सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पद प्राप्तिका अचूक मन्त्र

त्यस्तो अवस्थामा तपाईं कैलाशकुट पर्वत गएर पशुपतिनाथलाई गुहार्नुहोस् र सोध्नुस्- “प्रभु ! कालकूट विष केही उब्रेको छ भने बक्सियोस् । मैले क्यै गर्न सकिन ।”

Nepal Telecom ad

नब्बे वर्ष टेकेका घाटे वैद्यकहाँ आर्यघाट पुगेका नेताजीलाई पानीसानी चढाएपछि नेताजी अलिकता टाठो भए अनि छोराछोरी, आफन्त र पार्टीका नेताहरूले सोधे- “हजुरको कुनै अन्तिम इच्छा छ कि क्यै ?” नेताजी अन्तिम इच्छाको कुरो सुनेपछि झनै टाठो भए र लरबरिँदै बोल्दा भया- “बाबु ! एक पटक पार्टीको अध्यक्ष हुन पाए हुन्थ्यो ।” खुट्टा आर्यघाट पुगिसक्यो, सास कुन बेला जाने हो ठेगान छैन, जीउमा तागत नामको चिज छैन तर उनलाई अध्यक्ष हुने धोको छँदै छ । उनलाई धोको हुन पनि किन नहोस्, नेता भन्ने प्राणीलाई मरुन्जेलसम्म पदमा टाँस्सिरहने अधिकार छ । उनीहरूलाई न उमेरको हदबन्दी छ, न रोगको बाधा छ, न ज्ञानको कुनै आवश्यकता छ, न इमान्दारिताकै कुनै दरकार छ । पद भन्ने चिजमा उनीहरूको जन्मसिद्ध अधिकार छ । दश पटक राष्ट्रको लाखौँ खर्च गरेर हवाई एम्बुलेन्समा उडीउडी होस् वा अस्पतालको बेडमै बसीबसी होस् पदलाई अङ्कमाल गर्ने, पदसँग लिसो लाग्याजस्तो लाग्ने अधिकार नेताहरूलाई छ । सम्भव भए यिनीहरूले नर्कबाट पनि पद सञ्चालन गर्न छोड्दैनन् ।

ठिटाठिटी युवायुवती जसले पद पाएकै छैनन् तिनलाई त विचरा दालभात खान पनि पद चाहिन्छ, जागिर चाहिन्छ जसको लागि उनीहरू टुप्पी बॉधेर ज्ञानार्जन गर्छन्, जाँच दिन्छन्, आफ्नो प्रतिभाको प्रस्तुतीकरण गर्छन् अनि बल्ल हातमुख जोर्ने उपाय हुन्छ । यस्ताले पद प्राप्तिको लागि मरिहत्ते नगरे कसैले पनि यिनीहरूलाई “को खाई को खाई ?” भनेर मुखमा हालिदिँदैन । तर नेतागिरीको लागि यस्तो लमिलट्ठ केही पनि गर्नु पर्दैन । न पढ्नु पर्छ, न ज्ञान नै चाहिन्छ, न जाँच नै दिनु पर्छ । चाहिन्छ के त भने लाउकेगिरी र चाकरी । जसले जति गहिराइकासाथ चाकरी गर्न सक्यो उति गहिरो र भरिलो पद पाउॅछ ।

बाघले मान्छेको रगतको स्वाद चाखिसकेपछि जसरी मान्छेलाई खोज्दै बस्तीसमेत पस्छ, त्यस्तै एक पटक पदको स्वाद पाइसकेकाहरूले त फेरि पद प्राप्तिको लागि जे पनि गर्छन् । उनीहरूलाई उचित, अनुचितसँग कुनै मतलव हुँदैन, जति तल झर्नु परे पनि झरेर, जस्तै अनैतिक काम गर्नु परे पनि गरेर पद पड्काई छाड्छन् । नेपाल सरकारका उच्च पदाधिकारीहरू अवकाश पाउनेबित्तिकै पद नभए त उनीहरू भुतुक्कै हुन्छन् भन्याजस्तो गरी नयॉ पदरुपी शिकारको खोजीमा झोलाभरि पैसो, खल्तीमा चाकरी स्तोत्र लिएर दौडिन थालिहाल्छन् । तपाईंलाई पनि पद पड्काउनु परेको छ लटक्क तर लागेको पद ? छ भने तल दिइएका केही सजिला मन्त्रहरूलाई सिद्ध गर्नुहोस्, पद मोहनी लागेकी कन्याजस्तो लुरुलुरु पछिपछि आउँछ ।

