सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

माड्सापका अफवाह

नमस्कार गर्नकै लागि मुन्टो छुस्स फर्काउँदा विद्यार्थीसँग ठोकिएका शिक्षकको नमस्कारले पाउनेवालाको सम्मान गर्न सक्यो वा सकेन त्यो त उनकै हृदयले जान्ला तर बिथोलिएको नमस्कारलाई दोहोर्‍याउनेवालाले आफ्नो कर्तव्य चाहिँ पूरा गरे ।

Nepal Telecom ad

दिनेश पाण्डेय :

Dinesh pandeya

कार्यक्षेत्रमा भर्खरभर्खर सत्तापरिवर्तनका छटाहरू देखिँदै थिए । पुराना हाकिम जाँदै गर्दा र नयाँ हाकिम आउँदै गर्दाका परिदृश्यहरू टड्कारै थिए । संस्थाको स्थापनाकालदेखि जति हाकिमहरू फेरिए करिबकरिब सबैका आवतजावतका प्रक्रिया उस्तैउस्तै । पुरानाले नयाँलाई हिसाबकिताब बुझाउनै सकस अनि नयाँलाई चाहिँ काम सम्हालेर अघि बढ्न हम्मेहम्मे । आम्दानी र खर्चका बिलहरू कुनै घरका दराजमा, कुनै मौसमपिच्छेका झोलामा, कुनै कोट, पाइन्ट, सर्ट, ज्याकेट र युनिफर्मका खल्तीखल्तीमा घुसारेपछि सजिलै भेटिनु पनि कसरी । खोज्ने र भेटिने क्रम जारी नै थियो । हुन त कार्यालयमा लेखापाल पनि नभएको त होइन तर लेखापालभन्दा माथिका हाकिम नै महालेखापाल बन्दाका समस्या हुन् यी । बेलामा जोहो गरेर राखे पो चाहिँदा भेटिन्छ । यत्रतत्र राखिएका कागजपत्र सँगेल्न नसकेर हो अथवा हिसाब माग गर्नेले टन्टामात्र लगाइदिएर हो भन्ने कुरा चाहिँ हामीले भन्दा लेखाव्यवस्थाको नियमले नै बुझ्ला ।

केही दिनदेखि कार्यक्षेत्रमा स्टाफैपिच्छेका नाममा निस्किएको लाखौँको बेरुजु सुन्दा कान टट्टाइसकेको अवस्था पनि ज्युँदै थियो । हाकिमहरूको परिवर्तनका क्रममा प्रायः कार्यालयमा पुराना हाकिमहरू बिदा बस्ने चलन हाम्रो मुलुकमा सामान्य नै हो । स्वास्थ्यमा समस्याको कारण देखाई पुराना हाकिम केही दिनदेखि विद्यालयमा अलिक नियमित नभइरहेको अवस्था थियो । नियमित नभएपछि उनलाई दिइएको जिम्मेवारीमा थोरै असर पर्ने नै भयो ।

पानाभरि सबैले सही धस्काई एउटा कक्षाका भाइबहिनीहरूले आफ्नो कक्षा नियमित नभएकोले नियमित गराउन अनुरोध गर्दै नवनियुक्त हाकिमलाई कार्यकक्षमा सुटुक्क बुझाएको निवेदन थन्क्याइएको फाइल कुन चाहिँ मुसाले कुटुक्क काटेर एकजना अभिभावकको हातमा पुर्‍याइदिँदा फेसबुकका भित्ताभरि निवेदन छरपस्टिएपछि समग्र विद्यालय परिवारलाई लज्जाबोध भइरहेको थियो । यस्ता कुराले फेसबुक रङ्गिएपछि वडा कार्यालय, नगरपालिका, नगर शिक्षा कार्यालयजस्ता स्थानीय निकायको चासो नहोस् पनि कसरी ? “विद्यालयमा त विद्यार्थीहरू कक्षासमेत बहिष्कार गरी पूरै आन्दोलनमा उत्रिएका छन् अरे” भन्ने हाउगुजी पुगेछ पालिकाको कानमा ।

यति सुनेपछि अनुगमन त गर्नै पर्‍यो । वास्तविकता बुझ्न विद्यालयमा वडाध्यक्षसहित नगर शिक्षा कार्यालयको अनुगमन टोली ठिक्क दश बजे आएछ । दश बजेर दश मिनेटसम्म बिहानी सत्रका कक्षाहरू चल्ने हुँदा उनीहरूको पढाइमा बाधा नहोस् भनी दिवासत्रका विद्यार्थीहरूलाई स्कुलभित्र चाँडै नै पस्न रोक लगाउने चलन भएकोले विद्यालयपरिसरमा बिहान साढे नौदेखि दश दशसम्मको दृश्य निकै मनमोहक हुन्छ । स्कुलभित्र छिर्न नपाएर कोही गाडी हुइँकिने सडकमै खेलिरहेका, कोही अगाडिपटिको सहकारीको पार्किङस्थलमा उफ्रिरहेका, कोही गेट कतिखेर खुल्ला भनी कुरिरहेका, छिटपुट छिरेकाहरू झोला बोकेरै ग्राउन्डमा रल्लिरहेका र कोही आआफ्ना कक्षाकोठाकै ढोकामा लाम लागिरहेका देखिन्थे । कक्षा नचलेका कुनैकुनै खाली कोठामा भने विद्यार्थीले भित्र पसेर झोला राखेरै खेल्न पनि भ्याउँथे । अनुगमन टोलीले यो सबै नियाल्दै रह्यो केही बेर ।

