सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

राशिफलको बडेमाको फल

ट्याक्सी खर्च कति लाग्या भनेर सोध्दा पनि सोधिनन् दिने कुरा त परै जाओस् । श्रीमतीले पाँच सय फोकटमा गयो भनेर झन्डै मारेकी । अब तपाईंहरू नै भन्नुस् यो मेरो यात्रा थियो कि जात्रा ।

Nepal Telecom ad

मुन पौडेल :

शनिवार बिहान चार बजे निद्रा खुल्यो र निद्रा खुल्ने बित्तिकै मन त्यसै त्यसै पुलकित भएर आयो । शनिवारको दिन, अफिस जानु नपर्ने, खुट्टा पसारेर सुत्न पाइने, पप्लु टिप्लु तान्न पाइने र साँझपख साथीभाइ भेटने निहुँमा हप्ता दिनदेखि सुकेको घाँटी सिञ्चित गर्न पाइने अनि अलिअलि मात्तेर हाकिम, प्रजातन्त्र र मन्त्रीहरूलाई सराप्न पाइने भनेर मन प्रसन्नचित भएको होइन नि ! मन त राशिफल पढ्न पाइन्छ र कतै राशिफलबाट यो हप्ता भाग्योदय भइहाल्छ कि भनेर पो त पुलकित भएको । शनिबारको दिन मलाई मात्र होइन कि तपाईंहरूलाई पनि राशिफलकै प्रतीक्षा हुन्छ । हो कि होइन भन्नुस् त ?

दैनिक अखबारहरूको शनिवारको अङ्कको सबभन्दा लोकप्रिय रचना राशिफल र सबभन्दा मनपर्ने लेखक ज्योतिषाचार्य हुन्छ । पाठकहरू हिरोइन हिरोहरूको उपदेशहरूसमेत पढ्न छोडेर, योन चर्चालाई समेत पन्छाएर राशिफलमाथि नै जाई लाग्छन् । बाउले पढिरहेका छन् भने कुन बेला पढिसकाउलान् भनेर श्रीमती तथा छोराछोरीहरू अधैर्यपूर्वक पत्रिका तान्न तयार भएर बसेको हुन्छन् र कहिलेकाहीँ तानातान गर्दा पत्रिकै च्यातिने स्थिति पनि उत्पन्न हुन जान्छ । विद्वान्हरू उनीहरूको विद्वता तपतप चुहिने किसिमले राशिफलको विस्तृत अध्ययन गरिरहेका हुन्छन् । अर्थात् विभिन्न किसिमका अखबारमा छापिएका विभिन्न तालका राशिफललाई तुलनात्मक चार्ट बनाएर अध्ययन गरिरहेका हुन्छन् । शनिवारको दिनको वारेमा एउटा अखबारले मिष्टान्न भोजन, अर्कोले हन्डर खाने र तेस्रोले झपार खाने लेखेको रहेछ भने विद्वान् पाठक क्या मिलेको भनेर दङ्ग पर्छ । ऊ मिष्टान्न, हन्डर वा झपार जे खान पाए पनि खाने कुरा त मिल्यो नि भनेर दङ्गदास पर्छ ।

मानिस तत्कालै करोडपति, ठूलो मान्छे, मन्त्री, सचिव भइहाल्छु कि भन्ने आशामा झुन्डिरहेको हुन्छ र त्यसैका लागि राशिफल र ज्योतिषहरूको दैलो चहारिरहेको हुन्छ । कतै कुनै ज्योतिष आएको छ भनेर सुन्नु मात्र पर्छ, ठूलावडा भनाउँदाहरू मोटर, स्वास्नी, चिना र दक्षिणा लिएर दगुरिहाल्छन् । अनि के भन्छ ज्योतिषाचार्यले, कालो बोको चढा भन्छ कि होम गर भन्छ कि, स्यालको सिङ र ऊँटको खुरको जन्तर ला भन्छ कि सुनको औँठीमा पन्ना ला भन्छ कि मसानको खरानीको टिको ला भन्छ, गरिहाल्छन् मरिहत्ते गरेर । कहिलेकाहीँ यस्ता भाग्योदय गराउन चाहने मनोरोगीहरू नरवालीजस्तो निकृष्ट अपराध पनि गर्न तम्सिन्छन् ।