१. गुट-
नेपालमा स्वतन्त्र हैसियतको मान्छेको कुनै अस्तित्व छैन । तपाईं जतिसुकै योग्य किन नहुनुहोस्, जतिसुकै इमान्दार किन नहुनुहोस्, जतिसुकै प्रतिभाशाली किन नहुनुहोस्, तपाई यदि कुनै गुटमा, पार्टीमा, सङ्गठनमा, संस्थामा हुनुहुन्न भने तपाईंलाई राष्ट्रले चिन्दैन । साहित्य र संस्कृतिको विशुद्ध पज्ञा प्रतिष्ठानजस्तो संस्थामा समेत बिना गुटको, बिना पार्टीको, बिना जातको प्रतिभाको कुनै भाउ छैन । प्रमाण नै छ, पार्टीका खाँटी कार्यकर्ता प्राज्ञ, सदस्य सचिव इत्यादि बनेको । पार्टी, राष्ट्र, संस्था भनेर समग्र र सम्पूणर्तामा विचरण गर्नेहरूले आलु पाउँछन् पद पाउँदैनन् । त्यसैले पद प्राप्तिको लागि गुट, उप-गुट, गोप्य गुट बनाउनै पर्छ । राजनीतिमै हेर्नुस् त, तपाईं कुनै एउटा पार्टीमा मात्र लागेर पदको हलुवा पड्काउन सक्नुहुन्छ ? कदापि पनि सक्नुहुन्न । त्यसैले कुन गुटका पछि लाग्नु पर्छ, लागिहाल्नु पर्छ र बेलैमा हरूवा गुट छोडेर जितुवा गुटमा छिरिहाल्नु पर्छ । यहॉ पार्टीको मतलव छैन, यहाँ कोइराला कि शेरु बाबु ?, कि कमल कि नारायण ? हुन त नारायण अहिले सुकला भएको छ तर जाग्नुहोला नि कुनै दिन । सानालाई न हेप्नुहोस् नि, कुन दिन कसको दिन फिर्छ, कसलाई थाहा छ । त्यसैले मोहनको बाँसुरी सुनेर बसिरहने कि महादेवका नेत्रतिर लस्किने ? त्यो पनि विचार गर्नु पर्छ बेलैमा । बाँकी पञ्च-सञ्च र मधेशी पार्टीहरूको बारेमा मेरो कुनै एक्सपर्ट ओपिनियन छैन । ताक परे तिवारी नत्र गोतामेको सिद्धान्त अँगाल्नुहोस्, त्यति भए पुग्छ ।

२.झूट-
पद प्राप्तिको लागि विदुरको सत्य नीति महाभारतमा त सफल भएन, कलियुगमा के होला । यहाँ त शकुनिको छल, कपट र झूट नीति नै काम लाग्छ । त्यसैले बिर्सेर पनि सत्य बोल्यो भने पद प्राप्ति हुँदैन । मित्र राष्ट्र चीनको बुलेट रेलजस्तो आँखा चिम्लेर झूटको रेल दौडाउनु पर्छ, र लक्ष्य प्रप्तिको लागि बाटामा को मरे, को किच्चिए फर्केर पनि हेर्नु हुँदैन । झूटलाई तीन वटा माध्यमबाट प्रसारित गर्नु पर्दछ- चुक्ली, चाकडी र चापलुसी । यो तीन वटै कार्य गर्न तेलको आवश्यकता पर्छ । सबैलाई एकै थरिको तेल दलेर हुँदैन, मान्छे, आकार, शक्ति र बानी ब्यहोर हेरेर तेल दल्नु पर्छ । कसैलाई नेपाली तेल, कसैलाई भारतीय बदामको तेल, कसैलाई विदेशी ओलिभ तेल र कसैकसैलाई त आफै तोरी पेलेर झिकेको तेलमा सुत्केरीलाई जस्तो लसुन, मेथी, हिंग, फुराएर चिल्याउनु पर्छ । कसैलाई निभिया, गार्नियर, ओले पनि दल्नु पर्ने हुन्छ । उसै पाइन्छ पद ! तेल दल्ने कहाँ त ? तेल पनि काइदाले दल्नु पर्छ । कसैलाई पुच्छरमा मात्र दल्दिए पुग्छ, कसैलाई पुच्छरको वरिपरी सुमसुम्याउनु पर्छ, कसैलाई पुच्छरको अगाडितिर सुस्तरी मालिस गर्नु पर्छ र कसैलाई त विशेष ठाउँमै पनि दल्नु पर्छ होला त्यहाँ दल्ने कि नदल्ने, त्यो आफैं फैसला गर्नु होला तर त्यतिले फेरि कुनै भयङ्कर खाले पद छुट्न पनि सक्छ नि । मजाले थरिथरिका तेल दलेर मालिस गर्नुस् साथै तीन ‘च’को प्रयोग पनि अनवरत गर्दै गर्नुस् । अनि हेर्नुस, पद प्राप्त हुन्छ कि हुँदैन ।

