मुन पौडेलबूढाहरूका चर्तिकला
मेरा यी बूढाहरूका चर्तिकला वणर्न पढे भने बूढा समुदाय पक्कै पनि जङ्गिने छ । सम्भवतः उनीहरूले मसँग लडाइँ गर्न र मेरा वणर्नलाई जथाभावी ठहर्याउन बुद्धिजीवी दबाव समूहहरू जस्तो बूढा दबाव समूह खोल्न बेर छैन ।

मुन पौडेल :
आजकालका पात्तेका बूढाहरू त ओइलाइसकेका, चाउरिसकेका, लुत्रे कान लाइसकेका, आर्यघाटतिर मुख गरिसकेका डेट एक्स्पायर्ड अङ्ग-प्रत्यङ्गहरूलाई स्पर्शसुखले डुबुल्की लगाउनाका लागि तरुनीहरूले भीडमा आँखा चिम्लेर छिरिदिन्छन्, म जस्तो तरुनो-बरुनोको के कुरा । हाम्रो त यो मौलिक हक नै भैहाल्यो । ठिटाहरूको संविधानको पहिलो परिच्छेदको पहिलो धारामा नै यस किसिमको अधिकारको स्पष्ट वणर्न गरिएको हुन्छ । तर यी ठिटा छँदा गर्नु उपद्रो गरिसकेर अहिले यो बुढ्यौलीमा पनि मीनाक्षी र श्रीदेवीलाई पत्र लेखेर ठिटा अधिकारको हनन गर्ने भ्याउहरूसँग त आजित नै भैसक्यौँ हामी ठिटामिटाहरू । यिनका सुख पनि विचित्र-विचित्रका छन् । यी शरीरले बूढा तर मनले कटमिरा पितृ हुने बेलामा पुग्न ऑटेका आत्माहरूले ठिटाहरूको अधिकारमा अतिक्रमण गरिरहेका छन् । ठिटा त ठिटा भैहाले, ठिटाले ठिटीलाई नहेरे, ठिटीहरू वरिपरि नझुम्मे, ठिटीहरूले चारैतिर न रिङ ठिटीहरू त्यसै ओइलाउदैनन् । तर यी अधबैँसे र बूढाहरू आफ्नो इनिङ खेलेर क्लिन बोल्ड भैसकेर पनि फेरि हाफ प्यान्ट र भेस्ट लाएर चोकटे गाला, लुत्रेका छाला र फुक्लेका दाँत लिएर तरुनीहरूको गन्ध सुँघ्दै हिँड्न थालेका देखेर सम्पूर्ण ठिटा समुदाय आक्रान्त छन् ।
यिनका शिथिल भैसकेका अङ्ग प्रत्यङ्गमा अझै पनि भङ्ग खाएको जस्तो बेला-बेलामा तरङ्गहरू उठ्छन् र यिनका यी तरङ्गहरू लुकेर, झुक्याएर, चोरेर कुमारीहरूले दर्शन नगरी साम्य हुँदैन । कस्तो बेला आएको यो । घरमा बाह्र छोरा र तेह्र नातिको ताँती भएका यी भाँति-भाँतिका अधबैँसे र बूढाहरू घरमा कम्मर समातेर ठस्ठस् गरेर बसिरहेकी बूढी बज्यैलाई ‘म एक छिन मन्दिरतिर घुमेर आउँछु’ भनेर झुक्याएर भीडभाँडतिर नयन-सुख प्राप्त गर्न हुत्तिन्छन् । यिनीहरू एकान्ततिर गएर पप गीत गाउँछन्, कुनाकाप्चाको निहुरेर छिर्नुपर्ने पसलमा गएर चप घिच्छन् र टप भएर हिँड्छन् । यी जवानीका सोडा वाटरले भरिएका बूढाहरू निकै चिटिक्क भएर हिँड्छन् । सके कान्छी औँलामा नेलपालिस पनि लाएका हुन्छन्, चिटिक्क परेको भगवान्को परसाद लाएको जस्तो टीका पनि लाइटोपलेका हुन्छन् । कपाल त कुरै छैन, कालो हुन्छ हुन्छ । सके मुखमा पनि क्रिम सिम दलेका हुन्छन् । घरमा आफ्नी झ्याउरी बूढी भने रोएर र आत्थु गरेर घरी कम्मर घरी घुँडा सुमसुम्याएर बर्बराइरहेकी हुन्छिन् तर यी घुमन्ते सुकुल बूढा र (सुकुलगुण्डा अलि नभनूँ कि !) भने कतातिर गएर कुनै कान्छीसँग चिया पसलमा बात मारिहेका होलान् वा कतै भीडभाडमा जिब्रो पर्लक्क पल्टाएर आकाशिँदै आँखाको तिर्खा मेटाइरहेका हुन्छन् ।
