सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तालुमा आलु

जेनतेन त्यो पीडा त सहनै पर्थ्यो, सहन्थ्यो पनि रामजी । भन्न पनि कसलाई जाओस्, श्रीमतीको विरुद्धमा । न्यायाधीशकै विरुद्धमा कहाँ उजुरी गर्न जानु ? आखिर बस्नु त त्यही घरमा थियो तर त्यो मेहन्दी लगाएपछि रामजी तीन दिनसम्म बाहिर निस्किन पाउँदैन्थ्यो ।

Nepal Telecom ad

मुन पौडेल 

मान्छेको स्वभाव नै त्यस्तै, जुन चिज छैन त्यसको बढी खोजी गर्छ । घरमा मुला फस्योल भएको बेलामा उसलाई मुला मरे मन पर्दैन, ऊ त्यतिबेला गान्टेमुलाको खोजीमा भौँतारिन्छ । मुलालाई ‘भाग मुले’ भनेर हेप्छ । त्यही चाल रामजीको भएको छ । तालुमा कालोकालो धुमुर्किएको चारकोसे झाडीजस्तो कपाल भएको बेलामा चेत भएन । कपालमाथि नानाभाँतिका प्रयोग गरेर, कपालमाथि थरीथरीका, नौलानौला अत्याचार गरेर कपाल अधिकारको अलिकति पनि ख्याल नराखी गर्नु गरेर कपालको लास नै बेपत्ता हुने अवस्थाको सिर्जना गरिसकेपछि अब यो उमेरमा कपालको खोजी गरेर भेट्टिन्छ त कपाल तालुमा ? कपालको पनि केही न केही इज्जत हुन्छ कि हुँदैन लौ भन्नुस् त ?

केटाकेटी बेलामा आमाले आफ्नै बारीको तोरी, आफ्नै अगाडि पेलाएर निकालेको शुद्ध तेल तालुमा “तेते तेते तालु, बाबु बढालु” भनेर ठोक्दै उमारेको घोडाको जग्गरजस्तो कपाललाई कहिले हत्केलाले दल्दादल्दा साईबाबाको जस्तो गुजुमुज्ज पार्‍या छ, कहिले नाना प्रकारका चमेली, अमला, नरिवल, आलसका तेल दलेर देवानन्द र जय मुखर्जीको जस्तो जुल्फी पार्‍या छ । अनि कहिले दिनदिनै नाउको सैलुन धाएर कपाल खौरिएर सेट्टी बस बन्या छ । कपाल बिचराले कति सहोस् आफूमाथिको अन्याय र अत्याचार । निमुखाले पनि धेरै दिन सहदैन हौ। एक दिन त जसरी हुन्छ चिच्याउँछ चिच्याउँछ र आफ्नै तरिकाले बदला पनि लिन्छ । रामजीको त्यही ताल भयो ।

जवानीमा कपाललाई त केहीको गन्दै गनेन । चिथोर्नु, चिमोट्नु, घोट्नु, भुत्ल्याउनु, ठड्याउनु, तेलमा कुहाएर राख्नु, केही गर्न बाँकी राखेन । अहिले अब ‘लौ मर त’ भनेर कपाल हिँड्दियो, अनि रामजी कपालको खोजी गर्न थाल्यो नेताहरूले भोटर खोजेजस्तो । चुनावको बेलामा जनताको खुब वास्ता गर्‍याजस्तो गयो । खुट्टा ढोग्यो, नाक दल्यो, धनुष्टङ्कार भएर नमस्ते गर्‍यो अनि चुनाव सक्किसकेपछि टाप कस्यो । पाँच वर्ष फेरि मुख देखाउनु छैन । अनि जनता कति दिनसम्म चुपचाप अन्याय सहेर बस्छन् ? त्यस्ता नेतालाई एक दिन घोक्रेठ्याक लाउँछन्, लाउँछन् । कपालले पनि अत्याचारी र मतलबी रामजीलाई खल्वाट बनाइदियो त के अन्याय गर्‍यो । पार्नु ठीक पर्‍यो मतलबीलाई ।