आफूलाई पनि भाग्योदय हुने, ठूलो मान्छे बन्ने र टन्न कमाइ गर्ने तिथिमिति थाहा पाउन न मन लाग्ने कहाँ हो र । नाम चलेका बडेबडे ज्योतिषीकहाँ जाऊँ भने एक त लाज लाग्छ, अर्को गइहालियो भने पनि तिनलाई दिन त्यत्रोविधि दक्षिणा कहाँबाट ल्याउनु सोझो तलब खानेले । ज्योतिषहरूकहाँ चहारेर भाग्य तिखार्न खोज्ने त ती हुन् जो अलि अलि लुँड्याइराखेका त हुन्छन् तर त्यतिले तिनलाई पुग्दैन । गलगिद्ध भएर के गर्दा खान पाइन्छ जनता, देश र समाजलाई निचोरेर खाँदा पनि कसरी पानीमाथिको ओभानो बन्न पाइन्छ, अर्थात् पहिले नै सङ्कटहरण भएर निर्भय भएर के गरी लुँड्याउन पाइन्छ, त्यसैको उपाय गर्न ठूलाबडा ज्योतिषाचार्य र तान्त्रिकको खुट्टामा ढोग्न पुगेका हुन्छन् ।

आफूलाई त्यत्रो चाह र हिम्मत दुवै छैन । चार रुपियाँको अखबारको राशिफल नै प्रशस्त छ । अँ साँच्ची । अखबार त आइसक्यो होला । मैले कान्छालाई बोलाएँ । कान्छो च्याँट्ठिँदै आइपुग्यो । जाजा अखबार लिएर आ भनेर कान्छोलाई अराएको मात्र के थिएँ, कान्छो त चिच्याइहाल्यो । कुन अखबार ल्याउनु अहिले पाँच बजे । अखबार पनि छापिएको छैन होला । शनिवारको दिन जहिले पनि यस्तै ताल गरिसिन्छ । अहिले एकछिन पछि ल्याइदिउँला, दूध, लिन जाँदा भन्दै फतफताउँदै हिँड्यो कान्छो । आफूलाई भने पर्‍यो पीर । कान्छोको लन्ठोमा लागेर बसिरह्यो भने अखबार नै सिद्धिन बेर लाग्दैन । शनिवारको अखबार हारालुछ हुन्छ अरू थोक पढ्नलाई होइन कि राशिफल पढ्न मात्र ।

जानुपर्‍यो आफै बरु भन्दै निस्केँ चोकको पसलतिर । अखबार किनेँ तर राशिफल पढिनँ । कतिपय उत्साहीहरू अखबार किनिसकेपछि त्यही उभ्भी उभ्भी पढ्दै थिए । आफ्नो भाग्य पनि त्यति हतार गरेर पढेर हुन्छ । पढेपछि त आपत सुरु भइहाल्छ नि ! राम्रो हुन्छ भनेर लेखेको रैछ भने कहिले हुन्छ भनेर पर्खिंदाको झ्याउ । नराम्रो हुन्छ भनेर लेखेको रै छ भने भइदेला भन्ने पिरलो । त्यसैले म अखबारलाई कोटभित्र लुकाएर घरसम्म आइपुगेँ । तै बाटामा कसैले लुटेन । अखबार किन्नुचाहिँ नपर्ने, देख्यो कि लुछेर पढ्नुपर्ने ज्ञानीहरूले कहिलेकाहीँ त हेरुँ त भनेर बाटैमा खोसेर पढन थाल्छन । ऊ पढिरहन्छ निस्फिक्रीसँग, तपाईंचाहिँ वाल्ल परेर उसलाई पर्खिरहनुस् । जे होस्, मैले अखबारलाई जोगाएर घरसम्म ल्याइपुर्‍याएँ । श्रीमतीलाई एक कप चियाको अनुनय गरेँ अनि पल्टाएँ शनिवारको परिशिष्टाड्क ।

राशिफल त पल्टियो तर अब कुनचाहिँ राशि पढुँ भन्ने अन्योलले छोप्यो । तपाईंहरूलाई त थाहै होला न्वारानको नामको पहिलो अक्षरले एउटा राशि हुन्छ भने जन्म तारिखले अर्को । अब मेरै हेर्नुस् त नामले मिथुन, जन्म तारिखले कन्या । अब दुईवटा डुङ्गामा खुट्टा हाल्यो भने त पक्कै बिन्छु बरु नामको राशिलाई नै हेरुँ भनेर पढ्न थाले । त्यसपछि राशिफलमा लेखिएको भविष्यफल र यथार्थमा मेरो वर्तमानमा के भयो त्यसको बेलिविस्तार सुन्नु ह्वस् ।