“के गरेको यस्तो लाजमर्दो हजुरबुबा” भनेर आँखा तर्नुभयो भने यी बूढाहरू कुनै फ्रान्सिसी अत्तर काखीमुनि छँदै “अभी तो मै जवान हुँ” भन्दै गुनगुनाउन थाल्छन् । आफ्नो हल्लिरहेको दाँतलाई जिब्रोले नछोओस् भनेर सावधानका साथ लरबरिँदै यी बूढाहरू आफ्ना झोल्लिसकेका तिघ्रा ठटाउँदै “मेरो शरीर पो बूढो छ, मुटु त अहिले पनि सोह वर्षे ठिट्टै जस्तो छ” भनेर दावी गर्छन् । अनि के भन्ने- भन्नुस् त । अब यी बूढाहरू नयाँ सडकका छेउछाउमा हिँडेका षोडशीहरूलाई आँखा झिम्क्याउदै सुसेल्दै हिँडे भने हामी साँच्चै शरीर मन र धुनले जवानहरू कुन भगवान् कहाँ गुनासो गर्न जाने ? यो कलियुगमा हरेक चिज उल्टोपाल्टो हुन थालिरहेका छन् । ठिटामिटाहरू लामा-लामा जगल्टा फिंजाएर भ्याले र थाङ्ने लुगा लगाएर जोगीको मनःस्थितिमा पुग्न थालेका छन् भने बूढा र अधबैँसेहरू चाहिँ मेनका, उर्वशी र तिलोत्तमाहरूलाई खोज्दै, जुध्दै, हिँड्न थालेका छन् । बूढाहरूकै यो चाला देखेर सम्पूर्ण ठिटाठिटीहरू रुद्राक्ष भिरेर हिमालयतिर पस्ने हुन् कि भन्ने डर छ ।
यो जगत्का सम्पूर्ण पशु-पंक्षी तथा मानिसमा स्त्रीलिङ्गको विचित्रको आकर्षण रहेको पाइन्छ । पशुपंक्षीहरूले भने यो आकर्षण र आसक्तिलाई बयान नै गर्न सक्दैनन् तर मानिसले भने स्त्री सौन्दर्य, प्रेम, आकर्षण र गन्धका बारेमा महाकाव्यहरू नै लेखेका छन् । उमेरमा, जवानीमा यो आकर्षण चरमचुलीमा हुन्छ । उमेर ढल्दै जाँदा, जवानी खस्किँदै जाँदा पनि मन चाहिँ बूढो हुँदो रहेनछ । मनमा फूलहरू फुली नै रहँदा रहेछन् कि क्या हो । होइन भने यी शरीरले साथ छोडिसकेका, रात लामो भइसकेका भातचपाउन समेत गाहो भैसकेका र हरिया जति सबै पात झरिसकेका पतझड बूढाहरू आइमाई त्यसमा पनि तरुनी आइमाई, ठिटीमिटी भनेपछि भुतुक्क किन हुन्छन् ? बाहिरबाट त यी रङ्गिला बूढाहरू साधु टाइपका हुन्छन् । देख्दै सोझा र नपत्याउँदा । यिनको यो कुनाकाप्चाबाट चियाउने बानी घरका मान्छे, छोराछोरी, नाति- नातिनाले थाहा पाउलान् भनेर यी त्राहिमाम हुन्छन् । त्यसैले यिनीहरू आफ्नो दमित इच्छालाई विभिन्न माध्यमबाट पूरा गर्ने कोसिस गर्छन् । भॉतिभातिका बूढाहरूका सौन्दर्य-दर्शनका भाँतिभातिका तरिकाहरू हुन्छन् । बूढाहरूका सुख विभिन्न प्रकारका हुन्छन् र यिनले यो सुख विचित्र तरिकाहरूले प्राप्त गर्दछन् ।
