साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजाको स्वागत

हिस्स बुढी हरिया दाँत । हात्ती आयो हात्ती आयो फुस्सा । नमच्चिने पिङका सय झट्का । यस्तैयस्तै झर्रा उखानहरूले मुखिया र आसेपासेका कान टर्रा बन्दै थिए । कोही लाखौँको बजेट खेर गएकोमा पिर गर्दै थिए ।

Nepal Telecom ad

दिनेश पाण्डेय :

गाउँमा मुखियाकै हालिमुहाली थियो । सिङ्गो गाउँको सरकारप्रमुख भन्नु नै मुखिया थिए । मुखियाका पछि लाग्ने र आपत् विपत्मा सहयोग गर्ने अरू एक दुई जना दुखिया पनि थिए । व्यवहारमा हेर्दा भने मुखिया चाहिँ दुखिया र दुखिया चाहिँ सुखिया थिए । दुखियाहरू केवल मुखिया बन्न नपाएकामा मात्र दुखिया थिए तर मोजमस्तीमा सुखिया थिए भने मुखिया चाहिँ थाप्लामा गाउँलेको भारी बोक्नुपर्ने र खासै अब्बल सहयोगीहरू नपाएकाले वास्तवमै दुखिया थिए । आफूमातहतका साथीहरू नै नभएका त होइनन् तर आफै हाकिम भएपछि आफूभन्दा तलतिरकालाई भाउ दिइरहने कुरा पनि त भएन । भाउ नपाएपछि तलकाहरूले काममा चासो देखाउने कुरै भएन । सबै काम आफै गरिभ्याऊँ जस्तो गर्थे । उसै त गाउँ, त्यसमाथि राजधानीभन्दा अलि परैको ठाउँ । प्रायः असभ्य मान्छेकै बसोबास थियो गाउँमा । सहरियाहरू ती गाउँबाट भित्रिएकाहरूलाई पाखे भन्ने गर्थे ।

बडाहाकिमका गालीका छर्रादेखि गाउँले गन्दगी नालीका पर्रासमेत भोग्नुपर्ने गरी उनले आफ्नो नियति तयार गरेका थिए । चाकरी गर्नमा मुखियाबा आफ्ना बलबुताले भ्याएसम्म गद्दारका हलुवादेखि तालुकदारका तलुवासम्म चाट्न पछि पर्दैनथे । नाना मुद्दा लगाई पहिलेका मुखियालाई अपदस्थ गराई आफ्नो उदय गराएका अरे भन्ने पनि आरोप गाउँमा चलिरहेकै थियो । पर्दा पछाडि त्यसको अनुसन्धान पनि चल्दै थियो । अन्य गाउँका मुखियाले जस्तै आफ्ना पिछलग्गुलाई काखी च्याप्नु र इतर पक्षकालाई घाँटी ङ्याक्नु उनको स्वभाव नै थियो । मुखिया एक दिन राजाको चाकरी गर्न सहर पुगे र आफ्नो गाउँमा एक भव्य कार्यक्रम गरी राजाको सवारी गराउने भन्ने निष्कर्ष लिई फर्किए । राजाको अनुमति बमोजिम कार्यक्रम तय भयो ।

गाउँ साह्रै फोहोर थियो । मूल बाटाहरूमा केटाकेटीहरूको आका यत्रतत्र थियो । सरसफाइको नियम त थियो तर कार्यान्वयन शून्यप्रायः । जजसले जेजे गरे पनि छुटै थियो । राजाको सवारीको अघिल्लो दिन एक्कासी मुखियाले आफूमातहतका हुक्के, बैठके, धुपौरे जस्ता सल्लाहकारहरू तथा हुनेखाने बनिटोपल्ने गाउँलेहरूलाई समेत गाउँ कार्यालयमा डाकी एक कचहरी राखी भोलिपल्टको कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न जिम्मेवारी बाँडफाँड गरे । गाउँले सबैले राजाको अगाडि नयाँ लुगा लगाई चिरिच्याँट्ट परेर आउनु पर्ने, थाङ्ना, कन्था, मैला वा च्यातिएका कपडा कसैले भिर्न नपाउने, थोत्रा लुगा भिरेमा कडाभन्दा कडा कारबाही गर्ने, हरेकका शिरदेखि पाउसम्म कपडाको एकरूपता हुनुपर्ने, कार्यक्रम स्थलमा मूल गेटबाट जथाभावी पहिरनका मान्छेलाई भित्र पस्न नदिने, कसै गरी छिरिहालेमा सबैलाई कुनै एउटा घरमा थुन्ने, अझ सकेसम्म त्यस्तालाई आ-आफ्ना घरमै बस्ने व्यवस्था गर्ने, मूलद्वारमा फूलमाला र सांस्कृतिक पहिरनसहित पञ्चकन्याको व्यवस्था गरिने, कपाल च्याप्ने काँटीका फुर्कना, कठाला च्याप्ने घाँटीका लुर्कना, गोडा छोप्ने जुत्ताका सुर्कना एकएक मिलेको हुनु पर्ने, राजाको स्वागतमा गाउँले बाजाहरू बजाइने, झाँकीहरू प्रदर्शनको व्यवस्था मिलाइने, लगायत यस्ता थुप्रै शीर्षक र बजेटसमेत छुट्ट्याई कामको बाँडफाँड गरियो ।