शनिवारको दिन आरामले बित्यो । राती खाना खाइसकेर ओछ्यानमा पल्टेपछि राशिफलको मूल्याङ्कन गर्न थाले । शनिवारको दिन शत्रुवाधा भनेर लेखिएको थियो तर सधैँ झगडा गर्ने छिमेकी समेतले त्यो दिन झगडा गरेन । कुनै शत्रु आइलागेन । राशिफल ठ्याम्मै मिलेन । यस्तो त नहुनु पर्ने । मैले दिनभरिको घटनामाथि विचार गर्ने निणर्य गरेँ । दिउसो आज मासु खाउँ भनेर भनेको थिए तर श्रीमतीले आफैलाई खाउला जस्तो गरेकी थिइन्, तलबले भात खान पुग्दैन, मासु । म चुइक्क परेको थिएँ । भातसात खाएर यसो साथीभाइकहाँ जाउँ भनेर कस्सिएको गर्जिहालिन् महामाया “कहाँ हिँड्या नि ठाट्टिएर ? तास खेल्न जानु पर्‍या छैन । बारी कसैले नखनिदिएर चमसुर छर्न पाको छैन, त्यै खन्दिस्योस्” । म त झसङ्ग भएँ । आजको मेरो सारा काममा श्रीमतीले नै बाधा पारेकी थिइन् । शत्रुवाधा भन्या मिल्यो कि क्या हो सोच्दै कोल्टो फर्केको त श्रीमती गर्जिन्- के फर्केको यता । चुप लागेर नसुतेर । आफूलाई कस्तो थकाइ लागिराछ । आफ्नो अन्तिम आशा पनि चकनाचुर भयो । अब तपाईंहरू आफै भन्नुस् शत्रुवाधा मिल्यो कि मिलेन भनेर । म त असमञ्जसमा छु, आफ्नै अर्धाङ्गिनीलाई शत्रु कसरी मानूँ ।

पूर्वीय संस्कृतिमा ज्योतिष शास्त्रको जुन महत्त्व छ त्यो राशिफल मिलेन भने बरबाद हुने भएन ? म गुनथुन गर्न थाले र अनायास मेरो मनमा आशाको सानो अङ्कुरण भएर आयो । श्रीमतीले बारी खनिदिनु भनेर अराउनू र मेरो आइतवार अफिस नगई बारी खन्ने निणर्य गरे । सम्भवतः बाउबाजेले गाडेको सुनको असर्फीको घैटो फेला परिहाल्छ कि ? मैले बारी खनिसके, जीउ लखतरान भैसक्यो क्यै निस्किँदैन । पसिनाको धारा बगेर सारा लुगा भिजिसक्यो । एउटा सानो टुक्रा अझै खन्न बाकी थियो, खनी हालौ भनी सकी नसकी कोदालो उचालेर हानेको के थिए, ट््वाड्रयाङ्ग आवाज आउनुको साथै त भेटिएको क्यै न क्यै भन्ने भाव पनि मनमा आयो । त्यसपछि त म भावविहीन पो भैछु अर्थात् बेहोसै पो भएछु । दौडादौड गरेर अस्पताल पुर्‍याए छन् । जल विनियोजन पो भएछ । चोक्टा खान गएको मान्छे झोलमा डुवेर मर्‍यो भन्याजस्तो पो भयो ।

अर्को दिन बिहान त्यो ट्वाङर्‍याङ्ग गरेको के रहेछ त भनेर साधेको त श्रीमतीले एउटा रुपियाँ ल्याएर हुइँकाइदिइन् । त्यो ट्वाङर्‍याङ्ग गरेको चिज फुटेको पुरानो कराई रै छ जसलाई श्रीमतीले थोत्रो सामान किन्नेलाई ५० पैसा किलोमा बेचिदिछन् । त्यो एक रुपियाँ त्यसैको रैछ । अब मैले पाईं कि पाइनत गाडेको धन तपाईंहरूनै भन्नुस् त । सोमवारको कथा त झन् के भन्नु । मिष्टान भोजन भनेर राशिफलमा लेखिएकोमा श्रीमतीले एक बिहानै चिनी नहालेको चिया ख्वाइन । त्यसपछि दाल सिद्धिएको छ रे भनेर गुन्दु्रक भात ख्वाएर अफिस लगारिन् । अफिसमा पनि कतैबाट बिहेको भोजको क्यै नपाए तेह्रौँको भोजको भए पनि निम्तो आइहाल्छ कि भनेर धेरै आशा गरे तर कतैबाट क्यै आएन । कुनै साथीभाइले होटेलतिर लगिहाल्छ कि भनेर मुख बाएर बसेँ तर मुखमा झिङ्गा बाहेक क्यै पसेन । अन्तमा लुरुलुरु घर फर्के । घरनेर पुगेपछि चुरोटको तलतल लागेर आयो र एक खिल्ली याक चुरोट किने र पसलेले दिएको फिर्ता हातमा लिएर चुरोटको सर्को तान्दै घरभित्र छिर्न लागेको त पसलेले त फिर्ता पैसाको साटो एउटा पुष्टकारी पो दिएको रै छ । लौ यै भए पनि भनेर पुष्टकारी प्वाक्क मुखमा हाले र सोचे, सायद मेरो स्तरको मिष्टान भोजन यही नै हो क्यारे । मिलीगो नि राशिफल, कसो ?