एक थरीका बूढाहरू हुन्छन् जसलाई नयन सुख भए पुग्छ; हेरेरै चित्त बुझाउँछन् यी ब्याट्री सिद्धिसकेका मांसपिण्डहरू । यिनलाई लाज सर्म ठ्याम्मै लाग्दैन । भीडभाड हुने क्षेत्रहरू मन्दिर, चोक, चौबाटाहरूमा यी बूढाहरू लाटोले केरा हेरेको जस्तो आइमाईहरूलाई हेरिरहेका हुन्छन् । यी बूढाहरू ठिटीमिटीहरूलाई त्यति साह्रो वास्ता गर्दैनन् । अधबैँसे र खास गरेर पैँतीस- चालीस उमेर वर्गका आइमाईहरू यिनका नयनका शिकार हुन्छन् । यिनीहरू न बोल्छन्, न चल्छन्, खालि हेरिरहन्छन् । फरक्क फर्केर हेर्छन्, टक्क अडेस गरेर हेर्छन्, फर्कीफर्की हेर्छन्, हाकाहाकी हेर्छन् । यिनको यो चालले गर्दा दैनिक दुई-चारवटा आशीर्वाद नपाएको कुनै दिनै हुँदैन । आँखा फुटेको बूढो, मर्न नसकेको बूढो, पात्तेको बूढो, साँढे जस्तो बूढो भनेर गाली सुनेपछि बल्ल यिनको धीत मर्छः चुरोटभित्र गाँजा हालेर खाएपछि बल्ल गँजेडीको धीत मरेको जस्तो । यिनको घीत सिकुटी, दुब्ली, चाउरी आइमाईहरू देखेर मर्दैन । यिनका लोभी नजरहरू त मोटी, मांसल, खाइलाग्दी, केराका थाम जस्ता स्लिम्लेस पाखुराहरू भएकीहरूको खोजीमा हुन्छ । भच्याकी आइमाई यी बूढाहरूका नजरका सबभन्दा प्रिय चिज हुन् । भन्नुहोला यिनले अरू पनि क्यै गर्छन् कि ? सके पो गरून् क्यै । न शरीरमा शक्ति हुन्छ न आँट । क्वार-क्वार्ती हेर्नुबाहेक यी बूढा र अँधबैँसेहरूले अरू क्यै पनि नाप्न सक्दैनन् । महिलावृन्दहरू नडराए पनि हुन्छ । हेरेर मरून् न त । हेरेर खिइँदैन क्या रे । होइन त ?
एक थरीका बूढाहरू हरदम स्पर्श सुखका लागि लालायित हुन्छन् । यो सुख यिनीहरू हाकाहाकी लिने प्रयास कदापि गर्दैनन् । उनीहरू यो स्पर्श-सुख नजानिँदो गरेर, झुक्याएर वा चोरेर प्राप्त गर्ने गर्दछन् । स्पर्श-सुखका लागि यी आर्यघाट जाने समय नजिक भएका लुरे बूढाहरू भीडभाडमा किच्चिएरै मर्लान् भन्या जस्तो गरेर छिर्छन् र महिलाहरूसँग भलाद्मी पाराले टाँस्सिएर, ठेलमठेल गरेर स्पर्श-सुख प्राप्त गर्दछन् । यिनलाई यो स्पर्श-सुख कुनै खास अङ्ग छोएर वा छामेर वा सुमसुम्याएर मात्र प्राप्त हुँदैन कि, आइमाईहरूको फरियाको फुर्को मात्र छुन पाए पनि यी तृप्त हुन्छन् । यी स्पर्श-सुखका रोगीहरू सकेसम्म अशिक्षित, ग्रामीण महिलाहरूको भीडमा छिर्न मनपराउँछन् । भद्र महिलाहरूको हुलमा छिन्यो भने चोरी समातिएला भन्ने यिनलाई ठूलो डर हुन्छ । फेरि भन्नुहोला, स्पर्श-सुखका लागि यी वृद्धात्माहरू वेश्याहरू वा त्यस्तै कसैको संसर्गमा भने जाँदैनन् । त्यो ह्याउ हुँदैनन् यिनीहरूसँग; नजानिँदो गरेर, चोरेर प्राप्त गरेको स्पर्श सुख नै यिनलाई पर्याप्त हुन्छ ।
