकारहरू भएको नगरको मुख्य प्रवेशद्वारमा एउटा पुलिस चौकी छ जहाँ राती भयो कि सुनसान हुन्छ, सारा पुलिसहरू जता जता पाउँछन् उतै उतैको मुसाको दुलोभित्र छिर्छन् । तर घोर आश्चर्य ! दिउँसो भने त्यो चौकी गुलजार हुन्छ ।

पुलिसहरू ड्युटीमा तमतैयार हुन्छन् र निकै फूर्तिफार्ति देखाइरहेका हुन्छन् । तर सबैभन्दा रमाइलो भने त्यो छाप्रो कस्ले र किन बनाएको होला । त्यो छाप्रो पनि पुलिसले नै बनाएको हो र शायद चौकीको कारोबारभन्दा भिन्दै कुनै नयाँ कारोबार गर्न बनाएको हो । त्यो चौकीलाई पनि बालुवाका बोराहरूले टम्मै छोपेको हुन्छ । चौकी अगाडि बालुवाका बोराहरू, ड्रमहरू, मूढाहरू र माटोको थुप्राहरू राखेर सम्भावित आक्रमणलाई रोक्ने कोशिस गरेको पनि देखिन्छ । केही दिन अघि भनौं कि केही वर्षअघि, त्यो चौकी अगाडि ट्राफिक पुलिसको फौज नै खडा रहन्थ्यो तर आजकाल त्यहाँ एउटा मात्र ट्राफिक पुलिस हुन्छ र त्यो पनि त्यै झुपडीभित्र लुकेर बसेको हुन्छ । परबाट हेर्यो भने ट्राफिक पुलिसको टोपी मात्र देखिन्छ । अब तपाईं भन्नुहोला कि हे हजुर ! त्यो एक्लो प्राणीचाहिं त्यहाँ किन बसेको ? त्यो निरीह प्राणीलाई चाहिं डर लाग्दैन ? यसै कुरामा त पुलिसको प्रतापको रहस्य छ ।

त्यो प्राणी गाडी चेक गर्न, ट्राफिक व्यवस्थापन गर्न कहाँ बसेको हो र ! त्यो त आफ्ना योजनाकार बडा हाकिमहरूको लागि दस्तुरी असुल गर्न पो बसेको त । बस, ट्रक, सानो गाडीलाई कहिलेकाहीं यसो फोसाफासीमा शिकार बनाउनु अर्कै कुरा हो, उस्को मुख्य शिकार त बालुवा, गिट्टी बोक्ने फुच्चेफाच्चे, निरीह ट्रयाक्टरहरू हुन् । ट्रयाक्टर आउँछ, त्यहाँनेर आएपछि रुक्छ, ड्राइभर वा लेबर ओर्लिन्छ, दशको एउटा नोट चुकाउँछ अनि बल्ल ट्रयाक्टर जान पाउँछ । अब तपाईं भन्नुहोला कि यो के कुरा गरेको ? करोंडौंको भ्रष्टाचार हुने देशमा दश रुपियाँको लागि यत्रो लमिलट्ठ कुरा गर्नुको के मतलब ? काम छैन ? ए हजुर ! हजुरले खोई बुझेको ? यो त छाल गनेर खाने धन्धा हो । दिनभरिमा कमसेकम पनि दुई सय ट्रिप ट्रयाक्टरले बालुवा र गिट्टी ल्याउँछ र एउटासँग दश मात्र असुल्न पायो भने दिनको कति हुन्छ ? चार हजार । महिनाको एकलाख बीस हजार र वर्षको झन्डै पन्ध्र लाख ।

अब बुझ्नुभयो त पुलिसको हिसाब ? जिल्ला र अञ्चल सदरमुकामको मुखमा यत्रो ठूलो शान्त डकैती, पुलिस त्यो पनि नेपाली पुलिसले मात्र गर्न सक्छ । हाकाहाकी, खुल्लमखुल्ला यस्तो असुली नेपाली पुलिसले मात्र गर्न सक्छ । यसको लागि ट्रान्सपरेन्सी इन्टरनेसनल, इन्टरपोल, संयुक्त राष्ट्रसङ्घ लगायत एसियाली विकास बैंक, युरोपियन र अमेरिकन सहयोग समूहले नेपाली पुलिसलाई टाउकोदेखि खुट्टासम्म तक्मै तक्माले पुरिदिनु पर्ने हो । यिनलाई न अख्तियारले नै छुन सक्छ न सतर्कता आयोग भनाउँदोले नै घुर्न सक्छ । न जनताले नै केही लछारपाटो लाउन सक्छन् । यिनीहरू अजेय छन्, निर्भय छन् र अपराजित पनि छन् । पुलिस महात्म्यको कथा दुई समाप्तम् ।

कथा नम्बर तीन
एक जना पुलिसको इन्सपेक्टर वा सब इन्सपेक्टरको एउटा छोरो । जम्मा बि.ए. पास । यसो कुनै हावादारी खेलसेल खेल्न अलिअलि जान्ने मन्डले । बाउले चाकरीसाकरी गरेर छोरोलाई इन्सपेक्टरमा छिराई छाडे । अनि शुरु भयो छोरोको प्रगति कथा । २०४६ सालमा बहुदल आयो, उनी पनि त्यसैमा बगे । नयाँ प्रजातान्त्रिक नेताहरूलाई पनि त्यस्तै दहीच्यूरे चाहिएको थियो लुँड्याउनका लागि । इन्सपेक्टरसाबलाई पनि कमाउने भर्याङ चाहिएको थियो र्याङमा ठ्याङ मिलिगो । खुब कमाए इन्सपेक्टर साहेबले । पैसा पनि कमाए, एस.पी. पनि भए, विदेश पनि गए । यत्रो महलजस्तो घर बनाए कि महिनाको एक लाख भाडा मात्र आउन थाल्यो ।