यदि तपाईं स्वयंघोषित विद्वान् हुनुहुन्छ भने विशुद्ध झूट बोलेर पद प्राप्त गर्ने अर्को पनि उपाय छ । त्यो हो इलेक्ट्रोनिक मिडियाको दुरुपयोग । घ्यू लगाएर लेख लेख्नुहोस् र छपाउनुहोस्, नौनी लगाएर सम्पादकलाई पत्र लेखेर कसैको चाकरी गर्नुहोस्, र सबभन्दा सस्तो उपाय फेसबुक । भ्रष्टलाई हरिशचन्द्र लेखिदिनुहोस्, त्रिकालदर्शी लेखिदिनोस्, चोरलाई भलाद्मी लेखिदिनुस्, कुनै रोकटोक छैन । न पैसा लाग्छ, न कसैलाई सोध्नुपर्छ, किटिकिटी गरे पुग्छ । सेकेन्ड सेकेन्डमा आफ्नो इष्टको विरुदावली लेखिरहनुहोस् र पद पड्काई रहनुस् । मेरा एक जाना मित्रले भरखरै व्यवस्थापनका र सुशासनका फुस्रा सिद्धान्त फेसबुकमा लेखेको भरमा एउटा गह्रौं पद पड्काएका छन् । बधाई छ । तर सावधान ! संसारमा सबभन्दा इमान्दार नेपाली पुलिसहरूको बारेमा भने बिर्सेर पनि सत्य कुरा नलेख्नु होला फेसबुकमा अन्यथा राजविराजको विचरो केटोको जस्तो दुर्गति होला ।

३.टुटफुट-
पद पाउने अर्को मन्त्र हो फोड्दै हिँड्ने । घर होस्, अफिस होस्, मन्त्रालय होस् वा पार्टी, आफू जोग्गिएर अरुलाई फोड्दै हिँड्नुस्, फुट गराउँदै हिँडनुस् । कुनै न कुनै बेला पद फुत्त झर्छ झर्छ । हाम्रै देशमा देख्नु भएन एउटा विशाल क्रान्तिकारी पार्टीलाई चकनाचुर पारेपछि, नेताहरूमा फुट गराइदिएपछि देश र जनतालाई त नोक्सानी भयो तर एउटा ठूलो वामशक्ति छिन्नभिन्न भएर गयो, छरछिमेक र महाशक्तिहरूको इच्छा पूर्ति भयो र फोसामा लाटाहरूले ठूलो ठूलो पद पाए । मधेशमा त झन् पार्टी फोड्दै पद पड्काउनेको लहरै चलेको छ । मानिसहरूको एकतालाई फोड्नुस्, मित्रतालाई तोड्नुस्, राष्ट्रियतालाई बेच्नुस्, पदको थुप्रो लाग्छ । झन् देशलाई नै फोड्न सक्नु भयो भने त अकल्पनीय पदहरू पाउनुहुन्छ । संस्था फोडिदिनोस्, पदोन्नति पाउन सक्नुहुन्छ । बैंक फोडिदिनुस्, सञ्चालक बन्न पाउनुहुन्छ, मन्त्रालय फोडिदिनोस्, सचिव बन्न पाउनुहुन्छ । तर नफोडी, फुट नगराई नयाँ पदको सृजना हुँदैन र तपाईंले केही पनि पाउनु हुन्न ।