मङ्गलबार आफ्नो वर्तको दिन । बिहान त्यतिकै अफिस गयो अनि दिउंसो तीन बजेतिर घर फर्केर रोटी खाने गरेको थिए । राशिफलमा मान सम्मान पाउने लेखिएको थियो । ईश्वर पाउने भनेर लेखिएको भए वर्तको दिन बरु पाइहालिन्थ्यो कि, यो कलियुगमा कसले सित्तैमा मान सम्मान दिन्छ । मान सम्मान पनि किन्न सक्नुपर्छ अफिस गएर मेचमा बसेको मात्र के थिए हाकिमले बोलाएको छ भनेर पियुनले खबर ल्यायो । दङ्ग परेँ । हाकिमको बोलाहट र मानसम्मान बिच कुनै सम्बन्ध छ कि भन्ने आशाले दङ्ग पर्दै गए । हाकिम त काम नकाजसँग एक बिहानै दुर्वासा भएर पो बसेको रैछ, चिच्याइगो तपाईं मङ्गलबार सधैँ दिउँसो अफिसबाट भाग्नुहुन्छ रे । आज पाँचबजे मलाई भेटेर जानु होला । म जिल्लाराम । हाकिमलाई मङ्गलबार एक दिन चाडै जान्छु भनेर सोधेकै थिए । कस्तो अडवाङ्गे रै छ । आज मानसम्मान पाउने दिन झपार पाउने दिनमा पो परिणत भयो । पाँच बजे लखतरान भएर घर पुगेको त श्रीमती तीन बजे म नपुगेपछि ताल्चा लाएर सारी प्रदर्शनी हेर्न भृकुटीमण्डप पो हिँडिछन् । अझै चाहियो मान सम्मान ? घरको दैलोमा भोकै प्यासै कुरेर बसिरहे ।

बुधबारको राशिफल नानीको आमाले थाहा पाइन् भने बुझ्नु नसुझ्नुसँग टुप्पी समाउन बेर लाउदिनन् । एउटी श्रीमती त सुमर्न यत्रो आपत त्यसमाथि प्रेमिका पनि भयो भने के दुर्गति होला । राशिफलमा प्रेमिका मिलन लेखेको थियो । जिन्दगीमा आइमाईको नाउँमा श्रीमतीबाहेक अरू कसैको सङ्गत पाउन पाएको भए सायद आफ्नो जिन्दगी पनि सङ्गीतमय भैहाल्थ्यो कि । बिहान श्रीमतीरूपी कमान्डरले दिएको राशन खाऊ अनि अफिस मुन्ट । ठिक साढे पाँच बजे कमान्डरलाई रिपोर्ट गर्न फर्किहाल । छेउछाउ हेर्न, चियाउन पनि प्रतिबन्ध । एक त अपरिचित आइमाईहरूसँग मेलजोल बढाउन आफैलाई सङ्कोच त्यसमाथि श्रीमतीको मिलिट्री शासन । विद्यार्थी बेलामा आजका ठिटाठिटीजस्तो अल्लारिने समय पनि थिएन र साच्चै भन्ने हो भने कसैले घाँस पनि हालेन । यस्ता मान्छेको पनि प्रेमिका हुन्छ कतै ? अनि पे्रमिका नै नभए मिलन कहाँबाट ? बेलुका अफिसबाट घर फर्के । श्रीमती बैठकमा एउटी अपरिचित आइमाईसँग निकै बात मार्दै थिइन्, म आएको देखेर चिच्याइन् । बैठकमा गएको त श्रीमती त त्यसै मकमक्किएर सोध्छिन् वा चिनिस्यो उहाँलाई ? मैेले ती महिलालाई नियालेर हेरेँ, पूर्वतिर हेर्दा दक्षिणतिर हेरेको जस्तो आँखा, सस्तो मेकअप, चाउरिएको गाला । मैले नचिनेको सङ्केतस्वरूप टाउको हल्लाएँ । लौ । कस्तो नचिन्नु त । पाँच क्लासमा हजुरसँगै पढेको रे । हजुरलाई कस्तो मनपराउनू हुन्थ्यो अरे श्रीमतीले हाँस्दै भनिन् । म दङ्ग परे । कस्ती वितपाते आइमाई रैछे पाँच क्लासमा हामी कत्रा थियौँ र, नाइटो त झरेको थिएन । उनले मलाई मन पराउथिन् अरे । सुन्नुस् अब । आफूलाई अनुहार पनि सम्झना छैन । अफिसमा के काम थियो र सोर्स लाउन आकी थिइन्, उनी त गइन् । श्रीमतीले चाहिँ हजुरको प्रेमिका भनेर धुरुक्कै पारिन् । तपाईंहरू के भन्नुहुन्छ ? मेरो राशिफलको प्रेमिका मिलन ठ्याम्मै मिल्यो हगि ?