एउटा कथा सुन्नुभएको छैन होला ? होटेलमा काम गर्ने एउटा दस-बाह्र वर्षको वेटरलाई त्यहाँ दैनिक हावादारी गफ गर्न र चिया खान आउने चार जना विद्यार्थीले नानाभाँतिका काम अह्राएर, जथाभाबी जिस्काएर, उल्लीबिल्ली पारेर हैरान पार्दारहेछन् । तिनीहरूको पिरले त्यो केटो कामै छोड्ने मनस्थितिमा समेत पुगिसकेको रहेछ । कलेज छोडेर जानेजाने बेलामा ती केटाहरूलाई अपराधबोध भएछ । त्यसैले एक दिन ती केटाहरूले त्यो केटासँग माफी मागेछन् र आइन्दा उसलाई दुःख नदिने वाचा पनि गरेछन् । जाने बेलामा केटाले पनि भनेछ- “मलाई पनि एउटा कुरा भन्नु छ। अब म पनि तपाईंहरूको चियामा थुक्ने काम गर्दिनँ, अबदेखि नथुकीकनै चिया ल्याउँछु ।”

केटाहरू हेर्‍याहेर्‍यै भएछन् । विद्यार्थीले बिचरा केटालाई साह्रै नै हैरान गर्न थालेपछि रिस मार्न र बदला लिन केटाले पनि तिनीहरूको चियामा बेस्सरी धुकेर अनि ल्याउँदोरहेछ । कपाल पनि बिचरा निरीह के गरोस्, रामजीलत बदला लिन तालुबाट सफाचट नै भैदियो, जस्तालाई त्यस्तै ।

उहिले रामजीको तालुमा टन्न कपाल भएको बेलामा उसको एक जना साथीलाई देखेर उसलाई हाँस उठ्थ्यो । कारण त्यो साथीको उमेरमै कपालते साथ छोडिसकेको थियो तर बाँकी भएको दुईचार वटा रौँलाई पनि ऊ मनोयोगले कोर्न छोड्दैनथ्यो । त्यो देखेर रामजी मस्तले हाँस्थ्यो । अहिले आफ्नो त्यही दशा भएको थियो । तालुमा कपाल छैन, उसलाई भने कोस्कोर्स लागिरहन्थ्यो । आफ्नो दशा, दुर्दशा जे थियो थियो, त्यसमाथि श्रीमतीले झन् हैरान पारेकी थिइन् । आफ्नो टाउकोमा कपाल छैन, उनी चाहिँ दस-बीस दिनमै “कपाल काट्ने होइन ? कस्तो जिङ्ग्रिङ्ग देखिएको भनेर किचकिच गर्न थाल्थिन् । उनको कपाल त्यो उमेरमा पनि कम्मरकम्मरसम्म थियो, अलिअलि फुले पनि । त्यसैले सायद उनी रामजीलाई पनि स्मार्ट देखाउन कपाल काट्न लघारिरहन्थिन् । रामजी भन्थ्यो “ए बाबा ठाकुरे, कपाल भए न काट्नु । नाउलाई पनि कता छ कपाल भनी खोजीखोजी काट्नुपर्छ ।”

उनी किन मान्थिन्, घोक्रेठ्याक लाएर पठाई छोडथिन् । रामजीलाई भने नाउको पसलमा जान पनि लाज लाग्थ्यो । नाउले पक्कै मनमनै भन्थ्यो होला- ‘कपालसपाल छैन, केके न राम्रो र स्मार्ट हुँला भनेर कपाल काट्न आएको हेर न, त्यो पनि पन्ध्र दिनमा ।’

“आफ्नो कपालको नाममा पछाडिपट्टि दुई-चार वटा काला सेता रौँ, कञ्चटमा एक-दुई वटा मात्र । बाँकी टाउको रहरलाग्दो खालको चिल्लो, अहिले बन्दै गरेको कोटेश्वर-सात दोबाटोको सडकजस्तो । त्यति दुई-चार वटा रौँ काटेको पनि सय रुपियाँ ! ठिटाहरूको जग्गर काटेको पनि सय रुपियाँ। यो अन्याय हो कि होइन भन्नोस् त ? आफ्नो कपाल दस मिनेटमा काटिदिन्छ, त्यसको पनि सय र केटाहरूको एक घण्टा लगाएर काटेको पनि सय ।” रामजी भित्रभित्रै पाक्थ्यो । आफू भयङ्कर ठगीमा परेको भान हुन्थ्यो रामजीलाई । तरकारी खाने पैसा सित्तैमा नाउले खायो भन्ठान्थ्यो ऊ ।

