साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नोकरको खोजीमा

श्रीमतीले त्यो केटीलाई देख्नेबित्तिकै भृकुटी खुम्च्याइन् र मलाई च्याप्प समातेर कोठाभित्र लगिन्- “यस्ती देख्दैमा चनमती केटीलाई म त राख्दिनँ । हजूरले के सोचेर यसलाई राख्ने भनेको ?

Nepal Telecom ad

मुन पौडेल :

खोजी पस्यो भने भगवान् त भेट्न सकिएला, नोकर मरे भेटिँंदैन । खोज्दा-खोज्दा लखतरान भइयो, तर नोकर भन्ने बस्तु कतै देखिएन । जति समय लगाएर नोकर खोजे, त्यति समय लगाएर अरू कुनै काम गरेको भए ठूलै उपलब्धि हुन्थ्यो होला । अफिस जाँदा चोर जस्तो आँखा दोडाउँदै हिँड्यो, बेलुकी अफिस छुटेपछि कुनाकानी, बसपार्क, होटल चहार्दै हिड्यो, पाइहालिन्छ कि कतै कुनै चाउरे भनेर के पाइन्थ्यो ? उल्टो आफैँलाई नोकर राख्न खोज्ने मानिस पो भेटिन्छन् अरू । जुत्ता खिइयो, आँखा कमजोर भयो तर नोकर पाउने कुनै लक्षण देखिएन । अरू त अरू खोजीराछ त बिचरा लोग्नेले’ भनेर स्वास्नीले भन्दिएकी भए पनि त चित्त बुझ्थ्यो नि । तर उनी त उल्टो टोकस्ने बाहेक केही गर्दिनन् । उनको सधैँको गुनासो घर पुग्नेबित्तिकै सुरु भैहाल्यो- “दिनभरि काम गर्दागर्दा ढाड फुट्ला जस्तो हुन्छ, भाउन्न भएर आउँछ । एउटा नोकर खोजेर ल्याउनुस् भन्दा सक्ने होइन । म त सक्दिनँ हजूरको कोचे घरधन्दा गर्न ।” दिनभरि अफिसमा गधा जस्तो कामले लाछियो, बेलुकी नोकर खोज्यो । नपाएपछि श्रीमतीको गनगन र कचकच सुन्यो, सुत्यो । यसै गरी घिस्रिरहेको थियो आफ्नो ठेलगाडा ।

शनिबारको दिन एकब्यानै श्रीमतीले हिटलर पारा देखाइहालिन् । एक कप दूध नभएको चिया ठ्यास्स राखेर अन्तिम ‘अल्टिमेटम’ प्रसारित गरिन्- “आज बिहानैदेखि गइबक्स्योस् नोकर खोज्न, तर एउटा कुरा सुनिबक्स्योस्, आज पनि नोकर ल्याबक्सेन भने चाहिँ आधा काम हजूरले नै गर्नुपर्छ । खाएको भाँडा म पखाल्छु कालो भाँडो हजूरले मस्काउनुपर्छ । फेरि भनिन भनिबक्सेला, बेलैमा भनिदिएकी छु । ‘हामीले मात्रै गर्नु’ भन्ने केही छैन ।” श्रीमतीको अमृत वचन सुनेर आफ्नो मुख कराही जस्तो कालो भयो । सबै थोक गरेकै थियो, एउटा कालो भाँडा माझ्न बाँकी थियो, त्यो पनि किन छुट्ने । श्रीमती र म सँगसँगै घरबाट निस्क्यौँ, श्रीमती आठ बजेको सिनेमा हेर्न गइन् आफू नोकरको खोजीमा ।

कहाँ खोज्न जाऊँ नोकर ? यता कति भौतारिँदे हनुमानढोकानेर पुगे । नोकर होलान् जस्ता कोही देखिँदैनन् कसलाई सोध्नु ? एउटा अलि झ्याउरे खालको केटो देखेर सोधेको त ‘साले ? तैँंले मलाई नोकरी लाग्ने जस्तो देखिस् ? तँजस्ता त दसवटालाई नोकर राखेको छु मैले’ भनेर झण्डै मारेथ्यो । ज्यान बचाउनाको सास्ती । एउटाले अलि मन गरेको थियो, तर उसलाई तलब नै सेक्सन अफिसर जति दिनुपर्ने अरे । सानो लुरे केटा देखेर फकाएको त खिल्ली उडाउँदै हिँड्यो- “हजुर म त एक दिनमा भारी बोकेर दुई सय कमाउँछु हजूर कति कमाउनुहुन्छ ?” केही नलागेपछि यसरी नोकर पाइँदैन, बरु अखबारमा एउटा विज्ञापन दिए पाइन्छ कि भनेर पुगेँ अखबारको कार्यालय । आफ्नो पाँचपाने लेखको बदलामा चार-पाँच लाइनको विज्ञापन कसो नछपाइदेला अखबारले भनेको त बल्लतल्ल तीनवटा लेखको बदलामा छाप्न तयार भए । नोकरहरूको अन्तर्वार्ता नहुञ्जेल मेरो कालो भाँडा माझ्ने म्यादलाई पनि श्रीमतीको अदालतमा छोराछोरी, सालासालीले सोर्स-पैरवी लगाई बल्ल-तल्ल बढाउन सफल भएँ ।