४.छुट-
एउटा भनाइ छ, बोक्सीले पनि एक घर छोडेर मारक मन्त्र प्रयोग गर्छन् अरे तर तपाईं आफ्ना गुटका समस्तलाई अभयदान दिँदै हिँड्नुस् एउटालाई मात्र होइन, गुटबन्दीको यो एउटा शाश्वत सिद्धान्त हो । तपाईंलाई पद प्राप्ति गर्नु छ भने यस्तो दुर्दान्त बोक्सा वा बोक्सी बन्नुहोस् जसले आफ्नो गुटको बाहेककालाई सखाप पारिदिन्छ । आफ्ना गुट विरुद्धका मान्छेले भने थुके पनि झिरिप्पै घाँटी निमोठिदिनोस्, बाघले अवोध मृगको घाँटी समातेर सासै बन्द गरेको जस्तो सासै बन्द गरिदिनुहोस् तर आफ्ना गुटका चोर, डाँका, लुटाहा, बलात्कारी, भ्रष्टाचारी, हत्याराले बाटोघाटो छेरे पनि, वान्ता गर्दै हिँडे पनि, दुर्गन्धित पार्दै हिँडे पनि, राष्ट्रियता बेचे पनि, सार्वभौमसत्ता लिलाम गरे पनि त्यसतालाई संरक्षण गर्नुहोस्, सम्मान गर्नुहोस् । अर्थात आफ्नालाई जे गरे पनि छुट । यो गुटबन्दीको आचारसंहिताको महत्वपूणर् दफा हो ।

५.लुट-
नेपालमा पद पाउनु भनेको लुट गर्ने लाइसेन्स पाउनु हो । होइन भने पदको दश बीस हजारले के नापिन्छ ? तपाईं आफै हिसाब गर्नुस् त । एउटा सचिवसम्म पुगेको मान्छेले तीस वर्षे जागिरमा औसत कति हजार महिनाको कमाउँछ ? पन्ध्र हजारकै दरले राख्ने हो भने जम्मा ५४ लाख । उसलाई पाँच जना मात्रैको परिवार पनि पाल्न, ख्वाउन, छोराछोरी पढाउन कति लाग्यो होला ? पुग्छ त्यति जाबो पैसाले ? पुग्दैन भने उसको पचास् करोडको सम्पत्तिचाहिँ कहाँबाट आयो त ? त्यसकी स्वास्नीले दाइजोमा ल्याएकी हो त ? होइन भने पक्कै पनि उसले देशलाई लुट गरेर थुपारेको हो । भ्रष्टाचार गरेर, जनता मारेर, वन सखाप पारेर, राजस्व सखाप पारेर, कुलो र पुल चपाएर, धारा, सडक निलेर आफ्नो व्यक्तिगत थैलीमा जम्मा गरेको हो राष्ट्रको ढुकुटी । हो पद भनेको यस्तो हुनुपर्छ । त्यसैले तपाईंलाई यस्तै पद चाहिएको छ भने तपाईंको मति नै लुटार मति हुनुपर्छ । अनि मात्र कुरो मिल्छ । तपाईंको मतिचाहिँ हरिश्चन्द्र जस्तो छ भने तपाईंजस्ता हुतिहाराले पद पाएरै के गर्न सक्नुहुन्छ ? नेपालमा पेट फुटुन्जेल घिच्ने र अरुलाई पनि घिचाउने पवृत्ति छैन भने पद पाउनै सक्नुहुन्न । ए भाइ, जसले तपाईंलाई जागिर दिन्छ, पद दिन्छ त्यसलाई बदलामा के आलु दिनुहुन्छ ? केही दिन नसक्नेलाई कसले दिन्छ पद ? त्यसैले जति ठूलो लुटार मति, उति ठूलो, नामी र सन्तान दर सन्तान तार्ने पद ।