यस्तो अन्याय सहन भएन भनेर एक दिन जिल्ला कार्यालयमा उजुरी गर्न जान तम्सिएको त झण्डै स्वास्नी, छोराछोरीले मारेका थिए । उजुरी गर्न गयो भने उनीहरूको बेइज्जती हुन्छ अरे । यै इज्जत र बेइज्जतको चक्करमा त अन्याय बढ्दै गएको हो । रामजीले उजुरी पनि गर्न जान पाएन । गरेको भए धेरैलाई फाइदा हुन्थ्यो होला । थोरै कपाल, थोरै पैसा । नाङ्गो राजाले लुगै नलाए तापनि भयङ्कर पोशाक लाएको अभिनय गरेकोजस्तो आफू खल्वाट भइसक्दा पनि राजेश हमालको जस्तो कपाल छ भनेर अभिनय गर्नु त छँदै थियो, एउटा अर्को ‘कहीँ नभएको जात्रा हाँडीगाउँको’ जस्तो चर्तिकला पनि गर्नु परिरहेको थियो रामजीलाई । एक त कपाल छैन, तैपनि पन्ध्रपन्ध्र दिनमा गएर काटेको जस्तो गर्नु त छँदै थियो ।

त्यतिले नपुगेर अब त्यो दुई-चार वटा रौंलाई पनि रंगाउनुपर्ने आपत् आइलागेको थियो । टाउकोमा भएको त्यो फाट्टफुट्ट रौंलाई कालो लाउने पनि होइन, मेहन्दीले रड्नु परिरहेको थियो । कालोले बेफाइदा गर्छ अरे । श्रीमतीजीले आफ्नो झाँक्रोमा मेहन्दी दल्दा रामजीको तालुमा पनि दल्दिन्थिन् । उनी गर्मी महिनामा पनि चिसो लागेर हैरान हुन्थे । जाडोमा त के भन्नु, सजाय नै दिएको जस्तो हुन्थ्यो । टाउको त खुत्रुक्कै झर्लाजस्तो हुन्थ्यो । श्रीमतीलाई त के थियो, बडेमाँको बाक्लो झाँक्रोले चिसो रोकिहाल्थ्यो । रामजीले चाहिँ बाउको बिहे देख्थ्यो ।

जेनतेन त्यो पीडा त सहनै पर्थ्यो, सहन्थ्यो पनि रामजी । भन्न पनि कसलाई जाओस्, श्रीमतीको विरुद्धमा । न्यायाधीशकै विरुद्धमा कहाँ उजुरी गर्न जानु ? आखिर बस्नु त त्यही घरमा थियो तर त्यो मेहन्दी लगाएपछि रामजी तीन दिनसम्म बाहिर निस्किन पाउँदैन्थ्यो । निस्कोस् पनि कसरी बाँदरको केजातिजस्तो रातो तालु लिएर । त्यो मेहन्दी बिचरोले पनि के गरोस् । रौँ भएन त्यसमा लागोस् । ऊ मस्तले चिप्लो तालुमा मज्जाले टल्किदिन्थ्यो । त्यै मेहन्दी लाउन थालेदेखि रामजीलाई बाह्रै महिना रुघा लाग्या छ, लाग्या छ । नाक जहिले पनि रसाइरहने । के गरोस् बिचरो रामजी । रातो तालु लिएर मकहाँ आएर पीडा सुनाइरहन्थ्यो तर म केही सहयोग गर्न सक्दिनथेँ । कारण आफ्नो पनि त्यस्तै पिरलो थियो । कसलाई सुनाउनु आफ्नो पिरलो ?

०००
मधुपर्क / २०७५ असोज
‘भुसुक्कै’ (२०८०)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
छेपारोको रङ्ग

छेपारोको रङ्ग

रामप्रसाद पन्थी
विरासत

विरासत

अशोककुमार शिवा
सम्झौता

सम्झौता

श्रीप्रसाद पाेखरेल