राजधानीलगायत देशका सबै कमाउने जिल्लामा बसे, रजगज गरे, मोजमजा गरे । संसारको सबै सुख भोग गरे । शानदार व्यक्तित्व, अटाइ नअटाई पैसा । अब के चाहियो ? अचानक ठूला हाकिम बदलिए, उनलाई पश्चिमतिरको एउटा अञ्चलमा एस.एस.पी. बनाएर पठाउन खोजिएको मात्र के थियो यी वीर बहादुरको कट्टुुमा सु चुहिगो । विद्रोहीले मार्लान् भन्ने डरले यिनको हंसले ठाउँ छोड्यो । नजाऊ- नजाऊ भनेर यिनका स्वास्नी, छोराछोरी, नातेदार, इष्टमित्र साराका सारा हाहाकार गर्न थाले । के निहुँ पाउँ कनिका बुकाउँ भनेकोजस्तो यिनी पनि मेरो मूल्याङ्कन भएन, कदर भएन, मजस्तो लायक मान्छेलाई राजधानीमै राख्नु पर्थ्यो भनेर गनगनाउँदै र रुवावासी गर्दै हिंड्न थाले । खाने बेलामा खानु खाने, लुँड्याउने बेलामा लुँड्याउनु लुँड्याउने, अहिले ज्यानको खतरा भएपछि चाहिं पुच्छर लुकाउँदै भाग्ने !

एउटा सानो पुलिसको प्यादा र हवलदारचाहिं पहरामा बसेर गोली खाने, चारैतिर पुलिसै पुलिस राखेर सुरक्षा कवचमा बस्न पाउने हाकिम चाहिं लुते कुकुरजस्तो छेरबाख्री हुने- नेपाली पुलिसका हाकिमको यस्तै छ चाला । यस्ता वीर, बहादुर छन् नेपाली पुलिसका मइनका हाकिम । देशको रक्षा गर्न, जनताको सेवा गर्न कोही नेपाली पुलिसमा भर्ना भएको हुँदैन । यिनीहरू त आचीमा खसेको पैसा टिपेर करोडपति बन्न आएका हुन्छन् । चिन्नुभो त यस्ता वीर, बहादुर पुलिस फोर्सलाई- पुलिस महात्म्यको वीर, बहादुर पुलिसको वर्णन भएको कथा तीन समाप्तम् ।

यी त तीनवटा कथाहरू हुन् । यस्ता त हजारौं कथा छन् । हरेक नेपालीसँग दुई तीनवटा पुलिसका बहादुरीका कथाहरू लुकेर बसेका छन् । कसलाई सुनाउन् ? जनताको शासन भएन कसलाई भनुन् ? पुलिसकै राज्यमा पुलिसकै बहादुरीका कथाहरू, व्यथाहरू सुनाउन थाल्यो भने पुलिसले बाँकी राख्छ भन्ठान्नुभएको छ तपाईंले ? तपाईंलाई तपाईंको गच्छेअनुसार, तपाईंको टनिकअनुसार र तपाईंको प्रशंसाअनुसार पुलिसले के गर्नु पर्छ, पूजा गर्नु पर्छ कि, अभिनन्दन नै गर्नु पर्छ कि, पहलमानी खेलाउनु पर्छ कि, विशेष स्वागत सत्कार गर्नुपर्छ कि, यसो मुखहात सुमसुम्याउनु मात्र पर्छ कि, बोलाएर श्लोक इत्यादि पढेर, नानाभाँतिका मीठा मीठा पुलिस भाषाका वेदका ऋचाहरूले सुशोभित, सेचित गर्नु पर्छ कि, पुलिसले देउता अनुसारको सेवा मजाले गर्छ । धन्दै मान्नु पर्दैन ।

पुलिसको स्वाद चाख्नु छ भने एकपटक पुलिसको चक्करमा परेर हेरे हुन्छ नि । किन पुलिसको सेवा पाइँन भन्ने पीर गर्नु । तपाईंले राष्ट्रलाई कर तिर्नु भएको छ भन्ने आधारमा र पुलिस जनताको सेवक हो भन्ने भनाईको आधारमा यदि तपाईं पुलिसकहाँ जान चाहनुहुन्छ भने जानुस् तर‘ तर एउटा अर्को भनाई पनि सुनेर जानुस् । भनाई यो हो कि पुलिस आफ्नो बाउको पनि हुँदैन । अब तपाईंको चाहिं हुन्छ भने मलाई केही भन्नु छैन ।

मलाई सोध्नुहुन्छ भने नेपाली पुलिस लोभको भाँडो हो, पापको चिण्डो हो, अविश्वास र असत्यको भकारी हो, भ्रष्टाचारको चर्पी हो, रगतको व्यापारी हो, मानव अधिकारको भक्षक हो, अन्याय, अत्याचारको रक्षक हो, शासकको लाउके हो, स्मगलर, हत्यारा, चोर, डाँका, लुच्चा, लफङ्गा, फटाहाको दलाल हो, भ्रष्ट नेता तथा शासकहरूको ढाल हो तर जनताको भने कुनै पनि हालतमा सेवकचाहिं होइन, सबभन्दा ठूलो दुश्मन भने अवश्य हो । यस अर्थमा नेपाली पुलिस मान्छे त हुँदै होइन, जनावर पनि कदापि होइन किनकि जनावर पनि आफ्नो जातिको शत्रु हुँदैन ।

०००
‘रचना’ द्वैमासिक

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
छेपारोको रङ्ग

छेपारोको रङ्ग

रामप्रसाद पन्थी
विरासत

विरासत

अशोककुमार शिवा
सम्झौता

सम्झौता

श्रीप्रसाद पाेखरेल