६. चुट, कुट, भुट-
पद प्राप्तिको अन्तिम मन्त्र अलि लामो छ तर साह्रै प्रभावशाली छ । यो मन्त्र सिद्ध गर्न नसके अरु सारा मन्त्र निष्प्रभावी हुन्छन् । नेपालमा यो मन्त्र भयङ्कर किसिमले प्रयोग गर्ने ज्ञानेन्द्र र उनका सन्तान, उनका हुक्के, छाते, डोले र चाटुकारका फौज पानीमाथिको ओभानो बनेर नयाँनयाँ पद प्राप्तिको लिप्सामा प्रजातन्त्रको जय गर्दै मन्दिर मन्दिर दगुरिरहेका छन् । मुलुकमै बस्न र टिक्न गाह्रो हुनुपर्ने यी मुलुक निचोर्नेहरूमा पद प्राप्तिको नयॉ पालुवाहरू पलाउन थालेको देखिन्छ । पञ्चायती कालमा यिनैले पद र सत्ता प्राप्तिको लागि, पाएको टिकाउनाका लागि चुट, कुट र भुटको फर्मूला सिकाएका हुन् । तीस वर्षसम्मको जनतामारा निरङ्कुश र नौटङ्कीरुपी सत्ता चलाउन यिनीहरू पहिले आफ्ना विरोधीलाई चुट्थे । चुट्नु भनेको थिलथिलो त पार्नु तर हाडचाहिँ नभाँच्नु । त्यति गर्दा पनि टेरपुच्छर लाएन भने निर्घातसँग अङ्गभङ्ग हुने गरी कुट्नु । यो कुटाइ चाहिँ पुलिसको लकअपमा एक्सपर्टहरूबाट गराइन्थ्यो । त्यति गर्दा पनि नटेर्ने देश र जनतालाई माया गर्ने ज्याद्राहरूलाई भने खोला किनारतिर लगेर भुटिदिन्थे र बडेबडे पद पाउँथे ।

हाम्रा प्रजातन्त्रवादी भनाउँदाहरूले पनि पद र पैसाको लागि पञ्चायती सिद्घान्त मजाले आत्मसात् गरेर करोडपति भएका छन् । श्री श्री १०८ ज्ञानेन्द्रजी महाराजले त आफ्नै रक्त सम्बन्धीहरूलाई मकै भुटेकोजस्तो भुटिदिए भन्छन् भन्नेले तर के गर्नु, पाप धुरीबाट नकराए पनि गाँजाबाट त कराइछोड्दो रहेछ । यो कुरो नेपालको लागि नयॉ पनि होइन, कोत पर्व र भण्डारखाल पर्वमा मुला काटिए झैं विरोधीलाई काट्न राणाहरूले सिकाइदिएका नै थिए ।

पद त्यसै प्राप्त हुँदैन । सोझा, साझा, इमान्दार, ज्ञानीले नेपालमा पद पाउनै सक्दैन । यस्ताले पद पाएको भए, यस्ता नेता भैदिएका भए नेपाल अगाडि बढिहाल्थ्यो नि । यहाँ कसैले त्यतिकै पद पाउँदैन । पद यहॉ पालुवाजस्तो पलाउँदैन । पदलाई अङ्कुशे लाएर, बल्छी फालेर फसाउनु पर्छ, चारैतिर चाराहरू छरेर । माथिका मन्त्रहरू तपाईंले सिद्ध गर्न सक्नु भयो भने पद सहजै झोलीमा आएर झर्छ । अन्य कुनै उपाय छैन । यी मन्त्रहरू प्रयोग गर्दा पनि पद प्राप्ति हुन सकेन भनेचाहिँ तपाईंको भगवान नै मालिक छ । त्यस्तो अवस्थामा तपाईं कैलाशकुट पर्वत गएर पशुपतिनाथलाई गुहार्नुहोस् र सोध्नुस्- “प्रभु ! कालकूट विष केही उब्रेको छ भने बक्सियोस् । मैले क्यै गर्न सकिन ।” त्यो बाहेक अरु क्यै उपाय छैन ।

०००
२०१४ अक्टोबर ११
शान्तिगोरेटो, चावहिल, काठमाडौं
९८४९३७४८०४
४४८८१६३

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
छेपारोको रङ्ग

छेपारोको रङ्ग

रामप्रसाद पन्थी
विरासत

विरासत

अशोककुमार शिवा
सम्झौता

सम्झौता

श्रीप्रसाद पाेखरेल