यी रङ्गीन बूढाहरूको भीडमा एक प्रकारका यस्ता बूढा हुन्छन् जसलाई नयन सुख र स्पर्श सुखले पुग्दैन, यिनलाई शब्द सुख नै चाहिन्छ । यस्ता बूढाहरू आइमाईहरूसँग जिस्किएर, गिज्जिएर शब्दहरूको आदान-प्रदान गरेर मात्र आनन्द प्राप्त गर्दछन् । जिस्किने र गिज्जिने कार्य मुखले मात्र गर्दछन्, हात खुट्टा चाहिँ चलाउँदैनन् । अब यिनीहरू जिस्किन जाऊन् त कोसँग ? आफ्ना छोरीबेटीका उमेरका केटीहरूलाई जिस्क्याउन्- चप्पल झिकेर पिट्देलान् भन्ने डर । फेरि सामाजिक प्रतिष्ठामा आँच नआओस् भन्ने कुरामा पनि यिनीहरू सतर्क हुन्छन् । तर न जिस्की, दुई-चारवटा गन्हाउने कुरा नगरी, नसुनी यिनको चित्त पनि बुझ्दैन । त्यसैले यिनीहरू चिया पसलनी, घरका नोकर्नी, खत्र्याकखुत्रुक बेच्ने साहुनीहरूको वरिपरि घुमिरहेका हुन्छन् । एक कप चिया खाने निहुँमा यिनीहरू चिया पसलनीनेर गएर बस्लान् र बाँदर्नी जस्ती पसलनीलाई पनि “आज त निकै ठॉटिया छ नि…” भनेर सन्काएर कुरा सुरु गर्लान् । आइमाईहरूको जात न हो, बाँदर्नी जस्तीलाई पनि उर्वशी भनिदिँदा हो न हो उर्वशी नै हुँ कि भनेर लाडिन, फुर्किन थालिहाल्छन् । बूढाहरूलाई पुगिहाल्छ ।
बूढाहरूको वर्गीकरणमा यस्ता खाले सोझा बूढाहरू पनि पर्छन् जो कतै पनि जाँदैनन् । तर मनमनै सोची-सोची पाकी-पाकी बसिरहेका हुन्छन् । यिनीहरू आइमाईहरूकै तर्कनामा हुन्छन् फलस्वरूप सपना पनि आइमाईकै देख्छन् । यिनलाई त्यति स्वप्नसुख भए पुग्छ । सपनै देखेर यिनीहरू तृप्त हुन्छन् । राति रङ्गीविरङ्गी आइमाईहरूको सपना देख्या छन् भने यिनको दिन आरामले त्यसैको तर्कनामा बित्छ । मुखले रामायण पढिरहे पनि मनले सपनै देखिरहेका हुन्छन् तरुनीहरूको । यिनीहरूबाट कसैलाई कुनै नोक्सान हुँदैन । यिनलाई आफैं पनि कुनै नोक्सान हुँदैन । यी निचोरिएर छोक्रा मात्र रहेका बूढाहरूलाई जस्तै भयानक सपना आए पनि कुनै पनि दोष हुँदैन । बुझ्नुभो कि कुरो ? केही भए नआओस् । पेलिइसकेको उखुको छोक्राबाट केही आउन सक्छ ? हद्द भए आगो पाए बरू हर्र बलिदिन्छ ।
एक थरीका बूढा हुन्छन् जसलाई सद्दे कुरा बास्ना आउने चिज सुवासित वस्तु मन पर्दैन । यिनलाई गुन्द्रुक जस्तो कुहिएको कुहिएको गन्हाउने, तामा जस्तो अमिलो अमिलो ह्वास्स गन्ध आउने चिजहरू मन पर्ने हुनाले आइमाईहरू पनि यिनलाई भसारे, गन्हाउने नै बढी मन पर्छ । जिउबाट एक तमासको अमिलो अमिलो गन्ध आउने, पसिनैपसिना भएका आइमाईहरू यिनलाई खुबै मन पर्छ । अर्थात् यिनीहरू मौलिक गन्ध-सुखका पीडित हुन्छन् । विभिन्न थरीका