बिहीबारको राशिफलमा अचम्मको कुरा लेखिएको थियो, सिर्जनात्मक प्रतिभाको कदर । आफूसँग कुनै प्रतिभा भए न कदर, होला । लेख्ने कुरामा अफिसको पत्रबाहेक केही आउँदैन । खेल्ने कुरामा तास बाहेक केही आउँदैन र तासलाई सार्क गेम्समा राखिएको थिएन । गाउने कुरामा रधुपति राधव पनि आउँदैन । पढ्ने छैन । अनि प्रतिभा आओस् कहाँबाट, प्रतिभा पलाओस् कहाँबाट । हुन त आफूमा भएको प्रतिभा आफूले होइन कि अरूले देख्ने चिज हो, कसैले केही देखिहाल्छ कि । मन्त्री, सन्त्री कोही चिन जानको भए पनि यसो सोर्स फोर्स लायो भने राष्ट्रिय प्रतिभा पुरस्कार पाइन्थ्यो होला, कसैले चिनेको छैन । त्यतिकैमा हाकिमले बोलाएको छ भनेर खबर आयो । हात मल्दै र कपाल कन्याउँदै अर्थात् विशुद्ध नेपाली चाकरीको तरिकालाई पूणर्रूपमा पालन गर्दै हाकिमको कोठामा छिरे । के गर्नु । नभए मङ्गलबार वर्तको दिन पनि छुट्टी दिँदैन बज्याले । हाकिम आश्चर्यजनक रूपमा हँसिलो मुडमा थियो, एउटा सानो सहयोग गरिदिनु पर्‍यो । आफ्नो प्रतिभाको नमुना देखाइदिनु पर्‍यो भन्छ बा । अबेलै भए पनि घैँटोमा घाम छिरेछ भन्ठाने । बल्ल मान्छे चिनेछ बज्याले । हजुर । मर्जिहोस् न । म त हजुरको लागि जे पनि गर्न सक्छु । म वर्वराए । हेर्नुस् । जिम्मेवारीको कुरा छ, फेरि मेरो बेइज्जत नहोस् नि हाकिमले औँला ठड्यायो ।

ठूलै भाग पर्न थाल्या जस्तो लाग्यो आफूलाई । विदेश सिदेस रै छ भने ल्याइदिनुपर्ला दुई चार वटा स्कच । आज्ञा होस्, न हजुर । हजुरको नाक ठाडो पारेर आउँछु कस्सिएर भने । हेर्नुस् । मेरो सालीकोे जेठानीको बहिनीको छोरीको बिहे छ, साहै्र नजिकको नाता छ । त्यसैले तपाईंलाई सम्झेको । तपार्ईंले अस्ति पिकनिकमा आलुको अचार गजबको बनाउनुभएको थियो । आज एक छिन बिहेमा गएर आलुको अचार पार्नमा मद्दत गरिदिनोस् न है । मैले त उनीहरूलाई यै भन्देको छु मेरो मान्छे त धेरै प्रतिभाशाली छ, ऊ पुगेपछि आलुको अचार त के पूरै भोजलाई नै ढुक्क भए हुन्छ- हाकिमले गर्विलो स्वरमा भन्यो । आफूलाई भने पानी पानी भएजस्तो लाग्यो । सालेले केके न प्रतिभाको कदर गर्न थाल्यो भन्या त कुक पो बनायो । हस भन्दै कोठा बाहिर निस्केर एक छिन उभ्भिए । हाकिम कसलाई हो फोन गर्दै थियो-साली नानी । तिम्रो काम भयो । एउटा अफिसकै कुक पठाउँदै छु । दलाएर लिनु बज्यासँग काम । म त छानाबाट खसे जस्तो भएँ । आफ्नो अद्भुत प्रतिभालाई भान्सेको रूपमा कदर गरिएको देखेर, राशिफलको पंक्तिहरूको सम्झना भएर आयो । सोचे आफ्नो प्रतिभा यही नै हो भने बरु आजदेखि श्रीमतीको भान्सामा पो मद्दत गर्नु जाति ।