निर्धारित दिन र समयमा तीनजना प्रत्यासी, दुई केटा र एउटी केटी आए । पहिलो केटाका शर्तहरू सुन्दै मेरो होस उड्यो तलब इत्यादिको कुरा त परै जाओस्, उसलाई स्टारको सबै च्यानल हेर्न सकिने भिन्दै टि.भी चाहियो रे । घरमा भने दूरदर्शनबाहेक केही थिएन । अर्को केटाको त झन् हप्तामा दुई दिन मासु, मासको दाल नखाने, चामल बासमती हुनुपर्ने अचम्मका शर्तहरू थिए । आफूलाई मनसूली खान त धौधौ थियो, उसलाई बासमती ख्वाउनुपर्ने । यस्ता नोकर कसरी पाल्नु ? केटीचाहिँ त झन् हेर्दै नखरमाउली, नक्कली । टिसिक्क परेका लुगा लगाएको, सोह्र सिँगार गरेकी । नोकर होइन, हिरोइन बन्न हिंँडेकी जस्ती । उसको शर्त झन् अद्भूत थियो । जति लिपिस्टिक क्रिम-पाउडर र फरिया म श्रीमतीलाई एक वर्षमा किन्दिन्थेँ, त्यसको डबल उसलाई एक महिनामा नै दिनुपर्ने अरे ! केटी त झन् हुँदै नहुने । तर यसै केटीलाई हतियार बनाएर कालो भाँडाबाट मुक्त हुने ‘आइडिया’ भने मैले सोचेँ र श्रीमतीनजिक पुगेँ ।

“अब बल्ल तिमीलाई आनन्द हुने भो । महिनाको चारवटा फरियाँ, दुईवटा लिपस्टिक, दुई बट्टा क्रिम पाउडर इत्यादि दिएर जम्मा ५ सय रुपैयाँ दिए पुग्छ रे यो नानीलाई । सफासुग्घर छिन्, राम्री छिन् । तिम्रो जीउ मिचिदिन्छन्, कम्मर थिचिदिन्छिन्, तिमी माइत गएको बेलामा भात-सात पकाइदिन्छिन्, मलाई पनि आनन्द हुन्छ ।” श्रीमतीले त्यो केटीलाई देख्नेबित्तिकै भृकुटी खुम्च्याइन् र मलाई च्याप्प समातेर कोठाभित्र लगिन्- “यस्ती देख्दैमा चनमती केटीलाई म त राख्दिनँ । हजूरले के सोचेर यसलाई राख्ने भनेको ? एक त त्यति खर्च पनि दिन सक्दिनँ, अर्को यसले त मेरो घरै बिगारिदिन्छे । हजुरलाई नोकर खोज्न पो भनेको, सौता खोज्न हो ?” मैले मनमनै दङ्ग पर्दै भनेँ- “के कुरा गरेकी तिमीले ? बल्लबल्ल नोकर खोजेँ, तिमीचाहिँ सौता ल्याएको भन्छ्यौ । म त अब नोकर-सोकर खोज्न सक्दिनँ यसैलाई राख्छु ।” श्रीमतीलाई पुगिगो, आखिर आइमाई न ठहरिन् क्वाँ-क्वाँ रुन थालिन्- “हजुर यो नक्कलीलाई राख्ने भए बसिबक्योस् यसैसँग, हामी माइती जान्छौंँ ।”

“ल हेर, आफैँले भनेको होइन, नोकर खोजेर नल्याए भाँडा माझ्नुपर्छ भनेर ? अब जसलाई पाएँ त्यसलाई ल्याएँ । यसमा रुने के कुरा छ ?” म आफ्नो उद्देश्यतिर लागेँ ।

“भन्दिएको पो त, हजुरलाई कसैले भाँडा मझाउँछ । मलाई चाहिँदैन नोकर-सोकर । धपाइदिबक्स्योस् त्यस नखरमाउलीलाई ।” श्रीमतीजी बल्ल लाइनमा आइन् । “अनि फेरि मलाई नोकर खोज्दे भनेर कराउने होइन नि !” मैले बाचा गराउन खोजेँ । “मैले भनिहालेँ नि, मलाई चाहिँदैन नोकर भनेर ।” श्रीमतीले ठोकुवा गरेपछि मैले आनन्दले जुँगा मुसार्दै त्यस केटीलाई बिदा दिएँ र नोकर खोजी गर्ने लुतो पन्छाएँ ।

०००
‘सफलताका तीन मन्त्र’ हास्यव्यङ्ग्यसङ्ग्रह (२०५५) 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
श्रीझोले महापुराण

श्रीझोले महापुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x