विद्यालय छिरिसकेका मास्टरहरू हाजिरीकापी राखिएको कोठाको ढोका बन्द भएकोले ढोकामा पुग्दै फर्किँदै गर्दै थिए । बिस्तारै गेटबाट विद्यार्थीको लावालस्कर भित्र छिर्‍यो । सँगसँगै बाँकी मास्टर पनि छिर्दै थिए । केही बेरमा हाजिरीकक्षको ताला खुल्यो । हाजिरीकक्षको ठिक्क अगाडि सरकारी कर्मचारीको पोसाकमा खडा अनुगमन टोलीका सदस्यहरूलाई नमस्कार टक्र्याउँदै शिक्षकले आआफ्ना हाजिरी जनाउँदै गए । मान्छेपिच्छेका घडी र घडीपिच्छेका टाइम हुने भएकोले समयको एकरूपता नभई दुई चार मिनेटको यताउता प्रायः जताततै हुनु पनि स्वाभाविकै हो । थप शिक्षकहरू पनि आउँदै हाजिरी गर्दै जाने क्रम चल्दै थियो । अब त हाकिमको सवारी पनि भइसकेको थियो । हाकिम पनि हाजिरीकक्षमा छिरे । यसै क्रममा अर्का एकजना शिक्षक सामान्य गतिमा सोही कक्षतिर जाँदै थिए । नियामक निकायका कर्मचारीलाई नमस्कार त टक्रयाउनै पर्‍यो ।

पाइलाको चाल मन्दमन्द हुँदै शिक्षकका आँखा उनीहरूतिर सोझिए । घन्टीले बिहानी प्रार्थनाको समयको सङ्केत भर्खरै गरेकोले केटाकेटीहरू आ-आफ्ना कोठामा झोला थन्क्याई लामबद्ध हुन हतारिँदै थिए । वेगले दौडिँदै आएको एउटा विद्यार्थी एकातिर फर्किएर नमस्कार मुद्रा बनाउँदै गरेका शिक्षकको गोडामा ठोकिँदा दुबै जना झन्डै लडिएलाझैँ असन्तुलित भए । गोडाको चालमा एक्कासि अवरोध आउँदा यस्तो अवस्था आइपर्नु सामान्य नै हो । शिक्षकको नमस्कार मुद्रा बिथोलियो । छात्र र शिक्षक दुबै सम्हालिए । बिथोलिएका हातहरू समेटेर शिक्षकले पुनः नमस्कार टक्र्याए । अनुगमन टोलीका बाक्ला ज्यान भएका एक सदस्यले त देख्तै देखेनन् । पातला ज्यानवालाले चाहिँ शिक्षकको नमस्काररूपी अभिवादनको प्रतिक्रिया भन्दा पनि “भइहाल्यो पर्दैन, जानुस् जानुस्” भन्ने भावमा यस्सो एक हात हल्लाए । नमस्कार गर्नकै लागि मुन्टो छुस्स फर्काउँदा विद्यार्थीसँग ठोकिएका शिक्षकको नमस्कारले पाउनेवालाको सम्मान गर्न सक्यो वा सकेन त्यो त उनकै हृदयले जान्ला तर बिथोलिएको नमस्कारलाई दोहोर्‍याउनेवालाले आफ्नो कर्तव्य चाहिँ पूरा गरे । शिक्षक भित्र पस्ता हाकिम पनि भर्खर हाजिरी गर्दै नै थिए । ढिलै पनि भइसकेको थिएन । आतिनुपर्ने र बरबादै भइसकेको पनि खासै केही थिएन । हाजिरी जनाउने अवधि सबैतिर यही नै हो ।