गाउँको मूलद्वारमा रोक्नेदेखि गाउँलेका मलद्वारमा छोप्ने सम्मका प्रबन्ध मिलाइयो । आफ्नो गाउँको इज्जत जेजसरी पनि ढाक्नै पर्ने थियो मुखियालाई । गाउँलेका आङमा लुगा नहुँदा अनि गाउँमा सरसफाइ नहुँदा कहिल्यै लाज नमान्ने मुखियालाई यसैपालि पहिलो पटक लाज लाग्दै थियो । मुखिया आङ ढकाउन भन्दा आँखा छकाउन माहिर थिए, दुःखको गाँठो फुकाउनभन्दा लुकाउन सिपालु थिए, नुहाउन भन्दा सेन्ट छर्न ट्यालेन्ट अनि फोहोर फाल्न भन्दा छोपछाप पार्न प्रवीण थिए । यस्तै ढाँट गरिगरी सबैका अगाडि इमानदार देखिने गर्थे उनी । कार्यविभाजन गर्दै बैठकको समापन भयो । सबै आ-आफ्ना काममा खटिए । गाउँलेहरूलाई लुगा धुन र सरसफाइ गर्न कटुवालमार्फत उर्दी जारी भयो । भएभरका बाटाघाटा, पुलपुलेसा, खोलानाला, घर कुँडार, चोटाकोठा, एकैपटक सफा गर्दा धुलो उडेर गाउँ नै कुइरीमण्डल भयो । मैला लुगाहरू धोएको पानीले खोला कालाम्मे बन्यो । जुगौँदेखि ननुहाएका ज्यान पनि अब त हिराका टुक्राझैँ टिलिक्क टल्किँदै थिए । पञ्चकन्या, फूलमाला, पन्चैबाजा, झाँकी सबैको व्यवस्थापन कार्य तोकेबमोजिम चल्दै गयो । कार्यक्रमको मञ्च तयार भयो । मञ्चको झकिझकाउ शृङ्गार भयो । गाउँलेहरू राजाको दर्शन पाइने भयो भनी प्रफुल्लित थिए । राजा यतैबाट पनि आउन सक्छन् भन्दै रातभर गाउँमा ठाउँठाउँमा स्वागतद्वारहरू बनाइए, सजाइए ।

ठिक दश बजे सवारी हुने भनी बिहानै दरबारबाट फोन आयो । राजा आउने कार्यक्रम हुँदा वरपरका स्कुलका बिहानी कक्षासमेत प्रभावित भए । अन्तिम कक्षा नपढाई सबैलाई राजाको स्वागतार्थ गाउँको एक मात्र पटाङ्गिनीमा भेला गराइयो । लुगा गतिला नभएका र किन्ने सामर्थ्य पनि नभएका कति मान्छे आएनन् । कति जुत्ता नमिलेर आएनन् । आधाआधीजसो गाउँलेहरू भने राम्रा लुगा नभएकोले कार्यक्रममा उपस्थित हुन सकेनन् । होऊन् पनि कसरी ? राजा भनेका भगवान् हुन् । भगवान्का अगाडि थोत्रा र मैला लुगा लगाएर देखिन पनि त भएन । मैला कपडाले मुखियाको इज्जत जान्थ्यो। थाङ्ना कपडाले गाउँको इज्जत स्वाहा हुन्थ्यो । झुत्रेझाम्रे मान्छे अगाडि बस्ता राजाको इज्जत जान्थ्यो ।

जस्तो लुगा लगाए पनि इज्जत नजाने भनेको गरिबकै थियो किनकि गरिबको पनि इज्जत हुन्छ भनेर समाजले नभनिदिँदोरहेछ । नभएको इज्जत के जाओस् । ऋण गरेरै भए पनि कतिले नयाँ लुगा किनेरै लगाएर आए । गाउँका कपडा पसल रित्तिए । जुत्तापसल रित्तिए । गाजल किरिम सकिए । विद्यालयजीवन लामै बितेपनि कसैका त सोही दिनमात्र खुट्टाले जुत्ता देख्तै थिए । कतिले लगाउन नजानेर अनि कतिले चाहिँ मैलिने डरमा नयाँ लुगा झोलामा बोकेरै आए र कुनाकानी पसी साथीभाइसँग बसी लगाए । राजाले गाउँको बेथिती देखे भने मुखियाको नुन हजम हुन्थ्यो, व्यञ्जन खल्लो हुन्थ्यो, निद्रा लाग्दैनथ्यो । यति हुँदाहुँदै पनि “आफ्नै राजा त हुन् नि, केका लाज न साज, अझ गरिब देखेर राजाबाट केही मिलिहाल्छ कि वा न ?” भन्दै पुराना कपडामै राजदर्शनार्थ आएकाहरूलाई एउटा घरमा लगी थुनियो । उनीहरू झ्यालको प्वालबाट भव्य कार्यक्रम हेर्दै थुक घुटुघुटु निल्दै बसे ।