राशिफलको लन्ठोमा म फस्दै गइरहेको थिएँ तर हात भने केही परेको थिएन । यस्तो स्थितिमा शुक्रवारको राशिफल हेर्नै पनि मन लागेन तर मनै न हो, थाम्न पनि सकिन । सोचे सप्ताहको अन्त शुक्रबारको दिन नै कुनै भाग्योदय छ कि । पल्टाएँ अखबार । यात्राको सम्भावना लेखिएको रहेछ । यो पनि घरबाट अफिस, अफिसबाट घरसम्मको यात्रामा टरेर जाने हो कि ? अफिस जान भनेर हिँडे । यात्रा भए अफिसमै त होला नि ! गौशालाको बस स्टाप नेर पुगेको पेटीमा आमाको केटाकेटीको साथी अन्टी विमला रणभुल्ल अवस्थामा गुन्टासुन्टा बोकेर उभ्भिरहनुभएको रहेछ । मलाई देख्ने बित्तिकै कराइहाल्नुभो बाबु ? म नजिक पुगेको त रुन पो थाल्नू भो विराटनगरबाट भर्खर बसबाट ओर्लदै छु । मेरो सारा गहनागुरिया एउटा थैलोमा राखेर कम्मरमा घुसारेकी थिए, बसमै छुट्यो । बस भर्खरै गयो, बनेपासम्म जान्छ । लौ न बाबु एउटा ट्याक्सी लिएर जाऊ न भन्दै बसको टिकट हातमा राखिदिनु भो । आफूलाई के गर्नु नगर्नू भयो । नजाऊ, पछि आमाले थाहा पाउनू भो भने मारिहाल्नुहुन्छ । उता अन्टी ह्वाँ…ह्वाँ… रोइरहनुभएको थियो ।

हतारमा पैसा माग्न पनि बिर्से, ट्याक्सी लिएर दगुरे । बल्ल तल्ल बनेपा पुगेर बसलाई समाते । केको भेटिन्थ्यो गहनाको पोको । ट्याक्सीलाई दिन आफूसँग पैसो थिएन । फेरि त्यही ट्याक्सीमा घरसम्म फर्के । श्रीमतीसँग अनुनय-विनय गरेर पैसा लिएर ट्याक्सीलाई पाँच सय तिरेँ । त्यसपछि बल्ल अन्टीको नम्बर खोजेर फोन गरेको त छानाबाट खसेजस्तो पो भए । बाबुलाई दुःख मात्र भयो । गहनाको पोको त सुटकेसमा पो रै छ भनेर फोन राखिदिन् अन्टीले । ट्याक्सी खर्च कति लाग्या भनेर सोध्दा पनि सोधिनन् दिने कुरा त परै जाओस् । श्रीमतीले पाँच सय फोकटमा गयो भनेर झन्डै मारेकी । अब तपाईंहरू नै भन्नुस् यो मेरो यात्रा थियो कि जात्रा ।

मेरो राशिफलको हप्ता यस्तै चालले सकियो । के मिल्यो के मिलेन आफै ठम्याउनुस् तर म त फेरि हिँडेँ शनिबारको नयाँ अखबार लिन । यो सप्ताह मेरो तालुमा आलु फलिहाल्छ कि ? राशिफलको बडेमाको फल भेटिहाल्छ कि ?

०००
जनकपुरधाम
‘सुलेख’ पूर्णाङ्क १३५ (२०८०)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
छेपारोको रङ्ग

छेपारोको रङ्ग

रामप्रसाद पन्थी
विरासत

विरासत

अशोककुमार शिवा
सम्झौता

सम्झौता

श्रीप्रसाद पाेखरेल