अत्तर, सेन्ट, परफ्युम हालेर मगमगिएर हिँडेका आइमाईहरूभन्दा जीउबाट पसिना, नुन, तेल-खुर्सानीको गन्ध, निक्खर, टर्रो गन्ध आउने आइमाईहरूको वरिपरि घुमिरहेका हुन्छन् यस श्रेणीका बूढाहरू । यसका लागि यिनीहरू श्रमजीवी, गृहिणी महिलाहरूको सुखदुःख सोध्ने र भलाकुसारी गर्ने बहानामा यिनीहरूको अघिपछि गरेर गन्धस्नान-गन्धपान गरिरहेका हुन्छन् । यस्ता बूढाहरू अलि कुमतिका हुन्छन्, उल्टा हुन्छन् । त्यसैले यिनलाई सुगन्धभन्दा दुर्गन्ध मन पर्छ ।
केही बूढाहरू यस्ता हुन्छन् जसलाई जिउँदा, बोल्दा आइमाईहरू तरुनीहरूभन्दा तस्विरका तरुनीहरू, नकटी र छकटीहरू मनपर्छ । यिनीहरू यस्ता आइमाईहरूका उत्तेजक र सम्भव भए नग्न तस्विर हेर्न यति लालायित हुन्छन् कि कहाँ त्यस्तो पत्र-पत्रिका पाइन्छ भनेर खोजीखोजी हिँड्छन् । कतै कुनै पत्रिका भेटिहाले भने आजकलका अन्धविश्वासी मान्छेहरूले राशिफल खोजेको जस्तो यी बूढाहरू हत्त न पत्त तरुनीका तस्बिर खोज्न थाल्छन् । तरुनो बेलामा किनेर राखेका भए सात पताल खोतलेर त्यस्तो प्लेब्बाय टाइपको पत्रिका खोजी छोड्छन् । यी नग्न र अर्धनग्न तस्विर हेर्न पल्केका पात्तेका र मात्तेका बूढाहरूलाई टीभी, डेक आइदिएर खुदो भएको छ । दिउँसो कोही नभएको बेलामा भी च्यानेल र त्यस्तो गतिलो गतिलो हेर्न पाइने च्यानल घुमाई-घुमाई हेरिरहन्छन् । हेर्न त यिनलाई ब्लु फिल्म नै मन लाग्छ तर बिचराहरू कहाँ गएर हेरून् । घरपरिवारको नजरमा सन्यासी जस्तो देखिनु पनि परेको हुन्छ । यी तस्बिर-सुख र भिडिओ-सुख फोवियामा परेका बूढाहरूलाई तस्विर सुखको अनेक फाइदा छ । जुन बेला मन लाग्यो, जति बेर मन लाग्यो, ओल्ट्याईपल्ट्याई, छोई, चलाई जसरी पनि हेर्न पाइयो तस्बिरलाई । भिडियो क्यासेट पनि त्यस्तै जुन बेला इच्छा लाग्यो हेर्यो र तृप्त भयो । कहिले रविनालाई हेरेर दङ्ग, कहिले उर्मिलालाई हेरेर भरङ्ग । अनि यसैबीच बूढी ललिता पवार एउटा आँखा टेढो पार्दै आइपुगी भने खड्ग्रङ्ग । कसैले देख्ला कि भनेर झसङ्ग। यी खाई न पाई छालाको टोपीलाई जस्तो ताल गर्ने बूढाहरू तस्बिरलाई नै हेरेरै… सुमसुम्याएरै तृप्त हुन्छन् भने होऊन् । यस्ता बूढाहरू कमसेकम ठिटाहरूका हक-अधिकार जिउँदा कन्या कुमारीहरूलाई जिस्क्याउन वा क्वार-क्वार्ती हेर्न त जादैनन् ।