बिहानी प्रार्थनाको लागि विद्यार्थीहरू लामबद्ध हुन थाले । कम्पाउन्डभित्र पानीट्याङ्कीको लागि डोजरले भर्खरै एउटा खाडल बनाउने क्रममा ग्राउन्डमा माटोको एउटा पहाड नै ठडिएको थियो । त्यसैले गर्दा पनि झन्डै १२०० विद्यार्थीको लागि ठाउँको व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो । अगाडिदेखि नै व्यक्ति लाइनमा एकएक नउभिई पछाडिका व्यक्ति उभिने ठाउँ नै पत्तो नहुने भएकाले त्यतिका विद्यार्थीहरू एकएक गरी लाम लाग्न केही समय लाग्छ नै । यति बेला नयाँ मान्छेलाई झट्ट हेर्दा केही क्षण चाहिँ कताकता केके नमिलेझैँ पनि लाग्ने हुन्छ । राष्ट्रिय गान, पिटीखेल र सामान्य अनुशासनका पाठसहित प्रार्थनासभा सकियो । कक्षा भएका शिक्षकहरू हाजिरीकापी च्यापी आ-आफ्ना कक्षामा गए । कक्षा नभएकाहरू गृहकार्य परीक्षण गर्दै स्टाफरुममा बसे । सायद अनुगमनटोलीसँग कार्यालयप्रमुखको बैठक बस्यो होला कतै । एक छिनमा अतिथिहरू आफ्नो काम सकेर पालिका फर्किए । उसै दिन फेसबुकमा सूचना हाल्ने अभिभावकलाई विद्यालय प्रवेशमा रोक लगाउने मौखिक निर्देशन पनि भयो रे भन्ने सुनियो ।

दिउँसो खाजा खाँदै गर्दा सहकर्मी साथीहरूमा अनुगमनकै कुरा चल्यो ।

“बिहान अनुगमन आएकोले हस्याङफस्याङ गरी हतारिएर हाजिर गर्न जाँदा एक जना सर त लडेको रे हो त ?” – एक जनाले कुरा निकाले ।

अँ भन्या, लडेर चोट लागेर नर्स रुममा ग’को रे पनि भन्थे; खोइ मैले त देखिनँ” – अर्काले थपे ।

“होइन नि चोकको मेडिकलमा लगेका रे पो त विद्यार्थीले” – अर्काले थपे ।

साथीहरूका कुरा सुन्दै गर्दा बिहान विद्यार्थीसँग ठोकिएका शिक्षक चाहिँ सोच्तै थिए, “हाजिरी नै गर्न त्यस्तो लड्ने गरी हतारिएरै जानु त नपर्ने । को लडेछ होला ?”

फेरि अर्का शिक्षकले थपे, “ठुलो चोट लागेको रहेछ रे । मेडिकलमा उपचार लागेन रे । हस्पिटल पो गा’का छन् रे त । बरू घरमा फोन गरिदिने पो कुरा चल्दै थियो अफिसमा ।”

ठिक त्यसै बेला बिहान छात्रसँग ठोकिएका शिक्षकको मोबाइलले गीत गाउन थाल्यो ।

“घरबाट फोन आयो” भन्दै उनले फोन उठाए ।

“हजुर कता हुनुहुन्छ ?”

“म स्कुलमा” – उनले उत्तर दिए ।

“हस्पिटलमा भर्ना भएको रे भन्ने सुनेर हामी त चारपाँच जना यहाँ हस्पिटलमा आ’का छौँ त ।”

“कहाँ ?”

“यहाँ विनायकमा ।”

“कल्ले भन्या ?”

“खोइ त्यस्तै फोन आ’थ्यो स्कुलबाट अघिन ।”

“हावा कुरा । अरू नै कोही होला । म स्कुलमै छु । ठिक छु ।” – उनले फेरि उत्तर दिए ।

“खुट्टा भाँचिएको छ रे नि त ? ”

“होला, कोही लडेर बेन्चको खुट्टा चाहिँ भाँचिएको होला कि ।”

“छ्याऽऽ ” अझ यहाँ सरम्यामले त फलफूल पनि बोकेर ल्याउनुभएको छ ।

म त अझ बैँकको चेक पनि साथमा थिएन अनि साथीहरूको खल्ती टक्टक्याएर अलिअलि पैसोसमेत तयार गरी हतारिएर ट्याक्सीमा आ’को । कुन चाहिँ काम नपा’को होला त त्यस्तो हावा कुरा गर्ने ?”

“लल । कहिलेकाहीँ यस्तै भ्रम हुन्छ । अब नहतारिई फर्किनू । पहिला नै मलाई फोन गर्नु पर्दैन त ?”

“गरेको त हो नि । फोनै उठेन । इमर्जेन्सीमा भएर नउठेको होला भन्ने लाग्यो ।”

“ए फोन त साइलेन्ट मोडमा थियो । थाहै भएनछ ।”

०००
नुवाकोट, हाल काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मान्छे

मान्छे

दिनेश पाण्डेय
निबन्धको बकपत्र

निबन्धको बकपत्र

दिनेश पाण्डेय
राजाको स्वागत

राजाको स्वागत

दिनेश पाण्डेय
आशीर्वाद

आशीर्वाद

दिनेश पाण्डेय
दुख्छ छाती

दुख्छ छाती

दिनेश पाण्डेय
जिब्रो

जिब्रो

रमेश समर्थन
बाघेझाप्पु

बाघेझाप्पु

चिरञ्जीवी दाहाल
तैले यहाँ के पाइस् !

तैले यहाँ के पाइस्...

चूडामणि रेग्मी
पीडा कि रहर ?

पीडा कि रहर ?

श्रीप्रसाद पाेखरेल
गुठ्का

गुठ्का

नगिता लेप्चा राई