
फेसबुके महाभारत
तानातान टुपी कपाल र लुगा जुत्ता भए फायर । चर्क्यो कृष्णविना महासमरको अर्को महाभारत ।। दूधै उम्लन गो डढ्यो तिहुन नै, भातै बन्यो कक्कड । कत्रो काण्ड रचेर फेसबुकले चर्कै दियो ठक्कर ।।

सौता नै ‘मुख-पुस्तिका’ हुन गयो, स्वामी बने फन्टुस-
भन्दैछिन्, घरकी सखी पितरिई कस्ता परेछन् भुस ??
ठ्याक्कै अम्बलझैँ त फेसबुक भो, छाडौँ म लौ के गरी ??
छोडैपत्र दिने निधो गरिसकिन्, बित्यास भो हे हरि ।।
न्याश्रो लाग्दछ छिन्छिनै नव-बधू- झैँ पो बनिन् पुस्तिका ।
रङ्गी चित्र र काव्य गीत जति छन्, हेर्नै म मान्छू मजा ।।
कमेन्ट लाइक च्याट चिर्बिर गरी, बेफुर्सदी पो बनेँ ।
जे-जे काम थिए भुलेर पटमै, खोक्रो दिवाना रहेँ ।।
तर्कारी फलफूल दूध कहिल्यै, किन्ने तिमी होइन ।
भान्सामा सकिए कि क्यै चिज भनी, सोध्ने कबै होइन ।।
झुन्डिन्छौ कति फेसको बुक बुढो, गाली चल्यो भुन्भुन ।
सौताझैँ मुख-पुस्तिका बनिदियो, भन्दै गरिन् गुन्गुन ।।
तानातान टुपी कपाल र लुगा जुत्ता भए फायर ।
चर्क्यो कृष्णविना महासमरको अर्को महाभारत ।।
दूधै उम्लन गो डढ्यो तिहुन नै, भातै बन्यो कक्कड ।
कत्रो काण्ड रचेर फेसबुकले चर्कै दियो ठक्कर ।।
०००
धादिङ