एक प्रकारका घिनलाग्दा यस्ता बूढाहरू पनि हुन्छन् जसलाई हामी ठाडै छाडा बूढा भन्न सक्छौँ । यी बूढाहरू अक्षर सुखबाट नै समाधिसम्म पुग्छन्, अक्षर कस्ता भने फोहर घिनलाग्दो र अश्लील । यी यस्ता अश्लील लेखकको नाम न भएका पुस्तकहरू खोज्न भौँतारिरहन्छन् र पुस्तक भेटेपछि ड्रग एडिक्ट जस्तो कुनै कुनामा पसेर मरिहत्ते गरेर एकै सासमा सिध्याउँछन् । यिनले यस्ता पुस्तकहरूलाई गीताको पुस्तक सिरानमा राखेको जस्तो राखेर बस्छन् र तिर्खा लाग्यो कि झिकेर फोहरी शब्दहरूमा लडीबुडी गर्दै स्खलित हुन्छन् । यिनलाई स्त्री-पुरुषको चर्तिकलाको छाडा र स्पष्ट वर्णन भएको छाडा अक्षरहरू चाहिन्छ । अरू यसो अलिअलि छासछुस मात्र भएको यी मात्तेका र साह्रै पात्तेका बूढाहरूलाई मन पर्दैन । खुलेआम सरासर र हाकाहाकी वर्णित यौन साहित्य पाए मात्र यिनीहरू खलास हुन्छन् । साप्ताहिक पत्रिकाहरू यिनीहरू बुद्धि बढाउन होइन कि वात्स्यायनका जथाभावी पद्मलाई किन्छन् । पत्रिकाहरूले पनि आफ्नो बिक्री बढाउन यौन शिक्षाको नाममा यौनलिप्साका कथाहरू छाप्ने गरेको देखिहाल्नु भा’छ ।
मेरा यी बूढाहरूका चर्तिकला वणर्न पढे भने बूढा समुदाय पक्कै पनि जङ्गिने छ । सम्भवतः उनीहरूले मसँग लडाइँ गर्न र मेरा वणर्नलाई जथाभावी ठहर्याउन बुद्धिजीवी दबाव समूहहरू जस्तो बूढा दबाव समूह खोल्न बेर छैन । आफूहरू नाङ्गिएको त्रास र लाजमा यिनीहरूले गोष्ठी, सेमिनार इत्यादि गरेर आफ्नो पूज्य रूपलाई कायम गर्ने प्रयास गर्ने नै छन् । तर तपाईंहरूलाई पनि मेरा यी बुढेसकालका उपद्रोहहरू बारे शङ्का छ भने खुसुक्क गएर यी बूढाहरूका कम्मर र घुँडा समातेर बसेका बूढी बज्यैहरूलाई सोध्नुहोस्, छर्लङ्ग हुन्छ । मेरा यी बूढाहरूका उपद्रोहहरूलाई बूढी बज्यैहरूले पुष्टि मात्रै नगरेर नयाँ र अद्भुत उपद्रोहरुको अर्को सूची थमाइदिन बेर छैन । आफू बुढेसकालतिर पुगिनसकेको र तत्कालै पुग्ने सम्भावना तथा विचार पनि नभएकाले बूढाहरूका कतिपय चर्तिकलाहरू पक्कै पनि वणर्न गर्न छुटेका होलान् । म यी बूढा र अँधबैँसेहरूका छुटेका उपद्रोहरूको थप वणर्न गर्ने जिम्मा अँधबैँसे र बुढेसकालमा स्वयं अनुभव गरेर डक्टरेट गर्ने मेरा अग्रज व्यङ्ग्यकारहरू केशवराज पिँडाली, श्याम गोतामे, रामकुमार पाँडे तथा श्रीधर खनाललाई सुम्पिन चाहन्छु । यिनका आफ्नै चर्तिकला पनि अद्भूत होलान् । अन्त्यमा बूढाहरूप्रति मेरो एउटा सानो सल्लाह भने अवश्य छ कि हे पितृ हुन थालेका आत्माहरू । जे उपद्रो गरे पनि आफ्नो पातालतिर धसेको गाला, फुक्लेका र हल्लेका दाँत, झोल्लेका छालाहरू, मक्केका हाडहरूलाई सुरक्षित राखेर मात्र गर्नुहोला तपाईंहरूलाई तपाईंका छोरी, बुहारी, नाति, नातिना र तपाईंले नै भ्याउरी पारेकी बूढीले निकै माया गर्छन् ।
०००
जनकपुरधाम
‘भुसुक्कै’ (२०८०)








































अब बुढीहरूको बारेमा पनि एउटा निबन्ध जाओस् न।