लाखौँको खर्च र अपूर्व मिहिनेतमा बिहानको ९ः५५ सम्म करिबकरिब सम्पूर्ण तयारी सकियो । अब केवल राजाको सवारी हुन मात्र बाँकी थियो । अरूबेलाका कालाकाला गालावाला पञ्चकन्याहरू पनि उस बखत मेकअपले टल्किएका छाला र सुनका झल्किएका बालामा सजिई पालामा दीप र डालामा फूलका माला अनि साथमा केही लालाबालासाथ मन्दमुस्कानसहित अप्सराका चालामा गेटमा तैनाथ थिए । यताउता सबैजना घडी हेर्दै थिए । मञ्चमा कोकोकोको बोल्दै पनि थिए तर गाउँलेलाई भने ती भाषणको कुनै मतलब थिएन किनकि सबै राजाकै पर्खाइमा थिए । दरबारी सुरक्षाकर्मीहरू समेत बिहानैदेखि तैनाथ भइसकेका थिए । गाउँका पहलमानहरू पनि हाइ एलर्ट अथवा उच्च सतर्कतासाथ राखिएका थिए । सुरक्षा र सरसफाइको पराकाष्ठा नै थियो । वरपरका घर, आँगन र बाटाघाटा सबैतिर पखालिएको थियो । आवश्यकतामा रङ समेत लगाइएको थियो । कुर्दाकुर्दै दश पनि बज्यो । मञ्चबाट मुखियाले निन्याउरो अनुहारले मसिनो स्वरमा बोले “आदरणीय मित्रहरू! दरबारबाट भर्खर फोन आयो । आज सरकारको सवारी नहुने अरे । सरकारको सवारी मिलाएर अर्कै कुनै दिन हुने अरे ।”

राजाको स्वागतार्थ तयार गरिएको त्यत्रो मिहिनेत, त्यत्रो भव्यता र दिव्यता सम्पूर्ण एकैपटक नुनबिनाको चौरासी व्यञ्जनमा परिणत भयाे । खल्लो न खल्लो । बेस्वादको । दरबारी फौज तत्काल फर्कियो । मुखियाले आफ्नै सेनाबेनाको सल्लाहमा कार्यक्रमको स्वरूप परिवर्तन गरे । राजाको स्वागतभन्दा खासै नयाँ कुरा केही नभएकोले छिटै कार्यक्रम समापन भयो ।

उपस्थित सबैका अनुहार न्याम्म थिए । कोही झुक्याइयो भनी भित्रभित्रै मुर्मुरिँदै पनि थिए । कोही खिल्ली उडाउँदै झिल्ली झार्न थाले । कोही नयाँ लुगा फिर्ता लान भनी खोलेर झोलामा हाल्न थाले । उता मुखियालाई भने आफैले भिरेको दौरा-सुरूवाल-कोट र बिहान मात्र पालिस गरिएका छालाका जुत्ताले गिज्याउँदै थिए । दह्रै मेकअप र रङ्गीबिरङ्गी कपडामा सजिएकी मुखिनी आमाको पनि त्यही हालत । हिस्स बुढी हरिया दाँत । हात्ती आयो हात्ती आयो फुस्सा । नमच्चिने पिङका सय झट्का ।

यस्तैयस्तै झर्रा उखानहरूले मुखिया र आसेपासेका कान टर्रा बन्दै थिए । कोही लाखौँको बजेट खेर गएकोमा पिर गर्दै थिए । जे होस् । एक दिन राजा आउने हल्लाले गाउँको स्वरूप पूरा परिवर्तन भएको थियो । गाउँलेहरूमा जोस र उत्साह भरिएको थियो । सरसफाइले गाउँ स्वर्ग झैँ भव्य र दिव्य बनेको थियो । नजिकैका विद्यालयका एकजना शिक्षक भन्दै थिए “राजा ! तिमी यसै गरी कम्तीमा महिनाको एक पटक आइदेऊ न । मेरो गाउँ सधैँ सुन्दर, सफा, दिव्य र भव्य बनिरहने थियो ।”
(यो कहानी कतै कसैसँग मिलेमा संयोग मात्र हुनेछ।)

०००
२०८०/११/२५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कहाँ जिरा कहाँ नुन

कहाँ जिरा कहाँ नुन

दिनेश पाण्डेय
जलो चलो भलो हलो र फलो साथी

जलो चलो भलो हलो...

दिनेश पाण्डेय
टिकाकाे आशीर्वाद

टिकाकाे आशीर्वाद

दिनेश पाण्डेय
चाहिन्न भो ! मलाई

चाहिन्न भो ! मलाई

दिनेश पाण्डेय
बालको दिवस हो पनि भन्न लाज !

बालको दिवस हो पनि...

दिनेश पाण्डेय
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x